मुलुकभर कक्षा १२ को परीक्षा सुरु, परीक्षार्थीमा ५३ प्रतिशत छात्रा

          |   प्रकाशित मितिः आइतवार, बैशाख १५, २०७६     ::: 43 पटक पढिएको   |  

परीक्षा नियन्त्रक शर्मालाई हटाएर घिमिरेलाई, जिम्मेवारीमोबाइल फोनको प्रयोगमा कडाई ।

काठमाडौँ – यसवर्षको कक्षा १२ को परीक्षा आइतबारबाट सुरु भएको छ । मुलुकभरका परीक्षा केन्द्रहरुमा पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भएको हो । परीक्षामा ४ लाख २८ हजार ५२ जना विद्यार्थी सहभागी छन् । राष्ट्रिय परीक्षा बोर्डले एकैपटक समय तालिका प्रकाशित गरेर कक्षा ११ र १२ को परीक्षा संचालन गरेको हो । दुवै कक्षाबाट गरी ९ लाख ३६ हजार ५ सय ४६ परीक्षार्थीले परीक्षा दिंदैछन् ।

बैशाख २९ गतेबाट सुरु हुने कक्षा ११ को परीक्षामा ५ लाख ८ हजार ४ सय ९४ विद्यार्थी सम्मिलित हुन लागेका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। दुवै कक्षामा गरी ४ लाख ९३ हजार ५ सय ४९ जना छात्रा र ४ लाख ४२ हजार ९ सय ९७ छात्रले परीक्षा दिंदैछन्। मुलुकभरका ४ हजार एक सय ३७ विद्यालयका विद्यार्थीहरु परीक्षामा सहभागी भएका हुन्।
जसमा पुरुषभन्दा महिला परीक्षार्थीको संख्या ५० हजार ५ सय ५२ ले बढि छ। ५३ प्रतिशत छात्रा र ४७ प्रतिशत छात्र परीक्षामा सहभागी भएका हुन्। गतवर्षभन्दा चाँहि यसवर्ष परीक्षार्थीको संख्या थोरै छ। गतवर्ष ९ लाख ६६ हजार २ सय १० विद्यार्थीले परीक्षा दिएका थिए।

परीक्षामा साधारण तथा प्राविधिक विषय समूहका नियमति, ग्रेडवृद्धि र आंशिक परीक्षार्थीको परीक्षा देशभरका १ हजार १ सय ७ परीक्षाकेन्द्र कायम गरिएको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए। सबैभन्दा बढि काठमाडौं जिल्लाका एक सय २२ परीक्षा केन्द्र र मनाङरमुस्ताङमा एकरएक वटा परीक्षा केन्द्रमा परीक्षा भईरहेको छ। मनाङबाट सबैभन्दा थोरै एक सय १० र काठमाडौंबाट एक लाख ३४ हजार एक सय १५ जना विद्यार्थीले परीक्षा दिंदैछन्।

आईतबारबाट सुरु कक्षा १२ को परीक्षा २६ गते सकिएपछि बैशाख २९ गतेबाट जेठ ८ गतेसम्म कक्षा ११ को परीक्षा हुनेछ। परीक्षा तालिका यसअघि नै सार्वजनिक भइसकेको छ। बिहान ७ बजेबाट परीक्षा सुरु हुनेछ। मर्यादित परीक्षा संचालनका लागि उच्च सतर्कता अपनाउन र सहयोगका लागि बोर्डले सम्बन्धित पक्षलाई आग्रह समेत गरेको छ। परीक्षामा एक हजार एक सय ७ केन्द्राध्यक्ष, एक हजार चार सय ८९ सहायक केन्द्राध्यक्ष, १५ हजार एक सय सात निरिक्षक, १४ सय ८९ कर्मचारी, दुई हजार दुई सय १४ कार्यालय सहयोगी र १३ हजार दुई सय ८४ सुरक्षाकर्मी खटिएका छन्। मुलुकभरका १२ बटा शाखा कार्यालय र प्रदेश कार्यालयहरुबाट परीक्षा व्यवस्थापनको काम गरिएको बोर्डले जनाएको छ। उत्तरपुस्तिका र प्रश्नपत्रहरु परीक्षा केन्द्र नजिकको प्रहरी कार्यालयमा भण्डार गरिएको छ।

परीक्षा नियन्त्रक शर्मा हटाइए
त्यस्तै परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मालाई बोर्डले आईतबार जिम्मेवारी हटाएको छ। उनकी छोरी ललितपुरको एक विद्यालयबाट कक्षा १२ को परीक्षामा सहभागी छिन्। परीक्षाको आचारसंहिता र मर्यादाअनुसार छोराछोरी वा नातागोताका कोहि परीक्षामा सम्मिलित हुने भए जिम्मेवारीमा बस्न पाइँदैन।शर्मा छोरीले परीक्षा दिने तयारी गर्दा समेत प्रश्नपत्र छपाई लगायत कार्यमा सहभागी भएको भन्दै बोर्ड भित्रै विरोध भएको थियो। परीक्षा सुरु भएकै दिन शर्मालाई हटाएर कृष्णप्रसाद घिमिरेलाई परीक्षा नियन्त्रकको जिम्मेवारी दिइएको हो।

मोबाईल प्रयोगमा कडाई
चैतमा संचालन गरिएको एसईई परीक्षामा प्रदेश २ बाट परीक्षा अगावै प्रश्नपत्र बाहिएरपछि कक्षा ११ र १२ को परीक्षामा मोबाईल फोनको प्रयोग र सुरक्षा व्यवस्थामा थप कडाई गरिएको छ। शिक्षा मन्त्री गिरिराजमणि पोखरेल र बोर्ड छुट्टाछुट्टै निर्देशन जारी गरेर मोबाईल फोन र परीक्षाको गोपनियतामा कडाइ गर्न सर्कुलर गरेका थिए। मन्त्री पोखरेलले २२ बुँदे निर्देशन जारी गरेका हुन्। जसमा परीक्षा हलभित्र केन्द्राध्यक्ष बाहेक अरुलाई मोबाईल फोन प्रयोग गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाउन निर्देशन दिइएको छ। सहायक केन्द्राध्यक्ष, निरिक्षक र कर्मचारीहरुको मोबाइल फोन परीक्षा अवधिभर केन्द्राध्यक्षको नियन्त्रणमा राख्नुपर्ने निर्देशनमा उल्लेख छ।

त्यस्तै परीक्षा हलमा भिडियो, तस्बीर र अडियो रेडर्क रोक्नपनि प्रतिबन्ध लगाइएको छ। एसर्ईई परीक्षामा सिराहा जिल्लाको कल्याणपुर इलाका प्रहरी कार्यालयका दुई प्रहरी जवानले मोबाइलबाट तस्बीर खिचेर प्रश्नपत्र आउट गराएका थिए। सामाजिक संजाल मार्फत परीक्षाको अघिल्लो दिनमै विज्ञान र सामाजिक विषयकोप्रश्नपत्रभाइरल भएपछि परीक्षा रद्ध र स्थगित गरिएको थियो।

यसपटक प्रहरी कार्यालयको प्रश्नपत्र भण्डार कक्षमा समेत प्रहरी र केन्द्राध्यक्षलाई मोबाइल फोन लैजान निषेध गरिएको हो। प्रहरी चौकीबाट प्रश्नपत्र बुझ्दा अनिवार्य रुपमा मुचुल्का गर्न निर्देशन दिइएको छ। परीक्षाको दिन केन्द्रमा प्रश्नपक्रको सिलबन्दी थैलो खोल्दा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरिक्षक गरी कम्तिमा ३ जनाको रोबहरमा मुचुल्का गर्ने व्यवस्था मिलाइएको छ।

त्यस्तै बोर्डले अनुगमनमा खटिएका बाहेक अन्य व्यत्तिलाई परीक्षा केन्द्रमा प्रवेश निषेध गर्न सर्कुलर गरेको छ। परीक्षा सुरु हुनुभन्दा दुई दिन अघिबाट परीक्षा अवधिभर केन्द्रमा बोर्डका उपनियन्त्रकको नेतृत्वमा सुरक्षाकर्मीहरु सहितको कन्ट्रोल रुम स्थापना गरिएको छ। ‘परीक्षा संचालन अवधिभर जिल्ला परीक्षा समन्वय समिति, केन्द्रध्यक्ष, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, प्रदेशस्थित सामाजिक विकास मन्त्रालय, शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्र, प्रदेश शिक्षा निर्देशनालय र राष्ट्रिय परीक्षा बोर्डका जिम्मेवार अधिकारी बाहेकलाई परीक्षा केन्द्रमा मोवाइल फोन लैजान पूर्णतः निषेध गरिएको छ,’ बोर्डले गरेको सर्कुलरमा भनिएको छ।

परीक्षार्थीले परीक्षा हलमा स्मार्ट घडी लगायत इलेक्ट्रोनिक डिभाइसहरु समेत लैजान पाउने छैनन्। परीक्षा हलमा मोबाइल फोन लगेको भेटिए जफत गरी सुरक्षा निकायको जिम्मा लगाउने व्यवस्था गरिएको हो। निर्देशन र मर्यादा पालना नगरेमा जिल्ला परीक्षा समन्वय समितिले तत्काल केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षलाई परिवर्तन गर्न सक्ने अधिकार दिइएको छ। यस्तो कार्य गर्ने परीक्षा केन्द्र खारेज गर्न सिफारिस गर्ने अधिकार समितिलाई दिइएको छ।





Leave a comment

Your email address will not be published.


*