मे दिवसको सन्दर्भ र सन्देश

          |   प्रकाशित मितिः बुधबार, बैशाख १८, २०७६     ::: 89 पटक पढिएको   |  

मोहनमान स्वाँर

‘मे दिवस’ लाई विश्वभरि भव्यतासाथ मनाउने चलन छ । यो श्रमिकको अधिकारसँग सम्बन्धित छ । अठारौँ शताब्दीको आरम्भमा युरोप, अमेरिकामा औद्योगिक गतिविधि बढ्दै गएपछि मालिक र मजदुरबीच अन्तरविरोध चर्कंदै जान थाल्यो । आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन माग राखी सङ्गठित र असङ्गठित रूपमा मजदुरले औद्योगिक केन्द्रमा आन्दोलन सुरु गरे । यो आन्दोलनले सन् १८८० को दशकमा दिशा लियो । सन् १८८६ मे १ मा अमेरिकाको सिकागो सहरका मजदुर आमहडताल गर्दै सडकमा उत्रिएपछि व्यापक दमन भयो । कैयौँ मजदुर गिरफ्तार भए, केहीको हत्या भयो र केहीलाई मृत्युदण्ड दिइयो । तर पनि मजदुरको अधिकारमुखी आन्दोलन रोकिएन । करिब चार वर्षपछि अमेरिकी सरकार मजदुरका माग पूरा गर्न बाध्य भयो । त्यही आन्दोलनको सम्झना गर्दै सन् १८९० देखि विश्वभरि मे १ तारिखमा श्रमिक दिवस मनाउने परम्परा सुरु भयो ।
श्रमिक हक–अधिकार मुख्य राजनीतिक एजेन्डाका रूपमा विकास हुँदै आयो । साम्यवादी राजनीतिक चिन्तनले यसलाई लिएर अगाडि बढ्यो । मजदुर आफ्नो अधिकारका लागि आन्दोलन गरिरहेका बेला एङ्गेल्सले अमेरिका र युरोपका सर्वहारा वर्ग आफ्नो शक्ति प्रयोग गरिरहेको बताउनुभयो । लेनिनले वर्गीय विचारले युक्त भई रूसी जनताको राजनीतिक स्वतन्त्रताका लागि मजदुरको ठूलो भूमिका रहेको विचार व्यक्त गर्नुभयो । मजदुर आन्दोलनले तय गरेका तत्कालीन राजनीतिक नारा आज पनि सान्दर्भिक छन् । अन्तर्राष्ट्रिय मजदुर आन्दोलनले श्रमिक वर्गको एकता, बालिग मताधिकार, साम्राज्यवादी युद्ध र औपनिवेशिक शोषण अन्त्य, जुलुस र सभा गर्ने अधिकार, मजदुर वर्गको राजनीतिक र आर्थिक सङ्गठन निर्माण गर्ने अधिकार खोजेको थियो । यो आन्दोलन र मागले मजदुरलाई गोलबद्ध हुन प्रोत्साहन गरेको थियो ।
विश्व साम्राज्यवाद र पुँजीवादले सञ्चालन गरेको युद्ध, हत्या, आतङ्क र शोषणका अनेक रूपबाट श्रमजीवी र पेसाकर्मी प्रताडित थिए । नवउदारवादी अर्थनीतिले सिर्जना गरेको आर्थिक असमानताको सिकार पनि श्रमजीवी नै बने । श्रमजीवी वर्गको आधारभूत आवश्यकताका रूपमा रहेको शिक्षा, स्वास्थ्य, आवास, खाद्यान्न, खानेपानीजस्ता सेवामा भइरहेको व्यापारीकरण र निजीकरणले श्रमिक वर्गको जीवन कष्टप्रद बनेको छ । गरिबी, अभाव, बेरोजगारी, रोजगारीको असुरक्षा र सामाजिक सुरक्षाविहीन अवस्थाले श्रमिक पेसाकर्मी मारमा परेका छन् । खुलाबजार अर्थनीतिका कारणले व्यापारिक युद्धको स्थिति निम्त्याएको छ । यसले श्रमिक पेसाकर्मी प्रभावित छन् । साम्राज्यवादीले आतङ्कवाद नियन्त्रणका नाममा आफ्नो प्रभुत्व बढाइरहेका छन् र यस कार्यबाट श्रमिक, पेसाकर्मीलाई प्रत्यक्ष प्रभाव परेको छ । ट्रेड युनियन आन्दोलनभित्र पनि वर्ग समन्वयवाद, अवसरवाद, अर्थवाद, अराजकतावाद र ट्रेड युनियन माफियावादजस्ता समस्या देखापरेका छन् । यसले ट्रेड युनियन आन्दोलन कमजोर हँुदै गएको छ । यसखालका प्रवृत्तिविरुद्ध वैचारिक सङ्घर्ष चलाउँदै वर्गीय ट्रेड युनियन आन्दोलनको विकास र रूपान्तरण गर्न आवश्यक छ ।
नेपालमा जारी भएको नयाँ संविधानले श्रमिकका आधारभूत अधिकारलाई मौलिक हकका रूपमा स्वीकारेको छ । तर, त्यसको कार्यान्वयन हुन सकेको छैन । कानुन श्रममैत्री छैनन् । त्यसैले श्रमिक पेसाकर्मीको सेवा सुरक्षा र वृत्तिविकास, समृद्ध जीवन र सुनिश्चित भविष्यका लागि संविधानमा उल्लिखित अधिकार कार्यान्वयन गराउन सबै ट्रेड युनियन एकताबद्ध ढङ्गले अगाडि बढ्न आवश्यक छ । नेपालको ट्रेड युनियन आन्दोलनलाई रूपान्तरण गर्दै यस आन्दोलनलाई मुलुकको समृद्धि र विकाससँग एकाकार गरी अगाडि बढ्न आवश्यक छ ।
ट्रेड युनियन आन्दोलनलाई वर्गीय आन्दोलनका रूपमा विकास गर्नुपर्छ ।

नेपालको सन्दर्भमा श्रमिक पेसाकर्मीका
हक–अधिकारलाई मुलुकको समृद्धिसँगै जोडेर अगाडि बढाउनुपर्छ । तर, अहिले पनि मुलुकका राजनीतिक दल, उच्च व्यवस्थापक एवम् जनताले पनि ट्रेड युनियन आन्दोलनप्रति सकारात्मक सोचाइ राखेको पाइँदैन । त्यसैले सर्वप्रथम ट्रेड युनियनकर्मीले मुलुकको परिवर्तनमा ट्रेड युनियनले निर्वाह गरेको भूमिका र प्राप्त उपलब्धि संस्थागत गर्न गरेको प्रयासबारे सबैलाई स्पष्ट पार्नुपर्ने आवश्यकता छ । ट्रेड युनियन आन्दोलनभित्रका कमी–कमजोरी सच्याउनु पनि युनियनकर्मीको मूल कर्तव्य हो । नेपालको संविधानले दिशाबोध गरेको मुलुकको आर्थिक विकास र समृद्धिसँगै समाजवादको आधार निर्माण गर्ने कार्यमा यस मुलुकको ट्रेड युनियन आन्दोलनको महŒवपूर्ण भूमिका रहन्छ । स्वाधीन अर्थतन्त्रको विकासमा जोड दिँदै नीति निर्माण प्रक्रिया र कार्यान्वयन तहमा श्रमिक पेसाकर्मीको प्रतिनिधित्व हुनुपर्छ । साथै, आजको युगसुहाउँदो वैचारिक, राजनीतिक एवम् वर्गीय ट्रेड युनियन आन्दोलनको विकास गर्नु समयको माग हो ।
मे दिवसको इतिहास हेर्ने हो भने यसको सुरुवात सहयोगको मान्यताबाट विकास भएको पाइन्छ । औद्योगिक मजदुरले काम, आराम र मनोरञ्जनको वैज्ञानिक व्यवस्थापन माग राखी आन्दोलनरत रहँदा थुप्रै कुरा गुमाउनुपरेको र लामो सङ्घर्ष, बलिदान र त्यागबाट माग पूरा भएको इतिहास पाइन्छ । तत्कालीन अवस्थामा मजदुर वर्गले उठाएका कतिपय माग आज पनि सान्दर्भिक रहेको देखिन्छ । आज विश्व साम्राज्यवाद र पुँजीवादले अङ्गीकार गरेको उदारवादी अर्थनीतिले श्रमिक पेसाकर्मीका हक–अधिकार, सेवा सुरक्षा र वृत्तिविकास समेतमा चुनौती खडा गरेका छन् । यसका लागि ट्रेड युनियन आन्दोलनको गहन अध्ययन आवश्यक छ । पुरातनवादी सोच अथवा जडता र नयाँको नाममा गैरसरकारी संस्थाको सोचबाट ट्रेड युनियन आन्दोलनलाई मुक्त पार्न आवश्यक छ ।
अबको आवश्यकता विज्ञान र प्रविधिको विकास आत्मसात् गर्दै २१औँ शताब्दीको वैचारिक एवम् वर्गीय ट्रेड युनियन आन्दोलनको विकास र निर्माण गर्नु हो । हरेक मुलुकको समृद्धि र विकासमा महŒवपूर्ण भूमिका निर्वाह गर्नु ट्रेड युनियन आन्दोलनको जिम्मेवारी हो भन्ने कुरा नै १३०औँ मे दिवसको सन्देश हो । मे दिवसलाई ऐतिहासिक दिनका रूपमा स्मरण गर्दै न्याय, समानता र स्वतन्त्रताका लागि सङ्घर्ष गर्ने प्रणका रूपमा लिन यो दिवसले विश्वका श्रमिक पेसाकर्मीलाई सन्देश दिएको कुरा स्मरण गराउन आवश्यक देखिन्छ ।
(लेखक विश्व ट्रेड युनियन महासङ्घ समन्वय समिति नेपालका सहसंयोजक हुनुहुन्छ ।)





Leave a comment

Your email address will not be published.


*