मातृत्वको सम्मान

          |   प्रकाशित मितिः शनिबार, बैशाख २१, २०७६     ::: 24 पटक पढिएको   |  

सिर्जना शर्मा

आमा जननी हुन् । आमाको त्याग, तपस्या तथा मायाको उदाहरण पृथ्वीमा अर्को पाइन्न । हामीलाई सास फेर्न सम्भव बनाउने व्यक्ति आमा करुणाकी मूर्ति हुन् । आमाको करुणाभावले नै सन्तानको जीवन उद्धार भएकोे हुन्छ । सन्तानकोे भावनात्मक शक्ति तथा आत्मबल बलियो र स्थिर बनाइराख्ने शक्ति आमामा हुन्छ । आमाले आफ्ना सन्तान हुर्किसक्दा पनि उनीहरूका हरकुरामा चासो र ख्याल राखेकी हुन्छिन् । कति सार्थक छ– आमाको जुनी ।
सृष्टिकर्ता नारीले शिशु जन्माएको अवसर दुनियाँमा सबैभन्दा ठूलो हो । तर, के हामीले आफ्नी आमालाई उहाँले हामीलाई जन्म दिँदाको समयमा के–कस्तो अनुभव गर्नुभयो रु भन्ने सामान्य कुरा कहिल्यै सोधेका छौँ रु सन्तान जन्म दिँदा भोगेका सुख–दुःखका अनुभवले महिलाको मनमा दूरगामी असर पारेको हुन्छ । धेरै आमाले पहिलो बच्चा जन्माएपछि ‘अब अर्को बच्चा पाउन नपरोस्’ भन्ने दुःखपूर्ण अभिव्यक्ति दिएको सुनिन्छ । यसका कारण अनेक होलान् । तर, त्यस समयमा हुने अथाह शारीरिक कष्ट, स्वास्थ्य संस्थामा सेवाप्रदायकबाट भोग्नुपरेको दुव्र्यवहार र कतिपय अवस्थामा परिवारका सदस्यले दिएको तनाव प्रमुख हुन् ।
आमा बन्ने विशिष्ट तथा गौरवमय अवसरका बेलामा प्रेम, आदर, सद्भावका कोमल शब्द सुन्नु÷भोग्नुको सट्टा घोचपेचका शब्द, अनेक किसिमका अपमानजनक, अमर्यादित बोली तथा व्यवहार सुन्न÷भोग्न नारी बाध्य हुन्छिन् । वंशवृद्धिका लागि छोरा पाइदिनुपर्ने चाहनाका कारण नजानिँदो रूपमा महिलामाथि परिवारबाटै तनाव थोपरिएको हुन्छ । mबतब
प्रसूतिका लागि स्वास्थ्य संस्थामा पुगेपछि महिलामा थप पीडा थपिन्छ । प्रसव पीडाका कारण धेरैजसो महिला कराउने, रुने वा प्रसूति हुन बल गर्न नसक्ने स्थितिमा पुगेका हुन्छन् । यस्तो अवस्थाका कारण स्वास्थकर्मीले उनीहरूलाई हप्काउने, झर्कने तथा अपशब्द भन्ने गर्छन् । यतिमात्र होइन, कतिपय अवस्थामा त गर्भवतीलाई चिमोट्ने, कपाल लुछ्ने, थप्पड दिने, मुख बन्द गरिदिने, लात्तीले हान्ने, घिसार्नेजस्ता अमानवीय व्यवहार गरेको कुरा अध्ययनले देखाएको छ । प्रसव व्यथा लागेका महिलालाई प्रसूति कक्षमा एक्लै छोडी स्वास्थ्य सेवाप्रदायक बेखबर अन्य काममा व्यस्त हुने भएको तथ्य पनि छ । गर्भवतीलाई उमेरका कारण (कम उमेरको वा बढी उमेरको) देखाई उपचार गर्न नमान्ने, तालिमप्राप्त दक्ष प्रसूतिकर्मीबाहेकका अन्य व्यक्तिले प्रसूति गराउने, सामान्य रूपमा गर्नुपर्ने सेवा तथा दिनुपर्ने औषधि उपचार गर्नमा ढिलाइ गर्ने, आफूलाई हौसला दिने वा माया गर्ने कुनै व्यक्तिसामु नहुने तथा करकापमा पारी मञ्जुरी लिने सहिछाप गराउनेजस्ता अनेक कार्य स्वास्थ संस्थामा हुनु कुनै नौलो होइन । आफूले के–कस्तो उपचार वा सेवा पाइरहेकी छु भन्नेबारे महिला आफैलाई थाहा हुँदैन । आर्थिक तथा सामाजिक स्तर, जातभात, धर्म, पेसा आदिका आधारमा महिलामाथि यस्ता भेदभावपूर्ण व्यवहार हुने गर्छन् ।
बच्चा जन्माउने समयमा महिलामा हुने अनादरपूर्ण वचन तथा दुव्र्यवहारले उनको भावनामा कुठाराघात पारेको हुन्छ । यसबेलामा आमाको संवेदनामा आघात पुग्दा उनमा प्रसूतिपश्चात्को अवसाद सुरु हुन्छ । जसले गर्दा आमा र बच्चा दुवैको स्वास्थमा नराम्रो प्रभाव पर्छ । गर्भवती अवस्था तथा सुत्केरी अवस्थाको स्याहारका लागि प्रसूति कक्षका स्वास्थ्य सेवाप्रदायकको ठूलो भूमिका हुन्छ । यो समयमा राम्रो व्यवहार पाएका आमामा आत्मविश्वास, आत्मबल बढ्नुुको साथै जीवनको लामो कालसम्म यसको सकारात्मक असर परिरहन्छ ।
महिला कुनै वस्तु होइनन् । उनी सृष्टिकर्ता सबल नारी हुन् । नारीमाथि कुनै पनि बहानामा भेदभाव तथा दुव्र्यवहार हुनुहुन्न । नारीमाथि समानुभूतिपूर्ण व्यवहार आवश्यक छ ।
गर्भवतीले स्वास्थ्य संस्थामा आई सुत्केरी गराउन जसका कारण आमा तथा शिशुको स्वास्थ्य अवस्था राम्रो रहोस् भन्ने उद्देश्यसाथ नेपालमा सुरक्षित मातृत्व कार्यक्रममा सन् २००५ मा लागू गरियो । हालसम्म सुरक्षित मातृत्व कार्यक्रमले आमा तथा बच्चाको शारीरिक सुरक्षालाई मात्र ध्यान दिएको पाइन्छ । तर, बच्चा जन्मनेक्रममा महिलाको सामाजिक, सांस्कृतिक तथा भावनात्मक पक्षमा समेत महŒवपूर्ण प्रभाव परेको हुन्छ । स्वास्थ्य संस्थामा गर्भवतीले आदरजनक व्यवहार पाउनुको साटो दुव्र्यवहार पाएकै कारण विपन्न समुदायका धेरै महिला अझै घरैमा बच्चा जन्माउन चाहन्छन् । जसले गर्दा आमा र बच्चाको स्वास्थ्यमा प्रतिकूल असर पारेको छ । सुरक्षित मातृत्वका सन्दर्भलाई फराकिलो पार्दै महिलाको भावनात्मक र संवेदनात्मक पक्षलाई समेत समेटी विश्वव्यापी महिला प्रजननसम्बन्धी अधिकार उपभोग गर्न पाउने वातावरण महिलाले पाउनु अति जरुरी छ ।
अन्त्यमा
आज मातातीर्थ औँशी । आमाको माया र त्यागको संस्मरण गर्दै आमाको सम्मान गर्ने दिन । आमालाई भेट्ने, मीठामीठा खानेकुरा खुवाउने, सगुन, लुगा वा अन्य उपहार दिई उहाँको सम्मान गर्ने चलन अत्यन्त सराहनीय छ । थप आमाको सम्मानका लागि उहाँको जीवनका राम्रा वा दुःखदायी अनुभवबारे संवाद गरौँ । कुराकानी साटासाट गर्दा बलियो शक्ति जन्मन्छ । आमाका अनुभव सम्मानपूर्ण मातृत्वका लागि प्रेरणादायी तथा सुधारका लागि पथप्रदर्शक हुन सक्छन् ।

(लेखक महिला अधिकारकर्मी हुनुहुन्छ ।)





Leave a comment

Your email address will not be published.


*