सरकारले पूरा हुने र गर्न सकिने सपना देखेको छ – प्रम

          |   प्रकाशित मितिः मङ्लबार, बैशाख २४, २०७६     ::: 41 पटक पढिएको   |  

काठमाडौँ, २४ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले पूरा हुने र गर्न सकिने खालको सपना देखेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिँदै उहाँले भन्नुभयो, “सरकारले जागै हुँदा देख्ने सपनाको कुरा गरेको हो । देश बनाउने अठोटको सपना देखेको हो ।”

प्रधानमन्त्रीले राति देख्ने सपना नभई देश बनाउने र भविष्य बनाउने सपनाको कुरा वर्तमान सरकारले गरेको उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “एक वर्षका लागि के गर्न सकिन्छ, त्यसपछिका वर्षमा के गर्न सकिन्छ, कहाँ पुग्न सकिन्छ भन्ने सपना हो, दिगो विकास लक्ष्य गर्ने सपना हो, संयुक्त राष्ट्र सङ्घले देखेको सपना हो, यो सपना राति देखेको सपना होइन । पूरा हुने सपना हो ।”

आगामी आवका लागि प्रस्तुत नीति तथा कार्यक्रमले लोकतन्त्रलाई व्यापक अर्थमा अगाडि बढाउने स्पष्ट पार्दै उहाँले कार्यक्रमले आगामी पाँच वर्ष, दश वर्ष र पच्चीस वर्षपछि कसरी जाने भन्ने स्पष्ट दृटिकोण राखेको बताउनुभयो ।

संविधानले सामाजिक न्याय र समानताको परिकल्पना गरेको र सोही परिकल्पना पूरा गर्न नीति कार्यक्रम ल्याइएको उहाँको भनाइ थियो । “सामाजिक रुपमा रहेको कमजोरी, पछौटेपन हटाउने काम गरिएको छ । त्यसका निम्ति अनेक प्रकारको साम्प्रदायिक क्षेत्रीय सङ्कीर्णता नभई व्यापक सामाजिक न्याय र समानतामा आधारित सामाजिक न्यायको जगमा उठेको राष्ट्रिय एकता र सबै मिलेर राष्ट्रलाई एक बनाउने विषयलाई नीति कार्यक्रमले लिएको छ ”, उहाँले भन्नुभयो ।

राष्ट्र निर्माण र समृद्धिका लागि शिक्षा र स्वास्थ्यका क्षेत्रमा नीति कार्यक्रमले जोड दिएको बताउँदै उहाँले सुशासन र भ्रष्टाचार नियन्त्रण विकासका निम्ति अपरिहार्य आवश्यकता रुपमा रहेको उल्लेख गर्दै नीति कार्यक्रमका बारेमा अन्योलमा पर्नुपर्ने अवस्था नरहेको स्पष्ट गर्नुभयो ।

कृषिको आधुनिकीकरण र व्यवसायीकरण गरी कृषि क्षेत्रमा अल्झेको जनसङ्ख्यालाई अन्य काममा लगाउन सकिने सम्भावना रहेको उल्लेख गर्दै उहाँले कृषि उत्पादन र उत्पादकत्वको वृद्धि र प्राङ्गारिक कृषि खेतीतर्फ जोड दिइएको बताउनुभयो । कृषिलाई व्यवस्थित र योजनबद्ध ढङ्गले अघि बढाउन गरेको सरकारको प्रयासका कारण यस वर्ष समग्र कृषि क्षेत्र ६ प्रतिशतले बढ्ने देखिएको प्रधानमन्त्रीले जानकारी दिनुभयो ।





Leave a comment

Your email address will not be published.


*