हर्क वहादुर शाहीको ४५ दिनको स्मृति सभा

          |   प्रकाशित मितिः बिहिबार, जेष्ठ ९, २०७६     ::: 100 पटक पढिएको   |  

नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य चक्रप्रसाद शर्माले सत्तारुढ पार्टीको बेथिति विषयमा प्रतिपक्ष दलले गर्नैपर्ने बिरोधका कार्यक्रम गर्न नसकेको टिप्पणी गर्नुभएको छ । मोहन वैद्य नेतृत्वको सो पार्टीका पोलिटव्यूरो सदस्य हर्कबहादुर शाहीको ४५ औं थितिको अवसरमा आज दैलेखमा भएको स्मतिसभामा बोल्दै उहाँले सो धारणा राख्नुभएको हो ।

‘निर्मला पन्तको बलात्कारपछि हत्या घटना, वाइडबडी घोटाला, ३३ किलो सुन काण्ड, मिडिया काउन्सिल विधेयक लगायत विषयमा प्रतिपक्षले संसदमा जोडदार आवाज उठाएको भए सडकबाट आफ्नो पार्टी सरकारलाई सच्याउन सकिन्थ्यो’ केन्द्रीय सदस्य शर्माले व्याख्या गर्नुभयो ।
शर्माले अगाडि भन्नुभयो मिडिया काउन्सिल विधेयक बारे सरकारका मन्त्रीहरु भन्दैछन् ‘अमेरिकामा गलत समाचार लेखे १० लाख डलर सजायँ हुने व्यवस्था छ ।’ अनि चीनमा भ्रष्टाचार गर्नेलाई फाँसी दिने सजायँ छ यो किन भनेका ? दुईतिहाईको सरकारले आफू अनुकूलको व्याख्या गरेर मात्र बस्ने होइन ।
कार्यक्रममा पूर्वराज्यमन्त्री गणेशबहादुर खड्काले दैलेखी कम्यूनिष्ट आन्दोलनको अग्रज हर्कबहादुर शाहीले जीवनकालमा गरेको राम्रा कामको अनुशरण गर्न निर्वाचित जनप्रतिनिधिहरुलाई सुझाव दिनुभयो । उहाँले स्थानीय तहका जनप्रतिनिधिहरु सुविधाभोगी भएको टिप्पणी गर्नुभयो ।
त्यसबखत प्रतिनिधिसभाका सदस्य पार्वतीकुमारी बिशुन्केले सन्देश पढेर सुनाइएको थियो । सन्देशमा साँसद विशुन्केले स्वर्गीय शाहीले पञ्चायती व्यवस्थामा जिल्लाको कम्यूनिष्ट आन्दोलन संगठित गर्दै जनपक्षीय जनप्रतिनिधिको रुपमा उपेक्षित, उत्पीडित समुदायको चेतना उठाउन गर्नुभएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्नुभएको छ ।
संविधानसभाका पूर्वसभासद भरतकुमारी रेग्मीले हर्कबहादुर शाही दैलेख कम्यूनिष्ट आन्दोलनको अभिभावक भएको बताउनुभयो । कार्यक्रम पूर्व जिविस सभापति टेकबहादुर खाँणले स्वर्गीय शाहीले गर्नुभएको योगदान इतिहास लेखिनुपर्ने सुझाव दिनुभयो ।
हर्कबहादुर शाही स्मृति प्रतिष्ठानका अध्यक्ष एवं नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य दीपकबहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वजिविस उपसभापतिहरु सूर्यबहादुर शाही, खड्गबहादुर सिजापती, राजनीतिक नेताहरु मणीराम रेग्मी, लक्ष्मीकुमार बिक, केहरसिंह बुढा, बीरेन्द्र शाही, शिवसुन्दर शाही, निमित्त समन्वय अधिकारी पदम सापकोटा, सामाजिक सेवा केन्द्रका अध्यक्ष हीरासिंह थापा लगायतले स्वर्गीय शाहीको राजनीतिक योगदान बारे बोल्नुभएको थियो ।
स्वर्गीय शाहीको देहवसानपछि ५ दिनमै क्रिया सकेको विषयमा पारिवारिक र सामाजिक आलोचना खेप्नुभएका नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य दीपकबहादुर शाहीले बुबा इच्छा स्वास्थ्य विज्ञानमा अन्वेषणका लागि अस्पताललाई लास दिनुभन्नुभएको थियो, हिन्दू संस्कार अनुसार काजक्रिया गर्दा पनि अपजस भोग्नु परेको टिप्पणी गर्नुभयो ।
स्मृति सभामा हर्कबहादुर शाही स्मृति प्रतिष्ठानका अध्यक्ष दीपकबहादुर शाहीले स्मृतिसभामा जनप्रतिनिधिहरुले बेवास्ता गरेको प्रति रोष प्रकट गर्नुभयो । ‘जिल्लाको कम्यूनिष्ट आन्दोलनमा हर्कबहादुरकै चेला हुँ भन्नेहरु नआएकोमा दुःख लागेको छ’ उहाँले भन्नुभयो ।
प्रस्तावित हर्कबहादुर शाही स्मृति प्रतिष्ठानले उहाँको जन्म गाउँमा बाल विकास केन्द्र स्थापना, दाङ्गमा अध्ययरत बालबालिकाहरुलाई छात्रबृति दिइएको र कृषि क्षेत्रमा अन्वेषणको काम गर्न लागिएको जनाइएको छ । २००२ साउन १५ गते चामुण्डामा जन्मनु भएका शाहीको गत चैत २६ गते काठमाण्डौंमा निधन भएको थियो ।





Leave a comment

Your email address will not be published.


*