प्रिय छोरीहरू, बिहे नगर !

          |   प्रकाशित मितिः शनिबार, जेष्ठ १८, २०७६     ::: 82 पटक पढिएको   |  

एकता कपुर

मैले चिनेजानेका भारतीय आमाले आफ्ना सन्तान, अझ विशेषगरी छोरीलाई यस्तो सल्लाह दिएको सुनेको छैन। छोरी ठूली भएपछि बिहे गर्ने सोच मात्रले पनि तिनलाई उत्साहित तुल्याउँछ। ठीक उल्टो सोच राख्ने सायद म एक्लो पो हुँ कि ? मेरी छोरीले बिहे गरोस् र घरव्यवहारमा बाँधियोस् भन्ने चाह म राख्दिनँ। कहिल्यै पनि। मेरा विचारलाई गम्भीरतापूर्वक लिने कोही पनि भेटेको छैन। कुरा सुनेर सबै हाँस्छन्। श्रीमान्सँग मेरो सुमधुर सम्बन्ध छैन कि भन्ने अनुमान गर्छन्। तर, मलाई पर्वाह छैन।

मैले चिनेजानेका भारतीय आमाले आफ्ना सन्तान, अझ विशेषगरी छोरीलाई यस्तो सल्लाह दिएको सुनेको छैन। छोरी ठूली भएपछि बिहे गर्ने सोच मात्रले पनि तिनलाई उत्साहित तुल्याउँछ। ठीक उल्टो सोच राख्ने सायद म एक्लो पो हुँ कि ? मेरी छोरीले बिहे गरोस् र घरव्यवहारमा बाँधियोस् भन्ने चाह म राख्दिनँ। कहिल्यै पनि। मेरा विचारलाई गम्भीरतापूर्वक लिने कोही पनि भेटेको छैन। कुरा सुनेर सबै हाँस्छन्। श्रीमान्सँग मेरो सुमधुर सम्बन्ध छैन कि भन्ने अनुमान गर्छन्। तर, मलाई पर्वाह छैन।

२१औँ शताब्दीमा आएर पनि विवाहले महिलाका लागि केही खास महत्व राख्छ जस्तो लाग्दैन। आज पनि उही पुराना मान्यतामा चलिरहेको छ हाम्रो समाज। अहिले पनि महिलाका इच्छा र स्वतन्त्रतामाथि पितृसत्ता हाबी छ। श्रीमतीको क्षमता र सामाजिक बोलबालामाथि श्रीमान्को सोच हाबी छ।

श्रीमान्को थर भिर्ने महिला पहिले पनि थिए, अहिले पनि छन्। जीवनको एक ठूलो अध्याय बिताएको घर छोडेर अर्को घरमा गई त्यहाँका रीतिथितिमा अभ्यस्त हुने पनि महिला नै हुन्। अर्काको घरको इन्चार्जदेखि लिएर सुसारे, भान्से आदिको भूमिका निर्वाह गर्नुपर्ने पनि महिलाले नै हो। त्यति मात्र होइन, सन्तान जन्मिएपछि उसको उचित लालनपालनका लागि आफ्नो ‘करियर’ बिर्सन घर तथा समाजले बाध्य पार्ने पनि महिलालाई नै हो।

अहिलेका भारतीय महिलालाई यी सब नचाहिँदा बन्धन स्वीकार्य छैनन्। तिनका सपना घरका परिसरमा मात्र सीमित छैनन्। ती आफ्नै लागि केही गर्न चाहन्छन्, आत्मनिर्भर बन्न चाहन्छन्। तर, अधिकांश भारतीय पुरुष अझै पनि महिलाले पछ्यौरा भिरेर लजाउँदै परिवार र पाहुनालाई चिया टक्र्याऊन् भन्ने सोच्छन्, आफू कामका लागि निस्कने बेला घरका महिलाले सुकिला लुगा थमाइदिऊन् भन्ने इच्छा पाल्छन्।

तर, सबैलाई एकै टोकरीमा राखेर हेरौँ भन्ने मनशाय मेरो छैन। म विश्वस्त छु– सबै पुरुष त्यस्ता हँदैनन्। महिला पनि पुरुषजत्ति नै सक्षम छन् भन्ने मान्यता राख्ने पुरुष थुप्रै छन्, अझ पहिलेभन्दा अहिले धेरै छन्। यति हुँदाहुँदै पनि खुसी हुने ठाउँ भने म देख्दिनँ।

 समाजलाई लाग्छ, जीवनमा उत्पन्न हुने नैराश्य, चिन्ता, डर, दुःख, एक्लोपन आदिका समाधान विवाहमा छ। त्यसमा रत्तिभर सत्यता छैन। ती सबैको समाधान आफूमै अन्तर्निहित छ।

तिम्रो श्रीमान्बाट तिमीले हर कुराका लागि अनपेक्षित सहयोग पाउँछौ भने तिम्रा आफन्त र समाज तिमीलाई ‘भाग्यमानी’को संज्ञा दिन्छन्। अपमानित, आलोचित, उपेक्षित, बलात्कृत हुन्छौ भने ती समस्या नितान्त तिम्रा व्यक्तिगत हुन्, तिनका समाधान घरभित्रै छलफल गरी खोज्नु नै तिम्रा लागि उचित छ भन्ने उपदेश दिने निस्कन्छन्। भारतमा हुने धेरै विवाह यी दुई विशेषताबीच अल्झिएका छन्।

गाँस, बास र कपासपछि मानिसका जीवनमा सबैभन्दा महत्वपूर्ण छ भनिएको विवाहले केही दशकअघिसम्म भारतमा महिलाका लागि छुट्टै अर्थ राख्थ्यो। सुरक्षा, सामाजिक स्वीकार्यता, आयको स्रोत, सृष्टिको निरन्तरता, बुढेसकालको सहारा आदिकै लागि भए पनि बिहे गर्नुपर्छ भन्ने मान्यता राख्ने जमात ठूलो थियो। त्यत्तिका लागि आफ्ना तर्फबाट केही कुरामा कमी नदेखियोस् भन्ने चाह राख्ने पनि कम थिएनन्।

तर, यी सब बिहे नगरी हासिल गर्न सम्भव छ भने बिहे गर्नेचाहिँ किन ? श्रीमान्को बोझ बोक्नेचाहिँ किन ?

यी सब अनुभव मैले दुई विवाह गरेर सँगालेकी हुँ। पहिलो– परिवारको इच्छाले, दोस्रो– आफ्नै इच्छाले। वैवाहिक जीवनका यी दुवै चरणमा मैले आकाश–जमिनको फरक भेटेँ। पहिलोमा कारागारको अनुभूति गरेँ, दोस्रोमा केही हदसम्म भए पनि स्वतन्त्रताको। पहिलोमा घृणा र त्रासबाहेक केही पनि थिएन, दोस्रोमा प्रेम छ। पहिलोले मलाई शक्तिहीन बनायो, दोस्रोले शक्तिशाली। पहिलोले मेरो सीमा निर्धारण गरिदियो, दोस्रोले मेरा सपनालाई पंख दियो।

तर, दुवैबाट केही सिकेँ। आफूलाई नजिकबाट चिन्न सकेँ।

मेरा अहिलेका श्रीमान् असल मान्छे हुन्। र, मेरा सबैभन्दा नजिकका साथी पनि। हामी दुवैका जीवनमा विवाहका कारण खासै केही सकारात्मक परिवर्तन नआएको आभास हामी गर्छौँ। हामी विवाहित हुनाको फाइदा एक मात्रै छ– समाजले हाम्रो वैवाहिक जीवनलाई लिएर प्रश्न उठाउने ठाउँ छैन, ‘सिंगल’ हुँदा उठ्न सक्ने सम्भावित प्रश्न हामीमाथि बर्संदैनन्। हामीले विवाह गर्नुको कारण त्यति मात्र थियो। तर छोरी, तिमीले यी सबको पर्वाह गर्नुपर्दैन, जीवन आफ्नो तरिकाले बाँच्न सक्छौ।

समाजलाई लाग्छ, जीवनमा उत्पन्न हुने नैराश्य, चिन्ता, डर, दुःख, एक्लोपन आदिका समाधान विवाहमा छ। त्यसमा रत्तिभर सत्यता छैन। ती सबैको समाधान आफू अन्तर्निहित छ। बिहे गरे पनि नगरे पनि यी सबका समाधान आफ्नो आध्यात्मिक चेतको विकास गर्दै लैजानुमै छ। त्यो अरू कसैले चाहेर पनि तिम्रा लागि गरिदिन सक्दैन। फरक यत्ति हो– विवाह गरेपछि आफ्ना तिमीमा लुकेर बसेको त्यो आध्यात्मिक गुरुको दायित्व कसैको भान्से र सुसारे हुनुमा पनि हुन्छ।

पुरुषहरू राम्रा प्रेमी हुन सक्छन्, शारीरिक सम्बन्धका लागि राम्रा साथी हुन सक्छन्। त्यत्तिका लागि बिहे नै किन गर्नुपर्‍यो ? पितृसत्तात्मक समाजले महिलालाई हेर्ने दृष्टिकोण बदल्नकै लागि भए पनि भारतीय महिलाले यस कुरामा आफ्नो सोचको दायरा फराकिलो पार्न आवश्यक छ। यत्तिका लागि भए पनि बरु प्रेम गर– एउटा होइन धेरै गर, आफ्ना सपना पूरा गर, आत्मनिर्भर होऊ। तर छोरीहरू ! बिहेचाहिँ नगर।

मेरा श्रीमान्लाई यस लेखमा जे लेखिएको भए पनि फरक पर्दैन रे। सहानुभूति व्यक्त गर्दै उनलाई मेसेज गर्ने कष्ट नगर्दा हुन्छ। हाम्रा छोरीहरूलाई प्रेमप्रस्ताव राख्ने सबैले यो लेख एकचोटि मात्र भए पनि पढून्, उनी यत्ति चाहन्छन्। Annpurnapost

कपुर भारतबाट प्रकाशित हुने ई–सी, द फिमेल गेजकी सम्पादक हुन्। यो मार्च २०१९ मा छापिएको छ। उल्था : विभु लुइटेल @LuitelBibhu





Leave a comment

Your email address will not be published.


*