मसित त देवता रिसाएनन् !

          |   प्रकाशित मितिः शनिबार, जेष्ठ १८, २०७६     ::: 38 पटक पढिएको   |  

परिवर्तन

बिनु सुवेदी

ठ्याक्कै थाहा छैन मलाई, सुदूरपश्चिममा घनघस्याको उकालो कहाँनिर छ। टेकेका दुई दुईवटा लौरोले समेत नधानेपछि चार पाइला हिँडेपिच्छे सोच्छु— न यही हो कि घनघस्याको उकालो ? म उकालोको मध्यतिर पुगेर तल हेर्दा चामलको भारी बोकेर कैलाश खोला तरिरहेकाहरू छिनमै मलाई उछिनेर माथि आकाशको छेउमै पुगेको देख्छु। झन् लखतरान पर्छु म। घनघस्या बाटोभन्दा पनि सोँच हो। सहरमै बसिरहने र पाहुना बनेर गाउँघरतिर कहिलेकसो पुग्नेलाई त सुतारको उकालोमात्रै हैन, अमरगढी किल्लाको खुट्किलो पनि घनघस्या नै लाग्दो हो। खैर, सुतार पुग्नचाँहि मुजाबगरबाट करिब तीन घण्टाको भव्य उकालो पार गर्नैपर्छ।

महिनावारी भएको दुई दिन भएको छ। उकालो चढ्दा चढ्दै फुतफुत झर्ने खुनको डल्लाले एकछिनमै कमजोर बनाउँछ। पेट कटक्क खान्छ, थचक्क बस्छु। मुटु यसरी ढुकढुक गर्छ कि मानौं मुटुभित्र अहिले हाफ म्याराथन चलिरहेको छ र धड्कनहरू तँछाडमछाड गर्दै दौडिरहेका छन्। सासको गति पनि उस्तै तेज छ, कत्ति न मभन्दा पहिले उसलाई सुतार पुग्नु छ र गाउँलेसँग भलाकुसारी गर्नु छ जस्तो ! खोइ सासहरूको पनि ‘हाइजम्प’ पो चलिरा’छ कि ! गाउँबाट बाख्रा चराउन तलतल लागिरहेका महिलाहरू घोरिएर हेर्छन् मलाई। मुसुक्क हाँसिदिन्छु, हाँसो फर्काउँछन् र फेरि बाटो लाग्छन्।

त…ल मिलमा पुगिवरी पिठो पिसेर आएका तन्नेरीहरूको पाइलाका आवाज परैबाट सुन्छु म। नाकको टुप्पाबाट खलखली पसिना बगाउँदै भारी बोेकेर आएकाहरू रोकिन्छन् र सोध्छन् कहाँ पुग्ने हो ? भनिदिन्छु, स्वास्थ्य चौकीसम्म। तिमी आउँदै गर हामी हिड्यौं, म थोरै दाँत देखाएर मुस्काउन खोज्छु। फेरि गर्‍याप गर्‍याप गर्छ, ती तन्नेरीको जुत्ता। मेरो मुस्कानले उनीहरूलाई म सही सलामत छु भन्ने कुरामा ढुक्क पार्छ होला सायद। हो रै’छ, मुस्कान भ्रम छर्ने सबैभन्दा ठूलो हतियार रै’छ, म कन्भिन्स्ड छु। छिनछिनमा भेटिनेहरूले ‘खाना खायौ’ भनेर सोध्छन्, त्यो मीठो सोधाइले मेरो मन यस्सै भरिएर आउँछ। खैर, पेट भरिनचाहिँ केही खानै पर्दाे रहेछ। त्यसैले भेटेपिच्छेको मुहानको पानी खान्छु र मुख धुन्छु।

हुन त एक गोली मेफ्टल बिहानै खाइसकेँ। मुजाबगरका ती फरासिला साउजीले बिहान सात बज्दानबज्दै तयार पारिदिएको लोकल आलुको तरकारी र रोटी पनि खाएकै हो। त्यसपछि उनैले बनाइदिएको लौरो टेकेर म सुतार उक्लिन थालेकी हुँ। सुतारको उकालो चढ्नै लाग्दा माथि डाँडोतिर उदाउँदै गरेको घामको किरण तल झर्दै थियो। त्यो रोटीको शक्ति र मेफ्टलको काम समयभन्दा अलि छिटै सकियो यसपालि, सायद त्यही घामले पनि चुस्यो होला अलिकति शक्ति त। सबै पलमा चर्कै भए पनि घाम जाती नहुँदो रैछ, हरेक हिँडाइमा महसुस गर्छु म यो कुरा।

अछाममा सबैभन्दा धेरै अन्धविश्वास भएको ठाउँ कुन हो भनेर सोधीखोजी गर्दा मलाई जान्नेबुझ्नेहरूले सुतारको बाटो देखाइदिएका हुन्। मलाई माफ गरिदेऊ अछाम मैले तिम्रो विश्वासलाई ‘अन्धविश्वास’ भनिदिएँ। तर छाउगोठमा बस्दाबस्दै निसास्सिएर आफ्नो ज्यान सँगै सपना पनि गुमाएका तुर्मखादका गौरी बूढा र पार्वती बुढालाई हामीले अन्धविश्वासकै कारण गुमाएका हौं नि। हैन ?

मैले तुर्मखाद पनि रोज्न सक्थेँ होला तर केही गैरसरकारी संस्था र सरकारी पहलमा छाउपडी मुक्त भइसकेको सुतार परिवर्तन हुन नसक्नुको कारण थाहा पाउन मन लाग्नु मैले सुतार रोज्नुको अर्काे ध्येय थियो। सुनाउनेहरूले मलाई भनेका थिए, ‘अधिकारकर्मीहरू पुगेर भकाभक छाउगोठ त भत्काए तर त्यसको एक दुई दिनमै छाउ भएकाहरूले खुल्ला बारीमा डोकोमुनि सुतेर चार रात कटाए।’ सबैले भन्छन् समस्या गोठमा होइन, सोचमा छ। म पनि भन्छु, सोच बदलियो भने त ती गोठमा बर्खामा दाउरा र हिउँदमा अन्न राख्न सकिन्छ नि। बढ्ता क्रान्तिकारी किन बन्नु ?

मुजाबगर पुगिसकेपछि स्थानीय जान्नेबुझ्नेहरूले फेरि मलाई दुईवटा विकल्प दिएका थिए। रामारोशन पुगेर १८ मैदान र १२ तालको सुन्दरता हेर्ने या सुतार पुगेर सांस्कृतिक प्रचलनको ‘कुरूपता’ नियाल्ने। माफ गर्नुहोला सुतारबासी, मैले त्यहाँको केही संस्कृतिलाई कुरूप भनेर ट्याग लगाइदिएँ। खान दिए पनि छाउ भएको छ कि भन्ने शंकामा अहिलेसम्म पनि बास नदिने चलन रहेछ सुतारमा। रामारोशन जान्थेँ भने मसँग अर्काे पनि विकल्प थियो कम्तीमा गाडी चढेर जान पाइन्थ्यो।

हो, हो ! रामारोशन जान्थेँ भने मेरो लेखन अर्कैतिर मोडिन्थ्यो होला अहिले। त्यहाँ पुगेपछि सम्भवतः मलाई स्वर्ग पुगेको आभास मिल्थ्यो होला। नीलो आकाशले ऐना हेर्दा नीलै बनेका तालहरूको फोटो धमाधम खिच्थेँ हुँला। के थाहा प्राकृतिक सुन्दरता देखेर म खुसीभन्दा धेरै ईष्र्यालु पो बन्थेँ कि ! तालमा तैरिरहेको आफ्नै अनुहार हेरर औसत सुन्दरताभित्र खोटैखोट पो खोज्थेँ कि ! खोट खोज्दा अनुहारका कोठी गन्थेँ र मनमनै भन्थेँ होला, सातवटा रै’छन्। के मेरो अनुहारका सातवटा कोठी र रामारोशनको १२ तालको तुलना होला ? यो लेखनको छुट्टै पाटो बन्न सक्छ।

तर प्राकृतिक सुन्दरताभन्दा मानवीय संस्कृति हेर्ने रहर उत्कट भयो र मैले सुतार रोजेँ। मलाई विश्वास छ— अर्काे अर्काे वर्ष पनि म अछाम पुगौंला, ठूला ठूला नेता जन्माएको अछामले रामारोशनलाई झन् सुन्दर बनाउला र सुनमा सुगन्ध थप्ला। विश्वास त मलाई यो पनि छ— सुतार अहिलेजस्तै नसुतिरहला, अर्धचेतनाबाट जुरुक्क उठ्ला र आफूलाई सुन्दर बनाउला। सुदूरपश्चिमजस्तै सुन्दर, कैलाश खोलाजस्तै कञ्चन, रामारोशनजस्तै राम्रो। तर हेर्नमा होइन महसुस गर्नमा। हेर्दा त सुतार अहिले नै कति राम्रो छ भने ठाउँहरूको विश्वसुन्दरी प्रतियोगिता गर्ने हो भने ताज त पक्कै पहिरिन्छ। तर फेरि सुतार जाँदा मैले नभेटुँला गोरीलाई। किनकि परिवर्तनको यो तीव्र दौडमा सुतारले पनि त भाग लेला एक दिन र फेरिएलिन् ‘गोरी’हरू पनि। पुछिएला गोरीहरूको अनुहारमा लागेका टाटेपाटे दागहरू र बन्लान् अहिलेसम्म जलवायु परिवर्तनको असर नपरेका कारण मुस्काइरहेको हिमालजस्तै। हो एउटा सुन्दर हिउँफूल गोरीकै अनुहारमा फुल्न सक्छ, ठ्याक्कै रामारोशनमै भेटिने रातो र सेतो मिसिएको गुराँस जस्तै।

गोरी यो कथाकी मुख्य पात्र, यो लेखनकी नायिका, मैले देखेकी दुःखी आमाहरूमध्येकी एक, मैले भोगेकी अभागी छोरीहरूमध्येकी एक। उमेरमा मेरै सरोबरी छिन्, भोगाइले मेरी आमाभन्दा दोब्बर लाग्छिन्। गोरी ! तिमीले काखमा पाँच दिनकी बच्ची बोकेर सुखदुःखका उकाली ओराली सम्झिरहँदा मैले सबैभन्दा धेरै मेरी आमालाई सम्झिएँ।

सुतारको उकालो त म लगभग चढिसकेकी थिएँ। स्वास्थ्य चौकीको बाहिर टुसुक्क बसेपछि नयाँ सुत्केरीसँग आँखा ठोक्कियो। चार दिनकी ती सुत्केरी स्वास्थ्य संस्थामै बच्चा जन्माएबापत सरकारले दिने भत्ता बुझ्न गएकी थिइन्। ‘सुत्केरी भएको बेला घरमा बस्नुहुन्छ कि बाहिर ? ’ मेरो पहिलो प्रश्नबाटै झुटको ‘इनिङ’ सुरु गरेकी गोरी त्यतिखेर अप्ठ्यारोमा परिन् जब म उनैलाई ‘क्याच’ गर्न उनी बसेको गोठसम्म पुगेँ।

मैले पछिमात्रै थाहा पाएकी हुँ, उनीजस्ता धेरै गोरीलाई गाउँका टाठाबाठाले सिकाएका छन्— ‘कोही नयाँ मान्छे आउँदा हाम्रो गाउँमा छाउपडी प्रथा छैन’ भनेर भन्नु। उनले पनि त्यही गरिन्, केही बिराइनन्।

अछाममा मात्रै होइन, सुदूरपश्चिममा मैले घुमेकामध्ये धेरै ठाउँमा यसै हुन्छ। बाहिरबाट कोही नयाँ मान्छे आए भने घरभन्दा अलि परै रहेको छाउगोठ देखाइँदैन, सुत्केरी हुँदा खानेकुरामा केही पनि बेरबार छैन भनिन्छ। एनजीओ आईएनजीओहरूले तालिम दिँदा जे जे गर्न हुन्न भनेर सिकाएका छन्, त्यही त्यही कुरा उसैगरी भन्छन् उनीहरूले मज्जाले रटेझैं गरेर। तर तथ्यांकहरू भन्छन्— कर्णाली र सुदूरपश्चिम प्रदेशमा अहिले पनि ७१ प्रतिशत महिला छाउगोठमा बस्छन्। अझ सुत्केरी हुँदा छाउगोठमा बस्नेहरूका बारेमा त त्यति चर्चा पनि सुनिँदैन।

पुसको मध्य जाडो छ, छाउगोठको ढोका भने पनि झ्याल भने पनि त्यही एउटा हो। आलो सुत्केरी ज्यान छ, आफंैले पकाएको खानेकुरा कहिले मीठो लाग्छ, कहिले लाग्दैन। आगो सल्काऊँ, धुवाँले निसास्सिएर मरूलाझैं हुन्छ; आगो निभाऊँ, माथि छानोबाट तप्प तप्प चुहिने शीतले सताउँछ। आँखाबाट चुहिने आँसुले जस्तै आकाशबाट खस्ने शीतले पनि पोल्दो रै’छ कहिलेकाहीँ। यस्तोमा कसरी कट्लान् जत्काली (सुत्केरी) का नौ रात ?

कतिवटा बच्चा छन् दिदी ? ‘चार’। उमेर ? ‘२८’। बिहे कहिले गर्नुभो ? ‘१६ वर्षमा।’

एक एक शब्दमा दिने उनको उत्तरको अर्थ साह्रै लामो छ। १० वर्षकी जेठी छोरी एक कक्षामा पढ्छिन्। जन्मजात अपांगता भएकी माहिली छोरीको दिसापिसाब पनि अरूले नै स्याहार्नुपर्छ। ‘पाँच दिन भयो, म यता छु। खै त्यसको गुहुमुत कसले स्याहारिदियो ? ’ छोरीकै पिरलो छ गोरीलाई। उनलाई लागेको छ, देवता रिसाएर नै उनकी माहिली छोरीलाई अपांग बनाइदिएका हुन्। तर तपाईंसँग देउता किन रिसाउनु ? गोरीसँग जवाफ छैन। भनिन्, ‘जानअन्जानमा केही बिराएँ हुँला।’ केही बिराइन् होला र गोरीले ? गोरी बसेको गोठबाट उनको घर फर्केपछि मैले गोरीका श्रीमान् रमेशलाई सोधेको थिएँ। उनले भने, ‘त्यस्तो कहाँ होला ? म त उसलाई गोठमा नपठाउने पक्षमा थिएँ। घरपरिवार र ऊ मानेनन्। गएरै छोडी।’ रमेश सुतारका ऐडी परिवारका क्रान्तिकारी छोराहरूमध्ये एक। त्यसैले त कुखुरा पाल्न हुन्न भन्ने पुरानो मान्यता भत्काउँदै कुखुरा पाल्न मुजाबगर झरेका हुन्। त्यसैले त इन्डियामा जन्मिएकी साइँली छोरी लुटपुटिएको पहिलो काख रमेशकै थियो। तर सुतार पुगेपछि कसैलाई सम्झाउन सकेनन् उनले। सबैभन्दा धेरै त श्रीमतीलाई नै सम्झाउन सकेनन्। ‘तपाईंकी छोरीको दाहिने आँखामा सानो दाग छ, श्रीमती छाउघरबाट फर्किनेबित्तिकै बयलपाटा अस्पताल पुर्‍याउनुहोला’, मैले यति सुनाएर सक्दानसक्दै उनको हृदयको पितृवात्सल्य आँखामा छचल्किएर पोखियो। कान्छी छोरीलाई काख लिन छटपटाइरहेका हातहरूले अझै चार दिन कुर्नुपर्छ। आँखा छाउगोठबाट घरसम्म पुग्ने बाटोमै बिच्छ्याएका छन्। अहो मनको दुरी ! उदेक लाग्छ मलाई।

फेरि एकछिन गोठतिरै फर्किन्छु। गोरीलाई सोध्छु, तपाईं सुत्केरी भएको आमालाई थाहा छ ? ‘अहँ’ फोन नगरेको ? उनलाई छोरी जन्मेको खबर सुनाउन उति धेरै हतारो पनि छैन। हतारो नहुनु भनेको चाहना नहुनु हो।

चौथो पटक सुत्केरी भइसकेकी गोरीले सुत्केरीका बेला आमाको हातले पकाएको खाएकी छैनन्। कहिले कुरा भा’थ्यो ? म आमासँग भएको उनको पछिल्लो संवादबारे बुझ्न खोज्छु। उनी हल्का हल्का सम्झिन खोज्छिन् तर ठ्याक्कै यकिन छैन।

म एकाएक पाटन अस्पतालको प्रसूति कक्षमा पुगेँ। जतिपटक बच्चा बल गरेर बाहिर निस्किन खोज्छ, म उति चिच्याएर आमा भन्थेँ। मलाई व्यथा लागेको थाहा पाउनेबित्तिकै गुन्यू पनि नफेरी हिँडेकी मेरी आमाले पाँचपाँच मिनेटको अन्तरमा मलाई कुर्न बसेकी शान्ता छामा (आमाकी बहिनी)को मोबाइलमा फोन हानिरहन्थिन्। अँ साँच्चि उस्तै व्यथामा गोरीले आमालाई सम्झिइन् कि नाइँ ? अहँ सम्झिइनन् रे। त्यसो भए तपाईंको मनमा के थियो दिदी ?

मेरो मुखबाट प्रश्न खस्नु र उनको आँखाबाट आँसु खस्नु सँगसँगै भयो। ‘छोरा जन्मेला कि छोरी भन्ने पीर थियो।’ यो पीर सुदूरका आमआमाहरूलाई हुन्छ, गोरीलाई जस्तै।

‘घरमै बसेर पोसिलो खानेकुरा खायो भने देउता खुसी हुन्छन् नि’, मैले उनलाई सम्झाउन खोजेँ। ‘छाउगोठ भत्काउन मंगलसेनबाट आएका सरमेडमले पनि यसै भनेका थिए। तर उनीहरू कुरा बुझ्दैनन्’, गोरीको अडान चट्टानझैं छ। उनले मलाई नै चुनौती दिइन्, ‘तपाईं छाउ भएको बेला उः त्यो थानको बाटो हिँड्नुस् त, भक्खरको भक्खर बिरामी पर्नुहुन्छ।’

आङ सिरिंग भो। गोरीको भाषामा मैलाई पनि छाउ भएको दुई दिन भएको थियो। फेरि फुत्त खस्छ रगतको थोपा, आँखा चिम्म गर्छु, खोल्छु र गोरीलाई हेर्छु। उनको त झन् रगतको चोक्टा चोक्टा बाहिर निस्के होलान्। म छाउ भएकी, उनी जत्काली। ‘जानी नजानी केही नगर्दा त मेरो हालत यस्तो छ, केही गरेँ भने झन् मेरो के होला ? छोरीहरूको हालत के होला ? ’ गोरीले काखमा निदाइरहेकी उही छोरीको अनुहार एक टकले हेरिन्। छेउमा राखेको चुरोट निकालिन्, सल्काइन् र धुवाँ उडाइन्। धुवाँ त उड्यो बादल छुन, के गोरीको पीडा पनि उड्यो होला ? ‘मन भुल्छ’, उनले भनिन्।

सुतारबाट फर्किएको करिब डेढ वर्षपछि म यो लेख्दै छु। गोरीले यो कुरा पढ्ने छैनन्। मलाई थाहा छ, किनभने उनले स्कुलको आँगन पनि टेकेकी छैनन्। तर गोरीलाई चिन्ने कसैले पढ्नुभो भने उनलाई सुनाइदिनुहोला, ‘मैले फर्किंदा तिम्ले देखाएको थानमा पुगिवरी अबिरै अबिरै लगाएर गजधम्म परेको ढुंगोलाई नमस्ते गरेँ, घन्टी बजाएँ र तीन फन्का घुमेँ। तर गोरी ! ती देवता मसँग रिसाएनन्।’

गोरी, मैले तिम्लाई भनेको थिएँ नि, दुःख दिनेको नाम देवता हुनै सक्दैन। सृष्टिकर्तासँग देवता रिसाउनै सक्दैन। तिमी जाग अब !  Annpurnapost





Leave a comment

Your email address will not be published.


*