कामदारको सामूहिक दुर्घटना बिमा

          |   प्रकाशित मितिः आइतवार, जेष्ठ १९, २०७६     ::: 54 पटक पढिएको   |  

दैलेख – भगवतीमाई गाउँपालिकाद्वारा सञ्चालन भएका योजनामा काम गर्ने कामदारको सामूहिक दुर्घटना बिमा गरिएको छ । गाउँपालिका र ग्रामीण जलस्रोत परियोजनाद्वारा सञ्चालन भएका खानेपानी योजनामा काम गर्ने कामदारको बिमा गरिएको हो ।

काम गर्ने क्रममा कामदारलाई चोटपटक लागे, शरीर अंगभंग वा मृत्यु भए त्यसको क्षतिपूर्ति दिइने व्यवस्था गरिएको हो । हाल गाउँपालिकामा सञ्चालन भएका ३ खानेपानी योजना र सिँचाइ योजनामा काम गर्ने कामदारको प्रत्येक योजनामा ४० लाख बराबरको सामूहिक दुर्घटना बिमा गरिएको गाउँपालिकाका जलस्रोत अधिकृत प्रकाशचन्द्र थापाले बताए । ‘पहाडको ठाउँ योजना सञ्चालन गर्दा भीपाखामा काम गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘जतिबेला पनि दुर्घटनाले ज्यान जोखिममा पार्न सक्छ, त्यसैले बिमा गरिएको हो ।’

बिमाका लागि गाउँपालिकाले कार्यविधि निर्माण गरेको छ । गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले चालु आवबाट प्रत्येक योजनामा काम गर्ने कामदारको सामूहिक दुर्घटना बिमा गर्ने तयारी गरिएको बताए । उनका अनुसार गाउँपालिकाले श्रम तथा रोजगार बैंक स्थापनाको तयारीसमेत गरेको छ ।

‘रोजगार बैंक स्थापना गरी गाउँपालिकाका युवालाई रोजगार बैंकमा समेटेर उनीहरूको सामूहिक दुर्घटना बिमा गरिनेछ,’ उनले भने, ‘गाउँपालिकाको समृद्धिका लागि युवाहरूलाई अधिकतम रूपमा परिचालन गरिनेछ ।’

जिल्ला जलस्रोत सल्लाहकार लक्ष्मीचन्द्र महतले कामदारको दुर्घटना बिमाले उनीहरूलाई काम गर्न प्रेरणा मिल्ने बताए । उनका अनुसार कामदारलाई चोट लागेर अंगभंग भए बिमा भएको रकमको ८० प्रतिशत भुक्तानी पाउने र मृत्यु भए ५ लाखसम्म उपलब्ध हुने व्यवस्था गरिएको छ । कान्तिपुरबाट





Leave a comment

Your email address will not be published.


*