आत्मनिर्भर महिलाका चुनौती

          |   प्रकाशित मितिः बिहिबार, जेष्ठ २३, २०७६     ::: 27 पटक पढिएको   |  

अफिस बिदा हुनासाथ महिला कर्मचारी हतारहतार घरतिर लम्किन्छन्। घर जाँदा बालबालिका, बुवाआमा र घरपरिवारका लागि फलफूल, हरिया तरकारीलगायतका सामान किनेर लैजान्छन्। घर पुगेपछि अनगिन्ती काम गर्नुपर्ने हुन्छ। पुरूष कर्मचारीहरू यी कुरामा मतलब राख्दैनन्। कार्यालय समयपछि ब्याडमिन्टन खेल्न, फिल्म हेर्न, साथीभाइसँग रमाइलो गर्ने आदि कुरामा उनीहरूको ध्यान जान्छ। बेलुका अबेला घर फर्किने र श्रीमतीले पकाएको खाना खाइदिने मात्रै हुन्छ। त्यसपछिको काम भान्सा तथा लुगाको सरसफाइ पनि महिलाले नै गर्नुपर्छ।

गायत्री लम्साल

मेरी एकजना साथीको टिनएजमै विवाह भयो, तर केटा सहयोगी भेटिनन्। म पनि केही काम गरेर आत्मनिर्भर बन्छु भन्ने उनको इच्छा थियो। पतिलाई पत्नीले जागिर खाएको पटक्कै मन नपर्ने। उसले जेजे भन्यो त्यहीत्यही मान्नुपर्ने। सम्बन्ध धेरै बढ्न सकेन। असल केटासँग विवाह गरेर सुन्दर घरपरिवार बनाउने र त्यसका लागि आत्मनिर्भरको बाटो अपनाउने भनेर उनले विवाह गरेकी थिइन्। अन्ततः उनले पतिलाई छोडिन्।

नयाँ काम थालिन् र आत्मनिर्भर भइन्। राम्रो काम गरेकोमा धेरैबाट हाइहाई पनि पाइन्। असल श्रीमान् पाएकी भए उनी निकै अगाडि बढ्न सक्थिन्। तर एक्लै भए पनि उनले आफ्नो इच्छा पूरा गरिछाडिन्।

परिवारको आम्दानीमा महिलाको हिस्सा बढ्ने त्रम जारी छ तर भान्साकोठामा महिलाको दायरा कम हुन सकेको छैन। घर बाहिरका काममा महिला निकै सक्रिय रूपमा अगाडि बढ्न थालेका छन् तर सजिलैसँग चिया बनाउँछु भन्ने पुरूषहरू पनि किन बनाउन सकेनौं हामीले ? बालबालिका जन्माउने काम महिलाको हो तर बच्चा हुर्काउने र स्याहारसुसार गर्ने काममा खुलामनले किन सहयोग गर्न कन्जुस्याइँ गर्ने हरेक सन्तानका बाउहरूले ? श्रीमती आत्मनिर्भर हुँदा श्रीमान्लाई नै सजिलो हुने होइन र ? आफ्नै परिवार राम्रो हुने होइन र ? किन बुझेर पनि बुझ पचाउँछौं ?

घर, परिवार र समाजले महिलालाई आत्मनिर्भर बन्ने बाटो सहज र सरल बनाइदिने हो भने मात्र समतामूलक समाज निर्माण हुन सक्छ।
 

महिला र पुरुष सृष्टिका समान हिस्सेदार हुन्। नैसर्गिक रूपमा दुवै समान छन् तर हाम्रा सोच, चिन्तन, संस्कार, व्यवहार र शैलीले महिलालाई आज पनि साँच्चै दोस्रो दर्जाको नागरिकका रूपमा हेरिन्छ। केही राम्रो गर्छु भनेर अगाडि बढ्न खोज्नेहरूलाई सहयोग गर्नुको सट्टा खुट्टा तान्न नै लागिपर्छन्। घरपरिवार, इष्टमित्र, छरछिमेक र कुलघरानको इज्जत राख्नका लागि हरेक महिलालाई रित्तो बनाउन हाम्रो समाज आज पनि निकै उद्यत देखिन्छ।

आफू रित्तिएर सबैलाई सहयोग गर्न सके असल महिलाको उपमा र अलिकति आफ्नो खुट्टामा उभिन खोज्ने, आफ्नो उन्नति र प्रगतिका लागि घरपरिवारलाई समय दिन नसकेको खण्डमा खराब महिला भनेर लाञ्छना लगाइन्छ। धेरै श्रीमती भए काम गर्ने खेताला कम खोजे पुग्छ भन्ने खालका किस्सा पनि यही समाजमा थियो। एउटा श्रीमतीको मूल्य र मान्यतालाई एउटा खेतालासँग जोड्ने सोच, विचार र संस्कारबाट अगाडि बढेको समाज हो हाम्रो।

त्यही समाजलाई विभिन्न माध्यमबाट आधुनिक, सभ्य, भेदभावमुक्त बनाउन खोजिए पनि अपेक्षाअनुरूप अगाडि बढ्न सकेको छैन। यसको एउटा कारण महिलाकै कमजोरी पनि हुन्। शिक्षित र केही गर्न सक्ने क्षमता हुँदाहुँदै पनि उनीहरू घरपरिवारमै सीमित हुन पुग्छन्। यसबाट बाहिर निस्किए मात्र महिलाले केही गर्न सक्छन्।

आजको आवश्यकता महिला र पुरुषको समान सहभागिता र साझेदारी हो। सृष्टिका सुन्दर उपहार कोही अघि र कोही पछि भएर हारजित गर्नु हुँदैन। चिन्तन, सोच, विचार र दृष्टिकोण सुन्दर बनाउन जरुरी छ। जीवन रथको एउटा पांग्रालाई बेवास्ता गरेर अर्को पांग्रालाई मात्र जति धेरै माया गरे पनि त्यो रथ राम्रोसँग गुड्न सक्दैन। महिलालाई आत्मनिर्भर बन्ने बाटोमा घरपरिवार र समाजले सहज र सरल वातावरण बनाइदिनुपर्छ। तब मात्र समतामूलक समाजको निर्माण हुन सक्छ। Annpurnapost





Leave a comment

Your email address will not be published.


*