कथा हो, कथा होइन !

          |   प्रकाशित मितिः सोमवार, असार २, २०७६     ::: 49 पटक पढिएको   |  

गीता रेग्मी

एउटै विस्तरामा सुतेका छौं । वाइनले रमरम पारेको छ । निन्द्राले झुमझुम । कहिले निन्द्राको तन्द्रा त कहिले वाइनको । ऊ एकोहोरो बोलिरहेकी छे । ऊ आज पुरै रित्तिन चाहन्छे । रक्सीकै गिलासजसरी ।

तर, म न रक्सीको गिलास नै रित्याउन सक्छु, न त उसलाई नै खाली पार्न सक्छु । ऊ वर्षौंदेखि बोकेको भारी बिसाएर हल्का हुन खोज्दैछे । मलाई निन्द्रा र सोमरसले झ्याप–झ्याप पारिरहेछ । कस्तो विरोधाभास परिस्थिति छ ।

उसका कुरा सानोमा हजुरआमाले सुनाउने गरेका भुतका कथा जस्तै लाग्छन् । कथा सुन्दै गर्दा म अष्ट्रेलियामा छु भन्ने कुरा पनि बिर्सन्छु । म मेरै हजुरआमाको काखमा छु जस्तो पनि लागिरहेछ । भुतको कथा सुनेर डराउँदा हजुरआमाको खोकिलामा टाँसिएझैं टाँसिन मन लाग्छ । तर, उतिखेरै झस्कन्छु– मलाई त उसले सहारा पो मानिरहेकी छ त । म यसरी कमजोर हुन हुन्छ त ? बेलाबेलामा ऊभन्दा बलियो भएको प्रमाण दिइरहनुपर्छ मलाई ।

हो, ऊ आज पुरै पखालिन खोज्दैछे । उसले भनी उसको घरपरिवार कस्तो थियो भनेर । स्कुल पढ्दै गर्दा कसरी उसको लोग्ने उसको हात माग्न उसका बाबु आमासँग लम्पसार परेको थियो । पोखराको बजारका घर दुईवटा फूलजस्ता छोराछोरी आनन्दैसँग चलेको संसार । बत्तिको मधुरो प्रकाशमा उसको अनुआर अनायासै उज्यालियो । अनि लोग्नेमाथि पलाएको श्रीमती अष्ट्रेलिया पठाउने कुराले उसको जिन्दगी कसरी तहस–नहस पार्‍यो !

उसका कुरा एकनासको धूनजस्तो भएको छ । टीभी खोलेर झलुङ्गोमा सुताउन खोजेको बच्चा जस्तै । म सही थाप्छु ।

पेटमा तेस्रो बच्चा बसेको थियो । उसले छोराछोरीको उज्जल भविश्यको सपना बुन्यो । मलाई दिन दिनै अनुनय विनय गर्न थाल्यो । दिनदिनैको कचकचले म पनि हो क्यार जस्तो स्थितिमा पुगें । अनि दिदी, मैले त्यो पेटको बच्चा पनि फालें । बच्चा फालेर अस्पतालबाट घर आएर कति रोएँ । अहिले यति भोगिरहँदा त्यही बच्चाको पाप पो लागेको हो कि मलाई जस्तो लाग्छ । म आमा हुँ । किन त्यति लाचार बनें । ऊ सुँक्सुकाई ।

घर बैंकमा धितो राखेर अष्ट्रेलिया आउने विद्यार्थीसँग पेपर म्यारिज गरायो । कसरी सकेको होला नि है दिदी, आफ्नी श्रीमतीलाई अर्को मान्छेसँग विवाह गरिदिन । यतिमात्र कहाँ हो र ? आफूसँग सम्बन्ध विच्छेद पनि गर्‍यो नि ।

मेरो भिषा लाग्यो । ऊ खुशीले नाच्यो । म न त खुशी भएँ, न दुःखी । एकातिर छोराछोरी थिए अर्कोतर्फ बैंकमा घर राखी राखी ऋण लिएर गरेको काम सफल भएको थियो । साना केटाकेटी रुवाउँदै आफू पनि रुँदै म अष्ट्रेलिया आएँ !

सपनाको देश । सबै यसै भन्थे । न त भाषा जानेको छ, न त हातमा सीप नै केही छ । ऊ फेरि सुँक्सुकाई । बस्न त गल्र्स होस्टलमा बसेको । काम गर्न कताकता जानुपर्ने । पहिला पत्रिका बेच्ने काम पाएकी थिएँ । यो यो ठेगानामा लग भन्थ्यो । मेलो न मेसो, म कता–कता पुग्थें र काम सकेर फर्कन्थें ।

एकदिन जाँदा जाँदा कहाँ गएँ गएँ ! म हराएँ । सबै बाटा उस्तै छन् । एउटै जस्ता लाग्छन् । एउटा अष्ट्रेलियन बुढो मान्छेको घरमा पुगेंछु । बाबुजस्तै लाग्यो बेसरी रोएँछु । दिनभरि भोकै थिएँ । उसले चिया बनाएर पाउरोटी खान दियो । मलाई बस्ने ठाउँसम्म पुर्‍याएर भिजिटिङ कार्ड पनि दियो । केही परेमा सम्पर्क गर्नू भनेर ।

काम गरेको पैसा कहाँ धेरै आउथ्यो र दिदी ? म त दुईवटा लोग्नेकी श्रीमती भएकी थिए नि । सहज हुनुपर्ने नि । झन महिना पुग्नेबित्तिकै नेपालबाट लोग्नेले फोन गर्थ्यो ऋणको साँवा ब्याज तिर्न पैसा पठा भनेर । अनि यता छ नि मेरो कागजी लोग्नेले फोन गर्थ्यो पैसा नदिए पेपर क्यान्सिल गर्दिन्छु भन्दै । म हैरान हुन्थें । नामर्दहरुका कुरा सुनेर । कति न यो पैसा टिप्ने नै ठाउँ हो कि भनेझैं । मागिरहेछन् मेरो श्रमको मूल्य ।

कोठामा बस्ने दिदीहरुको पीडा पनि उस्तै थियो । उनीहरु त मैले जत्तिको बोल्न पनि जान्दैनथे । उमेर पनि अलि पाकै थिए । उनीहरुसँग सल्लाह भयो । यहाँ बसेर कमाई नहुने कुरामा हाम्रा मत मिले । घरको लोग्नेलाई ऋण तिर्न पठाउने कि कागजको लोग्ने मोरोलाई ? अष्टे«लिया आउनुअगावै त्यत्रो पैसा दिएपछि पनि धम्क्याइरहन्छ बेसरम ? पैसा मागेको माग्यै । अनि हामीचैं के खाएर बाँच्ने हो नि ? दिदीहरु सुनाउँदै थिए ।

फेरि एउटी दिदीलाई त सँगै भएका केटीहरुले पनि ठग्ने ! सधैं बजार गएका बेला अनेक वाहना बनाएर उसैसँग पैसा माग्दा रहेछन् । फिर्ता चैं कहिल्यै दिएनन् रे । ती दिदी मसँग गुनासो गर्थिन् । तर, उनीहरुलाई भन्न चैं हामी दुबै सक्दैन्थ्यौं ।

आफू आत्तिएका बेलामा परदेशको ठाउँ हाम्रन कुरा सुन्ने तिनीहरु नै हुन्थे । आफन्ती नभएका हामी दलालीका कुरा मीठा र सजिला लाग्ने नै भए । हाम्रो विकल्प पनि त थिएन नि हैन र दिदी ?

उसको प्रश्नले म निन्द्राको तन्द्राबाट बौरिन्छु । हो नि । म नै भए पनि आइसकेपछि के नै गर्न सक्थें होला र ?

अनि हामी ताज्मेनिया गयौं । खेतको माझमा कोठा थियो । दिनभरि काम गर्‍यो, केटाकेटी एकै ठाउँमा सुत्नुपर्ने । स्कुलका बच्चाका बेड जस्ता । बेडमाथि बेड । त्यति धेरै जग्गा हुँदा पनि किन त्यति साँगुरो बस्ने ब्यवस्था गरेको होला । कहिले काँही त नर्कमै आइएछ जस्तो लाग्थ्यो । कोही त त्यहीँ काम गरिरहेका हुन्थे । हैट । मैले जस्तो त कसले भोगेको होला र दिदी ?

घरमा साना केटाकेटी छोडेर आएकी । म आएपछि घरमा बहिनी केटाकेटी हेर्न आइछ । फेरि पिरलो अर्को । शंका अर्कै । दिनभरिको कामले शरीर जति थाके पनि मन घरै पुग्छ । लोग्नेको फोन महिना दिनमा मात्र आउँछ ऋणको किस्ता तिर्नुपर्‍यो नि सानु भन्दै । छोराछोरी सोध्छु, ठीकै छन् भन्छन् । बोल्न पाएको होइन । मन कल्पिरहेछ । हुन त यहाँ आउने सबैको परिस्थिति उस्तै उस्तै नै हो । घर छोडेर आएको पीडा । छोराछोरीको न्यास्रो । कागजी लोग्नेको धम्की । आफ्नो लोग्नेको चेपारो ।

सबै कुरा भुल्नका लागि पनि म धेरै काम गर्थें । मेरो काम साहुनीलाई मन परेछ । उनले घरको पनि काम गर्न घरमै बस्न आउन भनिन् । म नरकबाट उम्किन पाएकोमा एकदम खुशी भएँ । के गर्नु ? आफ्नै खान लगाउन पुग्ने गृहस्थ भएकी मलाई अरुले घरमा काम गर्न आइज भन्दा पनि कति धेरै खुशी बनाएको ! मैले आफैं लाई हेरें, जीवन के रहेछ त ? खुशी के रहेछ ? म फुर्कंदै साहुनीका घरमा गएँ । घरको काम गरेको, बारीमा काम गरे भन्दा घेरै आउँथ्यो । खान बस्न खर्च नहुने । घरमा पनि पैसा घेरै पठाउन थालें । अब त ऋण तिरिसकियो होला भनेर मनमनै पठाएको पैसाको हिसाब लगाउँछु ।

यता कागजी लोग्नेले पनि पढ्न सकेनछ । उ आफै गैरकानुनी बनेपछि म उसलाई पैसा पठाउने बोझबाट मुत्तल भएँ । अब केही दुःख गरेर अलिकति पैसा बचाउन पाए त घर फर्केपछि पनि केही गर्न हुन्छ भनेर सपना सजाउन थालेकी थिएँ । तर, मोबाइलमा आएको अपरिचित नम्बरले झस्कायो ।

मैले अष्ट्रेलिया आउँदा ऋण लिएको बैंकबाट फोन आएको रहेछ । ‘ऋणको भाखा नाघिसक्यो ! किन किस्ता नतिरेको ? अनि ब्याज पनि तिरेको छैन !’ म अवाक भएँ । फोन यत्तिकै हातबाट खस्यो । मैले पठाएको पैसा कहाँ गयो त ?

भनन भयो । अगाडि भएका चिजवस्तु फनन घुम्न थाले । हातगोडा त्यसै लुला भए । बारीमा काम गरिरहेकी थिएँ । ढलें । बिउझिँदा पहिला बसेकै कोठाको खाटमा रहेछु । अब के गर्ने ? मेलोमेसो पाइनँ ।

मैले यति दुःख गरेर पठाएको पैसा कहाँ गयो ? माइली बहिनीलाई फोन गरें । सञ्चो आरामीका कुरा गरेपछि मैले बैंकबाट आएको फोनको कुरा सुनाएँ । भिनाजुले मैले पठाएको पैसा के गरे हुन् जिज्ञासा राखें । दिदी भिनाजुले ‘मस्ती गरेका छन् नि ! घुम्छन् कैले पूर्व कहिले पश्चिम । तिमीले पठाएको पैसामा उनैले रजाइँ गरेका छन् । कान्छ बहिनी पढाइ सढाइ छाडेर उतै बस्छे । हामीले भनेर केही लागेन दिदी । तिम्रो भग्य यस्तै रहेछ !’

म छाँगाबाट खसेजस्ती भएँ । अब मसँग केही रहेन । जुन परिवारको भविश्य बनाउन आएँ, अब त्यही परिवार मेरो रहेन । के गर्ने ? कसो गर्ने ? पोल्नका लागि आगो नै कहाँ चाहिँदो रहेछ र ! आगोले भन्दा बढी पोल्न थाल्यो दिदी । आगोले पोलेजस्तै म छट्पटिन थालें । मणि हराएको सर्पजस्तै भएँ । एकैछिनमा म पुरै रित्तिएँ ।

आधार खोज्न आमालाई फोन गरें । कान्छीको कुरा गरें । ‘तेरा छोराछोरी हेरेर बसेकी छ, के भयो त ?’ आमाको तर्क कति फितलो थियो !

काममा मन लाग्न छाड्यो । बोल्न मन लागेन । भन्न पनि त कसैलाई सक्दिनँ नि । कसरी भनौं मेरो घरमा डडेलो लाग्यो भनेर ।

अष्ट्रेलियाकी मेरी साहुनी अर्थात घरवेटीलाई भनेर बेस्सरी रोएँ । ऊ पनि रोई मसँगै । मेरी आमा त यही पो रहिछे कि ? मनले यस्तै मान्यो । उसको अँगालोमा बेरिन पुगें ।

म आफ्नै रागले खुम्चिरहेकी थिएँ । यता साथीहरुले लख काट्न थाले । साहुनीले धेरै माया गरेर मात्तिई, । सँगैका साथी हामीलाई टेर्दिनँ । आदि इत्यादि भन्न थाले ।

लोग्ने भनाउँदालाई फोन गरेको, कहिले के भन्छ, कहिले के । कान्छी सालीसँग लभ परेर नै मैले तँलाई अष्ट्रेलिया पठाएको हुँ भन्छ । एउटामाथि अर्को बज्र खसिरहे ममाथि । म चोट थेग्न नसक्ने गरी घाइते भैसकें । ममाथि यत्रो षड्यन्त्र ? यत्रो नाटक ? कसरी गर्न सकेको ?

पारो छुट्छ । पैसा नपठाए तेरा छोराछोरी पढाउदिनँ, के गर्छेस् भन्छ । ऊ गल्ती गर्छ र उल्टै मैलाई धम्क्याउँछ । ऊ त करिब–करिब पागल भैसकेको मान्छेजस्तो लाग्छ ।

माइली बहिनीकोमा आउँदा केटाकेटीसँग बोल्थें । बोल्न त घरमा पनि बोल्न लगाउँथ्यो, मात्रै पैसा माग्न । केटाकेटीलाई पनि तेरीआमासँग पैसा मागेमात्रै म यसो गर्दिन्छु, उसो गर्दिन्छु भन्दोरहेछ । महिनाको एकपटक बैंकले फोन गर्छ । एकपटक केटाकेटीले । दुबैथरी पैसा माग्नलाई मात्रै फोन गर्छन् । म त एटीएम कार्डजस्ती पो भएँ त !

माइली बहिनीकोमा बच्चा आएका बेलामा मिसकल दे है भन्थें । त्यतिखेर छोराछोरीको ब्यथा मेरोभन्दा चर्को छ जस्तो लाग्थ्यो । बाबुलाई केही चिज चाहियो भने यसो भनेर पैसा माग् भनेर लगाउने रहेछ । म न असल आमा भएँ, नत श्रीमती नै । अष्ट्रेलिया आएपछि त पैसा छाप्ने मेसिन पो भएँ त !

म अवाक् हुन्छु । रातको सन्नाटामा म साँच्चै भुतकै कथा सुन्दैछु । डरले, रीसले, आक्रोशले मेरो गला अवरुद्ध भएको छ । महिलाका पीडामा मल्हमपट्टि लगाउन खोज्ने म यो बहिनीको घाउमा लगाउने मल्हम नभेटेर हैरान छु ।

म नबोलेको, नहाँसेको कुरालाई लिएर यता साथीहरुले मलाई मात्तिएकी भनेर बस्न खान दिएनन् । म साहुको घरमा बस्ने । उनीहरुको विषयमा कुरा लगाइदियो भने जुनसुकै बेला पनि कामबाट हात धुन पर्थ्यो । त्यसैले उनीहरु मसँग झनझन रुष्ट हुँदै गए । मलाई पनि त्यहाँ बस्न मन लागेन । मन अस्थिर थियो । साथीका कुरालाई बाहना बनाएर म मेलवर्न आएँ । र, आजसम्म यहीँ छु ।

यहाँ नयाँ मान्छे, नयाँ साथी त भए । तर, आफ्नो ब्यथा त आफैंसँग छ । बैंकको ऋण बैंकमै छ । लोग्ने आफ्नै कान्छी बहिनीले लिई । भएकी आमा पनि तीन वर्ष अगाडि मरिन् । आमा बितेपछि बाबुले अर्कै विवाह गरेर छोराको बाउ बनेका छन् । कान्छी श्रीमती र बालख छोरासँग रमाइरहँदा मलाई के सम्झँदा हुन् र ?

नेपाल गए पनि म कहाँ बसँु ? सिरानी हालेर रुने काख पनि छैन । लोग्ने भनाउँदो पैसा कमाएकी छेस् ले भन्न थालेको छ । किन दिने भन्दा काट्छु र मार्छु भन्छ । जसले मेरो विषयमा कुरा गर्‍यो उसैलाई तेरी स्वास्नी हो भन्छ अरे । अनि मेरो पक्षमा को बोल्छ र दिदी ?

केटाकेटी ममी छिटो नेपाल आउनु भन्छन् । कहिले आउने भन्छन् । कामबाट छुट्टी लिनुभयो ? भन्दै फोन गरिरहन्छन् । म के गरौं ? लडौं, आफ्नै बहिनी सौता बनेकी छे । छोरी पनि पाएकी छे अरे । नलडौं म त बर्वाद भएँ । न पैसा, न घर ।

यत्रो दुःख र हन्डर खेपेर मैले के पाएँ त ?

ऊ फेरि सुँक्सुकाई ।

म अलमल्ल छु । यस्तो भुतको कथाजस्तो घटनाको जवाफ म के भनेर दिऊँ ?

समुद्रको छालले हान्दा हान्दा छियाछिया परेको चट्टानजस्तै लाग्छे ऊ । म मायाले सुम्सुम्याउँछु । ऊ चट्टानजस्तै बनेकी मान्छे त आज मसँग पग्लिएकी छ, मैनजस्तै भएर । म त झन् कागजको मान्छे ! सिमसिमे पानीले नै लल्याकलुलुक हुन्छु । सानो आगोको झिल्कोले नै खरानी बन्छु । मैले उसलाई के भनेर ढाडस दिऊँ ? अलमल पर्छु ।

मैले उसलाई र अरु पनि यस्तालाई भुँमरीबाट बाहिर निकाल्ने जिम्मा तपाईंलाई सुम्पिएँ ।

उ रित्तिएर निरश बनी । म भरिएर उटुसमुटुस भएँ । सुन्दा र सुनाउँदै हामी दुबैजना गल्यौं ।

कुनबेला आँखा लागे, थाहै भएन । अनलाइनखबरबाट साभार गरिएकाे ।





Leave a comment

Your email address will not be published.


*