घडी एक घण्टा ढिला पारिने दिन

          |   प्रकाशित मितिः शनिबार, कार्तिक ७, २०७२     ::: 188 पटक पढिएको   |  

Amar Sunar..अमरबहादुर सुनार
आज अक्टोवर २५ तारिक अथवा अक्टोवर महिनाको अन्तिम आइतवार । यूरोपतिर आजैदेखि जाडो यामका लागि सबैले आफ्नो घडी १ घण्टा ढिला गराउँछन् । आज १ घण्टा ढिला बनाइएको घडी मार्च महिनाको अन्तिम आइतवार पुनः १ घण्टा छिटो पारिन्छ । अक्टोवर अन्तिम आइवारदेखि मार्चको अन्तिम आइतवारबो अघिल्लो दिनसम्म जाडो याम र मार्चको अन्तिम आइतवारदेखि अक्टोवरको अन्तिम आइतवारको अघिल्लो दिनसम्म समयलाई गर्मी याम भनिन्छ ।
जाडो याम सुरु भएको मानेर अक्टोबर महिनाको अन्तिम आइतबार र गर्मीमा भए मार्चको अन्तिम आइतबार घडी घुमाउने दिन हुन् । जस् अनुसार आज आइतवार विहान ३ बज्दा सूई घुमाएर २ बजाइएको छ । यसरी घडी मिलाउने अहिले ७० वटा देश छन्, तर सुरुवात चाहिं यूरोपियन मुलुकबाट भएको हो ।
सौर्य मण्डलमा ९ वटा ग्रह सबैले सूर्यको परिक्रमा गर्दछन् । सूर्यबाट टाढा नजिकको आधारमा परिक्रमा गर्ने गति र परिक्रमा गर्न लाग्ने समय फरक फरक छ । पृथ्वीले परिक्रमा गर्न लाग्दा अक्षांशीय भूमध्ये रेखामा सूर्यताप बाह्रै महिना एउटै जस्तो हुने भए पनि जति जति उत्तरी ध्रुवमा जान्छ सूर्यको ताम कम पर्ने प्राकृतिक अवस्था छ ।
सूर्यको परिक्रमा गर्दा पृ्थ्वी ३० डिग्रीको कोण बनाई ढल्किएका कारण उत्तरी ध्रुव तर्फ पर्ने भएको कारण यूरोपमा जाडो समयमा अलि ढिला गरी उज्यालो हुने र छिट्टै साँझ पर्ने गर्दछ । उत्तरी ध्रुवमा गर्मी याममा मुस्किलले बराबर समयको दिन हुने भए पनि हिउँदको याममा चाहिं रात धेरै लामो र दिन धेरै छोटो हुने गर्दछ, यही भौगोलिक अवस्थितिको वाध्यताले यूरोपियन मुलुकमा घडीको सुई हिउँदमा १ घण्टा ढिला र गर्मी याममा चाहिं छिटो पार्नु आवश्यक ठानिएको हो ।
जाडो याममा १ घण्टा ढिला र गर्मी याममा १ घण्टा छिटो घडीको समय सारिने प्रचलन सुरु भएको त्यति धेरै समय भएको छैन । सन् १९७६ को अक्टोवरमा १ घण्टा ढिला पारिएको थियो, त्यसपछि गर्मी चढिसकेको भनेर मार्च अन्तिम आइतवारदेखि १ घटा अगाडि बनाइएको थियो । त्यही समयदेखि जाडो र गर्मीकालिन समय छुट्टयाएर घडी मिलाउन थालिएको हो ।
पृथ्वीको बनोटलाई उत्तर–दक्षिण रेखालाई आधार मानी ३ सय ६० डिग्री देशान्तर र पूर्वपश्चिम लम्वबत् रेखा छोइने गरी १ सय ८० डिग्रीको अक्षांशीय रेखा काटिएको मानिने बेलायतको ग्रीनवीचलाई मध्यभाग मानेर एशिया तर्फ पूर्वी र अमेरिका तर्फ पश्चिममा बाँडेर १ सय ८० डिग्री पूर्व र १ सय ८० डिग्री पश्चिम कल्पना गरिएको छ ।
पृथ्वीले परिक्रमा गर्दा सूर्यबाट टाढा पर्ने र अक्षांशीय बनोटले उत्तरी भेग कोल्टो परेकोले उत्तरी अक्षांश छेउतर्फका यूरोप र उत्तरी अमेरिकामा अचेल बिहान नौ बजे मात्र उज्यालो हुन थालेको छ अब घडी घुमाएपछि ८ बजे मात्र उज्यालो हुनेछ र समय ढिला गराइएपछि १ घन्टा बढी सुत्न मिल्ने उनीहरुको मान्यता छ । तर हिजोसम्म बेलुका ७ बजे मात्र साँझ पर्ने गरेकोमा अव ६ बजे नै रात परेको मानिन्छ ।
यो समय सारिणी मिलाइनुको कारण चाहिं पेट्रोलियम पदार्थ अथवा इन्धनको अभावको घटनासंग जोडिएको छ । सन् १९७३ मा विश्वभर पेट्रोलियम पदार्थ इन्धनको संकट परेको थियो । इन्धन बचतका लागि भनेर पहिलो पटक फ्रान्समा सन् १९७६ अक्टोवर २४ अथवा तदनुसार २०३३ कात्तिक ८ गते जाडो बढेको भन्दै विहान ३ बजेको समयमा घडीको सुई १ घण्टा ढिला गराई २ बजे पारिएको थियो । अचेल संसारका ७० वटा देशहरुमा घडी ढिला र छिटो पारेर घडी घुमाइन्छ ।
त्यतिबेला फ्रान्समा मात्र होइन, यातायातका साधनको बृद्धि र पेट्रोलियम पदार्थको वितरण प्रणाली समस्याले विश्वभर इन्धनको संकट थियो । पछि यसबाट कसरी सबै देशले छुटकारा पाए भन्ने कुरा निकै रोचक छ। उक्त संकट तीन वर्ष भन्दा धेरै देशले झेलेका थिए । त्यतिबेला अहिले नेपालमा भारतले पारवाहन अवरोध गरेको जस्तो नभई तेलको माग आपूर्ति भन्दा माग बढी भएर हो । संकट पार लगाउन अमेरिकाले तेल निकासी गर्न पाइप लाइन बिस्तार गर्ने प्रविधि विकास गरेको थियो र त्यही कारणले अरबले इन्धन उत्पादन गरे पनि तेलको पूरा नियन्त्रण अमेरिका कै छ ।
इन्धन असुविधाले घडीको सुई अगाडि र पछाडि पार्नु पर्ने वाध्यताबाट सुरुवात भएको जाडो र गर्मी याम छुट्टयाउने परम्परा अहिले पनि कायम छ । यसले खास गरी इन्धन बचत र सरकारी काम कारवाहीलाई सहज बनाउन यसो गरिएको हो । यो प्राविधिक कुराले त्यहाँका बासिन्दाले आफ्नो हातको घडी, मोवाइल सेट र अरु विद्युतीय उपकरणमा समेत समय निश्चिताका लागि रि–सेटिङ्ग गर्दछन् ।
भारतले गरेको अघोषित नाकावन्दीको असरलले सिर्जित इन्धन अभावको सामना गर्न नेपाल सरकारले यस पटक दशैंमा घटनास्थापनादेखि कोजाग्रतसम्म विदा दिने भनी गृह मन्त्रालयले मन्त्री परिषद्को वैठकमा प्रस्ताव लिएको थियो, यद्यपि भारतसंग घुँडा टेकेको भन्ने अर्थ लाग्न सक्छ भन्दै त्यति लामो सरकारी बिदा नगर्न नागरिक तहबाट दवाव बढेपछि त्यो स्वीकृत भएन ।
यूरोपमा घडी नै मिलाएर कार्यालय समय व्यवस्थापन गर्ने गरिए कै रुपमा नभए पनि नेपालमा मौलिक तरिकाले सरकारी कार्यालय खुला गर्ने समय व्यवस्थापन गरिएको छ । कात्तिक १५ गतेदेखि माघ १५ गतेसम्म विहान १० देखि अपरान्ह ४ बजेसम्म मात्र कार्यालय खुल्दछन्, जबकि त्यस बाहेकको समय विहान १० देखि अपरान्ह ५ बजेसम्म कार्यालय खोलिन्छन् । यसलाई लामो दिन र छोटो दिनको आधार बनाइएको हो ।
समग्रमा यूरोपतिर घडी अगाडि पछाडि पार्ने गरिएको होस् कि नेपालमा लामो र छोटो दिनको आधारमा कार्यालय खोलिने नियम एक अर्काका परिपुरक हुन् । फरक यति हो – यूरोप र पश्चिमा देशमा जनता सबैले घडी वा विद्युतीय उपकरणमा समेत आफै टाइम रि–सेट गर्न सक्नेछन् त्यसैले त्यहाँ त्यो व्यवहारिक छ । हाम्रो देशमा नागरिकले सेवा लिन जाने कार्यालय समय थाहा पाए पु्ग्छ, यहाँ यही सजिलो छ ।





Leave a comment

Your email address will not be published.


*