कसैको सहायता नपाएर के भो ? उनसंग आत्मबल छ

        अमर सुनार   |   प्रकाशित मितिः शुक्रबार, असार १३, २०७६     ::: 75 पटक पढिएको   |  

असार १३, २०७६ ।
दैलेख – नारायण नगरपालिका–४ रातापानीमा मञ्जू नामले चिनिने २५ वर्षीया मीनाकुमारी रेग्मी स्वास्थ्य अवस्थाले केही अवरोध पु¥याए पनि ‘केही गर्नुपर्छ’ भन्ने आत्मबलका बढाएकी छिन् । तर आत्मबलका साथ केही प्रयत्न गर्छिन्, कोही कसैको साथ र सहयोग नपाउँदा निराशा पैदा गराएको उनको दुखेसो छ ।

नारायण नगरपालिका–४ का वडाध्यक्ष बीरबहादुर कटुवाललाई अपाङ्गताका सहायता सम्वन्धी कार्यक्रम छ कि केही सहयोग गर्नुस् कम्प्यूटर पढ्छु भनेर अनुरोध गरिन्, उनले केही सुनुवाई गरेनन् । वडाले सहयोग नगरे पनि नारायण नगरपालिकाका मेयर रत्नबहादुर खड्काको हातैमा निवेदन दिइन तर उनले पनि ‘हामी व्यस्त छौं’ भनेर टारे ।
वडाध्यक्ष वा मेयर कसैले वास्ता नगरे पनि आफ्नै खर्चमा सदरमुकाममा बसेर एभरेष्ट कम्प्यूटर इन्स्टिच्यूटमा बेसिक कम्प्यूटर पढ्दैछिन् । बुवा चन्द्रप्रसाद रेग्मी, आमा चन्द्रकला, भाई रत्नप्रसाद र बुहारीले खेती किसानी गरेको आमदानीबाट उनले सदरमुकाममा बस्ने, खाने र कम्प्यूटर पढ्ने खर्च जुटाएकी छिन् ।

विवाह गरी गएकी जेठी दिदी सीता शर्मा र बहिनी गीता उनीहरुलाई आफूहरुलाई घर व्यहार र खर्च ठिक्क भएको कारण उनीहरुबाट सहायताको सम्भावना छैन । एक्लो भाई रत्नप्रसादले १० कक्षा पढ्दै छोडेको हुनाले रोजगारी केही छैन । तर खेतीपातीमा भाईकै भरोसा छ ।
मीना त्यसबेला महेन्द्र मावि सोतमा ६ कक्षामा पढ्दै थिइन्, २०६२ पुस २८ गते घरबाट विद्यालय आउने क्रममा इटडाँडा नजिक भीरबाट खसेर उनलाई टाउकोमा कडा चोट लागेको कारण २ वर्ष नखनऊमा उपचार गरेपछि मात्र होस खुलेको थियो ।
सामान्य किसानी गर्ने मीनाको बुबा चन्द्रप्रसाद झण्डै ८ लाख खर्च खर्च गरेर त्यति लामो उपचारपछि होस खुलेको थियो । त्यति ठूलो रकम घरबाट निस्कने कुरा भएन, बुबाले गाउँबाट ब्याजे निकालेको ऋण आधा जति अझैं तिर्न बाँकी छ ।
उपचारपछि पनि उनको देब्रे हात, देब्रे खुट्टा लगायत अंगहरु कम चलेको छन् । हिड्दा दुई वटा लठ्कीको सहायताले हिड्नुपर्छ । यस्तो अपाङ्गता भएकाहरुले प्रयोग गर्ने बैशाखी कसले दिन्छ ? कहाँ जानुपर्छ भन्ने पनि उनलाई थाहा छैन ।
त्यसबेला उपचारमा पनि कुनै सरकारी सहयोग पाइनन्, अहिले अपाङ्गता भएकाहरुलाई दिइने सहायताको लागि हात पसार्दा पनि स्थानीय सरकारले निराशा गराए पनि कम्प्यूटर सिकेपछि आफ्नो स्वास्थ्य अवस्था अनुसार गर्न सकिने केही प्राविधिक सीपले आत्मनिर्भर बन्ने उनले संकल्प लिएकी छिन् ।
उपचार गरेर घर फर्किएपछि पनि दुख कष्टका साथ हिड्न सक्ने हुन उनलाई अरु २ वर्ष लाग्यो अनि उनले २०६६ देखि पुनः ६ कक्षामा भर्ना भइन, २०६७ मा ७ कक्षा र २०६८ मा ८ कक्षा उत्तीर्ण गरिन् । भैसेखोरमा दिदीको घरबाट पढ्दै गरेकी मीनालाई दिदी परिवार बस्ती सरेपछि उनको पढाई रोकियो । अहिले प्राइवेट एसएलसी परीक्षा दिन पाउने खुला विद्यालयमा अध्ययन गर्ने तयारी समेत गरेकी छिन् ।





Leave a comment

Your email address will not be published.


*