बालबालिकाप्रति अभिभावकको कर्तव्य

          |   प्रकाशित मितिः सोमवार, असार २३, २०७६     ::: 83 पटक पढिएको   |  

रजनी मल्ल
पहिले–पहिले हाम्रो समाजमा धेरैजसो संयुक्त परिवार हुन्थ्यो । बालबालिकाले सधैँजसो आफ्ना दाजुभाइ, दिदीबहिनी मात्रै नभएर परिवारका आफ्नै उमेरका अन्य सदस्यहरुसँग पनि खेल्ने, घुम्ने, पढ्ने, रमाउने मौका पाएका हुन्थे । त्यतिखेर स्कुल जाँदा–आउँदा पनि बाटोमा तेलकासा, लुकामारी, घोइकासाजस्ता सबै मिलेर खेलिने खेल खेल्ने गर्थे । तसर्थ उनीहरुलाई एक्लोपनको महसुस कमै हुन्थ्यो । तर अहिलेको हाम्रो समाजमा संयुक्त परिवारभन्दा एक्लो परिवार बढी छ । त्यसमा पनि कसैका आमा त कसैका बुबा कामको सिलसिलामा विदेशिएका हुन्छन्, जसले गर्दा अदृश्यरुपमा कसैलाई आमाको त कसैलाई बुबाको अभाव खट्किराखेको हुन्छ । कतै आमाबाबुको व्यस्तताले गर्दा त कतै रोजगारीको अवसरको खोजीले विदेशतिर भौंतारिँदा आफ्ना सन्तानलाई समय दिन सकिरहेका हुँदैनन् ।

अभिभावकविनाको बालबालिकाले समाजमा कस्तो किसिमको समस्या झेलिराखेका हुन्छन् र उनीहरुको मनस्थिति कस्तो हुन्छ, भविष्यमा यसको असर कस्तो पर्छ भन्ने बारेमा पनि सोच्नु आवश्यक छ । ठान्छन्, सन्तानको भविष्यका लागि त हो नि हामी वयस्त भएका । हुन पनि हो, कहिलेकाहीँ बाध्यताको अगाडि कसको के लाग्छ र ? तर अहिले नै आफ्ना सन्तानलाई समय दिन सकिँदैन भने हामीसँग भविष्यमा न त उनीहरुसँग बिताएका ती रमाइला क्षणहरुको सम्झना हुन्छ, न त उनीहरुसँग नै । ठूला भैसकेपछि उनीहरु आफ्नै दुनियाँमा हुन्छन्, हामी आफ्नै । यी सबै कुरा हामी अभिभावकले अहिले नै बुझ्न सकिएन भने त्यो भविष्य केका लागि ? आफैंले यो संसारमा ल्याएका सन्तानको रेखदेख र संरक्षण गर्नु कुनै पनि अभिभावकको कर्तव्य हो ।

अहिले नै हाम्रा बालबालिकालाई सक्दो समय दिनुपर्छ, जुन अहिले उनीहरुलाई खाँचो छ । अहिले नै हामीले बालबालिकाहरु कस्ता क्रियाकलापमा लागिरहेका छन्, उनीहरु सही बाटोमा लागिरहेका छन् कि छैनन्, खुशी छन् कि छैनन्, कुनै समस्यासँग संघर्ष गरिराखेका त छैनन् ? भन्ने कुरालाई ध्यान दिनु आवश्यक हुन्छ । अर्को कुरा, सबै बालबालिकाको बुझ्ने, सम्झने, सिक्ने क्षमता समान हुँदैन । कसैको दिमाग छिटो चल्छ त कसैको बिस्तारै । तसर्थ आफ्ना बालबालिकालाई अन्य बालबालिकाको बुझ्ने, सम्झने, सिक्ने क्षमतासँग तुलना गरेर गाली गर्ने, होच्याउने गर्नुहुँदैन । यसले उनीहरुको मानसिकतामा नराम्रो असर पर्न सक्छ । बरु उनीहरुको क्षमताको आधारमा बुझाउने, सिकाउने, सम्झाउने प्रयास गर्नुपर्छ, जसले गर्दा उनीहरुले कहिल्यै आफूलाई कमजोर ठान्न नपरोस् ।

हाम्रा बालबालिका कहिलेकाहीँ कुन ठीक, कुन बेठीक भनेर छुट्याउन नसकी अलमलमा परिरहेका हुन्छन् । त्यतिखेर उनीहरुमा धेरै कुराको जिज्ञासा पनि हुन्छ । उनीहरुले कहिलेकाहीँ कतिपय कुराहरु भन्न खोजिरहेका हुन्छन् । त्यतिखेर उनीहरुको कुरा सुनिदिने अनि उनीहरुलाई कुनै एउटा सही दिशा देखाउने मार्गदर्शकको खाँचो हुन्छ, त्यो हो मुख्यतया अभिभावक ।
कहिलेकाहीँ हाम्रा छोराछोरीले पहिलेभन्दा कम बोल्ने, एक्लै बस्न रुचाउने, स–सानो कुरामा पनि रिसाउने, स्कुल जान मन नगर्ने जस्ता क्रियाकलाप देखाएमा केही कुरा ठीक छैन भनेर जान्नुपर्छ । तसर्थ समय–समयमा आफ्ना छोराछोरीको स्कुलमा गएर उनीहरुका बारेमा पनि सोध्नु, कुरा गर्नुपर्छ । कतै आफ्ना सन्तान बुलिङको सिकार त भैरहेका छैनन् ? आजकल हरेकजसो बालबालिकाको हातमा मोबाइल हुन्छ अनि घरमा कम्प्युटर हुन्छ । आमाबुबालाई थाहा नै हुँदैन, उनीहरुले ती साधनको सही प्रयोग गरिराखेका छन् कि छैनन् । कतै ती साधनको माध्यमबाट कसैलाई बुलिङ गरिराखेका छन् कि, कतै उनीहरु नै बुलिङको सिकार भैराखेका छन् कि ? कतै गलत साइतमा गैराखेका छन् कि ?

सबै बालबालिकाको बुझ्ने, सम्झने, सिक्ने क्षमता समान हुँदैन । कसैको दिमाग छिटो चल्छ त कसैको बिस्तारै । तसर्थ आफ्ना बालबालिकालाई अन्य बालबालिकाको बुझ्ने, सम्झने, सिक्ने क्षमतासँग तुलना गरेर गाली गर्ने, होच्याउने गर्नुहुँदैन । यसले उनीहरुको मानसिकतामा नराम्रो असर पर्न सक्छ ।

कहिलेकाहीँ अभिभावकको अथक प्रयास हुँदाहुँदै पनि बालबालिकाले विभिन्न कारणले कुनै समस्यासँग मानसिकरुपमा संघर्ष गरिरहेका हुन्छन् । त्यसमध्ये एउटा ठूलो समस्या अहिलेको संसारमा विकरालरुपमा बढ्दै गैरहेको छ, त्यो हो बुलिङ । विशेष गरी बलिया व्यक्तिहरु मिलेर कमजोर व्यक्तिलाई आफ्नो अधिनमा राखी उसको इच्छाविरुद्धका काम गर्न लगाउने, विभिन्न किसिमले ‘हरेस्ट’ गर्ने, ‘ह्युमिलिएट’ गर्ने मात्रै नभएर शाररिकरुपमै आक्रमण गर्नेजस्ता क्रियाकलाप भइरहेको हुन सक्छ । मानसिकरुपले साइबरको माध्यमबाट आक्रमण गर्नेसम्म पनि भैराखेको हुन सक्छ, जसलाई साइबर बुलिङ भनिन्छ ।

जुन धेरै खतरनाक हुन्छ । विडम्बनाको कुरा के छ भने, यस्ता बुलिङका क्रियाकलाप अनि त्यसको सिकार भैराखेकाहरुलाई कहिलेकाहीँ न परिवारले, न स्कुलले, न त समाजले नै बुझ्न सक्छन् । ती बुलिङका हरेक क्षणले भविष्यमा कहिल्यै नबिर्सिने गरी बालबालिकाको मनस्थितिमा गहिरो छाप छोडेको हुन्छ । फलस्वरूप कतिपय बालबालिका, किशोरकिशोरीहरुले आत्महत्यासमेत गरिरहेका खबर सुन्नमा आउँछ । त्यति मात्रै नभएर त्यही बुलिङको सिकार भैराखेका पीडितहरु नै भविष्यमा एउटा अपराधी बन्न पनि बेर लाग्दैन । तसर्थ कुनै पनि अभिभावकले आफ्ना सन्तानको हरेक क्रियाकलापलाई समयमै बुझ्नु आवश्यक हुन्छ । यदि उनीहरु कुनै पनि समस्यासँग संघर्ष गरिराखेका छन् भने त्यसको समाधानको उपाय पनि अपनाउनुपर्छ ।

कुनै पनि व्यक्तिको पहिलो पाठशाला भनेको उसको घर हो । तसर्थ हाम्रो समाज र राष्ट्रको भविष्यको लागि एउटा इमानदार, कर्मठ र सक्षम व्यक्ति सिर्जना गर्ने कि समाज अनि राष्ट्रलाई नै हानि गर्ने अपराधी मनोवृत्तिको व्यक्ति सिर्जना गर्ने ? त्यसमा अभिभावकको साथै समाजको पनि हात हुन्छ । कुनै पनि अभिभावकको उद्देश्य आफ्नो सन्तानलाई जिम्मेवारी बहन गर्न सक्ने सच्चा र इमानदारी व्यक्ति बनाउने हो, जुन अहिलेको यो संसारलाई आवश्यक छ ।
कहिलेकाहीँ हामीले आफ्ना छोराछोरीलाई नै बुझ्न सक्दैनौं । जब उनीहरु किशोरावस्थामा प्रवेश गर्छन्, त्यो समय कहिलेकाहीँ धेरै गाह्रो हुन्छ । जे गर्दा पनि के नपुगेको, कतै आफैंले नबुझेको हो कि, हुर्काउन नजानेको हो कि भनी दोधारको अवस्था पनि आउँछ आमाबुबालाई । तर त्यसो होइन, त्यो समय नै त्यस्तै हो । हामीले त्यतिखेरको समयलाई बिर्सेको मात्रै हो । त्यतिखेर बडो धैर्यताका साथ उनीहरुलाई सम्झाउने प्रयास गर्नुपर्छ ।

अभिभावकले आफू जतिसुकै व्यस्त भए पनि केही समय आफ्ना छोराछोरीलाई दिनु आवश्यक हुन्छ । उनीहरुसँग पढाइ, साथीभाइ तथा अन्य विषयसम्बन्धी साथीसँग कुरा गरेझैँ कुरा गर्नुपर्छ । साथै उनीहरुको कुरा पनि सुन्नुपर्छ । उनीहरुले भन्न चाहेको कुरालाई स्वतन्त्ररुपले भन्न दिनुपर्छ । कहिलेकाहीँ हामीलाई चित्त नबुझ्ने कुरा हुन सक्लान् । त्यतिखेर रिसाएर गाली, कुटपिट गर्नु मुख्र्याइँ हुन्छ । बरु आफूलाई चित्त नबुझेको कुराको कारण अनि त्यसको परिणाम दर्शाई सम्झाउनुपर्छ ।

कतै हाम्रो परम्परादेखि चलिआएको भन्दै आधुनिक परिवर्तनशील समाजलाई ध्यान नै नदिईकन बढी कट्टरपन देखाउँदा पनि आफ्ना सन्तानले बन्देजको महसुस गर्छन् । हामी पनि आफ्ना सन्तानबाट टाढा हुँदै जान बेर लाग्दैन । तसर्थ कुनै पनि कुरा परम्परादेखि चलिआएको भए पनि अहिलेको परिस्थितिलाई सुहाउँदैन र फाइदा पनि छैन भने त्यो कुरामा बढी जोड दिनु ठीक हुँदैन । तर परम्परादेखि चलिआएका राम्रा कुरा आफूभन्दा ठूलाको आदर गर्ने, हामीलाई चिनाउने हाम्रो पहिचानसँग सम्बन्धित संस्कृतिका कुरालाई सिकाउने र यथावत् राख्ने गरेमा उनीहरुले पनि आफ्नो संस्कृति भुल्नेछैनन् ।

कुनै अभिभावक पेसागतरुपमा आफू जुन पहिचानबाट परिचित छन् समाजमा, आफ्ना सन्तानलाई पनि त्यही पहिचानको बनाउन चाहन्छन् । जस्तै– आफू डाक्टर भए छोराछोरी पनि डाक्टर, आफू व्यापारी भए छोराछोरी पनि व्यापारी । तर छोराछोरी के बन्न चाहन्छन् भन्ने कुरालाई त्यति ध्यान दिँदैनन् । त्यो कुरालाई पनि ध्यान दिनु जरुरी छ अहिलेको समयमा । कसैलाई खाना बनाउने, कसैलाई पेन्टिङ गर्ने, कसैलाई गीत गाउने, कसैलाई नाच्ने जस्ता विभिन्न रुचि हुन्छ । त्यो रुचिअनुसार बालबालिकालाई मौका दिनुपर्छ । यसो गर्दा उनीहरुलाई त्यस क्षेत्रमा सफलता प्राप्त गर्न सजिलो पर्छ ।

छोराछोरीले गरेको राम्रो कामको प्रशंसा गर्नु, उपहार दिनुमा कन्जुस्याइँ गर्नुहुँदैन । उनीहरुले गरेको सहयोगको लागि धन्यवाद दिन पनि बिर्सनुहुँदैन । हामी आफैं बालबालिका हुँदा राम्रो काम गर्दा अभिभावकले गरेको प्रशंसा अनि उपहार दिएका कुरा अहिलेसम्म पनि सम्झन्छौं । हुन त गलत काम गरेमा त्यसको विरोध गर्न पनि पछि पर्नुहुँदैन । कहिलेकाहीँ बालबालिकाले गरेको माग आफूलाई मन पर्दैन भने हुँदैन भन्न पनि सक्नुपर्छ । उनीहरुलाई समयअनुसार अनुशासित बन्न सिकाउनुपर्छ ।

समय–समयमा उनीहरुलाई घुमाउन लग्नुपर्छ । कहाँ जाने, के गर्ने भनेर उनीहरुसँग पनि सल्लाह लिएमा उनीहरुले आफूलाई पनि परिवारको एक महत्वपूर्ण सदस्य भएको महसुस गर्छन् । साथै उनीहरुले आफूलाई एक्लोपनको महसुस गर्दैनन् । हामीले पनि आफ्ना सन्तानलाई नजिकबाट नियाल्ने र उनीहरु नजिक भएको महसुस गर्ने मौका पाउँछौं । हामीले सकभर आफ्ना बालबालिकालाई माया गर्छौं, हेरविचार गर्छौं भन्ने महसुस गराउनुपर्छ, जसले गर्दा उनीहरु मायाको खोजीमा बाहिर भौंतारिनु नपरोस् । नक्कली माया देखाई अनैतिक फाइदा लिनेहरुको फन्दाबाट उनीहरु टाढा रहन सकून् । कतिपय बालबालिका हराइरहेका त कतिपयका बीभत्स तरिकाले हत्या गरी फालिएका खबर बरोबर सुन्नमा आइरहन्छ । तसर्थ आफ्ना बालबालिकाको हेरविचार र संरक्षण गर्नु अभिभावकको ठूलो कर्तव्य हो । सानो गल्तीले पछि जिन्दगीभर पछुताउन नपरोस् ।

संसारको जुनसुकै ठाउँमा रहे पनि समय, ठाउँअनुसार प्रत्यक्ष वा अप्रत्यक्षरुपमा हामी सधैँ छोराछोरीका साथमा छौं र रहिरहनेछौं, उनीहरु कदापि एक्लो छैनन् भनेर महसुस गराउनु नै आजको माग हो ।
(लेखिका मल्ल हाल अमेरिकामा हुनुहुन्छ ।)





Leave a comment

Your email address will not be published.


*