आधारभूत तहमा एकीकृत पाठ्यक्रम

          |   प्रकाशित मितिः मङ्लबार, असार २४, २०७६     ::: 129 पटक पढिएको   |  

यदुराम उप्रेती, रमेश भट्टराई ‘सहृदयी’

नेपालमा विगत दुई दशकयता यथास्थिति पाठ्यक्रमलाई समसामयिक परिमार्जन तथा अद्यावधिक गर्दै कामचलाउ बनाइँदै आएको देखिन्छ । परिणामतः यसले परिवर्तित समाजको आकाङ्क्षालाई पूरा गर्न सकेन । हुन त २०६२÷६३ को राजनीतिक परिवर्तनसँगै राष्ट्रिय पाठ्यक्रम प्रारूप २०६३ कार्यान्वयनमा आयो । यसले पनि यथास्थिति पाठ्यक्रमलाई केही सुधार गरी परिमार्जनसहित पुनरावृत्तिलाई निरन्तरता दियो । यसको अर्थ अनुसन्धानमा आधारित नवीनतम शैक्षणिक पद्धति, नेपालको माटो र परिवेशानुकूल मौलिक संस्कृति एवं सामाजिक न्याय र स्थानीय आवश्यकता उन्मुख सक्षमतामा आधारित शिक्षा प्रणालीको मार्गचित्रलाई कोर्न सकेन । यही आवश्यकतालाई ध्यानमा राखेर बालबालिकाको सर्वाङ्गीण विकासमा सहयोग पु¥याई राष्ट्रनिर्माणका लागि सिर्जनात्मक र तार्किक क्षमता भएको सबल र सक्षम नागरिक उत्पादन गर्ने अठोटसहित राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७५ निर्माण भएको छ ।
यसले विद्यालय शिक्षालाई आधारभूत र माध्यमिक गरी दुई तहमा विभाजन गरेको छ । प्रारम्भिक बाल शिक्षासहित कक्षा १ देखि ८ सम्मको नौवर्षे शिक्षालाई आधारभूत तथा कक्षा ९ देखि १२ सम्मको चारवर्षे शिक्षालाई माध्यमिक शिक्षाका रूपमा कायम गरेको छ । आधारभूत शिक्षालाई विद्यार्र्थीको सिकाइ क्षमतास्तर अनुसार प्रारम्भिक बाल शिक्षासहित कक्षा १ देखि ३ लाई पहिलो, कक्षा ४ देखि ५ लाई दोस्रो र कक्षा ६ देखि ८ लाई तेस्रो तहमा विभाजन गरेको छ । राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७५ ले निर्दिष्ट गरेको सिद्धान्त र संरचना स्वरूपलाई हेर्दा कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम एकीकृत ढाँचामा निर्माण गरी २०७५ चैत २२ गते राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्बाट स्वीकृत भई शैक्षिक वर्ष २०७६ बाट नेपालभरिका १०३ वटा विद्यालयमा कक्षा १ को पाठ्यक्रम परीक्षण कार्य भइरहेको छ । यही आधारमा शैक्षिक वर्ष २०७७ बाट पूर्णतया कार्यान्वयनमा ल्याउने प्रावधान छ भने कक्षा २ र ३ को परीक्षण कार्यलाई शैक्षिक वर्ष २०७७ मा सम्पन्न गराई २०७८ बाट देशभर लागू गर्ने योजना रहेको देखिन्छ ।
के हो एकीकृत पाठ्यक्रम रु
सामान्यतया सिकारुको सर्वाङ्गीण विकास गर्ने उद्देश्यबाट प्रेरित भई विद्यार्थी सक्रियतालाई केन्द्रबिन्दुमा राखेर दुई वा सोभन्दा बढी विषयका सान्दर्भिक पक्षलाई अर्थपूर्ण रूपमा संयोजन गरी निर्माण गरिएको पाठ्यक्रमलाई एकीकृत पाठ्यक्रम भनिन्छ । एकीकृत पाठ्यक्रममा भिन्न विषय क्षेत्रका सिकाइ सक्षमतालाई एउटै पाठ्यक्रममा समावेश गरी सिकाइ प्रक्रियालाई समायोजन गरिएको हुन्छ । विधागत एवं विषयगत पाठ्यक्रम हँुदै बहुविषयगत, अन्तरविषयगत र जीवन्त अनुभवसँग आबद्ध भएको एकीकृत पाठ्यक्रमको विकास भएको पाइन्छ । एकीकृत ढाँचाको पाठ्यक्रम निर्माण नभए पनि पाठ्यपुस्तक निर्माणको क्रममा अन्तरविषय समायोजन गरी २०४२÷४३ मा नि।मा।वि। तहको नेपाली र सामाजिक विषय तथा २०५० मा कक्षा १ देखि ३ सम्मको मेरो सेरोफेरो विषयमा एकीकृत पाठ्यपुस्तक लागू भएको थियो । राष्ट्रिय पाठ्यक्रम प्रारूप २०६३ अनुरूप हाल सञ्चालनमा रहेको कक्षा १ देखि ५ सम्मको विज्ञान, वातावरण, स्वास्थ्य र शारीरिक शिक्षा विषय, कक्षा ६–८ को सामाजिक तथा जनसङ्ख्या विषय, स्वास्थ्य तथा शारीरिक शिक्षा विषय र कक्षा ९–१० को स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा विषयको पाठ्यपुस्तक पनि यही एकीकृत नमुनामा आधारित छन् । तथापि पाठ्यक्रम नै एकीकृत ढाँचामा निर्माण गरी सोहीबमोजिम विद्यार्थी कार्यपुस्तिका र शिक्षक मार्गदर्शनसमेत तयार भएको यो कक्षा १–३ को एकीकृत पाठ्यक्रम नेपालको शिक्षाप्रणालीमा ‘ब्रेक थ्रु’ हो ।
अन्तर्राष्ट्रिय अभ्यास र नेपालको अनुभवलाई केन्द्रबिन्दुमा राखी सामाजिक अध्ययन, विज्ञान तथा वातावरण, स्वास्थ्य तथा शारीरिक शिक्षा र सिर्जनात्मक कलालाई संयोजन गरी अन्तरविषयक ढाँचाको पाठ्यक्रमको रूपमा हाम्रो सेरोफेरो पाठ्यक्रमको निर्माण गरिएको छ । पाठ्यक्रमको समग्र संरचनामा हाम्रो सेरोफेरो, गणित संसार, नेपाली भाषा, अङ्ग्रेजी भाषा र मातृभाषा वा स्थानीय विषयवस्तुलाई बहुविषयक ढाँचामा समावेश गरिएको छ । एकीकृत पाठ्यक्रमलाई सक्षमतामा आधारित बनाउन कक्षा १–३ का तहगत र विषयगत सिकाइ उपलब्धि पहिचान गरिएको छ । यस पाठ्यक्रमले विषयगत सक्षमताका साथै जीवनोपयोगी व्यवहारकुशल सीपलाई समेत एकीकृत गरेको छ । व्यवहारकुशल सीप अन्तर्गत सोचाइ सीप, वैयक्तिक सीप, अन्तरवैयक्तिक सीप, सूचना प्रविधि तथा बहुसाक्षरता सीप र नागरिक सीप समावेश गरिएका छन् । यी व्यवहारकुशल सीपलाई सबै विषयसँग अन्तरसम्बधित गरी एकीकृत गरिएको छ ।
एकीकृत पाठ्यक्रम अनुसार अब पूर्णाङ्कमा आधारित विषय हुने छैनन् । सबै विषय पाठ्यघण्टा ९क्रेडिट आवर० अनुसार निर्माण गरिएको छ । कक्षा १–३ सम्म हरेक कक्षा २६ पाठ्यघण्टाको हुनेछ । एक पाठ्य घण्टा बराबर ३२ कार्य घण्टाको सिकाइ सहजीकरण क्रियाकलाप तोकिएको छ । यसरी एउटा कक्षामा वर्षभरि ८३२ कार्य घण्टाको सिकाइ सहजीकरण हुनेछ । यस पाठ्यक्रमले अब घण्टीमा आधारित शिक्षण सिकाइ क्रियाकलापलाई कक्षागत ९ग्रेड० शिक्षणमा रूपान्तरण गरिदिएको छ । यसको अर्थ एउटा शिक्षकले हरेक दिन चार घण्टा २० मिनेट समय एउटा कक्षामा बिताउनुपर्नेछ । यसका साथै विद्यार्थीले विषयगत शिक्षकको नाम पनि कण्ठ गरिराख्नुपर्ने झन्झट गर्नुपर्दैन तर शिक्षक सबल नहुँदा विद्यार्थी शिक्षक दुवैलाई पट्यारलाग्दो कक्षा हुन पनि सक्छ । विद्यार्थीको रुचि, आवश्यकता, समय, परिस्थितिअनुरूप एउटा शिक्षकबाट हाम्रो सेरोफेरो, गणित संसार, नेपाली भाषा, अङ्ग्रेजी भाषा र मातृभाषा वा स्थानीय विषयका ज्ञान सिक्नेछन् । अब विद्यार्थीले जुनसुकै विषय पनि सारवस्तुमा आधारित भई सिक्नेछन् । गणित संसारमा जोड, घटाउ भनेर पढ्ने छैनन् बरु निश्चित सारमा आधारित भएर नेपाली, अङ्ग्रेजी, गणित, सामाजिक, विज्ञान, स्वास्थ्यसँग सम्बन्धित सम्पूर्ण कुरा एकीकृत रूपमै सिक्नेछन् ।
हरेक विषयको पहिलो सार ‘म र मेरो परिवार’ नै रहनेछ । यही सारमा आधारित रही विभिन्न सिकाइ सहजीकरण क्रियाकलाप समावेश गरिएको छ । सिकाइ उपलब्धि हासिल गर्न सहयोगी साधनहरू ः पाठ्यक्रम, शिक्षक मार्गदर्शन र विद्यार्थी कार्यपुस्तिका रहनेछन् । अब शिक्षक र विद्यार्थी पाठ्यपुस्तकमा मात्र खुम्चिनुपर्ने छैन । शिक्षकका लागि पाठ्यक्रम कार्यान्वयन मार्गदर्शन र विद्यार्थीका लागि विद्यार्थी कार्यपुस्तिका रहनेछ तर अब पाठ्यपुस्तक भने रहनेछैन ।
कार्यान्वयनको अवसर
आधारभूत शिक्षाको पहिलो तह ९कक्षा १–३० का लागि निर्माण गरिएको एकीकृत पाठ्यक्रम नेपालको शैक्षिक विकासक्रमको कोसेढुङ्गा हो । यसले विश्वमा भएका नवीनतम शैक्षिक परिवर्तन, नेपालको वर्तमान सन्दर्भ र स्थानीय आवश्यकतालाई दृष्टिगत गरी बालबालिकाको सर्वाङ्गीण विकासमा सहयोग पु¥याउने अभीष्ट राखेको छ । सिकाइलाई बालबालिकाको दैनिक जीवनका व्यावहारिक पक्षसँग अन्तरसम्बन्धित बनाउँदा बालबालिकाको सर्वाङ्गीण विकासमा टेवा पु¥याउने ध्येय सकारात्मक हुन्छ । सिकाइका नवीनतम सिद्धान्त, विधि तथा प्रक्रिया अवलम्बन गरी बालकेन्द्रित पद्धतिबाट बालबालिकाको सिर्जनात्मक एवं तार्किक क्षमताको विकास गर्ने, विषयगत सिकाइ उपलब्धिका साथै व्यावहारिक शिक्षातिर उन्मुख भएको कुरा सराहनीय छ ।
कार्यान्वनमा चुनौती
पाठ्यक्रम केवल लिखित दस्तावेजको सँगालो मात्र होइन, सफल कार्यान्वयनका लागि बनाइएको गतिशील योजना पनि हो । पाठ्यक्रमको सफलता र असफलताको कडी नै यसको कार्यान्वयनको पाटो हो । आधारभूत तह कक्षा १–३ को एकीकृत पाठ्यक्रम हाल परीक्षणको अवस्थामा छ ।
विधागत एवं विषयगत पाठ्यक्रमको विरासतमा हुर्केका हामी सबैका लागि एकीकृत पाठ्यक्रमको मर्म र ध्येय बुझ्ने चुनौती हुन्छ । हाम्रो मस्तिष्कमा भरिएको अघिल्ला विचारलाई बदल्ने र एउटा तहगत शिक्षकद्वारा बहुविषयक पाठ्यक्रमको सफल कार्यान्वयन गर्ने कुरा कक्षाकोठाभित्र सिद्धान्तमा जस्तो सहज बन्दैन । नेपालीभाषा अध्यापन गर्न सक्ने शिक्षक अङ्ग्रेजी, गणित र सेरोफेरोका लागि सहजकर्ता बन्नलाई भनिए जसरी सजिलो हुँदैन । शिक्षण सिकाइका लागि पाठ्यपुस्तक मात्र पाठ्यसामग्रीको रूपमा प्रयोग गरिँदै आएको प्रचलनलाई विस्थापित गरी अब पाठ्यक्रम, शिक्षक मार्गदर्शन र विद्यार्थी कार्यपुस्तिकाबीच तालमेल मिलाएर मात्र सिकाइ क्रियाकलाप सहजीकरण गर्नु अधिकांश शिक्षकका लागि चुनौतीमय देखिन्छ । धेरै सामुदायिक विद्यालयमा विद्यार्थीसङ्ख्याको तुलनामा विद्यालयको भौतिक सुविधा र शिक्षकको दरबन्दीबीच तालमेल नमिलेको अवस्थामा एकीकृत पाठ्यक्रमको सफल कार्यान्वयन शङ्काको घेरामा नपर्ला भन्न सकिन्न ।
देश सङ्घीय संरचनामा पूर्ण अभ्यस्त नभइसकेको अवस्थामा शिक्षाक्षेत्रमा देखिएका केही नीतिगत र संरचनागत पक्ष पनि त्रुटिपूर्ण र अपूर्ण छन् । सङ्घीय शिक्षा ऐन निर्माणमा ढिलासुस्ती, जिल्ला शिक्षा विकास तथा समन्वय शाखा र स्थानीय तह अन्तर्गत शिक्षा हेर्ने शाखाबीच स्पष्ट कार्यक्षेत्राधिकार किटान भएको पनि देखिँदैन । आपसमा राम्रो समन्वयको अभाव छ । निरन्तर विद्यार्थी मूल्याङ्कन, उदार कक्षा पदोन्नति नीति, विद्यार्थी कार्यसञ्चिका फाइल र रुब्रिक्सको प्रयोग सम्बन्धमा अहिले पनि धेरै शिक्षकले यसलाई झन्झटिलो र बोझका रूपमा लिइरहेको मानसिकतामा पुनः त्यही पद्धतिलाई पुनरावृत्ति गर्नु एकीकृत पाठ्यक्रमका लागि अभिशाप साबित हुनसक्छ । पूर्णतया बालमैत्री विद्यालयको धरातल नभएको आजको अव्यवस्थित परिस्थितिमा नीति बनाएर मात्र हुँदैन, स्थानीय परिवेश अनुकूलको प्रभावकारिता परीक्षण पनि अनिवार्य शर्त हुनुपर्छ ।

(उप्रेती त्रिविअन्तर्गत शिक्षाशास्त्र सङ्काय र भट्टराई आदर्श बहुमुखी क्याम्पस, धादिङमा अध्यापनरत हुनुहुन्छ । )





Leave a comment

Your email address will not be published.


*