‘दाइ’हरूको डर

          |   प्रकाशित मितिः शुक्रबार, साउन ३, २०७६     ::: 54 पटक पढिएको   |  

त्यो दिन कुलपूजा थियो।

स्कुलबाट सीधै घर आउन पर्दैनथ्यो। खेल्दै खेल्दै कुलदेवताको थानसम्म पुग्ने। टपरीमा खिर खाने र खेल्दै खेल्दै घर फर्किने। खिर पनि खान पाइने र घरमा ढिलो जान पाइने भएपछि मलाई कुलपूजा हप्तैपिच्छे भइदिए पनि हुन्थ्यो जस्तो लागिरहन्थ्यो। कुलपूजाको प्रसाद खान जाने हो भनेपछि स्कुलमा छुट्टी मिलिजान्थ्यो।

त्यो दिन पनि म कुलपूजाको खीर खाएर खेल्दै खेल्दै घर पुगेँ। आमाले बुनिदिएको झोला किताबसहित पिँढीमा हुत्याएँ। कपडा फेरेँ र खेल्न दौडिएँ।

धेरै टाढा नपुग्दै दाइले जोडले बोलायो।

मेरा पाइला घचक्क रोकिए।

आज फर्किएर हेर्छु, त्यो दिनको घटनाले मलाई कति धेरै वर्षसम्म रोकेछ। कति धेरै पटक रोकेछ।

त्यसको ८ वर्षपछि प्रधानमन्त्री निवास बालुवाटारबाट तुफानको बेगमा आएको बाइक सोल्टीमोडनेर घचक्क रोकियो।

राति १ बजेसम्म पनि सात दलको बैठक कुर्दाकुर्दा कुनै उपलब्धी नभएको स्टेटमेन्ट रेकर्ड गरेर फर्किएकी थिएँ। भोलि बिहानै ६ बजेको समाचारमा त्यो आवाज आफ्ना स्रोतालाई सुनाउन चाहन्थेँ। त्यसैले दाइले चलाएको बाइकभन्दा मेरो मनको बेग तीव्र थियो।

म सिकारू।

‘कुल एडिट’मा मेरा हात दौडिनु सिकारू नाइले कपाल काटेजस्तै थियो- थरथरी र बाङ्गोटिङ्गो। मलाई कताकता अब देश दुनियाँ चिनिसकेँ भन्ने भ्रम पनि थियो। किनकी दुनियाँलाई जगाएको ०६२/६३ को जनआन्दोलनको साक्षी  जो बनेकी थिएँ। राजाले जनताको अघिल्तिर घुँडा टेकेको पनि देखेकी थिएँ।

तर ‘म तिमीलाई रविभवनमा रहेको अफिससम्म पुर्‍याइदिन्छु’ भनेर सोल्टीमोडमै बाइक घचक्क पार्ने ‘दाइ’ को नियत भने बुझ्न सकेको रहेनछु।

मैले सोधेँ, ‘दाइ, के भो?’

केही बोलेनन्। बाइक रोकिरहे। एकछिनपछि मैले फेरि भनेँ, ‘दाइ, बाइक बिग्रयो?’

‘दाइ’को मुख चलेन। बाइक पनि चलेन।

उनका हात भने सलबलाउन थाले। म छाँगाबाट खसेजस्तै भएँ। राति १ बजे सोल्टीमोड चोकमा थाहा छैन ती दाइले अरू के गर्थेँ!

तर म हुत्तिएँ, दौडिएँ। तुफान कति छिटो दौडिन्छ? अहिले सम्झिँदा मलाई लाग्छ- म तुफानभन्दा पनि तीव्र बेगमा दौडिएर रविभवनको डेरामा पुगेँ।

डेरा मनमती खोलाको किनारमै थियो। नाममात्रैको हो, मनमती।  सधैँ ढल बगेको देखिन्थ्यो। ह्वास्सै गन्हाउँथ्यो। त्यो रात भने ढलभन्दा धेरै ती ‘दाइ’ को नियत गन्हायो मलाई । साँच्चै हो, त्यतिखेर मैले मनमतीबाट आउने गन्ध थाहा पाइनँ।

गोडा थरथरी काँपे। हातले पनि केही भर पाएन। शरीरका अंग सन्तुलित हुन मन सन्तुलित हुन पर्ने रहेछ। जुन मैले गुमाइसकेको थिए। सबैभन्दा ठूलो हिनताबोध विश्वास गुमेको बेला हुँदो रैछ। त्यो पनि मैले त्यसैबेला थाह पाएँ।

आँखा मिच्दै उठेकी आमाले सोधिन्- आउन अझै एक घन्टा लाउँच भन्तिस् त!

म बोल्न सकिनँ। बोलिनँ भनेर मन दुखाइन् होला, घुप्लुक्कै सुतिन्। भाइ निदाइसकेको छ। म पनि मेरै बिस्तारामा छिरेँ। निदाउने भने कुनै छाँटकाँट आएन। मन पिरमा हुँदा त पेटले खाना पनि नखोज्दो रैछ। बरू मनमै आगो लागेर पग्लिएका पीडाहरूले निकास खोज्दा रैछन्। त्यो साँघुरो कोठामा रूने माहौल नै थिएन। हामीलाई देखपाल गर्न गाउँ छोडेर काठमाडौं आएकी आमालाई सबै कुरा भन्छु भनेर रातभरिमा दसौं चोटी सानो स्वरमा बोलाएँ, आमा…।

अनि हरेक पटक म रोकिएँ।

उही कुलपूजाको दिनबाट सुरू भएको भयले मेरा कुरा आमालाई भन्नबाट रोक्यो। सुरूसुरूमा बोलाउँदा हूँ…भनेर जवाफ फर्काउने आमा पनि कतिखेर निदाइसकिछन्। म भने पढेलेखेका, भोलि पत्रिकाको फ्रन्टपेजमै बाइलाइन आउने सम्भावना भएका ती दाइले निचोरेका छाती दुखेर रोएँ, बिस्तारै। छातीभन्दा धेरै निचोरिएको मन दुखेर रोएँ अझै बिस्तारै। पत्रकारिताको सुरूआतीमा लागेको यो जोडको करेन्ट सम्झेर रोएँ। यस्ता नरपिचास दाइहरू म हुर्केको गाउँ, मैले पढेको स्कुलमात्रै होइन, यो सभ्य र भव्य शहरमा पनि हुने रहेछन् भन्ने सम्झेर रोएँ।

त्यसपछिका कैयौं रात ती दाइको कर्तुतबारे कतै भन्न नसकेको खिन्नताको ऐंठनले मलाई थिचिरह्यो। यही घटनापछि हो राजनीतिक पत्रकारितामै करियर बनाउँछु भनेर कसिएका मेरा पाइला धरमराएका।

त्यसपछिको धेरै समय म सात दलको बैठक ढुक्न गइनँ। पत्रकारिता काम लाग्दो चिज हो या होइन भन्ने विरोधाभाषमा धेरै महिना बिते। न ती ‘दाइ’बारे कतै भन्न सकेँ न आफैंले रोजेको पत्रकारिताबाट टाढिन सकेँ।

समय बित्दै गयो। राजनीतिप्रतिको मेरो चाख भने घटेन। सायद त्यही चाख देखेर होला मेरा सम्पादकले मलाई मधेस आन्दोलनको रिपोर्टिङ गर्न पठाउने भए, नागरिक आन्दोलनका अगुवाहरूको टोलीसित। त्यो जम्बो टोलीमा मबाहेक सबै पुरूष थिए। कलंकीबाट गाडी चढ्नै लाग्दा टिममा पुरूषैपुरूष देखेपछि म आत्तिएँ।

यसो हेरेँ, ती सबै पुरूष पात्रको अनुहारमा फेरि उनै ‘दाइ’ देखेँ। ठूलो संशयसहित तीन दिनसम्म नागरिक आन्दोलनका ती अगुवाहरूसँग मधेस डुलेर आएपछि मलाई लाग्यो- पुरूष असल पनि हुने रहेछन्।

यही भरोसाले राजनीतिक रिपोर्टिङप्रतिको मेरो मुर्छित लगाव फेरि चलमलाउन थाल्यो।

रेडियोमा काम गर्ने अधिकाशं महिलाले महिला बीट नै रोजिरहेका बेला मैले पुनर्स्र्थापित संसदमा रिपोर्टिङ गर्छु भनेँ। रिपोर्टिङका लागि तत्कालीन माओवादी पार्टी छानेँ। अफिसले मलाई शंकासहितको अनुमति दियो।

फुरूङ्ग परेँ।

राजनीतिक घट्ना परिघट्नाको परिचर्चा भइरहने घरमा हुर्केकी थिएँ। त्यसैले पनि होला मलाई संसदमा हुने बहस रोचक लाग्थे। भर्खरै सशस्त्र युद्ध छोडेर आएका माओवादी नेताहरूका कुरा सुन्न लालायीत हुन्थेँ। उनीहरू हेर्दा साना र सुरिला थिए। कुरा भने ठूल्ठूला परिवर्तनका गरिरहेका भेटिन्थे। त्यसैले सकेसम्म संसद र कतिपय समितिका रिपोर्टिङ नछुटाइ गर्न पाए हुन्थ्यो भन्ने लागिरह्यो। बरू प्लस टुका कक्षाहरू ‘बंक’ गरेँ तर अहँ मलाई व्यवस्थापिका संसदको रिपोर्टिङ छोड्न मन लागेन।

मलाई थाह थिएन, संसदीय मामिलामा रिपोर्टिङ गर्ने अर्का पत्रकार ‘दाइ’ मलाई पनि छोड्न चाँहदैनथे। म पुनर्स्थापित संसद सचिवालयले पत्रकारका लागि बनाइदिएको मिडिया सेन्टर जाने बाटोमा थिएँ। त्यहाँनिर सानो गल्लीजस्तो छ। ती दाइ मेरो पछिपछि आए, पछाडिबाट चपक्कै अंगालो हाले। एकै हातले लपेटे र मसित ठेस्सिए। के भइरहेको छ भन्ने मेसो पाइनसक्दै ती दाइको जिब्रो मेरो कानवरीपरि नाच्यो। म दिगमिगाए।

मेरो निरीहताको परीक्षण दोस्रो पटक भयो। मध्यरातमा होइन, मध्यदिनमा संसद भवनमा। अहँ यसपालि पनि म उम्किनुबाहेक केही विकल्प देखिनँ। यो संवेदनशील ठाउँमा ती ‘सम्मानित दाइ’ ले गर्न सक्ने हर्कत गरिसकेका थिए। यदि अहिलेको अवस्थामा हुन्थेँ भने ती पात्रलाई सबैभन्दा पहिले यसो नगर भन्थेँ। नत्र चिच्याउँथेँ  होला कराउँथेँ होला। नजिकैको मिडिया सेन्टरमा भएका अरू पत्रकार दौडिदै आएर ती ‘दाइ’ को झाँको झार्थे होला। वा त्यसो नहुन पनि सक्थ्यो। उनीहरूले आएर मलाई नै उल्लीबिल्ली पार्न पनि सक्थे।

मैले फेरि कुलपूजाको त्यो दिन सम्झिएँ।

अचानक ज्वरो आएझैँ भयो, त्यो दिनको रिपोर्टिङ गर्नै सकिनँ।  म फर्किएँ, कुन तोडमा बबरमहल पुगेँ, कुन तोडमा कलंकीको टेम्पु चढेँ अहिले याद गर्न खोज्दा पनि सक्दिनँ। संयोग पनि कस्तो, सो टेम्पुमा मैले नै काम गर्ने नेपाल एफएममा मेरै आवाजको महिला पुरूष बराबरी हुन भन्ने आशयको चेतनामूलक सन्देश बज्यो। रेडियोले मलाई नै गिज्याएजस्तो। मनमनै भनेँ- संसार ढोंगी छ।

समय बित्दै गयो, संसद सचिवालयतिर जम्काभेट भइरहन्थ्यो ती पत्रकारसँग। म बाटो मोड्दै गएँ। सकेसम्म उनको छेउछाउमै गइनँ। उनका अगाडि मेरा आँखा सधैँ झुकिरहे, एक बहादुरसामू घनघोर अपराधी झुकेझैं।

उल्टो ती ‘दाइ’ ले गरेका अनर्गल प्रचारका हुइयाँहरू मेरो कानमा पनि ठोक्किन आइपुग्थे। खबर बोकेर आउनेले भन्थे— हावा नचली पात हल्लिन्न। म झन निरीह हुँदै गएँ।

देशमा संविधान सभाको चुनाव भयो। संविधान सभाले नयाँ संविधान बनाउने प्रक्रिया बुझ्ने चाहना अरू पत्रकारलाई जस्तै मलाई पनि थियो। रेडियोको पत्रकार भएकाले मसँग समयको केही सीमितता हुन्थ्यो। प्रमुख रिर्पोटिङ भने कहिल्यै छुटाउन मन लागेन।

यही मेसोमा मैले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले पत्रकारहरूसँग नियमित भेटघाट गर्छन् भन्ने थाहा पाएँ। मलाई पनि त्यो भेटमा सरिक हुन मन लाग्यो। म पनि छेउमा टुसुक्क बस्ने र नेम्वाङका कुरा ध्यान दिएर सुन्न थालेँ। नेम्वाङ पहिले नै कार्यकक्षमा रहेछन् भने त खास फरक पर्दैनथ्यो।

उनलाई कुर्न पर्ने भयो भने अर्कै महाभारत हुन्थ्यो। दुई जना ‘दाइ’ यसरी बोल्थे तिनका शब्द कतिपय सार्वजनिक शौचालयका भित्तामा लेखिएका शब्दसँग ठ्याक्कै मिल्थे। तीनले त्यो मर्यादित ठाउँलाई नै चर्पीको भित्तो बनाएपछि म सहन नसकेर धेरै पटक बाहिर निस्किन्थेँ।

आजको अवस्थामा हुन्थेँ भने म जुरूक्क उठ्थेँ र भन्थेँ होला- संसदीय पत्रकारिता पुरूषको एकल कब्जाबाट मुक्त भइसक्यो। मुख सम्हालेर बोल। त्यो बेला भने दुई ‘दाइ’ हरूको को बोलीले म नै लज्जित भएँ। बारम्बार आफैं साइड लागेँ।

मैले पछि अरूसँग पनि सोधेँ, उनीहरूको बोल्ने शैलीबारे। थाहा पाएँ, केटीमान्छे वरिपरि देखेपछि उनीहरू त्यसरी बोल्दा रहेछन्। केटी हुनुको बाध्यताले फेरि पिरोलिएँ।

रेडियो छोडेर मैले एनजिओको जागिर सुरू गरिसकेकी थिएँ। मसँग लेख्नै पर्ने केही ‘घच्ची’ सूचना थिए। यसलाई ठूलो समाचार बनाउन पर्‍यो भन्ने लाग्यो।

एउटा गतिलै सञ्चारमाध्यमका समाचार सम्पादक‘दाइ’लाई फोन गरेर सबै कुरा बताएँ। उनले थप छलफलका लागि भोलिपल्ट दिउँसो १ बजेको समय दिए। समयमै म उनको कार्यकक्षमा छिरेँ। सामान्य औपचारिकतालगत्तै म मेरो विषय र स्टोरीको ‘एंगल’बारे कुरा गर्न थालेँ। ५ मिनेटसम्म म एकोहोरो बोलिरहँदा पनि उनले कुनै प्रतिक्रिया दिएनन्।

मैले कागजमा गाडिएको आँखा उठाएर उनको अनुहारतिर हेरेँ। दाइका आँखा अघिदेखि मेरो मेरो शरीरमा केन्द्रीत रैछन्।

एकछिनको सन्नाटापछि ती समाचार सम्पादक ‘दाइ’ ले सोधे, ‘उमेरदार छौ, मिलेको शरीर छ, एक्लै छेउ, मनमा केही रहर लाग्दैन, रमाइलो गर्न मन लाग्दैन?’

मैले दाइको हेराइ र भनाइको आशय बुझेँ।

मैले व्यक्तिगत कुरामा नजाऔं, ‘इस्यु’ मै कुरा गरौं भनेँ। उनी रोक्किएनन्। भने, ‘मलाई तिम्रो शरीर पहिल्यैदेखि मन पर्थ्यो।’

एक कदम अघि बढेर उनले प्रस्ताव गरे, ‘हामी ‘रमाइलो’ गरौं तिमीलाई अहिले पाइरहेको तलबभन्दा धेरै दिएर यहीँ जागिर मिलाउँछु।’

उनको प्रस्ताव ‘सेक्स’ मा पुगेर रोकियो।

कुनै अत्याचारको रिपोर्टिङ गर्छु भनेर त्यहाँ पुगेकी म ती दाइको अत्याचारी नजरमा परेँ। मलाई अरूको बारेमा लेख्न खोजेको त्यो इस्युभन्दा मेरो निरीहतामाथि दया लाग्न थाल्यो।

छलफल गर्न बनाएको विषयको फाइल बोकेँ। त्योभन्दा गह्रुंगो मन बोकेर उनको कार्यकक्षबाट बाहिरिएँ। मलाई त्यस्ता मान्छेहरूसँग बोल्ने भन्दा पनि भाग्ने बानी जो परिसकेको थियो।

यो बीचमा समय धेरै बग्यो।

अहिले म छोरीसँग बस्छु। केही समयअघि उसले अचानक प्रश्न गरी, ‘मम्मी अरूले फेस, चेष्ट र पिसाब फेर्ने ठाउँमा छोयो भने मलाई त्यसो नगर्नुस् भन्नुपर्छ हो?’

आफ्ना मिसहरूभन्दा मम्मी जान्ने हुनुहुन्छ भन्ठान्ने छोरीले उसलाई स्कुलमा सिकाइएको कुरा मसँग ‘भेरिफिकेसन’ गरेकी हो भन्ने मैले बुझेँ। मैले हो भने। थपें, ‘कसैले त्यसो गर्‍यो भने नछुनुस् भन्नपर्छ, अनि घरमा मम्मी र स्कुलमा मिसलाई पनि भन्नुपर्छ।

मलाई आफूले भोगेका त्यस्ता हिंसा आमासँग साट्न नपाएकोमा सबैभन्दा ठूलो दु:ख छ। मेरा सम्पादकहरूसँगै भन्थेँ भने पनि कुनै न कुनै बाटो पाउँथेँ होला। मलाई नै आक्षेप आउला भन्ने डरका कारण भनिनँ। अनि यस्ता खलपात्रहरूसँग म बारम्बार ठोक्किन पुगेँ।

पत्रकारिताको यो यात्रामा मैले हजारौंसँग संगत गरेँ। सयौँ पत्रकारसँग सम्कर्पमै हुन्छु। तीमध्ये नियत खराब भएका १८ जना नै समग्र पत्रकारिता क्षेत्र होइन।

तर ममाथि जुन-जुन ठाउँमा प्रहार भएको छ, ती ठाउँमा पनि यस्ता हर्कत हुन्छन् भनेर कल्पना गर्न सकिन्छ र? भन्नुस् त- नाम चलेको सञ्चारमाध्यमको समाचार सम्पादकको कार्यकक्ष, ठूला राजनीतिक दलको कार्यालय, संसद भवन सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटारको बाहिरी भाग सबैभन्दा सुरक्षित ठाउँ होइनन्? तर पढेलेखेका पत्रकार दाइहरूले त सधैँभरि प्रहार गरिहे नि!

झन्डै १२ वर्षअगाडिको त्यो सोल्टीमोड घटनादेखि करिब डेढ वर्षअघि अफिसियल कुरा गर्न बोलाएर हतार-हतार कार्यकक्षको चुकुल लगाउने पत्रकार ‘दाइ’हरूको हर्कत सम्झेर म कहिलेकाहीँ अवाक हुन्छु।

यो १२ वर्षे पत्रकारिता यात्रामा मलाई जानाजान विक्षिप्त बनाउने पत्रकार ‘दाइ’हरूको संख्या १८ पुगेछ। मैले १८ औं पत्रकारलाई मात्रै मुखभरिको जवाफ दिन सकेँ। अब आइन्दा त्यसो नगर्न चेतावनी दिएँ र कोठाबाट बाहिरिएँ।

त्यसअघिका १७ सामू त म हमेसा झुकेरै बसेँ। निरिह भइरहेँ। कति नियतहरू थाहा पाएरै पनि नपाएझैं गरिदिएँ। कति छुवाइहरू झुक्किएर होला भन्ठानिदिएँ।

आज म त्यस्ता छुवाइ खराब हुन् भनेर छोरीलाई सिकाउँदैछु।

मलाई यति लामो समयसम्म के रोक्यो होला? केले निरीह बनायो होला?

सायद त्यो कुल देवताको पूजाको दिनले मेरो शक्ति छिन्यो होला।

आफन्तले, मेरा नजिककाले सहयोग गर्छन् भन्ने भरोसा उठ्यो होला। सायद म त्यही दिनदेखि नितान्त एक्ली भएँ होला। आफैंसँग खुम्चिन सिकेँ होला।

त्यो दिन दाइले कराउदा रोकिएका पाइला दोस्रो पटक उसले कराएपछि घरतिरै फनक्क घुमे।

म बिस्तारै घरभित्र छिरेँ। उसले सकेको बल निकालेर टाउकोमा बजार्‍यो। मैले पिटाइको कारण बुझ्न सकिनँ। आँसु मिसिएका आँखाले आमाको सहारा खोजेँ। उनीतिर पुलुक्क हेरेँ। उनी पनि उसैगरि रिसाएकी थिइन्।

हिक्कहिक्क गर्दै दाइलाई सोधेँ- किन पिटिस्?

उसले उल्टो सोध्यो- फलानोलाई किन ढुंगाले हानिस्?

दाइले भनेको त्यो ‘फलानो’ले खेल्दाखेल्दै मेरो मिड्डी तानिदिएको थियो। मेरो कट्टु फुकालिदिएको थियो। त्यसपछि मैले उसलाई ढुंगाले हानेको थिएँ। ढुंगाले उसको खुट्टामा चोट लागेको थियो। मुर्मुरिएर हिँडेको उसले आफ्नी आमालाई के बयान दियो कुन्नी, मभन्दा पहिले घरमा पुगेका उनीहरूले मेरी आमा र दाइलाई के-के बयान दिएछन्। उनीहरूले मलाई सुनाएनन्। मैले भनेको कुरा उनीहरूले पत्याएनन्।

नौ वर्षकी त्यो बच्चीले गरेको प्रतिवाद जायज थियो भनेर कसैले भनिदिएन। बरू अब आइन्दा कसैलाई पनि हात नहालेस् भनेर बाचा कबुल गराइयो। त्यही क्रममा आमाले कैयौँ गाली गरिन्, दाइले अरू दुई चार झापड थप्यो। त्यो नौ वर्षकी बच्ची सायद त्यही दिन आफूमाथि खसेको हिंसाको आकाश आफूलेमात्रै थाम्नुपर्छ भन्नेमा पुगी। त्यसको भागिदार आफैं हो भन्ने निष्कर्षमा पुगी। 

अनि म रक्षात्मक बन्दै गइरहेँ। ‘दाइ’हरूका कर्तुतको लामो समयसम्म प्रतिवाद गर्न नसक्नुको कारण पनि सायद त्यही थियो। 

अब भने म त्यसबाट बाहिर आउने क्रममा छु। यस्तो हिंसा भावी पुस्तालाई हुन सक्छ भन्नेमा सचेत छु। त्यसकारण छोरीलाई सुन्छु, उसले भनेका हर कुरा पत्याइदिन्छु। मेरी छोरीले दु:ख बिसाउने सबैभन्दा ठूलो चौतारी म नै बन्न सकूँ भन्नेछ ताकि उसले भरपुर आत्मविश्वास पाओस्। Setopati





Leave a comment

Your email address will not be published.


*