नौमुले २.०

          |   प्रकाशित मितिः आइतवार, साउन ५, २०७६     ::: 124 पटक पढिएको   |  

गोपाल गुरागाईं

दैनिकी सजिलो छैन तर दैनिकी असजिलो हुने ठाउँका मानिसचाहिँ सजिला छन्। लहरै रूखमा फलेका सुन्तलाका दाना, ससाना कान्ला भएका बारीमा फलेको रायोको साग र तरकारीले उनीहरूको पौरख बताउँछ। अनि हामीले खाइदिए हुन्थ्यो जस्तो गर्ने आँखाको हेराइले उनीहरूको उदारताको बयान गर्छ।

भैरव मावि नौमुलेका प्रधान अध्यापक नगेन्द्र सिंह माओवादी आतंक थेग्न नसकेर एकपल्ट असारमा उर्लेको नौमुले खोलाको भेलमा फालहालेका मानिस थिए। माओवादीले सिध्याउन खोज्दा भागेका नगेन्द्र सिंहलाई उर्लेको भेलले चाहिँ बगाएन, बरु खोलापारिको पाखामा लगेर छाडिदिएको थियो।

‘त्यो लडाइँको कुराचाहिँ काठमाडौंमै भेटेर गरौं न !’, अघिल्लो साँझ हेड सर नगेन्द्र सिंहले नौमुलेमा भएको त्यो आक्रमणको कुरा भोलि बिहान गरौं भनेका थिए। बिहान काठमाडौंमा गर्ने भने।

२०७५ साल मंसिर १३ गते बिहान, उनी काठमाडौं जाने हतारोमा थिए। मलाई पनि त्यही दिन पश्चिमी दैलेखमा पुग्नुपर्ने हतारो थियो। त्यसैले लाग्यो, कुरा गर्न हामी दुवैका लागि काठमाडौं उपयुक्त ठाउँ हो। काठमाडौं आएर मैले उनलाई फोन गरेँ, तर कहिल्यै फोन लागेन, कहिले लागेर पनि उठेन। त्यसपछि मलाई लाग्यो, दैलेखको भैरव मावि नौमुलेका प्रधान अध्यापक नगेन्द्र सिंहलाई त्यो भयानक दिन र रात सम्झन मन छैन होला !

नगेन्द्र सरसित म कुरा गर्न खोज्दै थिएँ, १९ वर्षअघिको एक रातको। सम्झन खोजेको मिति २०५७ चैत २४ गते। त्यो रात माओवादीले गरेको हमलामा नौमुलेको प्रहरी चौकी त ध्वस्त भयो नै, २७ जना प्रहरीका लास पनि अचानोमा काटेको मुला आँगनमाा मिल्केझैं नौमुलेका पाखा भित्तामा छरिएका थिए। ती लासमा घोप्टिएर मृतक प्रहरीका पत्नी र छोराछोरी नौमुले माथिको सालकोटको डाँडै फाट्लाजस्तो गरी क्वाँ क्वाँ रोइरहेको देखिन्थ्यो। यी सबै घटना नगेन्द्र सिंहका आँखैअगाडि भएका थिए।

म त्यो रातका घटना उनका मुखबाट सुन्न लालायित थिएँ। ती मृत प्रहरीका सन्तानलाई भेट्न पनि मन छ अझै। तर यस्तो बीभत्स घटना फेरि सम्झन पर्दा जो कसैलाई पनि पीडा हुन्छ। त्यसमाथि, नगेन्द्र सिंह त माओवादी आतंक थेग्न नसकेर एकपल्ट असारमा उर्लेको नौमुले खोलाको भेलमा फालहालेका मानिस थिए। माओवादीले सिध्याउन खोज्दा भागेका नगेन्द्र सिंहलाई उर्लेको भेलले चाहिँ बगाएन, बरु खोलापारिको पाखामा लगेर छाडिदिएको थियो। आफैं त्यस्ता दुर्दान्त भोगाइबाट गुज्रेका माडसाबको विषयमा गुन्दा मलाई लाग्यो उनलाई ती दिन सम्झन सजिलो छैन !

हिजोआज फोनमा कुरा हुँदा माड्साब फोनमै त्यो घटना सुनाउन खोज्छन्। तर मलाई माडसाबको स्वर मात्र हैन स्वरको उतारचढाव, ओठ, आँखा र उनको शरीरका अरू धेरै हाउभाउ पनि हेर्नु छ। माडसाब र म दुवै त्यो दिनको प्रतीक्षामा छौं, अचेल।

त्यो दिन अथवा ७५ मंसिर १२ गते, एउटा कामको सिलसिलामा नौमुले पुगेको थिएँ। अचम्मको संयोगले हेडसरसित भेट भयो। बिहान, करिब १० बजे नौमुलेको एउटा होटलमा खाना पर्खंर्दै गर्दा एक दुब्ली पातली मगर सुन्दरीले मेरो नाम लिएर सोधिन्, ‘सर हो ? ’

मैले हो भनेँ। त्यो दिन मैले जानुपर्ने थियो सालकोट र त्यसपछि बांगे। सालकोट जाने बाटो देखाउन उनी माथिको गाउँबाट नौमुले बजार झरेकी थिइन्। उनको नाम थियो फूलमाया। उमेर सरदर २५ वर्षको हुँदो हो। तर, उमेर र नामभन्दा फरक उनको ज्यान थियो। उनको ज्यान फूलको होइन, रूखको सुकेको पातजस्तो देखिन्थ्यो। चप्पल पड्काउँदै उनी म भात पर्खिबसेको होटलमा आइपुगेकी थिइन्।

दैलेख बजारबाट हिँडेको करिब एक घण्टापछि सडकको वरपर साल र सल्लाको मि िश्रत जंगल देख्दा मलाई त्यसैत्यसै अचम्म लागेको थियो। साल र सल्लाको, त्यो पनि गोब्रे हैन, लेकाली सल्लाका रूख थिए सालघारीको बीचबीचमा। प्रकृतिको यो छटा मेरा लागि आश्चर्यजनक थियो। नौमुले पुगेर भात कुर्दा मोबाइलमा त्यही छटाको फोटो हेर्दै थिएँ। त्यही बेला फूलमाया आइपुगेकी थिइन्। आश्चर्यको एउटा ह्याङओभर सकिन नपाउँदै फूलमायाले अर्को आश्चर्य थप्दै भनिन्, ‘खाना खाएर स्कुलमा आउनुहोला है सर !’

त्यति भनेर चप्पल पड्काउँदै उनी जताबाट आएकी थिइन्, त्यतैको बाटो लागिन्। म सालकोट जान हिँडेको मान्छेले अब नौमुलेको स्कुलमा जानुपर्ने भयो। तर मलाई त स्कुल कहाँ छ भन्ने पनि थाहा थिएन। फूलमायाले स्कुल यहाँ छ भनेर पनि भनिनन्, मैले पनि स्कुल कहाँ छ र कसरी आउने भनेर सोधिनँ। म छक्क पर्दै भात कुरेर बसेँ।

कसो कसो मैले खाना खाइसक्दा फूलमाया फेरि झुल्किइन्। स्कुले विद्यार्थीझैँ उनको पछि लागेर म भैरव मावि नौमुलेको प्रांगणमा छिरेँ। स्कुलेको एउटा कोठामा एक दर्जन जति केटाकेटी र दुईजना शिक्षक मलाई पर्खिबसेका थिए। दुईमध्येका एक थिए, हेडसर नगेन्द्र सिंह। बिना कुनै योजना फूलमायाले हाम्रो भेटघाट र चिनजान गराइदिइन्।

संयोगले भएको त्यो भेटका कारण मैले त्यो साँझ सजिलोसित अर्का शिक्षकले चलाएको नौमुले बजारको एकमात्र लजमा बास पाएँ। भेट हिजोअस्ति भएजस्तो लाग्छ तर महिनौं बितिसकेछ।

राजधानी काठमाडौंबाट पश्चिमतिरको एक पहाडी जिल्ला दैलेखमा ‘देखेको देश’ले ‘बदलिँदो नेपाली समाज’को प्रतिनिधि तस्बिर खिच्छ। हाम्रो शिक्षादेखि खानपान संस्कृतिमा आएको परिवर्तनको यो एक झलक हो

नगेन्द्र सरको स्कुलमा मलाई एउटा कुरा निकै अस्वाभाविक लाग्यो। स्कुलको माथिल्लो कक्षामा पढ्ने धेरै केटाहरू अचम्मैले होचा थिए। केटाभन्दा झनै होचा र दुब्ला देखिए, केटीहरू। यी विद्यार्थी कुपोषणबाट गुज्रेको अनुमान गर्न कठिन थिएन।

 रेडियोको मौनव्रत

शिक्षक र विद्यार्थीसित सामान्य भलाकुसारीपछि फूलमायाको पछि लागेर म सालकोटको उकालो लागँे। उकालो ठाडो थियो, तर विकट र कडाचाहिँ लागेन। सालकोटको उकालो चढेर गजमाली गाउँमा पुग्दा दिउँसोको १२ बजिसकेको थियो। त्यहाँ बाबरी फूलका माला हातमा लिएका करिब १५ जना महिला लय हालेर गाउँदै थिए-

‘नौमुलेको पानीको मूलले !

स्वागत गर्छौं बाबरी फूलले !!’

उनीहरूमध्ये एकजनाले मलाई बाबरी फूलको माला लाइदिइन्। त्यसपछि उनीहरूले पनि पालैपालो बाबरी फूलको माला लगाए। गीत गान सकियो। आपसी चिनाजानीपछि मैले गाउँको खबर सोधेँ। कुरा सुरु हुनासाथ करिब ४५ वर्षकी एक महिलाले भनिन्, ‘मोबाइलले पनि गर्नुगर्‍यो !’

यस गाउँकी एक किशोरी मोबाइल चलाउँदा चलाउँदै अर्को गाउँको केटासित केही दिनअघि मात्र पोइल गएकी रहिछन्। भाग्नु वा बिहे गर्नुलाई यतातिर पोइल जाने भन्छन्। मोबाइलमा प्रेम र प्रेमपछि पोइल यताको आमचलन हो केही वर्षदेखि। १५ वर्ष नपुग्दैका केटाकेटी भाग्ने र बिहे गर्ने चलन मोबाइल नपुग्दै पनि थियो, अहिले त्यो केही बढेको छ, घटेको छैन। तर, हिजोआज उमेर नपुग्दै केटाकेटी पोइल जाँदा त्यसको पहिलो अपजस मोबाइल फोनले भोग्दै आएको छ।

कुरा मोबाइलको आएपछि मोबाइल नचलाउने यसै समूहमा पनि कोही छ कि भन्ने मेरो मनमा तिर्सना जाग्यो। तिर्सना मेट्दा थाहा भयो, मोबाइलले गर्नु गर्‍यो भन्ने महिलाबाहेक अरू सबैजना मोबाइलका मालिक रहेछन्। ती मध्येका करिश्मा र गीता त मोबाइलमा इमोसमेत चलाउँदा रहेछन्। उनीहरू दुवैका पति परदेशमा छन्। बाँकी १३ जनाको मोबाइलले चाहिँ कुरा गर्ने, मेसेज आदानप्रदान गर्ने र रेडियो सुन्ने काम गर्दो रहेछ। सोलारबाट बत्ती बले पनि तारको बिजुली पुगेको छैन गाउँमा। रेडियो सबैका घरमा छन्, तर मोबाइलमा रेडियो बज्न थालेपछि धेरै घरका रेडियो सेट मौन व्रत बसेका छन्। टेलिभिजन कसैका घरमा छैन। गाउँलेहरू टीभी हेर्ने रहर पूरा गर्न नौमुले बजारको कुनै घर वा पसलवालासित मित्रता गर्छन।

 रक्सी र छाउ

चुनावपछि नौमुले गाउँपालिकाले रक्सीको व्यापक प्रयोगलाई हतोत्साहित गर्न थालेको छ। तर रोकिएको छैन र रोकिने अवस्था पनि छैन। ‘हाम्रो गाउँलाई रक्सीले खायो’, एक महिलाले ठट्टा गर्दै भनिन्, ँनबनाऊँ भने हाम्रो रीतिथिति चल्दैन, बनायो गाउँमा झगडा होला भन्ने पीर !’ यहाँका महिलालाई रक्सी खाएर झगडा बढेको र घर भाँडिएकामा चिन्ता बढेको बढ्यै छ। तर, रीतिथिति धान्न रक्सी नबनाई सुख पनि छैन। पछि थाहा भयो, चिन्ता गर्ने महिला आफैं रक्सीको बाहन लाएर भेटघाटमा आएकी थिइन्।

उमेर नपुग्दै बिहा हुने, किशोरावस्थामै आमा हुने, झैझगडा र मारकाट हुने घटना सबै महिलाको चिन्ताको विषय हो, यताका पहाडमा। कुराकानी सुरु गर्दा मलाई लागेको थियो, उनीहरूको एउटा ठूलो समस्या त छाउपडी नै होला। तर एक घण्टा कुरा गर्दा पनि कसैले छाउपडी भन्ने शब्द उच्चारण गरेन।

लाग्यो, उनीहरूले मसित भन्न नचाहेका होलान्। दैलेख छाउपडी धेरै बारिने जिल्लामा पर्छ भन्ने मेरो बुझाइ थियो। तर, दैलेखको यस भेगमा मगर महिलाहरूलाई लोग्ने मान्छेको तातो रिस सबैभन्दा ठूलो समस्या लाग्दो रहेछ। ‘रिसायो भने ड्याम्मै हान्छ’, केही माथि बांगेमा कुरा गर्र्दा एक महिलाले भनिन्, ‘हामी मगरहरूकोमा छाउपडी बार्र्दैन; त्यो बाहुन, क्षत्री र ठकुरीको समस्या हो।’ सालकोटमा पनि महिलाले पनि छाउपडी बाहुन, क्षत्री र ठकुरीले मात्रै बार्ने बताएका थिए।

बाहुन, क्षत्री र ठकुरीहरू त नौमुले गाउँपालिकामा पनि छन्। तर उनीहरूको बाक्लो बसोबास जिल्लाको पश्चिमी भेग राकमतिर छ। आजै राकम जान दैलेखको सदरमुकाममा मलाई पर्खेर बसेका छन् आरती शर्मा, मीना थापा र दिलसरा पुलामी। त्यसैले, नौमुलेमा बास बसेको मलाई अछाम र कालीकोट जिल्लासित जोडिएको दैलेखको राकम क्षेत्रमा जाने हतार छ।

राकम जाने बाटो समात्दा दैलेखको सदरमुकाममा दिउँसको १२ बज्यो। बन्दै गरेको मध्य पहाडी लोकमार्गमा धुलो उडाउँदै हाम्रो गाडी पश्चिम दिशामा कुदिरह्यो दुल्लुलाई पनि देब्रे पारेर। करिब पाँच घण्टापछि मध्य पहाडी लोकमार्गलाई छाडेर हामी गाउँलाई बजारसित जोड्न विदेशी दातृसंस्थाको सहयोगमा बनेको अति साँघुरो र अक्करिलो सडकमा जोल्टिङ खाँदै थियौं।

अहिलेको आठबिसकोट गाउँपालिका अथवा पहिलेको सिंहासैनको छेपाडी पुग्नु छ बास बस्न हामीले। तर छेपाडी माथिको डाँडामा पुग्दा अँध्यारो छिप्पिएर तीन घण्टा गाढा भइसकेको थियो। गाउँमा जान अझै आधा घण्टा भीरैभीरको बाटो ओरालो लाग्न बाँकी थियो। छेपाडीमा हामीलाई बास दिन मीनाको घरले पर्खिरहेको थियो। अनि तलको गाउँबाट बत्ती बालेर बाटो देखाउन मीनाका पति भीमबहादुर सिजापतिले पर्खिरहेका थिए।

छेपाडीका मानिसलाई जिल्लाको सदरमुकामभन्दा सजिलो लाग्छ, सुर्खेत बजार। किनमेल त्यतै हुन्छ। धेरै मानिस बसाइँ सर्ने पनि सुर्खेतमै हो। भीम जुम्लामा मास्टरी गर्ने अवसर कुरेर यो गाउँमा बसेका छन्। अनि मीनाचाहिँ गाउँमा एभरेस्ट क्लबले अक्सफामको सहयोगमा ल्याएको कार्यक्रमको सहजकर्ता। यहाँको दैनिकी सजिलो छैन। तर दैनिकी असजिलो हुने सबै ठाउँका मानिसचाहिँ सहज र सजिला हुन्छन्। लहरै रूखमा फलेका सुन्तलाका दाना, ससाना कान्ला भएका बारीमा फलेको रायोको गाढा हरियो साग र तरकारीले उनीहरूको पौरख बताउँछन्। अनि हामीले खाइदिए हुन्थ्यो जस्तो गर्ने आँखाको हेराइले उनीहरूको उदारताको बयान गर्छन्।

जहाँ गए पनि गाँस र बासभन्दा पहिले हिजोआज मानिसलाई चाहिन्छ मोबाइल चार्ज गर्ने ठाउँ। सोलारको कमजोर बत्तीमा मोबाइल चार्ज हुन समय लाग्छ गाउँमा। यहाँ पनि त्यस्तै भयो। भीम र मीनाका दुई सन्तान छन् ससाना। घर सानो चिटिक्क परेको छ, तर उनीहरूको परिवारका लागि साँघुरो छैन। चारजना बस्ने यो घरमा आज हामी चारजना पाहुना थपिएका छांै। त्यसैले मोबाइल चार्ज गर्न मात्र होइन, धारा र पाइखानामा पनि पालो पर्खनैपर्छ।

भोलिपल्ट बिहानै बाहिर निस्कँदा घामको उज्यालोमा पारिपट्टिको नांगो डाँडा टलक्क टल्कियो। छेपाडी पारिको डाँडा अग्लो छ र डाँडामुनि छंगाछुर भीर छ। मलाई लागेको थियो, अघिल्लो साँझ ओर्लेको बाटो मात्र ओरालो होला तर बाटोभन्दा पाखो झनै भिरालो रहेछ। तर हाम्रो टोलीकी दिलसरा भीरतिर चोर औंला देखाउँदै भन्छिन्, ‘केटाकेटीमा म त्यो भीरको बाटो बाख्राभन्दा छिटो हिँडेर पार गर्थें।’

नपत्याऊँ दिलसराले ती भीरमा उभिएका रूख चढेर घाँस झारेको देख्ने मानिस यसै गाउँमा छन्। पत्याऊँ, भीर देख्दै आफ्नो खुट्टा र मुटु थरथर काम्छ। यसै भेगमा जन्मेहुर्केकी दिलसरा ज्यादै छिटो बोल्छिन्, त्यो पनि स्थानीय लवजमा झर्रा दैलेखी शब्द मिसाएर। उनको कति कुरा निकै बेरपछि अन्दाज गरेर मात्र बुझ्छु म। त्यसैले उनले त्यो पहरे भीरमा कुदेको र घाँस काटेको कुरा पत्याएर पनि नबुझे जस्तो गरिदिन मन लाग्छ।

 बजेट सिंह

दिलसराले देखाएको बाटो हुँदै मेलकुना पुग्दा हिउँदको घाम निकै माथि चढिसकेको छ। मेलकुना सानो डाँडाले लुकाएको गाउँ लाग्छ। टाढाबाट नदेखिने तर नजिक पुगेपछि बाक्लो बस्ती। यो बस्तीमा विश्वकर्माहरूको बाक्लो बसोबास छ। बाक्लो बस्तीका बीचमा छ, बजेट सिंहको घर। करिब ६५ वर्षका बजेट सिंह यो गाउँका चेतनशील र दुनियाँ देखेका मानिस हुन्। उनी राजनीति, विज्ञान, संस्कृति, अर्थशास्त्र र समाज जस्ता अनेक विषयमा धाराप्रवाह बोल्ने क्षमता राख्छन्। उनको कुरामा हामी लट्ठ। तर बजेट सिंहको यो क्षमताबारे सबैभन्दा परिचित छिन् दिलसरा। बोल्नुअघि बजेट सिंहले डायरीमा नोट बनाएको देख्नासाथ उनको प्रवचन कुन विषयमा कति समय चल्छ भन्ने सजिलै अनुमान हुन्छ, दिलसरालाई।

‘आज रोल पुग्नु छ, खाना खाएको छैन। त्यसमाथि छेपाडीमा तपाईंले अम्माकलाजीलाई भेट्नु पनि छ’, मतिर हेरेर दिलसराले यसो भन्नासाथ बजेट सिंहलाई थाहा भयो- दिलसराले मलाई हैन उनलाई आफ्ना कुराको बिट मार्ने संकेत दिइन्। बजेट सिंहले कुराको बिट मारे, हामीले छेपाडी फर्किने बाटो समात्यौं। दिलसराले भनेझैं छेपाडीमा खाना खान, अम्माकला र अरू महिलासित कुरा गर्न अनि अक्करिलो भीर छिचालेर सिंहासैन बजार हुँदै रोल पुग्नु छ, आज बास बस्न।

अम्माकलाकी छोरी सुर्खेतमा स्टाफ नर्स पढ्दै छिन्। पढ्न सुर्खेत पठाएपछि उमेर नपुग्दै छोरीको बिहे गर्न कसैले दबाब पनि दिँदैन। अथवा छोरीलाई राम्रो शिक्षा दिने र उमेर पुगेपछि मात्र बिहे गरिदिने अम्माकलाको सपना पूरा गर्दै छिन् उनकी छोरी। छोरालाई सरकारी स्कुलमा पढाएर छोरीलाई राम्रो स्कुलमा पढाउन पाएकामा अम्माकलालाई सन्तोष लाग्छ। उमेरले ४० नाघेको छैन तर अनुहारको छालामा बुढ्यौलीका धर्काहरू देखिन्छन्। तर, उनले ठाडी भाका गाउन थालेपछि उनका समवयी दांैतरीहरू पनि दाहिने हातका औंला दाहिने कानमै ठेडी हालेर अम्माकलाको ठाडी भाकालाई घपक्कै छोप्छन्।

नौमुलेको गजमालीका दिदीबहिनीले भनेझैं यस भेगमा छाउपडीको जगजगी बयान गर्न सकिने खालको छैन। ठाडी भाका हाल्न थालेपछि अम्माकला र उनका दांैतरीको स्वरमा निस्कने शब्दहरूले महिनावारी हुँदा उनीहरूले भोगको दुःखको बयान गर्छन् भने स्वरको पीडाले मनको व्यथा गाउँछन्। उनीहरूका यी दुःखका शब्द र पीडाको स्वर आफ्ना छोरीका लागि हो। अम्माकलाको ठाडी भाकाले भन्छ- अबका छोरीले आमा र हजुरआमाले भोगेको दुःख भोग्न नपरोस्।

अम्माकला र उनका समवयीको दुःख केही घटेको त छ हिजोआज। महिनावारीका बेला पेटभर खान पाउँदा र नुहाइधुवाइ गर्न पाउँदा दुःख घटेको ठान्छन् यहाँका किशोरी, आमा र दिदीबहिनीहरू। कतिपय आमाले छोरीहरूलाई महिनावारी भएको कुरा घोषणा गर्दै नहिँड भनेर छाउ बस्नबाट जोगाएका छन्। भन्यो भने दूध, दही र रसिलो पोसिलो खानेकुरा सजिलोसित खान पाइँदैन। छाउपडी गोठमा बस्नुपर्छ। छाउपडीविरुद्ध बेलाबेला चल्ने अभियानले यस भेगमा सरसफाइको चेतना त बढाएको छ तर महिनावारीका बेला गरिने छोइछिटो हटेको छैन। छोइछिटो कतिसम्म भने कहिलेकाहीँ महिनावारीको मार पुरुषले पनि भोग्नुपर्छ।

सिंहासैन बजारमा पुगेर दूध चिया खाने मेरो कुरा सुन्दा दिलसरा र मीनाले बाटैमा मुखामुख गरेका थिए। मानौं, उनीहरू भन्दै थिए- दूध चियाको आश गर्नु बेकार छ। तर, हामी स्कुल अगाडिको पसलमा पस्दा केही मानिसले दूध चिया सुरुप्प पारेको देखियो। ठाडो र उकालो बाटो उक्लिँदै र अति साँघुरो भीरमा बनेको सडकका ढुंगा फाल्दै सिंहासैन बजारमा पुग्दा अरूले दूध चिया सुरुप्प पारेको देखेर आरती र म दंग पर्‍यौं।

हामी पसलमा टुसुक्क बस्यौं। दिलसरालाई यताका धेरै मान्छेले चिन्छन्। दिलसरा र मीना स्थानीय शिक्षक र परिचित महिलासित कुरा गर्न थाले। हामीले साहुजीलाई दूध चिया बनाइदिन आग्रह गर्‍यौं। पसलवाला युवाले एकछिन अप्ठेरो मानेजस्तो गरे। र के भनौं के नभनौंको असमञ्जसमा भने, ‘दूध भर्खर सकियो, कालो चिया मात्र छ।’

साहुको कुरा सुनेर मीना र दिलसराले फेरि मुखामुख गरे। हामीले कुरा बुझ्यौं। दूध त छ तर हामीले खाने चियामा दूध हाल्न मिल्दैन। हाम्रो टोलीमा गएका महिलाले पनि चिया पिउने भएकाले दूध सकिएको रहेछ। अथवा महिनावारी भएको कुरा खुलेआम घोषणा गर्न छाडेपछि यताका चिया पसलमा कुनै पनि महिलाले दूध हालेको चिया खान नपाउने चलन सुरु भएछ। महिलासित हिँडेका कारण म पुरुष पनि सिंहासैन बजारमा चिया वञ्चितीमा परे।

 बांगा : खुर, मुख र रूख

चिया खान नपाएपछि खाजा मात्र खाएर हामी बिस्तारै अक्करिलो ओरालो बाटोमा झर्‍यौं। हिउँदका छोटा दिन, घाम डुब्न र रात पोखिन समय लाग्दैन। सिंहासैन बजार र कर्णाली किनारको राकम बजारभन्दा केही माथि रोल गाउँ पुग्न अझै डेढ घण्टा लाग्छ। ठाडो ओरालो र भीरमा खनेको धुले सडकको कुनै कुनै छेउबाट अछाम जिल्लाको विनायक बजारमा बलेका बत्तीको पिलपिल देखिन्छ। बिजुली बलेको त्यो बजार कर्णाली नदीपारि छ। कर्णालीमा पुल बनेपछि हिजोआज अछाम जान कैलाली र डडेलधुराको फेरो मार्न पर्दैन। सुर्खेतबाट बिहान हिँडेका गाडी बेलुका आरामले साँफेबगर र मंगलसेन पुग्छन्। तर हामीलाई त कर्णालीमाथिको गाउँ रोल मात्र पुग्नु छ बास बस्न। त्यहाँ हामीलाई सानी नानी सिर्जना र उनका दाइ, आमा र फुपूले पर्खिरहेका छन्। उनीहरूबाहेक कर्णाली किनारमा जोडजोडले सुसाउने हावाले पनि त हामीलाई पर्खिरहेको छ।

अनि हामीलाई ६ नम्बर वडाका सदस्य जोरा थापा पनि पर्खिरहेका छन्, कर्णालीको हावाले गाईका खुर, मान्छेका मुख र खोला किनारका रूख बांगै बनाएको भन्न। कर्णालीको हावाले मान्छे उडाऊँला जस्तो गर्न थालेपछि थापा भन्छन्, ‘यो ठाउँको हावाको कुरै के गर्नु ! माथिको चिल्खाया, यहाँको रोल र तलको चिसापानीमा हावाले गर्नु गरेको छ !’

त्यसपछि मुसुक्क हाँसेर जोरा थापा थप्छन्, ‘त्यसैले त भनेको हजुर ! चिल्खायाका खुर बांगा, रोलका मुख बांगा, चिसापानीका रूख बांगा !’

म कर्णालीको चिल्खायामा पुगेको छैन, त्यसैले गाईबस्तुका खुर बांगा छन् कि सोझा, देखेको छैन। रोलमा एक रात बास बसियो, तर बोली बांगो भए पनि यहाँका मान्छेका मुखचाहिँ सोझै छन् र सर्लक्क मिलेका छन्। कर्णालीको चिसापानी धेरैपल्ट पुगियो तर यहाँ पनि बांगाभन्दा सोझा रूख नै धेरै देखिन्छन्।

सत्यचाहिँ के मात्र हो भने कर्णाली किनारमा जीउ थाम्नै नसक्ने जोडको हावा चल्छ। त्यसैले लाग्यो, ‘चिल्खायाका खुर बांगा, रोलका मुख बांगा र चिसापानीका रुख बांगा’ कर्णालीको हावाको बेगको कथा हुनुपर्छ।
@GopalGg उज्यालो रेडियोका संस्थापक/सञ्चालक हुन्। annpurnapost.





Leave a comment

Your email address will not be published.


*