महिलाका निम्ति असुरक्षित सामाजिक सञ्जाल

          |   प्रकाशित मितिः शनिबार, साउन ११, २०७६     ::: 46 पटक पढिएको   |  

सामाजिक सञ्जालको प्रयोगमार्फत भइरहेका अपराधबाट पीडित भएकामध्ये ८० प्रतिशतमाथि महिला छन्।


अजवी पौड्याल

२०७६ जेठको दोस्रो सातातिर हो, महानगरीय प्रहरीपरिसर काठमाडौंमा २० वर्षीया एक युवती आँखामा टलपल आँसु पारेर अनुसन्धान अधिकृतको प्रश्नको उत्तर दिँदै थिइन्। आमा र माइजूसँगै प्रहरी कार्यालय आएकी उनको छेउमै रहेकी आमा घरि पानी पिउँथिन्, घरि उठेर यताउता हिँडडुल गर्थिन्। उनको अनुहारमा छोरीको भविष्यको चिन्ता भरिएको प्रस्टै झल्कन्थ्यो।

कथा २०७५ असारबाट सुरु हुन्छ। एक दिन बालाजुकी रमिला (नाम परिवर्तन) को मोबाइलमा अपरिचित युवकको फोन आयो। उनी थिए– सिन्धुपाल्चोक मेलम्चीका तेजबहादुर विक। फोन वार्ता बढ्दै गयो, रमिला ती युवकसँग फोनमा घन्टौं गफिन थालिन्। कहिले सिन्धुली, कहिले पोखरा घर बताउने तेजबहादुर घरमै आउजाउ गर्न थाले। लामो बिरामीले थलिएर आठ कक्षा पढ्दापढ्दै स्कुल जान छाडेकी, घरबाहिर खासै ननिस्कने छोरीको अनुहारमा खुसी देखेपछि आमाबुवा पनि खुसी थिए। आमाबुवाको समेत समर्थन पाएपछि घुम्न जान र केटा साथीलाई घरमै ल्याउन रमिलालाई समस्या भएन।

यो क्रम बढ्दै जाँदा रमिलाका आमाबुवाले तेजबहादुरमाथि घरपरिवार भेट्टाउन र बिहे गर्न दबाब बढाए। प्रस्ट ठेगाना नबताएका, आफ्नो थर पनि ढाँटेका तेजले त्यहीबीच एक दिन रमिलालाई भगाएर जोरपाटीस्थित डेरामा पुर्‍याए। केही दिन डेरामा बसेपछि रमिलाले परिवारसँग भेटाउनका लागि तेजलाई कर गर्न थालिन्। माइतीले पनि टीका फुकाउन पटकपटक बोलाएपछि रमिला माइत गइन्।

तर, गाउँ जान्छु भनेर हिँडेका तेज भने भारत पुगे। उतैबाट फोन गरेर रमिलालाई भारत आउन कर गर्न थाले। ज्वाइँको शंकास्पद व्यवहार देखेर माइती पक्षले छोरी पठाउन नमानेपछि एक दिन तेजले रमिलाका भाइको फेसबुक मेसेन्जरमा अश्लील भिडिओ पठाइदिए। त्यसमा सहमतिमा खिचिएको शारीरिक सम्पर्कको भिडिओ र केही नग्न तस्बिर थिए। तेजको यो व्यवहारले रमिला विक्षिप्त भइन्।

आमाबुवाका लागि पनि यो अकल्पनीय घटना थियो। छोरीले आत्महत्या गर्न खोजेपछि रमिलाका आमाबुवा उजुरी लिएर प्रहरीकहाँ पुगे। उजुरी परेको केही दिनमा पक्राउ परेका तेजविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत काठमाडौं जिल्ला अदालतमा मुद्दा चलिरहेको छ। उनी २० हजार रुपैयाँ धरौटी राखेर तारेखमा छुटेका छन्।

०००

फेसबुकमार्फत भएको चिनजानले लमजुङकी २२ वर्षीया आशा (नाम परिवर्तन) र बझाङका सूर्यबहादुर थापालाई प्रेम सम्बन्धमा पुर्‍यायो। ‘भर्चुअल’ दुनियाँबाटै उनीहरू कति नजिकिए भने छिटै बिहे गर्ने योजनासमेत बनाए। इमो, भाइबर र फेसबुक मेसेन्जरमा घन्टौं कुरा गर्ने उनीहरूबीच एकअर्काविना बाँच्नै नसक्नेसम्मको कुरा हुन थाल्यो।

त्यहीक्रममा एक दिन सूर्यबहादुरले यौनांग देखिने गरी नग्न तस्बिर खिचेर पठाउन भने। आशाले त्यसो गर्न सक्दिनँ भनेपछि उनले ‘आफ्नो मायामा विश्वास नगरेको’ भनेर घुर्की देखाए। ‘म उसलाई असाध्यै माया गर्थें, आखिर बिहे उसैसँग गर्ने हो के फरक पर्ला र भनेर फोटो खिचेर पठाएँ।’

सूर्यबहादुरले त्यहीबीचमा एक दिन निकै गाह्रो परेको भन्दै ५० हजार रुपैयाँ मागे। जब उनले पैसा पठाउन नसक्ने कुरा गरिन्, नग्न फोटो फेसबुकमा अपलोड गरिदिने धम्की दिए। आशा भन्छिन्, ‘उसले फोटो देखाएर ब्ल्याकमेलिङ सुरु गर्‍यो। मैले बाध्य भएर पैसा पठाएँ।’ त्यसपछि त के चाहियो, फोटो भाइरल गरिदिने धम्कीसहित सूर्यबहादुरले पटकपटक पैसा माग्न थाले। अति भएपछि आशा ९ वैशाख २०७६ मा उजुरी लिएर महानगरीय प्रहरीपरिसर काठमाडौं पुगिन्। त्यसको केही दिनपछि पक्राउ परेका सूर्यबहादुरलाई प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत अपराध र ठगीको कसुरमा मुद्दा चलाएको छ।

०००

काठमाडौंको सामाखुसी रानीबारीमा रहेको नेपाल प्रहरी स्कुलमा १७ चैत २०७३ मा एउटा घटना भयो। टोखा घर भएका १४ वर्षीय एक विद्यार्थी मृत भेटिए। प्रहरीको अनुसन्धानबाट उनले स्कुलको छतबाट हामफालेर आत्महत्या गरेको देखियो। आफ्नै स्कुलकी केटी साथीको नक्कली फेसबुक आईडी बनाएर अश्लील सामग्री पठाएको मामिला आत्महत्यासम्म पुगेको थियो।

भएको के रहेछ भने, कक्षा ८ मा पढ्ने यी विद्यार्थीको सँगै पढ्ने केटी साथीसँग एक दिन झगडा भयो। त्यही निहुँमा उनले केटी साथीको नामबाट ‘नक्कली फेसबुक आईडी’ बनाए। त्यसबाट केटीको बुवालाई अश्लील सामग्री पठाइदिए।

केटीको बुबाको फेसबुकमा छोरीको नामको आईडीबाट अश्लील सामग्री अपलोड भएको देखेपछि बुवाले छोरीलाई बोलाएर सोधे। उनले आफ्नै कक्षाको साथीले यस्तो गरेको हुन सक्ने जवाफ दिइन्। केटीका अभिभावक विद्यालय पुगेपछि विद्यालयकी तत्कालीन वार्डेन शर्मिला गुरुङले ती विद्यार्थीलाई आइन्दा यसो नगर्न र स्कुल आउँदा आमालाई लिएर आउन भनिन्। तर, ती विद्यार्थी घर नगएर स्कुलको होस्टलको भवनबाट हामफालेर आत्महत्या गरे। कक्षा ८ मा भएको सामान्य झगडा फेसबुकमा चरित्र हत्या हुँदै आत्महत्यासम्म पुग्यो।

‘असामाजिक सञ्जाल’

सामाजिक सञ्जालको प्रयोग कतिसम्म डरलाग्दो बन्दै छ भनेर देखाउने केही दृष्टान्त हुन् यी। यसको रोचक पक्ष के छ भने सामाजिक सञ्जाल प्रयोगमार्फत हुने अपराधबाट पीडितमध्ये अधिकांश महिला छन्। सामाजिक सञ्जाल महिलाका निम्ति असुरक्षा र असामाजिक सञ्जाल बनिरहेको छ। नेपाल प्रहरीको आँकडाले नै सामाजिक सञ्जाललगायत विद्युतीय माध्यमको प्रयोगबाट हुने अपराधका करिब ९० प्रतिशत पीडित महिला रहेको देखाउँछ।

के बालिका, के वयस्क, के वृद्धा, सबै उमेरका महिला यस्तो अपराधको निशानामा परेका छन्। मनोविद् करुणा कुँवर भन्छिन्, ‘बालिका, किशोरी र युवतीदेखि सम्बन्ध–विच्छेद गरेका महिलासमेत यो समस्यामा छन्।’ हुन पनि, किशोरी–युवती अश्लील तथा फोटोसपबाट बनाइएका तस्बिर र सहमतिमा खिचिएका शारीरिक सम्बन्धका भिडिओ सामाजिक सञ्जालमार्फत सार्वजनिक भइदिने समस्यामा परेका देखिन्छन् भने वयस्क तथा पाका महिलाले सामाजिक सञ्जालमार्फत ठगी र आर्थिक शोषण व्यहोरिरहेका छन्।

एउटा उदाहरण हेरौं। २२ वर्षदेखि कलाकारितामा सक्रिय काभ्रेकी भीमा मैनाली रेडियो तथा टेलिभिजन कार्यक्रम चलाउँछिन्। थोरै भए पुगिसरि, जीवनचक्रलगायतका टेलिशृंखलामा काम गरेकी उनी केही महिना अघिसम्म टीभी टुडेमा ‘रिफ्लेक्सन प्रारियन मिडिया’ द्वारा उत्पादित ‘यौनका कुरा’ नामक कार्यक्रम पनि चलाउँथिन्।

कार्यक्रम चर्चित थियो। युट्युब च्यानलमा त्यसका हजारौं दर्शक थिए। कार्यक्रम निर्माता रामकृष्ण तिमल्सेनासँगको सम्झौता सकिएपछि उनले कार्यक्रम छाडिन्। तर, त्यसपछि तिमल्सेनाले पहिल्यै प्रसारण भइसकेका कार्यक्रमको छोटाछोटा भिडिओ क्लिप जोडेर अश्लील हेडलाइन र चित्र राखी पुनः प्रसारण गर्न थाले।

युट्युबमा ‘टीआरपी’ बढाउन तिमल्सेनाले गरेको यस्तो हर्कत भीमाको जीवनमा भने अकल्पनीय संकट बनेर भित्रियो। दुःख गरेर बनाएको करिअर हेर्दाहेर्दै चौपट हुन थाल्यो। परिवारमा झैझगडा नियमित बन्यो। कतिसम्म भने, साथीहरूले ‘पैसाका लागि तिम्रो ममीले यस्तोसम्म गर्ने रैछिन् !’ भनेर घोचपेच गर्न थालेपछि किशोरकिशोरीको क्षेत्रमा काम गर्ने उनकी २१ वर्षीया छोरी डिप्रेसनको सिकार भइन्।

‘पहिले मलाई नै रोलमोडल ठान्ने छोरी अहिले नाङ्लोमा पसल थापेको भए यो बेइज्जत हुन्थेन ममी भन्ने १६ वर्षको छोराको पनि त्यही हालत छ’, महानगरीय प्रहरीपरिसर काठमाडौंमा भेटिएकी भीमाले भनिन्, ‘सब्जी पसलदेखि अस्पताल जहाँ जाँदा पनि नराम्रो कुरा सुन्नुपर्छ, साथीहरू पैसाका लागि यस्तो गछ्र्यौ भनेर कटाक्ष गर्छन्, आफन्तकहाँ त गइनसक्नु छ।’ तिमल्सेना जिल्ला अदालत काठमाडौंमा २५ हजार धरौटी राखेर रिहा भइसकेका छन्। भीमा भन्छिन्, ‘उसलाई जस्तोसुकै सजाय भए पनि मैले भोगेको यो यातना र सामाजिक बेइज्जतीको क्षतिपूर्ति कसले तिर्छ ? ’

अरूले अपराध गर्दा पनि लुकाउने, सहेर बस्ने कमजोरीका कारण दुष्प्रवृत्तिका व्यक्तिको जालमा महिला छिटै फस्ने गर्छन्। यस अवस्थामा महिलाले सदैव सजग हुन जरुरी छ।

अर्को उदाहरण छ, पाल्पाको। यहाँकी तारा (नाम परिवर्तन) को फेसबुकबाट पोखराका नन्द लामिछानेसँग चिनजान भयो। वैवाहिक जीवन सुखद नरहेकी तारा लामिछानेसँग भाइबर र इमोमा गफिन थालेपछि छिटै घुलमिल भइन्। स्नातकोत्तरको पढाइ सकेर बसेकी उनी कुनै राम्रो देश पुगेर ‘सेटल’ हुन चाहन्थिन्। उनको यही मनस्थितिको भेउ पाएका नन्दले आफू क्यानडामा भएको बताए र सहयोग गर्ने आश्वासन दिए। त्यसपछि उनले तारालाई कहिले वेटर तालिम लिएको प्रमाणपत्र बनाउन लगाए त कहिले अंग्रेजी भाषा सिक्न भने। नन्दले जेजे भने, तारा मान्दै गइन्। उनले ईमेलमार्फत राहदानी र शैक्षिक प्रमाणपत्र नन्दलाई पठाइन्।

त्यही दस्ताबेजका आधारमा नन्दले क्यानडाको एक प्रतिष्ठित होटलमा ‘वेटर’ का लागि भिसा आवेदन गरिदिएको कागजात बनाएर तारालाई पठाए। खासमा त्यो नक्कली कागजात थियो। ताराले भने त्यसलाई हुबहु पत्याइन्। केही महिनापछि नन्दले ‘दूतावासमा बुझाउनुपर्छ’ भनेर ४ लाख रुपैयाँ मागे। ताराले पतिलाई थाहै नदिई केही दिनमै ३ लाख रुपैयाँ खोजेर पठाइन् पनि।

जब खातामा पैसा जम्मा भयो, नन्द सम्पर्कविहीन भए। पोखरा पुगेर उनको घर ठेगानामा बुझ्दा पो थाहा भो– नन्दले गाउँमा धेरैलाई ठगिसकेका रहेछन्। उनी क्यानडा होइन, भारततिर लुकेर बसेका रहेछन्। ताराले प्रहरीमा जाहेरी दिएकी छन्।

फेसबुकले लमही दाङकी अनिता (नाम परिवर्तन) लाई पनि ‘घर न घाटको’ बनाइदिएको छ। फेसबुकबाटै चिनेका व्यक्तिको विश्वासमा परेर ४० लाख रुपैयाँ गुमाएपछि उनको जागिर, करिअर, घर सबथोक भताभुंग भएको छ। ऋण खोजेको पैसा अर्कैले खाइदिएपछि ऋण तिर्न नसकेर लुकीलुकी बाँच्नुपरेको छ।

कुरा दुई वर्षपहिलेको हो। फेसबुकमा चिनजान भएका काठमाडौंका दिनेश बस्नेत अनितासँग बेलायती नागरिक ‘आन स्मिथ’ को नामबाट कुरा गर्थे। लमहीकै एक विद्यालयमा पढाउने अनितालाई उनले बेलायत लैजाने प्रलोभन देखाए। त्यही प्रलोभनमा परेर अनिताले उनलाई पैसा पठाउँदै गइन्।

गाउँमा पटकपटक ऋण खोजेर पैसा पठाएकी उनले त्यतिबेला मात्र आफू ठगिएको पत्तो पाइन्, जतिबेला साउँब्याज गरेर उनको ४० लाख रुपैयाँ डुबिसकेको थियो। ऋण तिर्न नसकेपछि अनिता जागिर मात्र होइन, घरसमेत छाडेर ‘भूमिगत’ भएकी छिन्। बस्नेतसहित ६ जनाविरुद्ध अनिताले दिएको उजुरीका आधारमा काठमाडौं जिल्ला अदालतमा विद्युतीय कारोबार र ठगीसम्बन्धी मुद्दा चलिरहेको छ।

सोसल मिडियाका कारण धनुषाको एक मुसहर बस्तीकी महिलाले पनि नपाउनु दुःख पाएकी छन्। ती ३५ वर्षीया महिलाको तस्बिर फोटोसपबाट बिगारेर एक युवकले फेसबुकमा हाले। आपराधिक मनोवृत्तिका युवकको यस्तो हर्कतले ती महिला डिप्रेसनको सिकार भइन्।

वैदेशिक रोजगारमा गएका पति र घरपरिवारले पनि उनलाई साथ दिएनन्। आत्मबल गुमेपछि छिमेकीसँग बोल्नसमेत छाडेकी उनलाई महिलाका निम्ति काम गर्ने एक गैरसरकारी संस्थाले आत्मबल बढाउने तालिम दियो। पीडक छिमेकी युवक आफन्त नै पर्ने भएकाले उनले उसविरुद्ध मुद्दा दर्ता गर्न सकिनन्। आरोपीले परिवार र समाजअगाडि गल्ती स्वीकार गर्दै आइन्दा गल्ती नगर्ने वाचा गरे। यो मामिला सामसुम भयो।

तीन वर्षमा तीन गुणा

नेपालमा पछिल्लो समय सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर, भाइबर, इमो आदि) प्रयोगकर्ताको संख्या बढेको छ। यी साधन प्रयोग गर्ने महिला संख्या पनि ठूलो छ। सेयरकास्ट इनिसिएटिभले गरेको मिडिया सर्वेक्षण २०१९ अनुसार, नेपालमा ३३ प्रतिशत जनसंख्याले नियमित रूपमा इन्टरनेट प्रयोग गर्छ। जनसंख्याको ३० प्रतिशत महिलाले इन्टरनेट प्रयोग गर्छन्। इन्टरनेट प्रयोग गर्ने नेपाली महिलामध्ये ८२ प्रतिशतले फेसबुक प्रयोग गर्छन्। यसपछि धेरै प्रयोग हुने एप्लिकेसन फेसबुककै मेसेन्जर हो। इन्टरनेट प्रयोगकर्ता महिलामध्ये ४५ प्रतिशतले मेसेन्जर प्रयोग गर्छन्।

सामाजिक सञ्जालहरू वैदेशिक रोजगारमा गएका, विदेशमा बस्ने आफन्तसँग सम्पर्कमा रहन प्रभावकारी सहयोगी बनेका छन्। तर यसको दुरुपयोग उत्तिकै छ। यसले ठगी, ब्ल्याकमेलिङ, आत्महत्या र हत्याजस्ता अपराधसमेत निम्त्याइरहेको छ। त्यसको प्रत्यक्ष मारमा छन् महिला। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको आँकडा हेरौं। कार्यालयले २०७५ साउनदेखि २०७६ वैशाखसम्म विद्युतीय कारोबार ऐनसम्बन्धी ११८ वटा मुद्दा अदालतमा दर्ता गर्‍यो। यसमा धेरै मुद्दा सामाजिक सञ्जाल प्रयोगकर्तासँग सम्बन्धित छन्। अनौठो के भने यी मुद्दामा पीडित महिला १०८ जना छन् भने पीडित पुरुषको संख्या जम्मा ११ जना। त्यसैगरी, मुद्दामा आरोपित पुरुष संख्या १३० छ भने आरोपित महिलाको संख्या ७ मात्रै। सहायक जिल्ला न्यायाधिवक्ता ठाकुरप्रसाद बस्ताकोटीका अनुसार, सामाजिक सञ्जाल दुरुपयोगबाट पीडित हुनेमा ८५ देखि ९० प्रतिशतसम्म महिला छन्।

प्रहरीमा दर्ता भएका जाहेरी हेर्दा यो आँकडाभित्रको डरलाग्दो अवस्था छर्लंग हुन्छ। पति, मन मिल्ने भनिएको साथी धेरैजसो पीडक छन्। महानगरीय प्रहरीपरिसर काठमाडौंका प्रवक्ता, डीएसपी होवीन्द्र बोगटीका अनुसार, परिवारमा झैझगडा भइरहने पुरुष, पत्नीबाट अलग बसेका र प्रेममा धोका पाएका युवक तथा मानसिक रूपमा विक्षिप्त व्यक्तिहरू सामाजिक सञ्जाल दुरुपयोगमा अगाडि देखिन्छन्। सबै उमेर समूहमा यस्तो मनोवृत्ति देखिए पनि प्रहरीको आँकडाले बढीजसो २० देखि ४० वर्ष उमेरका व्यक्ति यो कसुरमा धेरै संलग्न रहेको देखाउँछ।

देशभरका साइबर अपराधसम्बन्धी मुद्दा काठमाडौं जिल्ला अदालतमा मात्रै चल्छ। देशभर हुने यी अपराधका मुद्दाको अनुसन्धान मूलतः महानगरीय प्रहरीपरिसर काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंले गर्छन् भने मुद्दा चलाउने काम जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत हुन्छ। परिसरका अनुसार, २०७५ साउनदेखि २०७६ वैशाखसम्म साइबर अपराधका ११८ जाहेरी दर्ता भएका छन्। आव २०७२÷७३ मा यो संख्या ३४ मात्रै थियो। साइबर अपराधको संख्या तीन वर्षमै तीन गुणा वृद्धि भएको यसबाट देखिन्छ। अनुसन्धानमा सहभागी एकजना प्रहरीको भनाइमा समाजमा व्यापक मात्रामा यो समस्या छ तर विभिन्न कारणले प्रहरीसमक्ष साह्रै थोरै मात्रै उजुरीहरू आइपुग्छन्।

सहेर बस्छन् महिला

साइबर अपराध, त्यसमा पनि सामाजिक सञ्जाल दुरुपयोगका घटना बढ्दै जानु र महिला नै त्यसबाट धेरै पीडित बन्नुको कारण के हो ?       मनोविद् कुँवरका अनुसार, महिलाले जे गरे पनि सहेर बस्छन् भन्ने सोच नै यसको प्रमुख कारण हो। महिलाले आफूमाथि भएका अपराधबारे उजुरी गर्न त परै जाओस्, अरूलाई सुनाउने अवस्थासमेत नरहेको उनको बुझाइ छ।

लेखक तथा अधिकारकर्मी अर्चना थापा समाजमा महिलाको हुर्काइ नै कमजोर र असुरक्षित वर्गका रूपमा हुनुलाई यसको प्रमुख कारण मान्छिन्। उनी भन्छिन्, ‘यसले गर्दा महिला नै गलत मनोवृत्ति भएका व्यक्तिको जालमा फस्न पुग्छन्।’

सहायक जिल्ला न्यायाधिवक्ता बस्ताकोटीका अनुसार एकपटक नाता वा सम्बन्ध कायम भइसकेका पूर्वपत्नी, पूर्वप्रेमिका वा एकोहोरो प्रेममा असफल पुरुषहरू महिलामाथि बढी आक्रामक हुने गर्छन्। सामान्यतया सम्बन्धमा रहँदा सहमतिमा खिचिएको शारीरिक सम्बन्धको भिडिओ सम्बन्ध टुटेपछि सार्वजनिक गरिदिने, फेक आईडी बनाएर अश्लील तस्बिर फेसबुकमा अपलोड र ट्याग गर्ने तथा सामाजिक सञ्जालबाट अरू किसिमले समेत बदनाम गर्ने काम महिलामाथि हुने गर्छ।

यस्तो अपराध गर्नेमा परिपक्व भइनसकेका युवामात्रै छन्, यसो पनि होइन। जस्तो– केही महिनापहिले नेपाल प्रहरीका ६२ वर्षीय एक पूर्वडीएसपी सामाजिक सञ्जालमा पूर्वपत्नीलाई अश्लील तस्बिर पठाएर गालीगलौज गरेको आरोपमा पक्राउ परेका थिए। त्यसैगरी, पत्नी हुँदाहुँदै दोस्रो बिहे गरेर विदेशमा बस्दै आएका ४५ वर्षीय एक पुरुषले जेठी पत्नीलाई सम्बन्ध–विच्छेदका लागि दबाब दिन यो तरिका अपनाएका थिए। उनले स्काइपमार्फत प्रलोभनमा पारेर उनको नग्न तस्बिर हात पारेर पछि त्यसलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिएका थिए।

अधिवक्ता बाबुराम दाहाल अपराधीको निशानामा जहिले पनि कमजोर वर्ग पर्ने हुँदा समाजमा इज्जत र प्रतिष्ठाको डरले प्रतिक्रिया जनाउन नसक्ने महिला नै यसको निशानामा परिरहेको बताउँछन्। यसले दिनदिनै जघन्य अपराध बढाइरहेको छ।

जस्तो– झापाका केशवशरण अधिकारी लामो समय विदेश बसेर नेपाल आएका थिए। आफन्तको सहयोगमा स्थानीय एक युवतीसँग बिहे गरे। एकदुई महिनापछि नै अधिकारीलाई पत्नी मन पर्न छाड्यो। उनले पत्नीलाई आफ्नो जीवनबाट हटाउने उपाय निकाले। पत्नीचाहिँ आफ्ना पतिको माया पाउन त्यहाँका ज्योतिषी कुमार खनालकहाँ देखाउन जाने गर्थिन्। उनीहरूबीच फेसबुकमा पनि कुराकानी हुन्थ्यो।

केशवले पत्नीलाई डिभोर्स दिन यही सम्बन्धलाई प्रयोग गरे। पत्नीकै फेसबुक प्रयोग गरेर कुमारलाई घरमा यौन सम्बन्धका लागि बोलाइदिए। ज्योतिषी कुमार पनि शारीरिक सम्पर्क गर्न पाइने लोभले भनेको समयमा भनेको ठाउँमा पुगे। त्यही समयमा केशव पनि आफन्त र गाउँलेहरू लिएर घेराउ गर्न गए। केशवको योजनामा यो घटना भएको रहस्य खुलेपछि यो विवाद प्रहरीसम्म पुग्यो। केशवलाई प्रहरीले विद्युतीय अपराध मुद्दामा पक्राउ गरेको छ भने ज्योतिषी कुमार खनालविरुद्ध झापा जिल्ला अदालतमा जबर्जस्ती करणी मुद्दा चलिरहेको छ।

सजगता जरुरी

अधिवक्ता बाबुराम दाहालका अनुसार, फेसबुक, ट्वीटर, इन्स्टाग्राम, युट्युब, भाइबर, इमोलगायतका ‘एप’ हरूको दुरुपयोगबाट जोगिन महिलाहरू विशेष सजग हुनैपर्छ। महिला स्वयंले शारीरिक सम्बन्धको भिडिओ खिच्ने, ललाइफकाइ र प्रलोभनमा परेर आफ्नै नग्न वा आपत्तिजनक तस्बिर पठाउने तथा सामाजिक सञ्जालमा भएको चिनजानकै भरमा आर्थिक लेनदेन वा कारोबार गर्ने मामिलामा सचेत नहुने हो भने उनीहरू फेरि पनि समस्यामा पर्छन्।

फेसबुक, युट्युबलगायतका एप्लिकेसनहरू विदेशबाट सञ्चालन हुने हुँदा घटना हुनासाथ नियन्त्रण गर्न सजिलो छैन। महानगरीय प्रहरीपरिसर काठमाडौंका प्रवक्ता डीएसपी होवीन्द्र बोगटी भन्छन्, ‘यस्ता अपराध कम गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विद्यालय, संघसंस्था, आमा समूहलगायतसम्म पुगेर चेतना दिने र सामाजिक सञ्जालको दुरुपयोगबारे सूचना सम्प्रेषण गर्न थालिएको छ।’

अरू नै उद्देश्यले बनेको कानुन भए पनि यस्तो अपराध नियन्त्रण गर्न अहिले विद्युतीय कारोबार ऐन, २०६३ प्रयोगमा छ। यो ऐनअनुसारको कसुर गर्दा बढीमा पाँच वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ। सामाजिक सञ्जालमार्फत हुने अपराधलगायत सूचना प्रविधिसँग सम्बन्धित कसुरहरू सम्बोधन गर्न अहिले सूचना प्रविधिसम्बन्धी विधेयक संसद्मा विचाराधीन अवस्थामा छ।

‘कानुनी उपचार समस्या आएपछि खोज्ने हो’ मनोविद् करुणा कुँवर भन्छिन्, ‘महिलाले पनि पति, प्रेमी वा भरपर्दो साथी भन्दैमा यौनजन्य गतिविधि रेकर्ड गर्नु र अश्लील अवस्थाका तस्बिर खिच्नुअघि गम्भीर भएर सोच्नैपर्छ।’ उनी भन्छिन्, ‘यसले ठूलो क्षति मात्र गर्दैन, उस्तै परे जीवन नै बर्बाद हुन सक्छ।’

(खोज पत्रकारिता केन्द्रको सहयोगमा)


टिप्पणी


कसैलाई विश्वास गर्नुअघि तीनपटक सोच्नुहोस
होवीन्द्र बोगटी  महानगरीय प्रहरीपरिसर टेकुका प्रवक्ता

प्रविधिको विकाससँंगै अपराधका तरिका पनि बदलिएका छन्। पहिल्लो समय साइबर अपराधका घटना उच्च रूपमा बढेको छ। मान्छेसँग प्रत्यक्ष भेट्नु पनि नपर्ने, आफ्नो सही ठेगाना दिनु पनि नपर्ने र अपराधबाट सजिलै उम्किहाल्छु नि भन्ने मनोवृत्तिका कारण पनि यस्ता घटना बढेका हुन्।

मोबाइलमा मानिसको पहुँच बढेसँगै हातहातमा इन्टरनेटको सुविधा पनि विस्तार हुँदै छ। इन्टरनेटविना दैनिकी चलाउने युवापुस्ता सायदै होलान्। इन्टरनेटमा सामाजिक सञ्जाल चलाउनेमध्ये कसैले जानेरै अपराध गरिरहेका छन् त, कसैले नजानेरै।

प्रहरीमा आउने अधिकांश केसहरूमा पूर्वप्रेमीले ब्ल्याकमेलिङ गरेको देखिन्छ। पहिले राम्रो सम्बन्ध भएका प्रेमिकाको अन्यत्र बिहे भएपछि पूर्वप्रेमीले सम्बन्ध हुँदाताकाको फोटो र भिडिओ सामाजिक सञ्जालमा पोस्ट गरिदिने, फेक आईडी बनाएर युवतीको फोटोमा गलत शब्द लेखी सार्वजनिक गर्ने, मानहानि गर्ने आदि घटना धेरै हुने गरेका छन्। युट्युबमा अश्लील भिडिओ अपलोड गर्ने, विभिन्न एपबाट ठगी र लेनदेन गर्नेजस्ता घटना पनि पछिल्लो समय बढेका छन्।

अहिले बालबालिकादेखि ज्येष्ठ नागरिकसमेतको सामाजिक सञ्जालमा पहुँच बढेको छ। सामाजिक सञ्जाल चलाउने सबैले यसको सदुपयोग मात्रै गर्दैनन्, मान्छेहरूको संगतमा सजिलै जान सकिने हुँदा आपराधिक मानसिकता भएकाहरूले निरन्तर ठग्ने बहाना खोजेका हुन्छन्। प्रयोगकर्ताले पनि सामाजिक सञ्जालमा आफ्नोबारेमा सबै जानकारी दिने, नचिने–नभेटेका मान्छेलाई आफ्ना निजी कुरा सुनाउने गर्नाले पनि अर्को व्यक्तिलाई अपराध गर्ने बहाना मिलेको देखिन्छ।

सामाजिक सञ्जालको दुरुपयोग गर्नेमा युवा वर्ग मात्रै छैनन्। १४ वर्षका बालकदेखि ६५ वर्षका व्यक्तिसमेतले अपराध गरेको देखिन्छ। पीडित हुनेमा ८० देखि ९० प्रतिशतको हाराहारीमा महिला परेको तथ्यांक छ।

साइबर क्राइमबाट बच्न महिला होस् या पुरुष, सचेत हुनैपर्छ। आफैंमा सचेत हुनुभन्दा राम्रो विकल्प अर्को छैन। नचिनेका र विश्वास नभएका व्यक्तिलाई निजी कुरा भन्नै हुँदैन। समस्या सुनाउने, छिनछिनको जानकारी दिने र आर्थिक व्यवहार बताउने त झन् गर्नै हुँदैन। सबैसँग समस्या बाँड्ने बानीले आपराधिक मानसिकता भएकाले समस्या समाधान गर्ने बहानामा तपाईंमाथि अपराध गर्न सक्छ। आफ्ना निजी जानकारी कम मात्रै सार्वजनिक गरौं।

केटासँग व्यक्तिगत सम्बन्ध गाँस्ने र विश्वासमा परिहाल्ने बानीले धेरैजसो युवती ब्ल्याकमेलिङमा परेको देखिन्छ। आफूले सम्बन्ध गाँसेको मान्छेलाई गोप्य तरिकाले भेट्ने र व्यवहार गर्ने काम गर्नु हुँदैन। परिवारमा चिनाउनुपर्छ। प्रायः युवतीले केटालाई छिटै विश्वास गरेर यौन सम्बन्ध राख्ने र फोटो र भिडिओ बनाउने गरेको देखिन्छ। प्रेमी होस् या पति, हरेकलाई केही न केही शंका गर्ने बानी उपयुक्त हुन्छ। आज गरेको कार्य कुनै दिन सार्वजनिक हुन सक्छ भन्ने सोचेर मात्रै व्यवहार गरियो भने यस्ता घटना कम हुन सक्छन्।

फेसबुक या अन्य एपको पासवर्ड सेयर गर्ने, एटीएम कोड दिने, घर वा रुमको साँचो बाँड्नेजस्ता कार्य गर्दा पनि निकै सचेत हुनुपर्छ। अन्जान मान्छेसँग सम्बन्ध गाँस्दा अझ होसियार राख्नुपर्छ।





Leave a comment

Your email address will not be published.


*