मानव बेचबिखनको बलियो जालो

          |   प्रकाशित मितिः मङ्लबार, साउन १४, २०७६     ::: 48 पटक पढिएको   |  

सन् २०१३ मा संयुक्त राष्ट्र संघले घोषणा गरेअनुसार हरेक वर्ष जुलाई ३० मा मानव बेचविखनविरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ । यो दिवस मनाउँदै गर्दा हामीकहाँ भने मानव बेचविखन थप चुनौतीपूर्ण बन्दै गएको छ । तसर्थ, मानव बेचविखनको अवस्था, समस्या बढ्दै जानुका कारण, मानव तस्करले अपनाउने शैलीका बारेमा जान्नु र यस्तो जघन्य अपराधका विरुद्ध सचेतना वृद्धि गर्नु जरुरी छ । 

विज्ञान र प्रविधिको विकासले विश्व सानो गाउंँमा परिणत भएको वर्तमान समयमा मानव बेचविखनको समस्या कुनै एक राष्ट्रको मात्र नभएर साझा समस्याका रूपमा दिन–प्रतिदिन झाँगिदै गएको छ । अल्पविकसित–विकसित, साना–ठूला सबैजसो मुलुक कुनै न कुनै रूपमा यो समस्याबाट पीडित छन् । यतिवेला विश्वमा हातहतियार र लागुऔषधको कारोबारजस्ता अपराधकै हाराहारीमा मानव बेचविखनको अपराध विस्तार हुँदै गएको विज्ञको धारणा छ ।

यसलाई अन्तर्राष्ट्रिय स्तरका अपराधमध्ये तेस्रो स्थानमा पर्ने मानिन्छ । नेपालको संविधानले मानव बेचविखन गर्न नपाइने संवैधानिक सुनिश्चितता गर्दै धारा २९को उपधारा ३ र ४ मा कसैलाई पनि बेचविखन गर्न, दास वा बाधा बनाउन नपाइने, कसैलाई पनि निजको इच्छाविरुद्ध काममा लगाउन नपाइने व्यवस्था गरेको छ । त्यसविपरीतका कार्य गरेमा कानुनबमोजिम दण्डनीय हुने संवैधानिक ग्यारेन्टी गरिएको छ । 

त्यस्तै, मानव बेचविखन र ओसारपसार (नियन्त्रण ) ऐन २०६४ ले कुनै पनि प्रयोजनका लागि कुनै व्यक्तिलाई बिक्री वा खरिद गर्ने, कसैलाई आर्थिक लाभसहित वा लाभविना जबर्जस्ती वेश्यावृत्तिमा लगाउने, वेश्यावृत्तिमा संलग्न हुनेजस्ता गतिविधिलाई मानव बेचबिखन मानेको छ । त्यस्तै, कानुनले निर्धारण गरेको अवस्थामा बाहेक मानव अंग निकाल्ने कार्य गरेमा पनि मानव बेचविखन गरेको ठहरिने व्यवस्था छ । साथै अन्तर्राष्ट्रिय कानुन र नेपालको राष्ट्रिय कानुनअनुसार आप्mना नागरिकलाई जबर्जस्ती श्रममा लगाउने, बेचविखनजस्ता जोखिमबाट जोगाउने मुलुकको दायित्व रहेको छ ।

नेपालले मानव बेचविखनका सम्बन्धमा विभिन्न अन्तर्राष्ट्रिय सन्धि–सम्झौताको अनुमोदन पनि गरेको छ । यसप्रकार नेपालले संवैधानिक सुनिश्चितता तथा अन्तर्राष्ट्रिय जगत्मा देखाएको प्रतिबद्धताबमोजिम कानुन कार्यान्वयन निकायलाई सीमावर्ती क्षेत्र, सहर, गाउँ जताततै परिचालन गर्दै आएको भए पनि मानव बेचविखन अपराध नियन्त्रणमा आउन सकेको छैन । बरु अझै चुनौती थपिएका छन् । विगतमा केही स्थान मानव बेचविखनका लागि बदनाम नै थिए, यहाँसम्म कि आफन्त नै यसमा संलग्न हुन्छन् भन्ने विषय ‘ओपन सेक्रेट’जस्तै थियो । अहिले यस्ता क्रियाकलाप कम हुँदै गए पनि मानव बेचविखन अझै विद्यमान नै छ ।

इतिहासतर्फ फर्केर हेर्ने हो भने यो पहिलेदेखि नै चल्दै आएको अपराध हो भन्न सकिन्छ । त्यतिवेला मुख्य गन्तव्य भारत थियो । खासगरी महिलालाई यौन व्यवसायका लागि बेचविखन गरेको पाइन्छ । बेचविखनका लागि लैजाँदा खुला सिमानाको लाभ उठाएर कम चल्तीको नाकाबाट लैजाने गरिन्छ । कतिपयलाई विवाह गरी श्रीमती नै बनाएर भारतीय बजारमा घुम्न, सामान किन्न जाने बहानामा भारतका वेश्यालय पु¥याएर नारकीय जीवन जिउन बाध्य पारेको पीडा वेश्यालयवाट फुत्कन सफल महिलाले पोख्ने गरेको विदितै छ । 

पछिल्ला दिनमा भने मानव बेचविखनको गन्तव्य मात्र विस्तार भएको छैन, उद्देश्य, प्रवृत्ति र तौरतरिका परिवर्तन पनि भएका छन् । मध्य पूर्वका कतार, कुवेत, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, लेवनान, अफ्रिकाको केन्या, तान्जानिया, युरोपको किर्गिस्तान आदि मुलुकसम्म नेपाली युवायुवतीको तस्करी हुने गरेको पछिल्ला घटनाक्रमले देखाएका छन् । यस्तै, पहिले महिलाको बेचविखन यौन व्यवसाय, वेश्यावृत्तिका लागि हुने गथ्र्यो भने अहिले यौन व्यवसायका साथै मानव अंग, मिर्गाैला, कलेजो, छाला बेचविखन अनि भाडामा बच्चा जन्माउने आमाको लागि मानव बेचबिखन हुने गरेको छ । त्यस्तै, सर्कसमा खेलाउन, घरेलु नोकर बनाउन र कलकारखानामा काम लगाउनका लागि पनि मानव तस्करी हुने गरेको छ । राम्रो काम, दाम र ग्रिनकार्डको मीठो सपना देखाएरसमेत नेपालबाट मानव तस्करी भइरहेको अहिलेको तितो यथार्थ हो ।

मानवतस्कर र तिनका दलालहरू गाउँ, टोलदेखि अन्तर्राष्ट्रिय क्षेत्रसम्म सञ्जाल नै बनाएर योजनाबद्ध ढंगबाट परिचालित भइरहेको घटनाक्रम र तथ्यले देखाएका छन् । गाउँ, टोलमा क्रियाशील दलालले सरल, निमुखा, अशिक्षित युवायुवतीलाई गरिबी, बेरोजगारी र दयनीय स्थितिको लाभ उठाउँदै विदेशमा राम्रो काम र दाम पाइने र जीवन सुखी हुने सपना देखाउँछन् । उनीहरूलाई फकाउने, नागरिकता, राहदानी बनाइदिने, रोजगारीका आवेदन दिनेलगायत सबै प्रशासनिक कार्यमा आर्थिक सहयोग गरेर षड्यन्त्रको जालमा पार्न सफल हँुदै आएका छन् ।

अर्कोतर्फ खाडी क्षेत्रका केही मुलुकमा नेपाली महिलालाई घरेलु महिला श्रमिकका रूपमा काम गर्न जान रोक लगाइएपछि उनीहरूलाई अनधिकृत तवरमा अनियमित बाटो हुँदै युरोप र अफ्रिकातर्फ पठाउने प्रवृत्ति बढ्दै गएको छ । यसरी तेस्रो मुलुक पु-याइएका महिलालाई गन्तव्य मुलुकको भाषाको ज्ञान नहुने र सीपअभावका कारण समस्या पर्छ । अनधिकृत प्रवेशका साथै राहदानीलगायत कागजात दलालको कब्जामा रहने गरेको कारण महिलाहरू निरिह हुन्छन् ।  यसको लाभ उठाउँदै इच्छाविपरीतका कार्य गर्न बाध्य पारेर श्रमलगायत विविध शोषण गर्ने गरेको गुनासो पीडित स्वयंले सञ्चारमाध्यम र अन्य तरिकाले प्रकाशमा ल्याउने गरेका छन् । यस्तै अमेरिका, क्यानाडा, रुस आदि मुलुकमा राम्रो काम र दामका साथै ग्रिनकार्डको मीठो सपनाको भ्रममा पारेर मानव तस्करको जालमा परेको गुनासो एवं उजुरी बारम्बार नेपाली कूटनीतिक नियोगमा पर्ने गरेको छ । 

यसप्रकार दलालले झुक्याएर तेस्रो मुलुकतर्फ लैजाने तयारी गरिरहेका महिलालाई भारतको दिल्ली, मिजोरम आदि स्थानबाट पटक–पटक ठूलो संख्यामा उद्धार गरिएको थियो । त्यसबाहेक अरबका मुलुक र हालसालै कंगोबाट पनि नेपाली चेलीको उद्धार गरी नेपाल ल्याइएको थियो । यसरी उद्धार गरिएका महिलाले बेरोजगार रहेको, स्वदेशमा रोजगारका अवसर प्राप्त नभएकाले विदेश जान बाध्य भएको बताएका थिए ।

आर्थिक अवस्था कमजोर रहेको, श्रीमान्ले डिभोर्स गरेको वा अर्की श्रीमती ल्याएका कारण बालबच्चाको रेखदेख, लालनपालन, शिक्षादीक्षाको जिम्मेवारी पूरा गर्न पनि विदेश जान बाध्य भएको उनीहरूको कथन थियो । अझ कतिपयले त स्वदेशको अभावको जिन्दगीभन्दा पीडा भोगेर पनि विदेशमा भइरहेको कमाइ ठीक थियो भन्ने जवाफ दिन्छन् । पीडा र जोखिम नै भए पनि मौका पाए पुनः विदेश जाने हो भन्ने जवाफले त जो–कोहीलाई स्तब्ध पार्छ । मानव बेचविखनमा परेका पीडितको मार्मिक जवाफ र त्यसका कारणको अन्तर्यमा पुगेर मनन गर्दा कानुनको कार्यान्वयनबाट मात्रै मानव बेचविखन समस्या पूर्ण रूपमा नियन्त्रण गर्न सम्भव देखिँदैन । किनकि यो सवाल  मानिसको सामाजिक, आर्थिक, शैक्षिक, चेतनासँग गाँसिएको विषय हो, आममानिसको सामाजिक–आर्थिक रूपान्तरण भए यो समस्या नियन्त्रणमा थप बल पुग्छ ।  

तसर्थ, युवायुवतीको चेतना अझ माथि उठाउने, स्वदेशमै स्वरोजगार र रोजगारीका अवसर सिर्जना गरी आत्मनिर्भर बनाउनेतर्फ राज्यको ध्यान केन्द्रित हुनुपर्छ । मानव बेचविखन चुनौती मुख्य रूपमा भुइँ तहसँग जोडिएको समस्या हो र यसको सामना पनि त्यही तहबाटै गर्नुपर्छ । गाउँ, टोलमा मानव तस्करको निगरानी, जोखिममा रहेको युवायुवतीको पहिचान र तिनलाई आत्मनिर्भर बनाउने ठोस योजना जरुरी छ । यस्ता कार्यमा स्थानीय सरकार, प्रहरी, सामाजिक संघ संस्था, युवायुवती, अभिभावक, समाजको सिंगो पंक्तिबीच सामूहिक प्रयास, सहकार्य र समन्वय अझ दरिलो हुनु जरुरी छ । याे सामग्री नयाँपत्रिकाबाट साभार गरिएकाे हाे ।

(लेखक राष्ट्रिय अनुसन्धान विभागका पूर्वअनुसन्धान निर्देशक हुन्)





Leave a comment

Your email address will not be published.


*