दैलेखमा नयाँ सिडियो

          |   प्रकाशित मितिः शुक्रबार, साउन २४, २०७६     ::: 311 पटक पढिएको   |  

दैलेख साउन २४ । दैलेखमा नयाँ प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल आएका छन् । प्रमुख जिल्ला अधिकारी हेरफेर भएसँगै कट्टेल दैलेख सरुवा भएका हुन् । उनले दैलेखको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यभार सम्हालिसकेका छन् । दैलेख पुगेसँगै जिल्लाका पत्रकारहरुसँगको भेटघाटमा उनले नागरिकले प्रत्यक्ष अनुभूती गर्नेगरी काम गर्ने बताएका छन् । शुक्रवार जिल्ला प्रशासन कार्यालय दैलेखमा आयोजित पत्रकार भेटघाटमा सूचना मैत्री तथा नागरिक मैत्री प्रशासन बनाउने प्रतिबद्धता व्यक्त गरे ।
प्रमुख जिल्ला अधिकारी कट्टेलले पत्रकारहरुसँग जिल्लाको समग्र जानकारी तथा सुझावहरु लिएका छन् । जिल्लामा लागु औषध दुव्र्यसनी बढेको, सामाजिक कु–संस्कार र कुरिति, स्थानीय सरकार र जनप्रतिनीधि, मध्यपहाडी राजमार्ग लगाएतका विषयमा पत्रकारहरुले जिज्ञासा राखेका थिए । नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसीले स्वर्गीय पत्रकार डेकेन्द्रराज थापाको हत्यारा अझैँ पत्ता नलागेको भन्दै हत्यारा पत्ता लगाउन आग्रह गरे ।
पत्रकारहरूका जिज्ञासा माथि जवाफ दिदै प्रमुख जिल्ला अधिकारी कट्टेलले नीति र नियम र कानुनको परिधिभित्र रहेर आफ्नो बलबुता र क्षमताले भ्यायसम्म राम्रो काम गर्ने प्रतिबद्धता जनाए । ‘नीति, नियम र कानुन विपरीत एउटै काम गर्दिन,’ उनले भने ‘बरु सरुवा भएर जान्छु ।’ विकास निर्माणमा पारदर्शिता, भ्रष्टचारमा शून्य सहनशिलता र शान्ति सुरक्षा पहिलो प्राथमिकता रहने उनको दाबी छ ।
प्रमुख जिल्ला अधिकारी कट्टेलले लागु औषध नियन्त्रणका लागि विद्यालय स्तर देखिनै सचेतनामुलक कार्यक्रम संचालन गर्ने बताएका छन् । संचार माध्ययमको सकारात्मक सहयोगको आवश्यकता औल्याउँदै प्रमुख जिल्ला अधिकारी कट्टेलले प्रशासन, प्रहरी र संचार माध्ययमको सहकार्य अनिवार्य रहेको औल्याए ।





Leave a comment

Your email address will not be published.


*