न्याय धर्मराएको डेकेन्द्र घटना

        अमर सुनार   |   प्रकाशित मितिः सोमवार, साउन २७, २०७६     ::: 284 पटक पढिएको   |  

डेकेन्द्रराज थापा जसबेला मारिए त्यसबेला नेकपा एमालेको संगठित सदस्य थिए । २०४६ चैत २६ मा प्रजातन्त्र पुनरस्थापनापछि २०४७ असारमा औपचारिक पार्टीको संस्थापन अभियानमा जुटेको सदस्य नाताले नवीकरण भइरहेको सदस्यता कायम थियो, सांगनिक जिम्मेवारीमा थिएनन् ।

नेकपा एमाले जनसाँस्कृतिक मञ्चको अध्यक्ष, २०५६ देखि २०५९ सम्म एक कार्यकाल पार्टीको जिल्ला कमिटीको सदस्य भए । २०५५ मा बामदेव गौतम नेतृत्वको नेकपा मालेको उपसचिव बनेका थिए, २०५६ को संसदीय निर्वाचनमा त्यो पार्टीको चुनाव प्रचार संयोजकको जिम्मेवारीमा भएको बेला पूर्व पार्टी सचिव अहिलेका साँसद रबिन्द्रराज शर्माको आग्रहमा नेकपा एमालेको प्रचार टोलीमा सहभागी भए ।

चुनावी प्रचार संयोजक रहेकै बेला नेकपा एमालेमा फर्किदा डेकेन्द्रले एक वर्ष मालेमा संगै काम गरेको बालकृष्ण केसी र रमेश सिजापती समेतलाई एमालेमा जोडे । जिल्लाका २ वटै निर्वाचन क्षेत्रमा २०५६ को संसदीय निर्वाचनमा डेकेन्द्रको प्रचार सहयोग सह्रानीय रुपमा मूल्यांकन भयो ।
क्षेत्र नंं. १ मा नेकपा एमालेका नरबहादुर हमालले जिते, क्षेत्र नंं. २ मा एमाले उम्मेदवार बिनोदकुमार शाहले हारे । बिनोदकुमार शाहले चुनाव हारे पनि चुनाव अभियानका चामुण्डा र लयाटीबिन्द्रासैनी मुख्य कार्यक्रममा नेमकिपाले बिनोदकुमार शाह माथि गरेको आक्रमणमा उनको ज्यान जोगाउन डेकेन्द्रले गरेको प्रतिरक्षा पार्टी भित्र धेरै तारिफ भयो ।
चुनावकै मुखमा मालेको उपसचिव जस्तो पद छोडेर आएका डेकेन्द्रले २०५६ को मंसिरमा भएको पार्टीको तेश्रो जिल्ला अधिवेशनमा पार्टी जिल्ला कमिटीमा फुत्काउने तिगडम भएको बेला अहिले जिसस संयोजक प्रेमबहादुर थापालाई हराएर पार्टीको इलाका नं. १ को इञ्जार्ज जिते । त्यो एक कार्यकाल जिल्ला कमिटी सदस्य भए ।
२०५९ पछि त्यतिबेला मानव श्रोत विकास केन्द्र नामक संस्थाको अध्यक्ष भएर सामाजिक काममा जुटे, उनले पार्टी राजनीतिक जिम्मेवारीबाट बाहिरिए । यहीबीचमा च्यानल नेपाल टेलिभिजनको लोकदोहोरी कार्यक्रम रेकर्ड गर्न दैलेख आएका पुरुषोत्तम ढकालले डेकेन्द्रको रेडियो नेपाल जिल्ला सम्वाददाता नियुक्ति नवीकरण गराउन तत्कालिन कार्यकारी निर्देशक शैलेन्द्रराज शर्मालाई सहमत गराएपछि उनी मारिंदा पत्रकारिता क्रियाशील रहेको औपचारिक प्रमाण थियो ।
पत्रकारिताको परिचयपत्र बाहक भए पनि उनी समाचार एकदम कम पठाउने पत्रकार थिए । बढी समय समाज सेवामा जुट्नु परेको र एकै काममा निरन्तता नदिने क्षणिक उतारचढावको स्वभावका कारण पनि २०५२ सालदेखिको रेडियो नेपाल सम्वाददाता गर्दै छोड्दै चलेको थियो ।
उनी २०४६ को एसएलसी उत्तीर्ण भएपछि काठमाण्डौंमा पढ्न गएको बेला पाण्डव सुनुवारले सञ्चालन गर्ने रेडियो नेपालको लोकप्रिय ‘चौतारी कार्यक्रम’मा मन्त्रमुग्ध शैलीमा पटक पटक लोकगीत गाएको कुरा पनि उनलाई पत्रकारितामा ल्याएको थियो । यसैले निरन्तरता पायो, पढाई एसएलसीमै रोकियो ।
पत्रकारिता जस्तै राजनीतिमा आकस्मिकता बडो चाख लाग्दो छ । २०४७ साउन २७ गते दैलेख सदरमुकाममा नेकपा एमालेको पहिलो जनसभामा प्रमुख अतिथि तत्कालिन नेकपा एमाले भेरी अञ्चल इञ्चार्ज बामदेव गौतम डेकेन्द्रको उद्घोषण कलाको प्रशंसक भइसकेका थिए । उनको पहिलो भेटकै छापले बामदेवले आफूले पार्टी फुटाउँदा दैलेखमा डेकेन्द्रलाई पार्टी उपसचिव बनाएका थिए । दैलेखमा मालेका जिल्ला सचिव चाहिं लक्ष्मीप्रसाद पोखरेल (संविधानसभा सदस्य) थिए ।
राजनीतिमा उदाउने एउटा स्वर्णिम अवसर साउन २७ गतेको दिनले जुरायो तर अवसान पनि त्यही साउन २७ गते भयो । २०६१ साउन २७ गते उनी यो धर्तीबाट प्रलोक भए । ४५ दिन नियन्त्रणमा राखेको तत्कालिन नेकपा माओवादीका कार्यकर्ताहरुले अहिलेको नौमूले गाउँपालिका–३ द्वारीमा उनलाई चरम यातना दिएर हत्या गरे ।
२०६१ असार १२ गते खानेपानी मर्मत सुधारका लागि सिमेण्ट र निर्माण सामग्री लिएर जाँदै गर्दा नारायण नगरपालिका–५ भैंसीखोरबाट नियन्त्रणमा लिएकामा बीचमा करिव एक महिना पुगेको बेला उनीहरुबाट उम्केका डेकेन्द्रलाई तोलीबाट फर्काएपछि अलि कडा गरेका थिए । यो कुरा साउन ९ गते श्रीमति लक्ष्मी थापालाई लेखेको पत्रमा ‘म मरेर जनयुद्ध सफल हुने भए मरुँला’ बाक्यांशले पुष्टी गरेको छ ।
माओवादीले हत्या गर्दा १० वटा संगीन आरोप लगाएको थियो । दैलेख बजार खानेपानी उपभोक्ता समितिको अध्यक्ष बनेर बजेट हिनामिना गरेको, माओवादी बिरुद्ध सुराकी गरेको, राजा ज्ञानेन्द्रको सवारीमा उद्घोषण गरेको, सरकार नियन्त्रित रेडियो नेपापको सम्वाददाता भएको जस्ता आरोपमा सफाया गरिएको भनी पार्टीको आधिकारिक विज्ञप्तीमा उदृत गरेको थियो ।
जति नै आरोप लगाए पनि पत्रकार मारिएको घटना थामी नसक्नुहुन्छ भन्ने माओवादीले पूर्व अनुमान गरेर नै मारिएको चौथो दिन २०६१ साउन ३१ गते मात्र उनी मारिएको औपचारिक रुपमा जानकारी गराइएको थियो । माओवादीले जानकारी गराउन ढिला गरे जसरी न्याय पाउन परिवारजन र पत्रकारका व्यवसायिक संगठनहरुले ठूलै संघर्ष गर्नु परेको थियो ।
२०५९ मा माओवादीले सदरमुकामलाई खानेपानी पुगेको कालेखोला मुहानबाट खानेपानी अवरुद्ध गरेपछि त्यसबेला पत्रकार र मानवअधिकारवादी संस्थालाई आग्रह गरे अनुसार त्यतिबेला नेपाल पत्रकार महासंघको तदर्थ समितिको सभापतिको हैसियतले म, शान्ति समाजका सभापति भेषराज थापा, नेपाल मानवअधिकार संगठनका सभापति क्याम्पस प्रमुख खगेन्द्रबहादुर मल्ल, शान्ति समाजका सहसचिवका हैसियतले डेकेन्द्र समेत आम उपभोक्ताहरु गएर माओवादीसंग वार्तापछि खानेपानी सुचारु भयो ।
खानेपानी सुचारु गरेको केही समयपछि माओवादी कार्यकर्ता सरकारी सुरक्षा कारवाहीमा मारिएको विषयलाई लिएर फेरि मानवअधिकारवादी र पत्रकारलाई बोलाए । माओवादीले हिसाव किताव सहित बोलाए लगतै त्यसबेला दैलेख बजार खानेपानी उपभोक्ता समितिका अध्यक्ष अहिले नारायण नगरपालिकाका मेयर रत्नबहादुर खड्काले अध्यक्ष पदबाट राजीनामा दिए ।
रत्नबहादुर खड्काको राजीनामापछि उपाध्यक्ष जिम्मेवारीमा रहेको गणेशबहादुर खड्का डराईडराई माओवादीका सामू हिसाव किताव लिएर पुगे । माओवादीले ‘पत्रकारहरु नै कोही अध्यक्ष बस्नु प¥यो’ भन्ने आग्रह गरे लगतै डेकेन्द्रले ‘म बस्छु’ भने । त्यसपछि उपभोक्ता भेलाबाट समिति पुनर्गठन डेकेन्द्र अध्यक्ष बने । जनतालाई पानी खुवाउन अध्यक्ष बन्नू नै काल हो भन्ने न डेकेन्द्रलाई अनुमान थियो न त उपभोक्तालाई ।
घटना नहुनु थियो, भयो तर उनी अजर अमर बनेका छन् । यो घटना कान्तिपुर दैनिकका तत्कालिन जिल्ला सम्वाददाता हरिहरसिंह राठौर र २०६९ को आन्दोलन तत्कालिन जिल्ला सम्वाददाता प्रकाश अधिकारीले प्रचारमा ल्याउन उल्लेख्य भूमिका खेल्नुभएकै कारण डेकेन्द्र घटना अन्तरराष्ट्रियकरण हुन सकेको हो ।
अदालतले केही थान मान्छेलाई थोरतिन सजाय ग¥यो, मुख्य आरोपीको मुद्दा मुल्तवीमा छ । जिल्ला अदालतको फैसलाले बोलेको छ ‘सशस्त्र माओवादी युद्धकालिन समयको घटना भएको कारण सत्य निरुपण तथा मेलमिलाप आयोगले अरु मुद्दा मेलमिलापमा लैजाँदा यो मुद्दा पनि लैजान सक्नेछ ।’
जनतालाई पानी खुवाउन अगुवाई गरेका डेकेन्द्र नमारिएको भए उनी जस्तो क्रान्तिकारी व्यक्ति अवश्य नै माओवादी पार्टीमै हुने थिए । जहाँ संगठित सदस्यता थियो त्यो पार्टी र उनको हत्या गर्ने तत्कालिन युद्धरत माओवादीवीच अहिले पर्टाी एकीकरण भएको छ ।
बाह्र वर्षमा खोलो फर्किन्छ भन्छन् तर १५ वर्ष पुग्दा पनि न्याय पाइएन । डेकेन्द्रको अनुपस्थितिलाई कसले कसरी ग्रहण गर्छन् ? कहिल्यै संक्रमणकाल वा सत्यनिरुपण तथा मेलमिलाप आयोगको निगाह पर्खेर धर्मराएको न्याय कहाँ र कहिले मिल्छ ? कि त कुरै गर्न मिल्दैन ? परिवारजन र पत्रकारलाई अन्यौल !





Leave a comment

Your email address will not be published.


*