बादीको पहिचान कसले तोक्यो ?

          |   प्रकाशित मितिः आइतवार, भदौ १, २०७६     ::: 80 पटक पढिएको   |  

बादीलाई हिजोका सामन्त राजा–महाराजा र ठालुहरूको स्वार्थमा गलत पहिचान बोकाइदिनु सामाजिक अपराध र बेइमानी हो 

नेपालमा लोपोन्मुख जातिमध्ये बादी जाति पनि एक हो । २०६८ को जनगणाअनुसार बादीको कुल संख्या ३८ हजार ६ सय ६ छ । नेपालका बादी (भाँड) जाति आर्थिक व्यवस्था र सामाजिक–राजनीतिक प्रणालीका कारण विपन्न बन्न पुगे । कतिपय अध्येता र लेखकले उनीहरूलाई विगतदेखि  वर्तमानसम्म गलत चित्रण गर्न छाडेका छैनन् । तर, प्रदेश ५ र सुदूरपश्चिम प्रदेश मुख्य बसोवास भएको बादी समुदाय लोकसंस्कृति, परम्परा र सांस्कृतिक सम्पदामा निकै सम्पन्न छ । जातीय भेदभाव र जातीय संरचनाले उनीहरूको लोकसंस्कृति र चाडपर्वले राष्ट्रिय मान्यता पाएको छैन । बादी जातिले विभिन्न देवीदेवताको पूजाआजा र कुलदेवतालाई पुज्दै आएका छन् भने यो जाति नाचगानमा पनि निकै धनी छ । भदौ १ गते भदौरे संक्रान्ति मंसिर र जेठ महिनामा पुज्ने रोटे पूजा र उत्सव बादी जातिका प्रमुख मौलिक चाडपर्व हुन् । यी विभिन्न चाडपर्वमध्ये भदौरे संक्रान्तिको बारेमा यहाँ चर्चा गरिनेछ ।  

मध्य वर्षा सकिएपछिको समयमा बादी जातिले आफ्नो प्रमुख चाडलाई स्वागत गर्न घर–आँगन सफा गरेर चिरिच्याट्ट पार्छन् । आर्थिक अवस्थाअनुसार मासुको व्यवस्था गर्ने र नयाँ पहिरनको व्यवस्था हुन्छ । यो चाड सुरु हुन्छ, श्रावण महिनाको अन्तिम मसान्तको दिन । त्यस दिन बिहानै बादी समुदायको मुखियाले सेतो कपडा लगाएर उनीहरूको मृत्यु संस्कार गर्ने नदीको पानी काँधमा बोकेर तामाको गाग्रोमा ल्याउने गर्छन् । गाग्रीमा नदीको पानी उघाउँदा मुखियाले पूर्वतिर फर्केर सबैको शुभमंगलको कामना गर्दै पूजाअर्चना गर्छन्  । समुदायका सबै घरपरिवारका एकदेखि दुईजनाले सफा ठाउँको कमेरो माटो दिउँसो ३ देखि ४ बजेभित्र ल्याइसक्नुपर्छ । यता, गाउँटोलमा बिहानैदेखि पशुपक्षीको मासु, रोटी, जाँड रक्सी तयार गरिएको हुन्छ । खाने कुरासहित ५ बजेतिर समुदायका सबैजना मुखियाको घरमा जम्मा हुन्छन् । 

मुखियाको आँगनको बीचमा लिपपोत गरी तामाको खड्कुलो राखिएको हुन्छ । त्यसको वरिपरि गोलो घेरामा बस्ने गर्छन् । यसपछि मुखियाले विशेष पूजाआजा गर्छन् । साँझ सन्ध्या जगाउँदै मुखियाले सबैको भलो र सुरक्षाका लागि खड्कुलोसँग शक्ति माग्छन् । यसपछि, मुखियाले नै प्रत्येक घरपरिवारबाट एकदेखि दुई मुठीका दरले कमेरो माटो एकै ठाउँमा जम्मा गरी खड्कुलोमा हाल्छन् । सँगै बिहान नदीबाट ल्याएको पानी पनि माटोलाई ठिक्क लेदो हुने गरी खड्कुलोमा हालिन्छ । यसवेलासम्म साँझको रिमरिम अँध्यारो भइसकेको हुन्छ ।  

मुखियासहित सामूहिक रूपमा केहीबेर सबैजना मंगल गीत गाउँदै पूजामा रहिरहन्छन् । मुखियाले खड्कुलोको पानी र कमेरो चोबेर आकाशतर्फ अर्पण दिन्छन्, यसपछि सबैले भिजेको कमेरो माटो सामूहिक रूपमा शरीरमा लगाउने गरिन्छ । माटो लगाउने काम सकेपछि घर–घरबाट ल्याएको कोसेलीपात सामूहिक रूपमा बाँडीचुँडी खाएर मनोरञ्जनसहित शुभकामना आदानप्रदान गर्ने गरिन्छ । खानपिन र भोजपछि सामूहिक रूपमा मादल, मजुरा र सारंगी (सारंगीकै आकारको बादी जातिको मसक बिन बाजा) बजाउँदै गीत गाउँदै विशेष अभिनय र नाचगान गर्ने गर्छन् । 

बादी जातिले विभिन्न देवीदेवता र कुलदेवतालाई पुज्दै आएका छन् भने यो जाति नाचगानमा पनि निकै धनी छ । १ भदौमा भदौरे संक्रान्ति, मंसिर र जेठ महिनामा पुज्ने रोटे पूजा र उत्सव बादी जातिका प्रमुख मौलिक चाडपर्व हुन् ।

त्योसँगै भोलिपल्ट (भदौ १)को चाडलाई भव्य रूपमा सम्पन्न गर्नका लागि सरसल्लाह र तयारीसहित नाइके मूलीलाई कामको जिम्मा लगाइन्छ । यसपछि सबै बिदाबारी भई आ–आफ्नो घरतर्फ लाग्छन् । मसान्तको दिन यसरी पूरा हुन्छ । ‘वल्के संक्रान्ति’को समयमा बादी (भाँड)हरूले खास गरेर रत्ने फलाराकै प्रसंगका गीत गाउने गर्छन् । रत्ने नामको ब्राह्मणले दिन्छु भनेर कबोल गरेको तर नदिएको प्रसंग यो गीतमा पाइन्छ । यस दिन उनीहरूले गाईजात्रामा जस्तै सबैलाई गाली गर्न छुट पाएका हुन्छन् । 

१ गते बिहानदेखि नै जंगलमा गएर गिठाको जरो, लहरा खोजी ल्याइन्छ । यो लहरा पुरुषले शरीरमा लगाउने गर्छन् । यसका साथै विशेष प्रकारको घोडा पनि बनाइन्छ । तितेपातीको ५ देखि ६ फिट लामो डाँठ, कुश, काँस र भित्र काँठले घोडाको स्वरूप बनाइएको हुन्छ । पुच्छरमा भने सिस्नोको मुन्टाको झुप्पा राखिएको हुन्छ । यो घोडा करिब १५ देखि १६ केजी तौलको हुन्छ । चाडको आवश्यक तयारीपछि सबैजना मुखियाकै आँगनमा जम्मा हुने गर्छन् । 

मुखियाले विशेष पूजा गरिसकेपछि सबैभन्दा पहिलो लाइनमा घोडा, दोस्रो लाइनमा बाजागाजा, तेस्रो लाइनमा महिला, पुरुष र सहभागी, चौथो लाइनमा मुखिया हिँंड्ने गर्छन् । प्रायः गाउँघरका गन्यमान्य अगाडि नै हिँड्ने गर्छन् । तर, बादी जातिको भने पछाडि हिँड्ने चलनले समाजमा सानो ठूलोको भेद नभएको देखिन्छ । उनीहरू समूहमा आफ्नो गाउँबस्तीको घर–घरमा गएर खुसियाली, नाचगान, अभिनय र शुभकामना आदान–प्रदान गर्ने गर्छन् । 

बादी जातिको यो चाड काठमाडाैं उपत्यका र देशैभरिको जिल्ला सदरमुकाममा मनाइने नेवार समुदायको गाईजात्रासँग पनि मिल्दोजुल्दो देखिन्छ । कतिपय अन्य समुदायले समेत महत्वका साथ आफ्नो घरमा बोलएर नाचगान र रमाइलो गर्न लगाउने चलनसमेत रहेको छ । यो चाडको अर्को विशेष रौनक सुँगुरलाई दाँतले टोकेर फाल्ने संस्कार हो । यसका लागि गाउँका गैरबादी समुदायका मुखियाको घरमा विशेष निमन्त्रणा नै गरेर बोलाइन्छ । १५ देखि २० केजीसम्मको सुँगुरलाई डोरीले बाँधेर आँगनमा राखिन्छ । सबैजना गोलो घेरामा बसेर नाचगान गर्ने गर्छन् । त्यसपछि बादी युवाले हातले नछोईकन दाँतले च्यापेर आफ्नो टाउको भन्दा माथिबाट सुँगुर फाल्छ । भुइँमा बजारिएको सुँगुरलाई अरूले समाएर मार्ने गर्छन् । 

बादी जातिको यो मौलिक चाडको समापन भने बादी मुखियाकै घरमा गरिन्छ । त्यसका लागि सबै भदौ २ गते मुखियाको घरमा बिहानै भेला हुन्छन् र सामूहिक भोजन गर्ने गर्छन् । चाडको बिदाइमा नाचगान, अभिनय र रमाइलो गर्ने गरिन्छ । मुखियाले अन्तिममा सबैलाई कमेरोको टीका लगाइदिने दिने गर्छन् । बादीलाई हिजोका सामन्त राजा महाराजा र ठालुहरूको स्वार्थमा गलत पहिचान बोकाइदिनु सामाजिक अपराध र बेइमानी हो । विगतको अपमानलाई वर्तमानको आत्मसम्मानले शिर उठाउनुपर्छ । बादी जातिको मौलिक राष्ट्रिय पर्व भदौरे संक्रान्तिको हार्दिक मंगलमय शुभकामना ! नयाँ पत्रिकाबाट सभार गरीएकाे हाे ।





Leave a comment

Your email address will not be published.


*