राउटे युवाको छलांग, औंठा छापबाट हस्ताक्षर

        दैलेख   |   प्रकाशित मितिः आइतवार, भदौ ८, २०७६     ::: 112 पटक पढिएको   |  

हिक्मत बहादुर नेपाली
दैलेख :
२६ बर्षिया गाजली शाही राउटे समुदायमा चिनिएकी नाम हुन् । उनि सधै समुदायका अन्य नागरिक भन्दा फरक पहिरनमा रहन्छिन् । प्रायः गाउँघरतिर चामल–तरकारी लिन जाने उनको दिनचर्या हो । समुदायकी सुन्दरीको रुपमा परिचित गाजलीले जंगलमै रहँदा यस्ता धेरै अनुभवहरु बटुलिसकेकी छिन् । लेखन र पढ्नमा भने उनको कुनै अनुभव थिएन । न उनको पुर्खामा थियो, न उनिसँग । अहिले पनि राउटेका पुरानो पुस्ता लेखपढलाई आफ्नो परम्परा र मुल्य मान्यता विपरित ठान्छ ।

विगत एक बर्ष अघि देखि अक्षर चिनाउन र लेख्न सिकाउन सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले दुई जना शिक्षककोे व्यवस्था गरिदिएपछि उनि लगाएत समुदायका अन्य युवाहरुका लागि राम्रो अबसर बन्यो । उनिहरु तीनै शिक्षकहरुलाई ‘मास्टर, मास्टर्नी’ भनेर बोलाउँछन् । मास्टर मास्टर्नीले उनिहरुलाई पढाई लेखाईमा तिखार्ने काम गरिरहेका छन् । गत साता कर्णाली प्रदेशका वन वातावरण तथा पर्यटन मन्त्री नन्दसिंह बुढा, सामाजिक विकास मन्त्रालयका सचिव डा. मानबहादुर विके सहितको टोली बस्तीमा पुगेको थियो । टोलीसँगै सामाजिक सुुरक्षा भत्ता वितरण गर्न गएका अन्य कर्मचारीहरु गाजली सहित अन्य छ जना युवा युवतीहरुले आफ्नो नाम लेखेर हस्ताक्षर गर्दा छक्क परे । भत्ता बुझ्दा होस् या अन्य सरकारी काममा ‘औँठा छाप’ लगाउने उनिहरु हस्ताक्षर गर्न सक्ने भएका छन् ।
राउटे समुदायका छोराहरु शिकार गर्न जंगल जान्छन् । ती मध्येका एक हुन कलम शाही । कलम पनि आफ्नै नाम लेखेर हस्ताक्षर गर्छन् । गाजली र कलम जस्तै राउटे सुमदायका युवतीहरु सिस्नेरी शाही, सम्झना शाही र युवाहरु टेकराज शाही, दिपक शाही आफ्नै नामको हस्ताक्षर गर्न सक्ने भएका छन् । बस्तीमा लेख्दा पढ्दा आफ्ना बस्तीका मुख्य व्यक्ति मुखिया रिसाउलान कि भन्ने डर पनि छ उनिहरुसँग । ‘लेख्न पढ्न रमाईलो र अफ्ठयारो रहेछ, मसँग अनुभव नै थिएन, सिस्नेरी शाहीले भनिन ‘सुरुको दिन के हो के हो जस्तो लाग्थ्यो, अहिले चाहिँ आफ्नो नाम लेख्न सक्ने भएको छु ।’ समुदायका युवा दिपक शाहीले आफ्नै उमेरका अन्य युवा युवती पनि लेख्न र पढ्ने रहर रहेको बताए । विवाहित महिलाले पुर्खाले नै नपढेकोले आफुहरु पनि नपढ्ने बताउँछन् ।

‘लेख्न पढ्न सिकाएको देखेमा अभिभावक रिसाउँछन्,’ शिक्षिका दुर्गा खत्रीले भनिन ‘लुकीछिपी सिकाईरहेका छौ ।’ आफ्नै समुदायका छोरा मान्छेसँग बोल्ने नियम भएपनि अहिले राउटे महिलाहरु अन्य नागरिकहरुसँग घुलमिल हुन थालेको शिक्षिका खत्रीले बताइन् । राउटे समुदायका बालबालिकाको स्वभावमा परिवर्तनको आएको शिक्षक लालबहादुर खत्रीले बताए । ‘उनिहरुमा सिक्ने इच्क्षा निकै बढेको छ, खेल्दै लेख्न, पढ्न र सरसफाईमा ध्यान दिन थालेका छन्,’ खत्रीले भने ।
एकै स्थानमा नबस्ने राउटे दुई महिना देखि दैलेखको गुराँस गाउँपालिका–५ मा बसोबास गरिरहेको छ । वनका राजाको रुपमा परिचित यो समुदायका नागरिकहरु प्रधानमन्त्री रोजगार कार्यक्रममा आवद्ध भएका थिए । ‘राउटे समुदायमा परिवर्तन सम्भव छ, अधिकारकर्मी हिरासिंह थापाले भने ‘उनिहरुलाई स्थायी रुपमा बसाल्नुपर्छ, लोपोन्मुख आदिवासी राउटेहरुको आफ्नै सांस्कृतिक परम्परा र मुल्य मान्यतालाई संरक्षण गर्दैै सामाजिकीकरण बनाउने अभियानमा छौ ।’





Leave a comment

Your email address will not be published.


*