ऐतिहासिक दुल्लू दैलेख

          |   प्रकाशित मितिः बुधबार, भदौ ११, २०७६     ::: 47 पटक पढिएको   |  

उत्तरकुमार पराजुली

इतिहासलाई समाज विकास आधारको मेरुदण्ड मानिन्छ । जुन समाजको लामो इतिहास छ त्यो समाज विभिन्न सामाजिक व्यवधानका हुन्डरीले डग्मगाउँदैन । कुनै पनि समाजको विकासको रूपरेखा त्यस समाजको ऐतिहासिक पृष्ठभूमिका आधारमा कोरिएको हुन्छ । इतिहास समाजको कीर्ति हो । “कीर्तिर्यस्य स जीवति” (जसको कीर्ति छ त्यही जीवित हुन्छ । ) भन्ने सूत्रअनुसार इतिहासले समाजको ढुक्ढुकी बोलिरहेको हुन्छ, सजीवताको प्रमाण पेस गरिरहेको हुन्छ । 
इतिहास रच्न जति गाह्रो छ, त्यसलाई इतिहासको रूपमा संरक्षण गर्न, पुस्ता दरपुस्ता हस्तान्तरण गर्न उत्तिकै गाह्रो छ । भनिन्छ नि, “पगरी पाउनभन्दा थाम्न गाह्रो । ” चार कोसमा पानी फेरिन्छ, आठ कोसमा बोली फेरिन्छ, एक शताब्दीमा लिपि फेरिन्छ भन्ने भनाइले इतिहास संरक्षण गर्न कति गाह्रो छ देखाउँछ । भनाइ सुनाइका भरमा बाँचेको इतिहासलाई कम महŒव दिनुको कारण पनि यही हो अर्थात् फेरिने बोली । त्यसैले तोडमरोड हुने मौखिक इतिहासभन्दा लिखित इतिहासलाई बढ्ता मर्यादा गर्नुको कारण यही हो । 
लिखित इतिहास पक्का मानिन्छ । त्यसैले “लिखितम्का अगाडि बकितम्” को केही लाग्दैन भन्ने गरिन्छ । तर कालक्रमले भाषा परिवर्तन हुँदै जाने, शब्दहरू अपभ्रंश भएर जाने, तिनै व्यवहारमा स्थापित हुने र पुराना शब्द पाखा लाग्दै जाने भयो भने जुन मर्म बोकेर लेखिएको लिखत हो सोभन्दा भिन्नै मनगढन्ते अर्थ लगाउने अवस्था आयो भने लिखित इतिहास पनि तोडमरोड हुने सम्भावना हुन्छ । 
प्राचीन मानव सभ्यता हुर्के बढेको हाम्रो देशमा समाज विकासका इतिहासका थुप्रै थातथलाहरू छन् । त्यस्तै थातथलामध्येको थलो दुल्लू–दैलेख पनि एउटा हो । वि.सं.को तेह्रौँ शताब्दी (इसाको बाह्रौँ शताब्दीतिर तिब्बतको खारी प्रदेशबाट आएका नागराजले कर्णाली प्रदेशमा स्वतन्त्र खसराज्यको स्थापना गरेको मानिन्छ । – नेपाल परिचय, रामकुमार पाँडे पृ. १०) तिर मौलाएको सिँजा राज्यको शीतकालीन राजधानी दुल्लू हुनुले पनि सिँजा राज्य विस्तार तथा व्यवस्थापनको इतिहासमा दैलेखको उपस्थिति प्रमुख रहनु स्वाभाविक छ । 
राम्रो मिलेको भौगोलिक बनावट, थ्याप्चिएका डाँडापाखा, उब्जाउशील माटो, वनजङ्गलको सुविधा, फराकिला फाँटले पनि यो क्षेत्र मानव बस्तीका लागि रोज्जा देखिन्छ । प्राकृतिक सुन्दरता, अग्निज्वाला जस्ता आश्चर्य लाग्नेखालका ठाउँले पनि यो ठाउँ आकर्षक थियो भन्न सकिन्छ । पौराणिक इतिहाससित जोडिएका विभिन्न शक्तिपीठहरूले यो ठाउँ सबैका लागि पुण्य तीर्थस्थल बन्ने नै भयो । यहाँका विभिन्न क्षेत्र विशेष गरी सतीदेवीका अङ्ग पतन भएका सन्दर्भका, शिवसित सम्बन्ध जोडिएका, महाभारतकालीन पाण्डवसित सम्बन्धित छन् । यहाँका पञ्चकोसी तीर्थस्थल धेरैजसो शिव—सतीदेवीसित सम्बन्धित छन्, धरम गद्दी (गादी) पाण्डवसित प्रसङ्ग जोडिएका छन् । 
पञ्चकोसीसमेतका अन्य दर्शनीय स्थान 
१) शिरस्थान– सतीदेवीको शिर पतन भएको ठाउँ २) नाभिस्थान– सतीदेवीको नाभि पतन भएको ठाउँ 
३) कोटिलास्थान–सतीदेवीको कोख पतन भएको ठाउँ 
४) पादुकास्थान– सतीदेवीको पाउ पतन भएको ठाउँ 
५) धूलेश्वर–सतीदवीका सबै अङ्ग पतन भई सकिएपछि महादेवले धूलो टक्टक्याएको ठाउँ 
६) बालेश्वर मन्दिर 
७) डुङ्गेश्वर मन्दिर 
८) पात्थर नाउली अथवा ढुङ्गे कुवा, राजपँधेरो 
९) दुल्लू पौवा हाल सङ्ग्रहालय 
१०) प्राकृतिक अग्निज्वाला, ढुङ्गे खम्बा, ढुङ्गे देवल, शिलालेख जस्ता आश्चर्यलाग्दा कुराहरूले दुल्लू दैलेखलाई दिव्यता प्रदान गरिरहेका छन् । 
यी माथिका पौराणिक सन्दर्भले यस क्षेत्रलाई देवलोक भन्ने गरियो । यही भनाइसित मिल्दोजुल्दो गरी नेपाली बृहत् शब्दकोशले दैलेखको व्युत्पत्ति देवलोक— दिविलोक— दैलेख भनी उल्लेख गरेको छ । संस्कृत भाषामा दै को अर्थ पवित्र गर्नु हुन्छ । विभिन्न पौराणिक सन्दर्भका तीर्थस्थलहरूले यस क्षेत्रलाई पवित्र मानी दैलेक भनिँदै जाँदा पछि दैलेख भनिएको हुनसक्छ । त्यसो त स्थानीय बासिन्दाले दूध 
(गोरस) प्रशस्त उत्पादन हुने भएकाले दही उत्पादन क्षेत्र भनेर दहीलेक भनिएको र पछि दैलेख भएको पनि भन्ने गर्छन् । 
नेपाली भाषाको उत्पत्तिस्थल सिँजा उपत्यका भनिन्छ । सिँजा गृष्मकालीन राजधानी हो सिँजा राज्यको । धेरै जाडो हुने ठाउँ भएको सिँजाको भन्दा न्यानो ठाउँ दुल्लूको जनसङ्ख्या धेरै हुनु, जनघनत्व धेरै हुनु स्वाभाविकै हो । जहाँ धेरै मानिस हुन्छन् त्यहाँ धेरै बोलीचाली हुन्छ । जहाँ बढी बोलीचाली हुन्छ त्यहाँको भाषा विकसित, सबल हुन्छ र स्थापित हुन्छ । पूर्णप्रकाश नेपाल यात्रीको अन्वेषणमा भेटिएको नेपाली भाषाको वि.सं. १०३८ को दामुपालको शिलालेख जुन अहिलेसम्मकै सर्वप्राचीन मानिएको छ, दुल्लूमा भेटिनु यो कुनै संयोग नभएर हुनुपर्ने वास्तविकता हो । नेपाली भाषाको उत्पत्ति र विकासका लागि सिँजा जत्तिकै हकदार छ दुल्लू पनि । 
दुल्लूमा ढुङ्गे देवल, ढुङ्गे खम्बाहरू थुपै्र छन् । कतिपय संरक्षित छन्, कतिपय संरक्षणोन्मुख छन् र कतिपय बेवास्ताको शिकार भएका छन् । पृथ्वी मल्लका पालामा स्थापित दुल्लूको कीर्ति खम्बा र दामुपालको शिलालेखलाई संरक्षण गर्ने प्रयासस्वरूप फलामे बार लगाइएको छ । तत्कालीन राजधानीको सीमाक्षेत्रभित्र कुनै सीमा सङ्केतका लागि हुनसक्छ गाडिएका झन्डै एक मान्छेभरका ढुङ्गे खम्बाहरू, घाँस काट्ने हँसिया, खुर्पा उध्याउने उधिन ढुङ्गा बनेका छन्, बिरूपका बनेका छन् । पटाङ्गिनी चोकनिरका जोडी ढुङ्गे देवलहरू पनि आफ्ना भावी दिनको उल्टो गनाइमा रहेजस्तो देखिन्छ । 
त्यसो त हालसालै उत्खनन गरेर दृश्यमान भएको राजपँधेरोले दुल्लूवासी आफ्ना पुराना कीर्ति संरक्षणका लागि सचेत छन् भन्ने सङ्केत दिन्छ । तर २०५९ सालमा तत्कालीन माआवादीद्वारा ध्वस्त पारिएको राजदरबारको पुनः निर्माण आपसी किचलोले हुन नसकेको कुरा भने सबैका लागि चिन्ताको विषय बनेको छ । 
दरबार क्षेत्र र कीर्तिखम्बा क्षेत्रको बीचमा पर्ने धरम गादी सिलाङ्गी नामको वृक्षमुनि खुला ओतको रूपमा छ । केही शिलामूर्ति, होमकुण्ड रहेको यस ठाउँमा भक्तभक्तिनीहरू बस्ने गर्छन् । त्यहाँ एक बस्ने आसन छ । यही आसनमा बसेर शिवजीले धर्मराज युधिष्ठिरलाई धर्मको उपदेश गरेको भन्ने भनाइ छ । त्यसैले यसलाई धरम गादी भनिएको हो । यो सिलाङ्गीको बोट शिवजीले रोपेको र होमकुण्डको धुनीको अग्नि पनि पहिलोपटक शिवजीले जलाएको भन्ने गरिन्छ । 
झट्ट हेर्दा कपुर वा लिच्चीको जस्तो देखिने सिलाङ्गीको बोटको पनि आफ्नै रोचक कथा छ । यो बोट हेर्दा ठूलो र निकै पुरानो होला जस्तो देखिन्छ । वर्षमा दुईपटक फुल्ने सिलाङ्गी पहिलोपटक असोजको सुरुमा र दोस्रोपटक कात्तिकमा फुल्छ । यसको फूलको बास्ना लङ्कासम्म पुग्ने विश्वास गरिन्छ । यसको फल फागुन÷चैततिर पाक्छ । तीतो स्वादको हुने यो फलले मधुमेह, उच्च रक्तचाप, झाडापखाला जस्ता रोगलाई ठीक पार्छ भनिन्छ । अचम्मको कुरा त के छ भने यसको बीउ अझैसम्म कहीँ कतै उम्रेको भन्ने थाहा छैन । 
नेपालका थुप्रै जातजातिको उद्गमस्थलको रूपमा दैलेख जिल्लालाई लिने गरिन्छ । यहाँका धेरैजसो गाउँठाउँ नेपालीका थरका रूपमा रूपान्तरित छन् । डाँडा पराजुल, अवल पराजुल गाउँका बासिन्दा पराजुली भए, बाँसीगाउँका बासिन्दा बसेल, बस्याल भए, नेपा गाउँका बासिन्दा नेपाल भए, दुल्लूका बासिन्दा दुलाल भए । यस्ता थुप्रै थरसित दैलेखको साइनो छ । दुल्लूका पाका पुस्तासित गफिने हो भने हरेक थरका गाउँ सबै दैलेखमा रहेको बताउन कस्सिन्छन् । 
“सिँजा हाट, दुल्लू विराट्” भन्ने पुरानो कथनप्रति गर्व गर्छन् दुल्लूवासी । यस कथनले सिँजा र दुल्लूको मीठो तुलना गरेको छ र दुल्लूलाई सिँजाभन्दा बृहत् पनि भनेको छ । 
एक सन्दर्भमा दुल्लू जाँदै गर्दा दुल्लू पुग्नुभन्दा करिब १७ किलोमिटर वरै डाँडीमाडी भन्ने ठाउँमा गाडी बिग्रियो । स्थानीय युवाले दुल्लूका लागि हामी अपरिचित व्यक्तिको विशेष चासोका साथ सोधीखोजी गरे र दुल्लू जानका लागि स्थानीय ‘अटो रिक्सा’ को व्यवस्था मिलाइदिए । अपरिचित व्यक्तिको सोधीखोजी गरी सहयोग गर्ने ती युवा दुल्लूका मात्रै होइनन् दैलेखकै प्रतिनिधि भएजस्तो अनुभूति भयो । यस्तै प्रवृत्ति सबैमा भएमा हाम्रो जस्तो जैविक, भौगोलिक, सांस्कृतिक, भाषिक विविधता भएको देशमा आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न ठूलो सहयोग मिल्नेछ । आगामी वर्ष सन् २०२० को नेपाल भ्रमण वर्ष सुखद र सफल हुनेछ ।

(लेखक साहित्यकार हुनुहुन्छ । ) 





Leave a comment

Your email address will not be published.


*