तीजको खानपान र उपवास

          |   प्रकाशित मितिः आइतवार, भदौ १५, २०७६     ::: 25 पटक पढिएको   |  

डा.प्रकाश बुढाथोकी- केही वर्षअघि काभ्रेको पाँचखालस्थित ग्रामीण स्वावलम्बी बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको तीज विशेष कार्यक्रममा दर खाएका ४ सयमध्ये साढे ३ सय जना बिरामी परेका थिए । यो समाचारले त्यति बेला धेरैलाई चनाखो बनाएको थियो । तर लाग्छ, त्यो खबर आयो–गयो भयो । दरप्रति उत्साह बढ्दै गए पनि सचेतता झन्झन् घट्दै गएको प्रतीत हुन्छ ।

दरको स्वरूपमा साँच्चै परिवर्तन हुँदै आएको छ । पहिले–पहिले प्राय: खीर, ढकने जस्ता शाकाहारी खाद्य पदार्थलाई दरका रूपमा प्रयोग गरिन्थ्यो । समयक्रमसँगै तिनको स्थान मासु, मदिरा र मिठाईले लिएका छन् । घरमा आफै पकाइतुल्याई नगरी तयारी अवस्थाका मासुजन्य तथा मिठाईजन्य परिकार किनेर खाने चलन गहिरिँदै गएको छ । जीवनशैलीमा आएको परिवर्तनसँगै यो चलन फेर्न त नसकिएला, तर अलिकति सावधानी चाहिँ अपनाउनैपर्छ ।
किनेर खाने मासुका परिकार अशुद्ध हुन सक्छन् । त्यस्तो मासु खाँदा टिनिया सोलियस, टिनिया साजिनाटा, ट्राकिनेल्ला स्पाइर्लिस र फ्यास्किओला हेपाटिका जस्ता फित्ते कीराजन्य रोग लाग्न सक्छन् । एन्थ्राकस, एक्टिनोमाइकोसिस, क्षयरोग र फुड प्वाइजनिङ जस्ता ब्याक्टेरियल संक्रमण पनि हुन सक्छन् । ससेज, सलामी, क्यान वा बट्टाबन्द टुना फिस जस्तो प्याकिङ गरेको मासुमा स्वास्थ्यलाई हानि गर्ने एडिटिभ, प्रिजरभेटिभ राखिएको हुन्छ । त्यसैले ताजा मासु प्रयोग गर्नु राम्रो हुन्छ । कचिला जस्तो काँचो मासुभन्दा पकाएको मासु उत्तम हुन्छ । तारेको, सेकेको, भुटेको वा कडा आगोमा पकाएको मासु खुम्चिएर ज्यादै कडा बनेको हुन्छ, जुन पचाउन गाह्रो बन्छ । मासु प्रेसर कुकरमा पकाएर, त्यो पनि सम्भव भए झोल हालेर खानु स्वास्थ्यका लागि उचित हुन्छ । अनि मासु मात्र खाँदा कब्जियत हुन सक्ने भएकाले त्योसँगै फलफूल वा सलाद नछुटाउनु बुद्धिमत्तापूर्ण हुन्छ ।
मोटो शरीर भएका, रगतमा कोलेस्ट्रोल बढी भएका, उच्च रक्तचाप तथा मुटुका रोगीले मासु खानै नहुने त होइन, तर बढी बोसोयुक्त रातो मासुचाहिँ खानै हुन्न । स्वास्थ्यका दृष्टिले राँगा, खसी, बंगुर आदिको रातो मासुभन्दा कुखुरा, माछा आदिको सेतो मासु राम्रो हुन्छ ।
अचेल बजारमा हामी विभिन्न खाद्यपदार्थ र मिठाईसँगै रोगहरू पनि किनिरहेका छौं । कतिपय मिठाईमा सिम्रिक, सिन्दूर, अबिर, नीर, रोडामिन बी, ब्रिलियन्ट ग्रीन, मालाचिट ग्रीन, मेटालिन एल्लो, ओरेन्ज, जी नेप्थोल, एल्लो एस, औरामिन, केशरी तथा चम्पारंग लगायतको प्रयोग भएको हुन्छ । त्यस्ता मिठाई खाँदा पेट गडबड हुने, पखाला लाग्ने हुन सक्छ । रातो रक्तकोष नष्ट हुने, रगतको कमी हुने रोग लाग्ने सम्भावना हुन्छ । कलेजो, मुटु, मृगौला जस्ता भित्री कोमल अंगहरू जस्तै कमजोर हुन्छन् । क्यान्सरको सम्भावना बढ्दै जान्छ । बाँझोपन हुनसक्छ । आँखा र कान कमजोर हुन सक्छन् । खाद्यपदार्थ सड्नबाट जोगाउन प्रयोग गरिने प्रिजरभेटिभले जिब्रोमा ससाना खटिरा हुने, पेट पोल्ने, मुखमा अमिलो पानी आउने, सास गन्हाउने हुन सक्छ ।
निर्जल/निराहार उपवासउपवास श्रद्धा र भक्ति प्रदर्शनको माध्यम भए पनि यो स्वास्थ्यका लागि निकै लाभदायक छ । उपवासले शरीरको प्रतिरोधी क्षमता बढाउँछ । न्युराल्जिया, कोलाइटिस, थकान, कब्जियत, कोलाइटिस, टाउको दुख्ने हुँदैन । शारीरिक तौलमा सन्तुलन ल्याउँछ । उपवास बस्दा ब्रेन डिराइभ्ड न्युट्रोफिल फ्याक्टर नामक प्रोटिन बढ्छ र मस्तिष्कको कार्यक्षमता वृद्धि हुन्छ । स्मरण शक्तिमा बढेपछि अल्जाइमर हुन पाउँदैन । पार्किन्सनको सम्भावना घट्दै जान्छ । उपवासमा पाचन प्रक्रियाले आराम पाउने भएकाले पाचनशक्ति बलियो हुँदै जान्छ । शरीर फुर्तिलो हुन्छ ।
व्रत/उपवास बस्नु स्वास्थ्यका दृष्टिले नराम्रो होइन, तर आफ्नो स्वास्थ्य अवस्थाको ख्याल नगरी बस्नुचाहिँ उचित होइन । बिरामी, साना नानी भएका, स्वास्थ्य अवस्था कमजोर भएका, गर्भवती र अठार वर्षमुनिका तथा वृद्धवृद्धाले व्रत बस्नु नराम्रो हुन्छ । ग्यास्ट्रिक, अल्सर र मुटुरोगका बिरामीले पनि उपवास बस्न हुन्न । ती रोग निको भइसकेका भए पनि व्रत बस्दा बल्झिन सक्छन् । निराहार बस्दा तथा पानी नखाँदा ग्यास्ट्रिक हुने, मिर्गौला बिग्रने हुन्छ । उपवासमा पानी पिउनुलाई धर्मले पाप मान्दैन । पानी नखाई र थुकै ननिली व्रत बस्दा टाउको दुख्ने, अम्लपित्त हुने, शरीर दुख्ने, नसा झमझमाउने, शरीरमा ग्लुकोजको कमी भएर बेहोस हुने सम्भावना रहन्छ । त्यस्तै बेला झन् हिँडडुल र नाचगान गर्दा शरीरमा भएको अलिकति पानी पनि पसिनाका रूपमा निस्किन्छ र हिटस्ट्रोक, निर्जलीकरण भई शरीरका अंग–प्रत्यंगमा असर पर्ने तथा बेहोस हुने हुन सक्छ ।
सामान्यत: उपवासको अवधि मानिसको उमेर, रोगको अवस्था, सेवन गर्ने औषधिको प्रकारमा भर पर्छ । उपवास बसे पनि फलफूल, जुस, कागतीपानी खानुपर्छ । जस्तो उपवास बसे पनि दैनिक सातआठ गिलास पानी पिउनैपर्छ । उपवास तोड्ने क्रममा प्राय: पेटभरि खाने हाम्रो बानी छ । यो पनि राम्रो अभ्यास होइन । रेसादार हल्का खाना खानुपर्छ ।
वर्षमा एकचोटि आउने चाडपर्व उल्लासपूर्वक नै मनाउनुपर्छ । योसँगै खानपानमा पनि ध्यान दिइयो भने सुनमा सुगन्ध हुन्छ । पर्व सकिएपछि उपचारमा भौंतारिनुपर्‍यो भने के मजा भयो र ?

लेखक वीर अस्पतालमा कार्यरत छन् । कान्तिपुरबाट





Leave a comment

Your email address will not be published.


*