महिनावारी भएकै बेला आमाको क्रिया गरेँ

          |   प्रकाशित मितिः मङ्लबार, भदौ १७, २०७६     ::: 108 पटक पढिएको   |  

–  |   राधा पौडेल, ०७० को मदन पुरस्कार विजेता

बादलको आकार हेर्दै कल्पनामा रमाउने उमेरमा राधा पौडेल भने श्यामश्वेत सपनामा रंग खोज्न दौडिइन् । नर्सको रूपमा सरकारी नियुक्ति पाइसकेकी राधालाई चितवन वा काठमाडौंको रंगीन संसार सजिलै उपलब्ध हुन सक्थ्यो, भलै त्यो निकै संघर्षले प्राप्त भएको थियो । तर उनीलाई जुन सपनाको किरोले टोकेको थियो, त्यसको प्रभाव झन् पछि झन् उनको दिमागमा चढ्दै गयो ।
‘तिमीहरूले त के दुःख पाएका छौ र ? जुम्लाका मान्छेले पानी खान हिउँ पगाल्नुपर्छ । जुत्ता त देखेका पनि हुँदैनन् । पढ्ने त कुरै नगरौं’, अञ्चलाधिशको भान्सेका रूपमा काम गर्ने बुबाले जब जुम्लाको कुरा सुनाएर उनको चप्पल लगाउने रहरमा चिसो पानी छ्यापिदिए, त्यतिबेलै उनलाई जुम्ली अनुहारमा मुस्कान खोज्ने सपनाको किरोले टोकेको थियो । त्यसैको असरले उनी सरकारी जागिर छोडेर एउटा ‘प्रोजेक्ट’को बहानामा जुम्ला सदरमुकाम खलंगा पुगिन् । त्यहाँ उनले देखे, भोगे र गरेका कुराको फेहरिस्तले अनेक किताबको माग गर्छन् । तर, त्यहीँ भएको बेला भएको तत्कालिन माओवादीले खलंगामा हमला गर्यो ।

हमलाको त्रास र त्यसपछिको विभत्सता उनले भोगिन्, देखिन् । त्यही भोगाइको अभिलेखीकरण गरिएको पुस्तक ‘खलंगामा हमला’ले ०७० को मदन पुरस्कार पायो । चुपचाप आफ्नो सपनालाई पछ्याइहिँडेकी राधाको चर्चा सुरु भयो । भलै, त्यसअघि नै शान्ति निर्माणमा गरेको कामका लागि उनले केही अन्तराष्ट्रिय अवार्ड पाइसकेकी थिइन् । त्यसको चर्चा नेपालमा त्यति भएको थिएन, मदन पुरस्कारले भने उनलाई नेपालीबीच चिनायो । त्यसपछि पनि उनी निरन्तर आफ्नो सपना पछ्याई हिँडेकी छिन्, सामाजिक र साहित्यिक दुवै क्षेत्रमा ।

महिलाले कम पढ्दारहेछन्
‘मानिसहरूको अनुहारमा खुशी देख्दा लाग्छ, सही बाटोमा छु । तथापि मलाई थाहा छ, मैले उनीहरूको अनुहारमा देखेको खुशी क्षणिक हो । तैपनि लाग्छ, खुशीको स्वाद त थाहा पाए नि’ राधा भन्छिन्, ‘तर अधिकार खोसिएकाहरूको उस्तै अवस्था देख्दा मैले आफूले गर्नुपर्ने कामको छेउटुप्पै पत्ता लगाउन सकेकी छैनझैं लाग्छ । धेरै चुनौति छन्झैं लाग्छ । त्यसैले पुरस्कार जितेपछि पनि मलाई त्यस्तो धेरै केही जितेजस्तो अनुभूति भएको छैन,’ राधा भन्छिन् ।
मदन पुरस्कार पाएपछि उनलाई नेपालीले चिन्न थाले । तर पुरुषले बढी चिने, महिलाले कम । उनको अनुभूति छ, ‘एक त महिलाले कम पढ्दा रहेछन् ।’ त्यसो त उनलाई चिन्ने महिला पढेलेखेकै थिए । किताब नपढेपनि समाचार थाहा पाए । तर खुशी प्रकट गरेनन् ।
त्यसको कारण उनलाई थाहा थियो, ‘म उल्टो बग्छु । उनीहरूले भनेजस्तो कुरा गर्दिनँ । एनजिओमार्फत आफ्नो जीवन सुखको तला थप्दिनँ । अनि मैले पुरस्कार पाएकोमा उनीहरू किन खुशी हुने रु’
उनी आफ्नो उल्टो बगाइबारे स्पष्ट पार्न भन्छिन्, ‘जस्तो कि, तराइ बन्दबारे चार महिनासम्म कुनै मानवअधिकारकर्मी बोलेनन् । मानवअधिकार र शान्तिकै नाममा पैसा खाइरहेका एनजिओ र मानवअधिकारवादी संस्थाले बोलेनन् । मिडियाले धरी बोलेन । बोले पनि बायस भएर बोले । त्यसपछि म पाँच हजार सापट मागेर मधेस गएँ । निर्णायक वार्ता गरेर शान्तिले बाँच्न पाउने अधिकारको वकालत गरेँ । पछि माइतीघर मण्डलामा धर्ना सुरु गर्न पहल गरेँ । जुन अहिले पनि जारी छ । यो सबै उल्टो धार हो ।’
यस्तो देख्दा आफूले देखेको सपनाको बाटो कोट्टिएकै छैनजस्तो लाग्छ उनलाई । आफू मरेपछि त बिलाउँछु कि जस्तो लाग्छ । तर विश्वास पनि उत्तिनैखेर पलाइहाल्छ– अब मेरो सपनाको विस्तार भइसकेको छ । ‘मितेरी गाउँ, सँगसँगै बाँचौं’ भन्ने अभियान शान्ति निर्माणको लागि नेपाली अग्र्यानिक मोडेल हो । यसलाई पछ्याउने हुन्छन् नै ।
केही उदाहरण पेश गर्छिन्, ‘अहिले मेरो कामबाट प्रभावित भएर काम गर्न विदेशी पनि आएका छन् । हामीसँग चिया खुवाउने पैसा पनि छैन, तर पनि दुःख गरिरहेका छन् । यसले आशा जगाएको छ ।’ तैपनि अहिलेसम्म एक्लै हिँड्नुपरिरहेको अनुभूति भने मनमा छ नै ।

एक्लै रुने बानीले लेखक बनायो
त्यसो त उनी बच्चैदेखि एक्लै पर्थिन् । हुलले उनलाई पछ्याएन, उनले हुल पछ्याइनन् । अनि कि एकान्तमा बसेर रुन्थिन्, कि केही लेख्थिन् । त्यही लेखाइले उनलाई साहित्यमा तानेको हो । तर उनले आफ्नो लेखाइ कसैलाई देखाउँदैनथिन् । ‘म प्रेमलाई विम्ब बनाएर लेख्थेँ । सबै कुरा प्रेममा मिल्छजस्तो लाग्थ्यो । तर समाजमा बुझाइएको प्रेमचाहिँ अर्कै थियो । त्यसले दिदीहरूले गाली गर्छन् भनेर देखाउँदिनथेँ,’ उनले सम्झिन् ।
तर लेखनयात्रा निरन्तर थियो । खलंगामा पुगेपछिचाहिँ उनले लेखनलाई किताबकै आकार दिन बाध्य भइन् । ‘भिडन्तको दृश्य र भोगाइले मलाई मर्माहत बनायो । डिएसपीको पुठाको हड्डी भनेर कालो डल्लो टिपिरहेका पुलिस देखेँ । क्षतविक्षत लासहरूको चाङ देखेँ । सोचें– म मर्न सक्थें । बाचेँ । बाँच्नुको पछाडि यहाँको यथार्थलाई मैले प्रस्तुत गर्नुपर्छ भन्ने दायित्व छ । काठमाडौंले कर्णालीलाई बुझ्दैन । चबमजब उयगमभ ि९ज्ञ०मैले उसलाई सुनाउनुपर्छ । म लेख्नकै लागि बाँचेको हो । त्यसपछि मैले पुस्तक लेखेँ’, उनले सम्झिन् ।
त्यतिबेला उनको दिमागमा दुई कुरा खेले । एक, आफूले अनुभूति गरेको बिषयमा लेख्ने । अर्को, मरेका मानिसको सम्झनामा स्मारक बनाउने । लेख्न त उनलाई सहजै भयो । प्रकाशन गर्न भने झण्डै दशक कुर्नुपर्यो । तर प्रकाशित भएपछिको मूल्य भने गहकिलो नै भयो ।
स्मारकको सोच भने परिमार्जन हुँदै गयो । एउटा स्तम्भमात्रै बनाएर आफ्नो दायित्व पूरा हुन्छ भन्ने उनलाई लागेन । ‘यहाँ जुन युद्ध भएको छ । त्यसको परिचय फेर्न शान्तिभूमिको रूपमा चिनाउनुपर्छ’, उनलाई लाग्यो, ‘जुम्ला आफैंमा नेपाली सभ्यताको ऐतिहासिक स्थल हो । यहाँ शान्तिको सन्देश दिने धेरै कुरा छन् ।’
जुम्लामा कसैको घर बनाउँदै छन् भने छिमेकीले पालैपालो गरेर दैनिक खाजाको व्यवस्था गर्छन्, घर बनाउनेलाई आर्थिक भार नहोस् भनेर । तिहारमा दसैंमा जस्तै धेरैजनाकहाँ टिका लगाइन्छ । जसले दिदीभाइ, दाजुबहिनीको सम्बन्ध विस्तार हुन्छ । मान्छे कहिँ पुग्दा पनि एक्लो हुँदैन । कुनै न कुनै नाता परिहाल्छ । यस्तो संस्कृतिले मेलमिलाप र शान्ति स्थापनामा ठूलो भूमिका खेल्छ भन्ने राधाले निष्कर्ष निकालिन् र त्यस ठाउँमा अनुसन्धान केन्द्र विकास गरिन् । ‘मितेरी गाउँ, सँगसँगै बाँचौं’ भन्ने अभियान नै सुरु गरिन् ।

पुरस्कारको लागि कहिल्यै काम गरिनँ
उनले कहिल्यै पनि मदन पुरस्कार पाउँछु भनेर सोचेकी थिइनन् । ‘मैले पुरस्कार पाउन लेखेको होइन । अरूले के भन्छन् भन्ने सोचेर काम गर्ने मेरो बानी नै छैन’, उनको दावी छ । उनको अर्को दावी हो, ‘खलंगामा हमला’ले मदन पुरस्कार पाएपछि साहित्य पुनर्परिभाषित भयो । भन्छिन्, ‘अहिले धेरैले लेख्न थालेका छन् । सामाजिक सञ्जालमा पनि राम्रा साहित्य देखिन्छन् । जटिल र अमूर्त शब्द घुसाएर मैलेमात्रै लेख्छु भन्ने घमण्ड गर्नेलाई मेरो किताबले पुरस्कार पाएपछि धक्का पुगेको होला, तर डायरी लेख्ने, सरल ढंगले आफूलाई अभिव्यक्त गर्नेहरू उत्साहित भएका छन् । बोझिला शब्द होइन, अभिलेखीकरण महत्वपूर्ण हो भन्ने यसले प्रमाणित गरिदियो र धेरै लेख्न चाहनेलाई उत्साहित बनायो ।’
तर उनले लेखेको पुस्तकलाई ‘साहित्यिक’ नमान्ने पनि छन् । उनीहरूलाई उनको जवाफ छ, ‘मैले लेखेका कुरा प्रचलित परिभाषाको साहित्य नहोला । तर यसलाई मानवशाश्त्रीय, समाजशास्त्रीय कोणबाट पनि हेर्न सकिन्छ नि । हाम्रोमा एउटा परिभाषा रटेपछि त्योभन्दा अर्को हुन्छ भन्ने नै सोच्न नसक्ने संस्कार बढी छ । त्यसरी हेर्दा मेरो लेखनमा साहित्य नदेखिएला । नत्र जति पनि पाठकले मलाई प्रतिक्रिया दिएका छन् । त्यसबाट म आफ्नो लेखनमा सन्तुष्ट छु ।’

जन्ममिति नै नभएपछि सुरु भयो संघर्ष
‘एक्टिभिज्म’को क्षेत्रमा पनि उनको कुरा काट्ने प्रशस्तै छन् । कारण स्पष्ट छ, कार चढेर, ठूला गोष्ठीमा चर्का कुरा गरेर र मोटोघाटो शरीर घिसार्दै आफूलाई महिला अधिकारवादी प्रमाणित गर्नु छैन । महिला अधिकारको संघर्ष त आफू बुझ्ने भएदेखि नै गर्नुपर्यो उनले । ‘मेरो जन्ममिति नै थिएन । बुबाआमाले छोरा हुन्छ भनेर बसेको । म जन्मेपछि मितिसमेत याद गरेनन् । पछि अनुमानको आधारमा जन्ममिति राखियो । तत्कालीन राजा बीरेन्द्र जन्मदिवसलाई जन्मेको दिन उल्लेख गरियो । त्यहाँबाट मेरो संघर्ष सुरु भएको हो’, उनी सम्झन्छिन्, ‘त्यसपछि छोरो नपाए आमा नर्कमा जान्छिन् भन्ने सुनेँ । भाइ जन्मिसकेपछि परिवारमा देखिएको खुशी देखेँ । भाइको लामो पेन्सिल देखेँ, जतिबेला मेरोचाहिँ हातमै हराउँथ्यो छोटो भएर । त्यो देखेभोगे देखि नै अधिकारको पक्षमा संघर्ष गर्दै आएँ । त्यसैले विश्वविद्यालयमा पढेर एनजिओमा अधिकारका कुरा गर्नेले मलाई सिमान्तमा पार्न खोज्छन् ।’
त्यसैले उनलाई एनजिओमा काम गर्छु भन्न पनि लाज लाग्छ । उनीसँग स्पष्ट कारण छ, ‘नेपालमा काम गरिरहेको ८० प्रतिशत एनजिओले नागरिक समाजको संस्थागत प्रतिनिधित्व गर्दैनन् । त्यसो भएको भए त मधेसबारे बोलिहाल्थे नि । भारत, यूएसएआइडी वा अन्य दातासँगको जे सुकै सम्बन्ध होस्, अधिकारको पक्षमा उत्रिएको भए सरकार र मधेसी नेता दुवै वार्ताबाट समस्या समाधान गर्न तयार हुन्थे । तर त्यसो भएन । यसैबाट सबै स्पष्ट भइहाल्छ ।’
चबमजब उयगमभ ि९द्ध०त्यसो त उनलाई राजनीतिक पार्टी र एनजिओ उस्तै लाग्छन् । राजनीतिक पार्टी नै एनजिओ, एनजिओ नै राजनीतिक पार्टीजस्ता छन् । ‘पार्टीका नेता गफ दिन्छन् सिंगापुरसम्मको । तर त्यसको लागि कुनै योजना बनाउँदैनन् । एनजिओ पनि जनताको अधिकारको लागि काम गर्ने भन्छन्, तर जनताको आवश्यकतामा होइन, आफूलाई पैसा आउने काम गर्छन् । पैसा राजनीतिक पहुँच वा अन्य कुनै सम्बन्धका आधारमा पैसा आउने भएपछि एनजिओ खोलिन्छन्,’ उनले भनिन् ।
तर पनि उनी आशावादी भने छिन् । आफूले काम गरे हुन्छ भन्ने सोचका साथ बनाएको संस्था ‘एक्सन वक्र्स’मार्फत जसरी जनताको आवश्यकतालाई ध्यान दिएर धरातलमै उभिएर काम भइरहेको छ, त्यसले सरकारलाई नीति बनाउन पनि दवाव दिने उनको विश्वास छ । ‘हामी होलिस्टिक एप्रोचमा काम गर्यो भनेमात्रै रुपान्तरण सम्भव छ भनिरहेका छौं । अरूलाई गाली गरिरहँदा हामीलाई पनि चुनौति हुन्छ । हामी त्यसको परीक्षामा खरो उत्रिनुपर्छ । तर हामीले जसरी काम गरिरहेका छौं, त्यसबाट सरकारले चाह्यो भने नीति बनाउन सजिलो हुन्छ’, उनको दावी छ ।
आफूले गरेका काम जसरी अन्तर्राष्ट्रियकरण हुँदै गएको छ, त्यसबाट पनि उनले त्यो विश्वास प्राप्त गरेकी हुन् । उनले विस्तारपूर्वक भनिन्, ‘छाउपडीको कुरा डेढ दशकअघि पहिलोपटक मैले उठाएकी हुँ । अहिले त्यो जुम्ला वा सुदरपश्चिमको मात्रै एजेण्डा होइन, अन्तराष्ट्रिय बिषय भइसकेको छ । त्यस्तै महिनावारी बार्ने चलनले कसरी शान्ति र महिला सशक्तिकरणमा बाधा पुर्याइरहेको छ भन्ने पनि म अनुसन्धान गरिरहेको छु । नेपाली जहाँ छन्, त्यहाँ महिनावारी बार्ने चलन पुगेको मैले पाएकी छु । अमेरिका र बेलायतमासमेत त्यो पुगेको छ । यस्तो चलनले जीवनमा कहिल्यै महिनावारी नहुने पुरुष पनि झण्डै दुई बर्ष परिवारबाट छुट्टिएर बस्नुपर्ने गरेको तथ्य मैले भेटेकी छु । छाउ बस्ने आमासँग बस्दा उनीहरू पनि जीवनमा दुई बर्ष परिवारबाट छुट्टिएर बस्नुपर्दो रहेछ । अब यो तथ्य बुझाउन लागेकी छु ।’
आफ्नी आमालाई घरबाहिर राख्ने, आफूचाहिँ भित्र बस्ने संस्कारले शान्ति सँधै खल्बल्याइरहेको उनी अनुभूति गर्छिन् । ‘छाउघरमा कति बलात्कारका घटना भएका छन् । छाउघरमा बस्नु परेकै कारण कति केटीहरूले महिनाबारी भएपछि सुसाइड गर्न मन लाग्छ भनेको सुनेको छु । यस्तो पीडामा कसरी शान्ति हुन्छ रु युद्ध नहुनु नै शान्ति हुनु होइन । यो परिभाषा सिकाउन यस्तै साना लाग्ने, तर ठूला कुराबाट परिवर्तन थाल्नुपर्छ,’ उनको भनाइ छ ।
परिवर्तन आफैंबाट थाल्नुपर्छ भनेर उनले व्यवहारमा पनि प्रमाणित गरेकी छिन् । उनले आमाको मृत्युपछि आफैंले दागबत्ती दिइन् । क्रिया गरिन्, जुनबेला उनी महिनावारी भएकी थिइन् । ‘मेरो धर्मप्रति कुनै विरोध छैन । र, विश्वास पनि । तर छोरीले गर्नुहुँदैन, महिनावारीको बेलामा छुनु हुँदैन भन्नेजस्ता संस्कार तोड्ने मैले ती काम गरेँ ।’
मैले जे गरेँ, त्यो बिषयमा लेखेर प्रकाशित पनि गरेँ । तर महिला नै त्यसको प्रशंसा गर्न सकेनन् । कारण, उनीहरू त्यो संस्कारलाई नभत्काइकन आफूचाहिँ महान भनिन चाहन्छन् । त्यो सम्भव हुने कुरै होइन ।

पार्टी र एनजिओ उस्तै छन्
साहित्यमा होस् या सामाजिक रूपान्तरणको अभियानमा । मानिसको जमेको दिमाग पहिलो बाधा बन्न आउँछ । यो राधाको निष्कर्ष हो । हाम्रो समाजमा यस्ता मान्छेको बोलवाला छ कि उनीहरू फरक कुरा हुन्छ भन्ने सोच्नै सक्दैनन् । केही फरक काम गर्न खोजियो भने निरन्तर प्रमाणित गरिरहनुपर्छ ।
राजनीतिक अनावश्यक हस्तक्षेपले पनि काममा बाधा दिन्छ । उनी व्यंग्य गर्दै भन्छिन्, ‘एनजिओ र पार्टीले एउटै भाषा बोल्छन् । किन दुइटा संस्था बनाएको हो, मलाई थाहा छैन ।’
दुवै संस्थामा रहेको सामन्तवादी सोचले उनीहरू आफ्नो ‘कम्फोर्ट जोन’बाट बाहिर निस्कन पनि सक्दैनन्, अरूलाई अघि बढ्न पनि दिँदैनन् । कारण हो– उनीहरू परिवर्तन नै चाहदैनन् ।
उनको बुझाइ छ– त्यसलाई धक्का दिनसक्ने विवेक समुदायमा पैदा भइसकेको छैन । ‘अस्ति राजा फाले । पछि राजा जोगाउनुपर्छ भन्ने पार्टीलाई भोट हाले । यस्तो मानसिकताले त्यस्तै रूढ सोच भएकालाई मद्दत पुर्याइरहेको छ,’ उनले तर्क गरिन् ।
त्यसै कारण राजनीतिक पार्टी र एनजिओ दुवैले काम नगरी सुविधाभोगमात्रै गरेको उनको निष्कर्ष छ । ‘दुवै पक्षले समावेशी समाज निर्माण गर्छु त भने । तर त्यसमा लगानी गर्न तयार भएनन् । अहिले लगानी पैसाको होइन, समयको आवश्यकता छ । राजधानीको तारे होटलमा दुई घन्टा गोष्ठी गर्दा सकिने पाँच लाखले जुम्लामा एक बर्ष काम गर्न सकिन्छ । तर समय त लगानी गर्नुपर्छ । बर्षौंदेखि अधिकारविहिन क्षेत्रलाई बलियो बनाउन एक घन्टाको गोष्ठीले हुँदैन । ग्राउन्डमै गएर काम गर्नुपर्छ । त्यसो गर्न न राजनीतिक दल तयार छन्, न एनजिओ नै । अनि दोष उल्टै जुम्ली, दलित या मधेसीलाई दिइन्छ । भाषण गर्ने र लेख्नेमात्रै यस्तो जमातले समाजलाई पछि पारिरहेको छ,’ उनले प्रष्ट पारिन् ।
चबमजब उयगमभ ि९द्द०तर उनलाई थाहा छ, त्यसरी काम नगरे द्वन्द्व समाप्त हुँदैन, शान्ति आउँदैन । हिजो एउटाले अधिकारको लागि संघर्ष गर्यो, भोलि अर्कोले गर्छ । त्यसैले सम्पूर्ण ग्रामीण क्षेत्रको रूपान्तरणबाट मात्रै शान्ति सम्भव छ भन्ने उनको निष्कर्ष हो । उनी भन्छिन्, ‘तर नेपाल भनेको काठमाडौंमात्रै होइन । मेचीदेखि महाकालीसम्मको ग्रामीण वस्ती हो । त्यसको विकास गरेमात्रै दिगो विकास, शान्ति र मानवअधिकार सम्भव छ । त्यो मेरा सपना पनि हो ।’
उनले आफ्नो सपना पूरा गर्न ‘मितेरी गाउँ, सँगसँगै बाचौं’ भन्ने अभियानको माध्यम अपनाएकी छिन् । ‘यो हाम्रो मौलिक अभ्यास हो । हामी जहाँको, जुन जात वा रंगको भए पनि समान ढंगले मित्रतापूर्वक बाँच्न सक्छौं भन्ने सन्देश यसमार्फत फैलाउन सकिन्छ । जसको अभ्यास हाम्रो समाजमा सदियौंदेखि हुँदै आइरहेको छ मितेरी साइनोमार्फत ।’ यही कुरालाई उत्प्रेरित गर्न उनी साहित्य लेख्छिन् ।

सगरमाथामा होइन, दनुवारको सीपमा गर्व गरौं
साहित्यले बनाएका पुराना मानकलाई भत्काउनुपर्ने उनको धारणा छ । राधा भन्छिन्, ‘पृथ्वीमा आएको हलचलसँगै बनेको सगरमाथामा गर्व गर्ने साहित्यको अर्थ छैन । त्यहाँ हामीले केही लगानी गरेकै छैनौं । गर्व त हामीले दनुवारले आफ्नै अक्कलको प्रयोग गरी सिकेको माछा मार्ने सिपमा गर्नुपर्छ । निगालोलाई डोकोमा रूपान्तरण गर्ने कलामा गर्नुपर्छ । जुम्लामा धान उत्पादन गर्ने कुरा सोचमा गर्नुपर्छ । त्यसैले मचाहिँ साहित्यमा आफूले गरेर सफल भएका कुरा लेख्छु । मेरो पुस्तक पढेर उसले देशै हाँकोस् भन्ने छैन, तर परिवार हाँक्दा पनि अर्थपूर्ण ढंगले हाँकोस् भन्ने ध्येय राख्छु । र, त्यही कुरा लेख्न चाहन्छु ।’
त्यसैले उनलाई कहिले सामाजिक कार्यले साहित्य लेखाउँछ, कहिले साहित्यिक भावनाले सामाजिक कार्यमा खटाउँछ । यसैको तालमेलमा उनी अघि बढिरहेकी छिन् । सामाजिक कार्य र साहित्य लेखनलाई उनी आफ्ना दुई आँखा भन्न रुचाउँछिन् । एउटा नभए राधाको व्यक्तित्वको अनुहार अपूर्ण हुने नै भयो ।
अँ अन्तिममा, उनले ‘खलंगामा हमला’ लेख्दा नै उनलाई लागेको थियो, ‘यो किताब कम्तीमा १२ वटा भाषामा निस्कनुपर्छ ।’ नेपालको युद्ध र त्यसपछिको शान्तिपूर्ण रूपान्तरणको कथा विश्वले थाहा पाउनुपर्छ भन्ने उनलाई त्यतिबेला नै लागेको थियो । खुशीको कुरा प्रकाशक नेपालयले केही समयमै अंग्रेजी संस्करण प्रकाशित गर्दैछ । उनी भन्छिन्, ‘जर्मन भाषामा प्रकाशित हुने पनि निश्चित भइसकेको छ । लाग्छ, मेरो त्यो सपना पनि पूरा हुने बाटोमा हिँडिरहेको छ ।’

यो सामग्री रातोपाटीबाट साभार गरिएको हो ।





Leave a comment

Your email address will not be published.


*