जहाँ दलित वेद पढ्छन्

          |   प्रकाशित मितिः सोमवार, भदौ २३, २०७६     ::: 24 पटक पढिएको   |  

इलाम भदाै २३- सेतो कमिज–सुरुवाल अनि ढाकाटोपीले ठाँटिएका बालक लहरै बसेका छन्। अगाडि छन्, रुद्रीका पुस्तक। सबै एकैस्वरमा मन्त्रोच्चारण गरिरहेछन्। सारमा सार मिलाउँदै हात चलाइरहेछन्। वैदिक सार–स्वरको यो सामञ्जस्यले जोकसैलाई आकर्षित गर्छ। कुनै सामूहिक गायन र नृत्यले जस्तो आनन्द दिन्छ।

तपाईंलाई लाग्ला– त्यहाँ कुनै पूजापर्व चलिरहेछ, यी कलिला बालबालिका सबै ब्राह्मण होलान्। तर, तपाईं गलत हुनुहुनेछ। यो हो, इलामको वरबोटेस्थित सप्तमाई गुरुकुल संस्कृत वाङ्मय अध्ययन–अनुसन्धान केन्द्रको कक्षाकोठा। अनि वेद पढिरहेका यी विद्यार्थी ब्राह्मण मात्र होइन, दलित र जनजाति समुदायका पनि हुन्।

संस्कृत ब्राह्मणले, बौद्ध शिक्षा जनजाति र किरात ग्रन्थ प्रायः किरात समुदायकै मानिसले मात्र पढ्नुपर्छ भन्ने रूढिवादी धारणा त्यहाँ काम लाग्दैन। ज्ञान आर्जन गर्न कुनै जात, धर्म, लिंग र सम्प्रदायले छेक्दैन! केन्द्र यसको गतिलो उदाहरण बनिरहेको छ। नेवार र दलित समुदायका विद्यार्थी रुचिपूर्वक संस्कृत विषय अध्ययन गरिरहेका छन्।

संस्कृत पुरुषले मात्रै पढ्ने विषय हो भन्ने परम्परागत धारणा चिर्दै केन्द्रमा छात्रासंख्या पनि बर्सेनि बढिरहेको छ। संस्कृत भाषामा लेखिएका वेद, वेदांग आफैंमा ज्ञानको अपार स्रोत भए पनि संस्कृत भाषालाई नै जाति र धर्मविशेषका रूपमा हेर्ने दुष्परम्परा केन्द्रले तोड्दै छ।

यस्तै साँघुरो सोचले अन्य भाषाको चेपुवामा परेको संस्कृत र त्यसका श्लोक यति बेला केन्द्रमा साँझ–बिहान घन्किन्छन्। यहाँ पुग्नेहरू भन्छन्– ‘संस्कृत न कुनै जातिको रहेेछ न कुनै धर्मकै। ज्ञान लिनेलाई भाषा, जात र धर्मले छेक्दो रहेनछ। यहाँ संस्कृतका श्लोक मात्र होइन, अंग्रेजी र गणित विषय पनि पढाइन्छ। शिक्षा लिने प्रक्रिया औपचारिक होस् या अनौपचारिक, ज्ञानको भण्डार बढाउन भन्दै साँझ–बिहान फुर्सदको समयमा केन्द्र आउने स्थानीयको संख्या पनि कम छैन।

बहुभाषी शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको केन्द्रमा अहिले भाषाका रूपमा अंग्रेजी र संस्कृत पढाइ हुन्छ। संस्कृत ब्राह्मणको कर्मकाण्ड र पुरोहित मेलोमात्र हो भन्ने भ्रम चिर्दै यो बहुभाषिक ज्ञानको स्रोत र विषय हो भन्ने देखाउने प्रयास गरेको केन्द्रका उपाध्यक्ष गोविन्द पौडेल बताउँछन्। केन्द्रमा नेवार, योगी र दलित समुदायका बालबालिका पढ्न आउने गरेका छन्। कक्षा–१० मा अहिले नेवार समुदायका ४ विद्यार्थी पढ्छन्। सोही समुदायका अन्य २० बालबालिका यहीँ अध्ययन गरिरहेका छन्। प्राथमिक तहमा जनजाति र दलित समुदायका विद्यार्थीसंख्या धेरै छ। कक्षा–१० का राम श्रेष्ठ भन्छन्, ‘संस्कृत भाषा र ज्ञानको विषय हो, कुनै जात, धर्म, वर्ण र लिंगको निजी शास्त्र होइन रहेछ।’

कुनै समुदायकेन्द्रित नभई धेरै भाषाको जननी मानिने संस्कृतलाई बहुभाषिक ज्ञानका रूपमा सिकाउने केन्द्रको लक्ष्य छ। केन्द्रमा अहिले १ सय १५ विद्यार्थी पढ्छन्। ‘यहाँ ४ सय पूर्णांकको संस्कृत र ४ सयको अन्य विषय पढाइ हुन्छ,’ प्रधानाध्यापक भोगेन्द्र दाहालले भने, ‘अन्यसहित जनजाति र दलित समुदायका विद्यार्थीको संख्या हरेक वर्ष बढिरहेको छ।’ उनले केन्द्रमा बालबालिका पढाउन स्थानीय अभिभावक पनि आकर्षित हुने गरेको बताए।

अंग्रेजी, ज्योतिषविज्ञान, नीतिशास्त्र, वेद, गाणित, रुद्रीजस्ता विषय केन्द्रमा पढाइ भइरहेको छ। प्रअ दाहालले अंग्रेजी पनि पढाइ हुने भएकाले केन्द्रमा अध्ययन गर्ने बालबालिकाले उच्च शिक्षामा पनि राम्रो अवसर पाउने बताए। ‘एसएलसीपछि विद्यार्थीले जुन विषय पढ्न खोज्छ त्यही पढ्न पाउँछ,’ उनले भने। केन्द्रका विद्यार्थीले एसएलसी दिएको तेस्रोपटक भइसकेको छ। गत वर्षसम्म शतप्रतिशत नतिजा निकालेको केन्द्रका विद्यार्थीको २०७२ सालको नतिजा पनि राम्रो रहेको प्रधानाध्यापक दाहालले जानकारी दिए।

केन्द्रमा वरबोटे, शान्तिडाँडा, सुलुबुङ, माइमझुवालगायत गाउँबाट पनि बालबालिका आएका छन्। ७० बालबालिका अहिले छात्रावासमा बसिरहेको केन्द्रले बतायो। सबै बालबालिकाको पुस्तक शिक्षा कार्यालयले दिन्छ। पोसाक भने उनीहरू आफैं किन्छन्। छात्रावासमा ५० प्रतिशत छुटमा उनीहरूलाई खाने सुविधा छ।

स्थानीय गोपाल श्रेष्ठ, च्यवन दुलाल, खेमराज श्रेष्ठलगायत १७ शिक्षासेवीको पहलमा केन्द्र स्थापना भएको हो। २०६५ माघ १८ गते सदरमुकाममा स्थापना भएको केन्द्र केही वर्षदेखि तोरीबारीमा आफ्नै जमिनमा सारिएको हो। केन्द्रमा अध्ययन गर्न सबै समुदाय, जाति, भाषा, धर्म, लिंग र सम्प्रदायलाई खुला रहेको उपाध्यक्ष पौडेलले बताए।

३२ लाख रुपैयाँमा खरिद गरेको १६ रोपनी जमिनमा सञ्चालन भइरहेको केन्द्रको आयस्रोत स्थानीयको मुठीदान नै हो। केन्द्रले तीन वर्षअघि विद्यालयमा सप्ताह पुराण लगाएर करिब १० लाख रुपैयाँ संकलन गरेको थियो। स्थापनाकालमा यहाँका करिब ५० परिवारले हरेक दिन खाने अन्नबाट एक मुठी कटाएर केन्द्रका लागि जम्मा गर्थे। त्यसकै आम्दानीबाट केन्द्र स्थापना भएको उपाध्यक्ष पौडेलले बताए। अहिले पनि वरबोटेबासीले केन्द्रका लागि मुठीदान गर्दै आएकै छन्। १ देखि १० कक्षासम्म पढाइ हुने केन्द्रमा १२ शिक्षक छन्। एउटा मावि, २ निमावि र ३ प्रावि दरबन्दी सरकारले दिएको छ। बाँकी ७ शिक्षक निजी स्रोतमा छन्।  नागरिक ।





Leave a comment

Your email address will not be published.


*