बीपीलाई फाँसी दिने त्यो प्रस्ताव

          |   प्रकाशित मितिः मङ्लबार, भदौ २४, २०७६     ::: 54 पटक पढिएको   |  

सिक्किम भारतमा विलय गराएपछि भारतीय गुप्तचर संस्था रअले ‘नेपाल मिसन’ बनाएर काम गर्न थाल्यो। नेपाललाई पनि सिक्किमजस्तै सके भारतमा विलय गराउने त्यस्तो सम्भव नभए भुटानमा जस्तै परराष्ट्र र रक्षा भारतको नियन्त्रणमा राख्ने गरी काम गर्न थाल्यो। आरके यादव ‘मिसन रअ।’

सन् १९७० को प्रारम्भबाटै दक्षिण एसियामा राजनीतिक उथलपुथल सुरु भयो। दोस्रो महाशक्ति राष्ट्र सोभियत संघले अफगानिस्तान कब्जा गर्‍यो। त्यसको प्रभाव अफगानिस्तानको छिमेकी इरानमा पर्‍यो। धर्मान्ध खुमेनीले राजाविरुद्ध आन्दोलन चलाए। राजा भागेर इटालीमा शरण लिन पुगे। त्यसको प्रभाव पाकिस्तानमा पर्‍यो। त्यसयता आमचुनाव भएर बहुमतप्राप्त दल अवामी लिगलाई सत्ता हस्तान्तरण गर्न पाकिस्तान चाहिराखेको थिएन। यही मौका हो आफ्नो जन्मजात शत्रु पाकिस्तानलाई तह लगाउने भनेर भारतले अवामी लिगलाई समर्थन गर्‍यो र भारत र पाकिस्तानबीच युद्ध भएर बंगलादेश बन्यो।

नेपालको स्थिति पनि राम्रो थिएन। २०१७ साल पुस १ गते सैनिक ‘कू’ गरी नेताहरूलाई नजरबन्दमा राख्नुका साथै संसद् विघटन र दलहरूमाथि प्रतिबन्ध लगाएर राजा महेन्द्रले तानाशाही शासन चलाएका थिए। महेन्द्रको तानाशाही शासनविरुद्ध नेपाली कांग्रेसले सशस्त्र क्रान्ति गरे पनि सफल हुन सकेको थिएन। कांग्रेसको यो असफलतापछि केही युवा कम्युनिज्मप्रति आकर्षित भएर ‘माओ चाउ नेपाल आउ, राजा महेन्द्र विदेश जाउ’ नारा लगाउन थालेका थिए। चीनमा सांस्कृतिक क्रान्ति सुरु भएको थियो। भारतको नक्सल बारीमा पनि व्यक्तिहत्या अभियान सुरु भयो। त्यसको देखासेखी गरेर नेपालमा पनि व्यक्ति हत्याको राजनीति सुरु भयो। छ/सातजना राजनीतिक कार्यकर्ताको हत्या भयो।

नेपालका छरछिमेकमा भएको परिवर्तन र देशभित्र युवामा देखा परेको विद्रोही मानसिकतालाई ध्यानमा राखेर आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्कन लागेका बेलायती राजदूतले राजा महेन्द्रलाई भेटेर भने, ‘म स्वदेश फर्कंदै छु। यतिबेला बीपीका मित्र विल्सन बेलायतका प्रधानमन्त्री छन्। थुप्रै लेबर सांसद पनि बीपीका मित्र छन्। बिनामुद्दा बीपीहरूलाई थुनेको आठ वर्ष भयो। बीपी कहिले छुट्छन् भनेर प्रश्न गरे भने के जवाफ दिने ? ’ राजदूतबाट यस्तो प्रश्नको सम्भवतः महेन्द्रले अपेक्षा गरेका थिएनन्। उनी केही असमञ्जसमा परे तर सम्हालिँदै महेन्द्रले भने, ‘जे भयो भयो, अब संविधानको टाइटल म लेख्छु। त्यसको विषयवस्तु बीपीले लेखून्।’ राजाको उत्तर सुनेपछि राजदूतले भने, ‘त्यसो हो भने बीपीलाई भेट्न पाऊँ। बीपीको स्वास्थ्यको जानकारी र सरकारबाट हुकुम भएका यी कुरा उनीलाई भनेर स्वदेश फर्कन्छु।’ राजाले स्वीकृति दिए। राजदूतले बीपीलाई भेटेर आफू स्वदेश फर्कन लागेको जानकारी दिँदै राजासँग भएको कुराको जानकारी गराए। यसैबीच सुवर्णजीले वक्तव्य दिनुभयो। त्यसलाई समर्थन गरेर बीपी, गणेशमानजीहरू छुट्नुभयो। तर किसुनजी त्यसमा असहमति जनाएर छुट्नु भएन।

जेल रिहाइपछि ब्रिटिस दूतावासले भनेअनुसार राजासँग भेट हुने विश्वासमा बीपी सामान्य भेटघाटका कार्यक्रम राखेर प्रतीक्षामा बस्नुभयो। तर, राजासँग भेटघाट हुनुको सट्टा बीपीलाई पुनः गिरफ्तार गर्ने हल्ला सुरु भएपछि बीपी र गणेशमानजी भारत जानुभयो। बीपी र राजाका बीचमा भेट नहोस्, भेट भएमा नेपालले नयाँ राजनीतिक कोर्स लिन सक्छ, त्यसमा आफ्नो भूमिका केही हुने छैन भनेर छट्पटिएको बाह्य शक्तिको इशारामा सत्तामा बसेकाहरूले यो हल्ला चलाएका थिए। यो कुरा बीपी र राजा दुवैले बुझ्न सकेनन्। देशबाहिर गएपछि नेपालमा अस्थिरता चाहने शक्तिको मुठीमा पर्नुभयो बीपी। त्यतिबेला सम्पूर्ण दक्षिण एसिया अस्थिरताको भुमरीमा थियो। यसबाट उत्साहित हुँदै बीपीले प्रजातन्त्र पुनस्र्थापनाका निम्ति सशस्त्र क्रान्तिको घोषणा गर्नुभयो। बीपीको घोषणाले राजा र बीपीबीच संवादको ढोका बन्द भयो।

बंगलादेश बनेपछि भारतले सिक्किम भारतमा विलय गराउने योजनाका साथ काम गर्न थाल्यो। सुरुमा राजा चोग्यालका खिलाफमा जनता भड्काउने, राजालाई पनि जनआन्दोलन दबाउन उठाउने अनि जनता सडकमा आइसकेपछि जनआक्रोश चर्काएर सैनिक हस्तक्षेप गरी तथाकथित निर्वाचनको नाटकको आडमा सिक्किमलाई भारतमा विलय गरियो।

नेपालमा पनि भारतले त्यही मोडल लागू गर्न खोज्दा बीपी सहमत हुनुभएन। मुलुकको सार्वभौमसत्ता नै समाप्त गरेर प्रजातन्त्र स्थापना गर्नुको साटो राजासँग नै मेलमिलाप गरेर राष्ट्रको स्वतन्त्र अस्तित्व जोगाएर प्रजातन्त्र स्थापना गर्न राष्ट्रिय मेलमिलाप नीतिको घोषणा गर्नुभयो। भारतको त्यो प्रस्ताव अस्वीकार गरेपछि उहाँलाई त्यहाँ बस्न अप्ठ्यारो पर्न थाल्यो। विभिन्न ठाउँमा रहेका सम्पर्क कार्यालय खानतलासी गर्ने काम भारतीय प्रहरीबाट हुन थालेपछि २०३३ साल पुस १६ गते नेपाल फर्कने कार्यक्रम तय गर्नुभयो।

नेपाल फर्कनुअघि बाल्यकालदेखि बस्दै आएका बनारसका मित्रहरूसँग बिदा हुन बीपी बनारस गएको बेला भारतका शक्तिशाली रक्षामन्त्री जगजीवन रामले फोन गरेर भने, ‘बीपी बाबु, म अहिले बनारस विमानस्थलमा छु। तपाईंसँग भेट गर्नु जरुरी छ, यतिबेला जगजीवन राम किन भेट गर्न चाहन्छन्, त्यस कुराको अन्दाज गरेर बीपीले जवाफ दिनुभयो, ‘माफ गर्नुहोला जगजीवन बाबु। अहिले म तपाईंसँग भेट गर्न सक्दिनँ। मैले नेपाल फर्कने निर्णय गरिसकें।’ बीपीको कुरा पूरा नहुँदै जगजीवन रामले भने, ‘बीपी बाबु, म्याडमको म्यासेज लिएर आएको छु। त्यसकारण पनि भेट्नु जरुरी छ, म्याडमलाई नमस्कार छ।’ ‘कुनै बेला भेट हुनेछ। तर अहिले म तपाईंसँग भेट्न सक्दिनँ’, यो जवाफ दिएर बीपी पटना फर्किनुभयो। शाही नेपाल वायु सेवा निगमको टिकट काटिसकेको थियो। पटना विमानस्थलमा बीपीका अनन्य मित्र जेपीले बिदाइ गर्ने कार्यक्रम तय भएको थियो।

नेपालमा राजतन्त्र हटाउन हामीले प्रचण्डलाई यीयी कुरा गर्नू भनेका थियौं भन्ने ‘रअ’ का उच्चस्तरका अधिकारीले लेखेको भनी अहिले बजारमा भइरहेको प्रचारले नेपालको राजनीति तरंगित भएको छ।

जगजीवन रामसँग भेट नगरी पटना फर्केर त्यहाँ रहेका साथीहरूलाई रामसँग भएका कुरा सुनाउँदै बीपीले भन्नुभयो, ‘जगजीवन रामले बनारसमा भेट्न खोजेका थिए, मैले अस्वीकार गरें। म भारतको स्वतन्त्रतानिम्ति आन्दोलन गर्दा जेलसमेत परेको मान्छे, मेरो देशमा राजाले प्रजातन्त्र अपहरण गरे, प्रजातन्त्र पुनस्र्थापनाको संघर्षमा भारतले नैतिक समर्थन गर्नेछ भनेर म यहाँ आएको हो, नेपालको सार्वभौमिकता भारतलाई सुम्पिन आएको होइन। मुलुक नै स्वतन्त्र रहेन भने स्वतन्त्रताको के अर्थ रहन्छ ? हो, यतिबेला मेराविरुद्ध नेपालका विभिन्न अदालतमा ७/७ वटा मुद्दा छन्। तीमध्ये केहीमा मलाई फाँसी पनि हुन सक्छ, मलाई फाँसी दिएर राजाको समस्या समाधान हुने छैन, झन् बढ्नेछ, मूर्खतावश राजाले फाँसी दिएछन् भने मेरो रगतले मातृभूमि सिञ्चित हुनेछ। नेपाल फर्कने मेरो कार्यक्रममा कुनै परिवर्तन हुँदैन।’

त्यतिबेला धेरै कार्यकर्ता नेपाल फर्केर जेल परिसकेका थिए। गणेशमानजी, गिरिजाबाबु, शैलजा, चक्र बास्तोला र रामबाबु प्रसार्इं मात्र पटनामा थिए। यो कुरा ०३६ साल जनमतसंग्रहमा बहुदलको प्रचारप्रसारमा बीपी नेपालगन्ज गएको बेला अलइन्डिया रेडियोको नेपाली सेवाले बखानसिंह गुरुङको नेतृत्वमा अर्को नेपाली कांग्रेस गठन भयो भनी प्रसारण गरेको कुरा सुनाउँदा बीपीले मसँग भन्नुभएको थियो।

बीपीहरू काठमाडौं आउनुभयो। त्रिभुवन विमानस्थलमा विमानभित्र पसेर बीपी र गणेशमानलाई प्रहरीले गिरफ्तार गरी सुन्दरीजल जेलमा लग्यो बाँकीलाई अन्य जेलमा राखियो। बीपी र गणेशमानविरुद्ध चलाउनेसम्बन्धी मुद्दा काठमाडौं नगरपालिकाका पहिला मेयर कम्युनिस्ट पृष्ठभूमिका जनकमान श्रेष्ठको एकल इजलास विशेष अदालत गठन भयो। इजलासमा बीपीको बयान सुरु भयो।

अदालतमा अनेक अपमानजनक व्यवहार हुँदा पनि त्यसतर्फ ध्यान नदिएर अदालतलाई सहयोग गरिरहनुभएका बीपी एक दिन अचानक असहज रूपमा प्रस्तुत हुनुभयो। बीपीको व्यवहारमा आएको परिवर्तनप्रति आश्चर्य व्यक्त गर्दै न्यायाधीश जनकमानले सोधे, ‘आज के भयो तपाईंको व्यवहार सहज छैन ? न्यायाधीशलाई बीपीलाई भने, ‘थाहा पाउनुभएन। धनकुटामा राजाको उपस्थितिमा मलाई फाँसी दिने प्रस्ताव राखियो।’ पञ्चभेलामा प्रस्ताव प्रस्तुतकर्ताले आदेशअनुसार काम गरेका थिए। प्रस्ताव पारित हुनुनहुनुसँग मतलब थिएन।

अदालतको बयान सकेर फर्कंदा बीपी नाकबाट रगत बगेर अचानक लड्नुभयो। डाक्टरहरू आएर जाँच गरेर औषधि दिए। तत्काल रगत रोकियो तर अचानक किन रगत बगेर बीपी लड्नुभयो ? बीपीलाई धेरै पहिले नै घाँटीको क्यान्सर भइसकेको थियो। डाक्टरहरू गम्भीर अनुसन्धानमा लागे।

बीपी नेपाल फर्कनुपहिले नै इन्दिरा गान्धीले भारतमा संकटकाल लागू गरेकी थिइन्। आफ्नै पार्टीका मोरारजी देसाईलगायत विपक्ष दलका नेताहरूलाई गिरफ्तार गरी आतंकपूर्ण व्यवहार गरेपछि स्वतन्त्र भारतमा पहिलो व्यापक जनआन्दोलन भएर संकटकाल फिर्ता लिएर गरिएको चुनावमा कांग्रेस नराम्रोसँग पराजित भयो। स्वयं इन्दिराले चुनाव हारिन् र कांग्रेसका प्रतिष्ठित नेता मोरारजी देसाई अर्को पार्टीबाट चुनाव लडेर विजय भए। उनी प्रधानमन्त्री भएर मन्त्रिमण्डलमा धेरैजना बीपीका मित्र मन्त्री भए।

उता अमेरिकामा अमेरिकाको परराष्ट्र नीतिको आधार विश्वव्यापी मानव अधिकारको नारा दिएर राष्ट्रपतिको चुनाव लडेका जिमी कार्टर निर्वाचित भए। जेलमा बीपीको स्वास्थ्य गम्भीर हुँदै गयो। अन्तर्राष्ट्रिय राजनीतिमा आएको गुणात्मक परिवर्तनलाई मध्यनजर राखेर राजाले बीपीलाई रिहा मात्र गरेनन्, उनकै अग्रसरतामा न्युयोर्कमा नेपालले खर्च व्यहोर्ने गरी उपचार गर्न पठाए।

अमेरिकाबाट फर्केपछि बीपी र गणेशमानलाई रिहा गरियो। तर मुद्दा फिर्ता भएको थिएन। बीपीको रिहाइले प्रजातन्त्रको पक्षमा देशव्यापी सकारात्मक वातावरण बन्यो। कांग्रेसका युवा उत्साहित भएर संगठनतर्फ लागे। देशभित्र र बाहिरका कांग्रेसविरोधी शक्ति भने षड्यन्त्रको तानाबाना बुन्न थाले। यसैबीच पाकिस्तानमा त्यहाँका लोकप्रिय नेता जुल्फीकर अली भुट्टोलाई फाँसी दिइयो। भुट्टोलाई फाँसी दिएकोमा नेपालमा उग्र विद्यार्थी आन्दोलन भयो। आन्दोलनको राप र ताप धान्न नसकेर राजाले जनमतसंग्रह गराउने घोषणा गरे।

त्यतिबेला प्रधानमन्त्री कीर्तिनिधि विष्ट थिए। विष्टको स्वार्थ राजाको स्वार्थभन्दा भिन्न छैन उनी पोलिटिकल ब्युरोक्रेट हुन्। उनले नै जनमतसंग्रह गराउन उचित हुन्छ भन्ने बीपीको धारणा थियो। नेपालमा अस्थिरता चाहने बाह्य शक्तिलाई त्यो कुरा मान्य थिएन। जनमतसंग्रह घोषणाको केही समयपछि कीर्तिनिधि हटेर सूर्यबहादुर थापा प्रधानमन्त्री भए। वीरेन्द्र राजा भएपछि सूर्यबहादुर अचानक क्रान्तिकारी भएर राजदरबारले श्री ५ को सरकारका काममा हस्तक्षेप गरेर ‘अहिले मुलुकमा वैध शासन चलेको छ।’ भन्दै पत्रकार सम्मेलन मात्र गरेनन्, इटुम्बहालमा आमसभा गर्न लाग्दा उनलाई गिरफ्तार गरेर जेल हालिएको थियो। जेल बसेको केही समयपछि पञ्चायत व्यवस्थामा प्रजातान्त्रिक सुधार हुनुपर्‍यो भनेर अनशन बसे। अनशन बसेको केही समयपछि उनको स्वास्थ्य खराब भयो भनी बिन्ती चढाउँदा मरे मरोस् भन्ने राजा वीरेन्द्रले २०३६ सालमा ‘हाम्रा प्यारा सूर्यबहादुरलाई प्रधानमन्त्री भनेर प्रधानमन्त्रीको शपथ खुवाए।’

प्रधानमन्त्री भएपछि सूर्यबहादुर थापाले निरंकुश निर्दलीय पञ्चायत व्यवस्था जिताउन वनजंगलसहित नेपालमा पहिले कहिल्यै नभएको र सर्पको छाला, गैंडाको खागसहित वनजंगल ठेक्का भारतीय व्यापारीलाई दिएर पञ्चायत व्यवस्था जिताए। यत्रो धाँधली गरेर गराएको चुनावमा पञ्चायत व्यवस्थाको पक्षमा २४ लाख र बहुदलीय व्यवस्थाको पक्षमा २० लाख मत आयो। अहिले सूर्यबहादुर हुनु हुन्न, तर थापासँग इतिहासले सधैं सोधिरहनेछ, ‘मुलुकलाई बन्धक राखेर किन निरंकुश निर्दलीय पञ्चायत व्यवस्था जितायौ ?’

नेपालमा राजतन्त्र हटाउन हामीले प्रचण्डलाई यीयी कुरा गर्नू भनेका थियौं भन्ने ‘रअ’ का उच्चस्तरका अधिकारीले लेखेको भनी अहिले बजारमा भइरहेको प्रचारले नेपालको राजनीति तरंगित भएको छ। बीपीले त्यसलाई स्वीकार नगरी फाँसीमा चढ्न तयार भएर नेपाल आउनुभयो तर प्रचण्ड मौन छन् र उनको पार्टी नेकपा कहाँ छ ? करोडौं नेपालीको मनमस्तिष्कमा यतिबेला प्रश्न उठेको छ। अन्नपूर्ण





Leave a comment

Your email address will not be published.


*