मदिरा सेवनमा लाइसेन्स – घोषणा मात्र कि लागु पनि हुन्छ मन्त्रीज्यू ?

        महेश नेपाली जुम्ला   |   प्रकाशित मितिः बुधबार, भदौ २५, २०७६     ::: 75 पटक पढिएको   |  

२०७४ फागुन ६ गते तत्कालीन प्रदेश नं. ६ मन्त्रिपरिषदकाे पहिलाे बैठक बस्याे ।  उक्त बैठकले २१ वटा निर्णय ग-याे ।  यहाँ प्रसंगअनुसार दुईवटा निर्णय उल्लेख गरिएकाे छ ।  निर्णय नं. १३ मा डिजिटल प्रदेश बनाउने भन्ने छ भने निर्णय नंं. २० मा समृद्ध प्रदेशका लागि शान्ति सुरक्षा कार्यक्रम लागु गर्ने भन्ने छ । 

सरकारकाे पहिलाे बैठकका निर्णय अनुसार आर्थिक वर्ष २०७५/०७६ मा कानुन मन्त्रालयले प्रदेशका विद्यालय डिजिटल बनाउने अभियान स्वरुप हरेक निर्वाचन क्षेत्रबाट एक-एक गरी २४ वटा विद्यालय छनाेट गरेकाे थियाे भने प्रत्येक विद्यालयकाे लागि १२ लाख छुट्याएकाे थियाे । 

परिणाम प्रतिविद्यालयलाई चारवटा डिजिटल बाेर्ड, एउटा प्राेजेक्टर, एउटा ल्यापटप र एउटा फाेटाेकपी मेसिन उपलब्ध गराइयाे । डिजिटल घाेषित विद्यालय प्राय १२ कक्षासम्म सञ्चालन भएका छन् । तीमध्ये अधिकांशमा प्राविधिक शिक्षा पनि चलिरहेकाे छ । 

२०७४ फागुन १८ डिजिटल प्रदेशकै उदेश्यअनुसार सरकारले समुदायमा हुने अपराध न्युनीकरण गर्न टोलटोलमा साइरन जडानको काम सुरु ग-याे । यसकाे सुरुवात राजधानी सहर सुर्खेतबाट भएकाे थियाे । त्यहिबेला सवारी साधनमा ग्लाेवल पाेजिसनिङ् सिस्टम (जिपिएस) जडान गरिएकाे थियाे ।

सवारी साधन निगरानीका लागि पहिलो चरणमा एक निजीसहित पाँचवटा सवारी साधनमा जीपीएस जडान गरिएको थियो । समृद्धिका लागि शान्ति सुरक्षा रणनीतिअनुसार जीपीएस जडानको काम सुरु गरिएकाे बताइयो । जुन माथि उल्लेखित पहिलाे बैठककाे निर्णयकाे उदेश्यअनुरुप  छ । 

यसकाे राम्राे मिडिया कभरेज भयाे । यी महत्त्वपूर्ण कार्यकाे सुरुवात आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गरेकाे थियाे । यसकाे जश मन्त्री नरेश भण्डारीलाई जान्छ । 

केही समयअघि जुम्ला पुगेका मन्त्री भण्डारीले अर्काे जसिलाे कार्य घाेषणा गरेका छन् । त्याे हाे, प्रदेश सरकारकाे मदिरा नियन्त्रण प्रयास । अर्थात् मदिरा सेवन गर्न लाइसेन्स लिनुपर्ने प्रावधान । 

मदिरा सेवनले हिंसा बढेकाे ठहर गर्दै सेवनकर्ताले लाइसेन्स लिनुपर्ने व्यवस्था गर्न लागेकाे उनकाे भनाइ छ । ‘मदिरा सेवन पूर्ण रुपमा बन्द गर्न नसकिने भएकाले नियमनका लागि मदिरा बेच्ने र खाने दुबैलाई अनिवार्य लाइसेन्सको व्यवस्था  गर्न लागिएकाे हाे ।’ पत्रकारहरुसँगकाे सक्षिप्त कुराकानीमा मन्त्री भण्डारीले थपे ‘होटलमा मदिरा तथा लागुऔषध सेवन गर्ने कार्य बढेकाे छ । हाेटलमा बस्ने हरेक व्यक्तिको पहिचानसहितको तीनपुस्ते विवरण र फोन नम्बर अनिवार्य राखिने छ । मादक पदार्थ बिक्रीको लागि निश्चित स्थान र खानका लागि निश्चित समय कानुनमै उल्लेख हुनेछ ।’

रक्सीसँग जाेडिएका केही प्रसंग यहाँ सान्दर्भिक हुन्छन् । नेपाली बृहत् शब्दकोश अनुसार ‘सुरा’ को अर्थ रक्सी, मदिरा, मद्य वा सोमरस हो । देउताहरुलाई मदमा पार्न सोमलताबाट निकालिने पेयपदार्थ हो- सोमरस । ऋग्वेदअनुसार सोमरस भनेको ऋषिहरुलाई उत्साहित गर्ने, साथीहरुलाई आनन्द दिने, शीघ्र प्रभाव पार्ने वस्तु हो । 

धर्मग्रन्थहरुमा पनि विषजन्य पदार्थको रुपमा सोम, प्रहामनाजस्ता नाम दिइएर रक्सीकाे वर्णन गरिएकाे छ । अन्नबाट बनाइएको रक्सी राक्षसहरुले प्रयोग गर्ने हुनाले त्यसलाई विष र वनस्पतिबाट बनाइएको रक्सी भगवानहरुले प्रयाेग गर्ने हुनाले त्यसलाई अमृत भनेर चाेटपटक लाग्दा औषधिकाे रुपमा प्रयाेग गरेकाे वर्णन छ । अर्थात् कमसल खालकाे मदिरा श्रमिकहरुले तथा उच्चकाेटीकाे मालिकहरुले गर्ने खालकाे वर्गीय विभेद छ ।

यस अर्थमा मदिरा सेवन परम्परा मानव जातिकाे उत्प्पति जत्तिकै पुरानो छ । हरेक प्राचीन मानव समाजमा अन्न तथा फलफूलको अलावा जनावर, पशुपंक्षीका छाला/मासु कुहाएर समेत मदिरा उत्पादन, संकलन र सेवन गरिँदै आइएका चलन भेटिन्छन् । 

रसायन विज्ञानअनुसार रक्सी कार्बन, हाईडोजन र अक्सिजन मिस्रित रासायनिक यौगिक हो । कार्बोहाइड्रेटयुक्त खाद्य पदार्थ कुहिएपछि प्राकृतिक रुपमा अल्कोहोल, अर्थात मदिरामा हुने मुख्य मादक पदार्थ बन्छ । 

अमेरिकी सञ्चार संस्था सीएनएनले संसारका पचास मीठो पेय पदार्थको सूचीमा ४१औँ स्थानमा रक्सीलाई राखेर यसरी वर्णन गरेका थियो, ‘कोदो वा चामलबाट बनाइने रक्सीको गन्ध नाकले थाहा पाइहाल्छ र पिउँदा घाँटीमा एकैछिन पोलेपनि पछि अचम्मको रुपमा आन्नदायी हुन्छ । नेपालीहरु रक्सी चाडपर्वमा पिउँछन् तर हामीलाई लाग्छ रक्सी नै चाड मान्नुपर्ने कारण हो ।’

थारु जातिमा एउटा उखान निकै प्रचलित छ -दबादारु । दारु (रक्सी) लाई दबाइको रुपमा प्रयोग गरेमा स्वास्थ्यमा त्यति हानी गर्दैन भन्ने हो । 

अल्कोहल प्रविधिमै विद्यावारिधि गरेका वृजमोहन मिश्र भन्छन्- मात्रालाई आधार बनाई मदिरापान गर्नु हितकर हुन्छ । मानिसले आफ्नो तौलअनुसार मदिरापान गर्नुपर्छ । आर्थात् ५० केजीको व्यक्तिले ५० मिलिलिटर र ७० भएकाले ७० मिलिलिटर सेवन गर्नु । यसबाट मानिसको भोक जगाउने, पाचनक्रिया दुरुस्त राख्ने र कोलेस्ट्रोल नियन्त्रण गर्ने हुन्छ ।

केही समयअघि शताब्दी पुरुष सत्यमोहन जाेहीले हरेक दिन एक गिलास रक्सी खाने गरेकाे बताएका थिए । याे चर्चाको विषय बन्याे ।

हामीले खाएको खाना आमशयले पचाउन समय लगाउँछ तर रक्सी निकै छिटो सोस्ने गर्छ । रक्सी सेवन गर्ने बित्तिकै करिब २० प्रतिशत अल्कोहल तुरुन्तै सानो आन्द्रामा पुगी सोसिएर रगतमा मिसिन्छ र मात लाग्छ । 

तत्कालिन एमाले नेता बामदेब गाैतम गृहमन्त्री हुँदा यसलाई नियमन गर्न खाेजेका थिए । उनले मदिरा बेच्ने पसल अलग्गै दर्ता गर्नुपर्ने प्रावधान लागु गराएका थिए । तर, अहिले चाउचाउ, बिस्कुट, रक्सी र औषधिसँगै बिक्री भैरहेको छ । कतै मन्त्री भण्डारीको मदिराकाे लाइसेन्स अभियान र कानुन निर्माणपछिकाे अवस्था पनि बामदेबकाे ‘नौली गाईकाे नै पुला घाँस’ जस्ताे हुने त हाेइन ? 

हाल आएर दैनिक जीवनमा रक्सीको असामान्य प्रयोग भैरहेकाे छ, जुन स्वास्थ्यका लागि हानिकारक छ |

अव्यवस्थित रुपमा रक्सी सेवन गर्दा सेवनकर्ताले समाज, संस्कृति, नीति, मान्यता एवं दिमागी सन्तुलन गुमाउँछ । तत्पश्चात आपराधिक गतिविधि जस्तै: गालीगलौज, होहल्ला, कुटपिट, लडाईं-झगडा, चोरी-डकैतीको अवस्थामा पुग्छ । 

सेवन गर्ने तरिका र मात्रा मिलाउँदा राम्राे मानिएकाे रक्सीकाे अत्यधिक सेवनले थप जटिलता निम्तिन लागेपछि सरकारले नियन्त्रणका थुप्रै प्रयास गरिरहेकाे छ । नेपालकाे लागि मदिरासेवन एक सामाजिक चुनाैतिको विषय बनेकाे छ ।  

विश्व स्वास्थ्य संगठनले मदिरा सेवनलाई मानसिक स्वास्थ्य समस्या भन्दै विकासोन्मुख देशमा मृत्युदर उच्च हुनुका कारण मदिरालाई मानेको छ । 

तत्कालिन एमाले नेता बामदेब गाैतम गृहमन्त्री हुँदा यसलाई नियमन गर्न खाेजेका थिए । उनले मदिरा बेच्ने पसल अलग्गै दर्ता गर्नुपर्ने प्रावधान लागु गराएका थिए । तर चाउचाउ, बिस्कुट, रक्सी र औषधिसँगै बिक्री भैरहेको छ । 

हाल मन्त्री भण्डारीले पनि मदिरा नियन्त्रणका केही प्रयास गर्न लागेका छन् । अब सबै ठाउँमा मदिरा बिक्रीवितरण सहज हुनेछैन । मतलब सबैकाे पहुँचमा रक्सी हुने छैन । 

उनकाे याे अभियानको सफलताकाे कामना गराैं । चाेकचाेकका मदिरालय पुस्तकालयमा परिणत हाेउन् भन्ने शुभेच्छा राखाैं ।

तर, यत्ति कदम चाल्नु अगाडि नै मिडियामा बाेलिसकेका मन्त्री भण्डारीसामु केही चुनाैति छन् । केही अलमल छन् । केही प्रश्न छन् जाे हालसम्म अनुत्तरित छन् ।

के १२-१५ वटा कक्षाकाेठा भएकाे विद्यालयमा चारवटा डिजिटल बाेर्ड झुण्ड्याउँदैमा डिजिटल विद्यालय हुन्छ ? डिजिटल विद्यालय कस्ताे हाे ? के मन्त्रीहरुकाे मनाेगत बाेली, उनीहरुले छुछ्याउने बजेट र वितरण गर्ने सामग्रीले डिजिटल विद्यालयकाे मापदण्ड पूरा हुन्छ ?

जीपीएस जडान कार्यक्रमकाे उद्घाटन गर्दै मन्त्री भण्डारीले भनेकाे थिए ‘केही महिनाभित्रै सबै सवारी साधनमा जीपीएस जडान गर्छाैं ।’

पाँचवटा गाडीबाट सुरु गरिएकाे अभियान कहाँ पुग्याे ? राजधानी सुर्खेतबाट सुरु गरिएकाे समुदायमा हुने अपराध न्यूनीकरण गर्न टोलटोलमा साइरन जडान कार्यकाे प्रगति विवरण के हाे ? मन्त्रीज्यूले भनेकाे त्याे केही महिना कति हाे ? 

कतै मदिराकाे लाइसेन्स अभियान र कानुन निर्माणपछिकाे अवस्था बामदेबकाे ‘नौली गाईकाे पुला घाँस’ जस्ताे हुने त हाेइन ? वा डिजिटल विद्यालय र जिपिएस जडानजस्ताे पाे हुने हाे कि ?

तथ्यांकअनुसार उद्योग विभागबाट आर्थिक वर्ष २०७२/७३ सम्म नेपालमा ८३ वटा ठुला मदिरा र बियर उद्योगले सञ्चालन अनुमति लिएका छन् । घरेलु तथा साना उद्योग विभागबाट इजाजत लिएका समेत गर्दा मदिरा, डिष्टिलरी, वाइन, साइडर र बियर उद्योगको संख्या एक हजार चार सय ६२ पुगेको छ । 

यसरी हेर्दा नेपालमा मदिरा उद्याेग बढेकाे देखिन्छ । यसले हामी मदिरा उत्पादनमा विस्तारै आत्मनिर्भर हुँदैछाैं जस्ताे पनि लाग्ला । तर, आव २०७२/७३ मै १८ अर्ब ३० करोड ८४ लाखको मदिरा आयात भएको भन्सार विभागको आँकडा पनि भुल्नु हुँदैन । जुन आयात साेही वर्ष नेपालले आयात गरेकाे चामलको मूल्य बराबर हुन आउँछ । यसरी हेर्दा मदिरा खपत दिन प्रतिदिन बढिरहेको छ ।  

छुटाउनै नहुने अर्को तथ्यांक पनि छ हामीलाई मदिरा उद्याेगका लागि चाहिने लगभग ९० प्रतिशत कच्चा पदार्थ भारतबाट आयात हुन्छ । हामीसँग भएका मदिरा उद्योगहरु, अयातित कच्चा पदार्थबाट मात्र चलेका छन् । देशको मदिरा उद्योगमा प्राविधिक जनशक्ति कम भएकाले भारतीय जनशक्तिमा भर पर्नुपरेको अवस्था छ । 

यसले हाम्राे आत्मनिर्भरताकाे अभियान कहाँ पुग्छ ? समृद्धिकाे यात्रा कहाँबाट सुरु हुन्छ ?  धर्मशास्त्रले राक्षस मानेका श्रमिकहरुकाे मनाेरञ्जनको साधन याैन र रक्सी हुन् । उनीहरुकाे मनाेरञ्जनलाई कसरी व्यवस्थापन गर्ने ? तीनकाे पहुँच कस्ता मदिरालयमा हुन्छ ? मन्त्रीज्यू जवाफ के हाेला ?





Leave a comment

Your email address will not be published.


*