आत्मीयता घट्दो समाज

          |   प्रकाशित मितिः सोमवार, भदौ ३०, २०७६     ::: 74 पटक पढिएको   |  

कृपा भण्डारी – मानव जीवन अजम्बरी छैन। एक दिन त सबैले यो संसार छाडेर माटोमा विलिन हुनु नै छ। तर पनि कहिल्यै मरिँदैन जस्तो गरी रिस, राग, घमण्ड र आरिसमा आफ्नो जीवन सिध्याइरहेका छन्। हो, हिजोका दिनजस्तो आज छैन। समयसँगै धेरै विषय बदलिरहेका छन्। हिजोका दिन जीवन जिउने कला, जीवन निर्वाहका लागि गर्नुपरेका दुःख सबै परिमार्जन भएका छन्। नकारात्मक विषयमा पनि परिवर्तन आएको छ।

हजुरआमाहरूले जुन जीवन जिउनुभयो, त्यो आमाहरूले जिउनुभएन। त्यस्तै जुन जीवन हामी जिइरहेका छौं, त्यो अबका पुस्ताले जिउँदैन। यसमा कुनै शंका छैन। तर, घोत्लिएर विचार गर्नुस् त, हिजोजस्तै मानिसबीच आत्मीयता र सरसहयोग छ त ? तपाईंलाई लाग्दैन कि एउटा झुण्डमा रहेर पनि एक्लो बन्दै गएको छ मानिस। बा, हजुरबाका पालाको गाउँले समाज अनि त्यसबीचको आत्मीयता अहिले कतै छ त ?    

  टर्चलाइट बालेर खोज्दै हिँडे पनि भेटिन्न। हजुरबुवा सुनाउनुहुन्थ्यो – उहाँका पालामा गाउँमा कसैकहाँ केही अप्ठेरो पर्नेबित्तिकै सबै एकजुट भइहाल्ने रे ! खेतीपाती लगाउँदा पूरै गाउँ गएर सहयोग गर्ने रे ! त्यस्तै एकअर्काका घरमा यत्तिकै जाँदा पनि चिया, नास्ता सोधीखोजी गर्ने रे ! केही नभए पानी भए पनि खुवाएर पठाउने रे ! त्यो प्राचीन समाजको जस्तो आत्मीयता समाजमा छैन। यहाँ एउटै घरका सदस्यबीच कसले के गर्दै छ भन्ने थाहा हुँदैन। छरछिमेक अनि अन्यका बारेमा भेउ पाउने कुरै भएन। हो, अर्काको चियोचर्चो र अनावश्यक टीकाटिप्पणी गर्नुभएन। तर आफ्नो समाजमा के हुँदै छ, छरछिमेकमा परेको अप्ठेराको हेक्का भने हुनुपर्छ।

हजुरबुवाका पालामा जस्तो ऐंचोपैंचो, सरसापट त अब एकादेशको कथा भइसक्यो। बरु एक छाक नखाएरै बस्ने तर अरूसँग सहयोग नलिने भन्दै एकलकाँटे जीवन जिउँदै छ मान्छे। केही सोधिहाल्यो, मागिहाल्यो भने सानो भइन्छ कि भन्ने सोच छ मानिसमा। एउटा दृष्टिविहीन बाटो काट्दै गर्दा कसरी बाटो काट्दो रहेछ भनेर ठिंङ उभिएर हेरिरहन्छ मान्छे। बसमा गर्भवती, असहाय र वृद्धवृद्धा उभिरहँदा लाज पचाएर सिटमा प्रेमीप्रेमिकासँग गफ हाँकिरहन्छ युवा पुस्ता। सरकारीदेखि निजी अस्पतालमा पालो कुरेरै सेवा लिनुको सट्टा बल मिच्चाइँ गरेर आफू अघि घुस्न पाए बहादुरी सम्झिन्छ मान्छे। बस तथा ट्याक्सीमा दुईचार पैसा बढी कुम्ल्याउन पाए ठूलो उपलब्धि ठान्छ मान्छे। गरिब, सोझा र असहायसँग फाइदा उठाएर आफूलाई मानव कहलाउन उद्यत् छ मान्छे। तर पुराना पुस्ताले अंगीकार गरेको संस्कार र आत्मीयता नयाँ पुस्तामा हस्तान्तरण नभएसम्म र पुरानाले नयाँलाई नसिकाएसम्म समाज बदलिने देखिँदैन।

हिजोआज मानिस भर्चुअल दुनियाँ जस्तो – मोबाइल र सामाजिक सञ्जालमै जिइरहेको छ। एकअर्कामा मुखामुख गरेर उनीहरूको दुःखसुख साटेको पाइँदैन। बरु फेसबुक र अन्य सामाजिक सञ्जालमा आफ्ना संवेग र आवेगहरू प्रशस्तै पोखिरहेका भेटिन्छन् मान्छे। यस्तो लाग्छ, मानिसका प्रत्यक्षको साथभन्दा बरु फेसबुकमा आएका सान्त्वनाका कमेन्ट र म्यासेजमै बढी रमाइरहेको छ मान्छे। एउटै धाराको पानी खाने छरछिमेकी पनि एकअर्कामा अन्जान छन्। यसरी सामाजिक रूपमा संगठित भएर बसेजस्तो देखिए पनि भित्रभित्रै सबैजना एक्लो जिन्दगीमा जिइरहेजस्तो देखिन्छ। बाहिर बोक्रो, भित्र खोक्रो भने झैं भित्रभित्र खोक्रिँदै छ नेपाली समाज।

समवेदनाका दुई शब्द फेसबुकमा लेखिदिएर आफ्नो कर्तव्य र जिम्मेवारी पूरा भएजस्तो ठान्छ मान्छे।

हिजोआज आत्महत्याका घटना दिनानुदिन बढ्दै गएको छ। जब चारैतिरको ढोका बन्द हुन्छ अनि आफूलाई अति कमजोर अवस्थामा भेट्छ र आफूसामु आफैंलाई हत्या गर्नेभन्दा अर्को विकल्प देख्दैन अनि रोज्छ आत्महत्याको बाटो। आफूले आफैंलाई सकाउँदासम्म पनि सुख पाउँदैन मान्छे। किनकि, मरेपछि पनि सान्त्वनाका शब्दभन्दा पक्कै केही गलत गरेको थियो होला अनि मत्यो नि भनेर यही समाज अनि व्यक्तिको लाञ्छना सहनुपर्छ। पहिला -पहिला एसएलसीमा फेल भएका, नपढेका र नबुझेका मान्छेले मात्रै आत्महत्या गरेको सुनिन्थ्यो। तर, हिजोआज पढेका, बुझेका, विभिन्न पेसामा नाम कमाएका डाक्टर, इन्जिनियर, पत्रकारहरूले पनि आफ्नो जीवनलीला समाप्त पारेका घटना छन्। आखिर किन त ?       किनभने, मनको गाँठो मनमै रह्यो। न उनीहरूले फुकाउन सके, न गाँठो फुकाउन अरूलाई गुहार्न सके।

सूक्ष्मरूपमा हेर्र्ने हो भने, यो सबको कारण हाम्रो समाज, समाजमा बस्ने मानिस र उनीहरूका व्यवहार पनि एउटा जिम्मेवार पक्ष हो। यसबारेमा सोच्ने कसलाई फुर्सद र यहाँ ? जसले मानव जीवन समाप्त पार्न भूमिका खेलिरहेको छ। मान्छे मर्दा पनि समवेदनाले छुन छाडिसक्यो हिजोआज मानिसलाई। समवेदनाका दुई शब्द फेसबुकमा लेखिदिएर आफ्नो कर्तव्य र जिम्मेवारी पूरा भएजस्तो ठान्छ मान्छे। सशरीर उपस्थित भएर दिइने ढाडस र माया अब बिरानोजस्तै हुन थालेका छन्। एउटा जीवन मरेर जाँदा उसको जीवन मात्रै मर्दैन। त्यो जीवनसँग धेरै जीवन बर्बाद हुन्छन्। आ िश्रत परिवारको आधार टुट्छ। छोराछोरीको सपना तुहिन्छ। जीवनसाथीको अधुरो साथ अनि बुढेसकालको लौरो भाँचिन्छ। यो सबै विनाशको कारक बदलिँदै गएको नेपाली समाज र समाजभित्रको घट्दो आत्मीयता हो। Annapurnapost.





Leave a comment

Your email address will not be published.


*