बिक्री हुन छाडे राउटेका मधुस

        निर्मल अधिकारी   |   प्रकाशित मितिः बुधबार, अशोज १, २०७६     ::: 177 पटक पढिएको   |  

दैलेखको गुराँसे बजारमा काठको मधुस बोकेर हिडेका राउटे धनबहादुर शाहीलाई मैले सोधे दाजु कति पर्छ यसको मूल्य ? मधुस विक्रि नभएपछि निराशा मानेका शाहीले भने मूल्य आठ सय हो, पाँच सय पाए पछि दिन्छु । बजारमा मधुस विक्रीका लागि हिडेको उनी दुई दिन भएछ । मूल्य घट्दै आए पनि उनको मधुस विक्रि भएन् । मधुस विक्रिबाट आएको पैसाले घरको गर्जाे टार्ने उनको समस्या पुरा हुन सकेन् । मेरो प्रश्नमा उनले अलि आशा गरेछन् मधुस विक्रि भई हाल्छ कि भनेर ?
मेरो घरमा काका अलग हुदाँ बुबाको अंशमा परेको एउटा मधुस थियो । जुन मधुस छोराहरुको लागि भनेर बाजेले किन्नु भएको रहेछ । बुबाले मधुसलाई लामो समयसम्म धान राख्ने भकारीको रुपमा प्रयोग गर्नुभयो । बुबाको मृत्युपछि त्यसलाई मैले केही समयको लागि सुत्ने खाटको रुपमा प्रयोग गरे । साघुरो कोठा ठाउँ धेरै लिने र बाङ्गो नमिलेको मधुस भएकाले त्यसको पल्ला उतारेर भान्सा घेरबारका लागि प्रयोग गरेको थिए । म लामो समय गाउँ नगएरै घर विक्रि गरे । सायद मलाई लाग्यो घर विक्रिसँगै त्यो पल्ला पनि विक्रि भयो होला ।
राउटे दाजुको मधुस देख्दा मलाई त्यही पल्लाको याद आयो । समतल रुपमा नमिलेको, हेर्दा बाङ्गो देखिने । मैले सोचे बाजेले जुटाएको मधुस त मैले संरक्षण गर्न सकिन् अब नयाँ किनेर के गर्नु । न मधुस राख्ने ठाउँ छ न कुनै प्रयोगमा आउँछ । मैले पनि उनको मधुस किनिन् । मधुस नकिन्ने मेरो निर्णयले उनको अनुहारमा शालिन्ता छायो । आइरन नलगाएको कपडा खुम्चिए जस्तै उनले निधार खुम्च्याए । एक हातले निधारको पसिना पुछ्दै भारी बोकेर हिड्न लागेका राउटेलाई मैले भने दाजु फोटो खिचौ है । उनको सहमतीमा मैले फोटो खिचे । फोटो खिचे पछि अधिकाँश राउटेहरुले पैसा माग्ने गर्छन् तर उनले मागेनन् । विहानको एघार बजिसकेको थियो मलाई लाग्यो उनी भोकै हुनुपर्छ । उनको बस्ती पुग्न हिडेर कम्तिमा पनि ४ घण्टा लाग्थ्यो । त्यसपछि उनलाई मैले नास्ता खानु भनेर पचाँस रुपैया दिए । मधुस विक्रि नभएकोमा निन्याउरो अनुहार लगाउदै उनी फर्किए । मसँगै भएका अरु साथीहरुले भने मधुस देखाएरै यसले त्यो सामग्रीको मूल्य भन्दा बढी उठाई सकेको होला ।
पैसा छोए पाप लाग्छ भन्ने राउटेहरु वस्तु विनिमयको युगबाट फड्को मार्दै अहिले नगदमा कारोवार गर्न थालेका छन् । घर–घरमा प्लास्टिक र धातुबाट निर्मित सामाग्रीको प्रयोग बढेपछि परम्परागत कला र सिपबाट निर्मित काठका सामाग्रीहरुको महत्व घट्दै गएको छ । अर्काेतिर राउटेद्धारा निर्मित काठ्य सामाग्रीहरु समय र परिस्थती अनुसार परिवर्तन हुन नसक्नुले पनि राउटे निर्मित सामाग्रीको महत्व घट्दै गएको अनुमान गर्न सकिन्छ ।
हामी नेपालीहरुले स्थानीय श्रम र सीपलाई श्रम गर्न जानेकै छैनौ । त्यसमा पनि राउटेको श्रमलाई के को सम्मान गर्नु । राउटेद्धारा निर्मित सामाग्री प्रयोगका लागि मात्रै होइन् खरिद गर्ने । पृथ्वीबाट डाइनोसर हराए जस्तै कुनै बेला राउटेको अस्तित्व लोप हुँदै गयो भने उनीहरुद्धारा निर्मित सामाग्रीको महत्व बढ्दै जानेछ । त्यतिबेला पछिल्लो पुस्ताले राउटेको पहिचान जान्ने भनेकै त्यहि काठको मधुस र तिनै राउटेले लगाउने छोटा कपडाहरु हुन । त्यसकारण पनि राउटेद्धारा निर्मित सामाग्रीको विक्रि वितरणमा राज्यको ध्यान जान आवश्यक छ ।
बालअधिकारको क्षेत्रमा कार्यरत अधिकारी समसामयीक विषयमा लेख्ने गर्दछ्न । nadhikari73@gmail.com





Leave a comment

Your email address will not be published.


*