राज्यलाई जुम्लाको प्रश्न: खै हाम्रा सिञ्जाका सुनका असर्फी ?

          |   प्रकाशित मितिः मङ्लबार, अशोज ७, २०७६     ::: 57 पटक पढिएको   |  

असोज ०७, जुम्ला । अहिले राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार समन्वय समिति तथा राष्ट्रिय सभाका एक दर्जन सांसदहरु राष्ट्रिय सम्पदासहित पिछडिएको क्षेत्र, समुदाय र संस्कृतिको अध्ययन गर्न जुम्लामा स्थलगत अवलोकनमा रहेका छन् । समितिका अध्यक्ष तथा राष्ट्रिय सभाका सदस्य डिलकुमारी रावल थापा र प्रतिपक्ष दलका नेता सुरेन्द्र पाण्डेसहितको टोली अहिले सिञ्जा क्षेत्रमा सम्पदाको स्थलगत अनुगमनमा छ ।

समितिले जुम्ला सदरमुकाम खलङ्गासहित सिञ्जा गाउँपालिकामा राजनैतिक दल, स्थानीय बासिन्दा, नागरिक समाज र पत्रकारहरुसँग जिल्लाको सम्पदा, भाषा, संस्कृतिसहित विविध विषयमा आवश्यक वस्तुस्थितिका बारेमा सुझाव संकलन समेत गरेको छ । जिल्ला समन्वय समिति जुम्लाको स्थानीय समन्वयमा जिल्लाको आवश्यक सम्पदा र राष्ट्रिय सम्पदाको अवस्थाको विषयमा सुझाव संकलन गरिएको छ ।

स्थानीय सिञ्जावासी तथा नेकपाका प्रदेश समिति सदस्य पूर्णप्रसाद धितालले सिञ्जाको समग्र विकासका लागि ‘सिञ्जा प्रतिष्ठान ऐन’ जारी भएमा मात्र यहाँको समग्र विकास हुने बताउनुभयो । अहिलेको अवस्थामा ऐन नै जारी भएमा त्यसभित्र सिञ्जा सभ्यता विश्वविद्यालय, संस्कृति, कृषिदेखि विभिन्न क्षेत्र हेर्ने विभाग भिन्नै हुने र यसको पूर्वाधारका लागि केन्द्र सरकारले नै जिम्मा लिँदा राम्रो हुने उहाँको भनाइ छ ।

धितालले राष्ट्रिय सरोकार समितिलाई प्रश्न गर्दै ०४२, ०४३ सालमा सिञ्जाको देयरपाटाको बारीमा पाइएका सुनका असर्फीे अहिले कहाँ छन् भन्दै यसको उत्तर राज्यले दिनुपर्ने बताउनुभयो । उहाँले प्रश्न गर्नुभयो, ‘अञ्चलाधीश जगदीश खड्का भएको समयमा पाइएका सुनका पैसा र विभिन्न गहना हामीले देख्न पाउछौँ कि नाइँ रु’ उहाँले नेपालको पहिलो मुर्ति विरुपाक्ष नभई सिञ्जाको सियूबागको मुर्ति रहेको दाबी गर्दै संरक्षण गर्न तर्क गर्नुभयो ।

तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानले सिञ्जा आक्रमणको समयमा यहाँका सम्पदाहरु नष्ट भएका र बाँकी बाकसहरु काठमाण्डौ लगिएको भन्दै यसको लेखाजोखा अब गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो । तत्कालीन समयमा पाइएका सुनका ५७ सिक्का अहिले हेर्न पाउनुपर्ने सिञ्जावासीको चासो छ ।

समाजवादी पार्टीका केन्द्रीय सदस्य बलिराज शाहीले खस सभ्यताको संरक्षणमा राज्य गम्भीर नभएको आक्रोश पोख्नुभयो । पूर्व राज्यमन्त्री गोमा कुँवरले जुम्लामा धार्मिक प्राकृतिक सम्पदा तमाम भएकाले पहिचान गरी संरक्षण गर्नुपर्ने बताउनुभयो । नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले सिञ्जाको भग्नावशेषको अवस्थासमेत राज्यको जानकारीमा नहुनु विडम्बना रहेको सुझाव दिनुभयो ।

स्थानीय संस्कृतिका जानकार तथा खसिया आखारका सम्पादक रमानन्द आचार्यले भाषा र सभ्यताको खानी कर्णालीले राज्यलाई एक लाखभन्दा बढी शब्द दिन सक्ने भन्दै कर्णालीलाई ती शब्दहरु संकलन गर्ने अवसर नेपाल प्रज्ञा प्रतिष्ठान र सरकारले दिनुपर्ने बताउनुभयो । उहाँले प्रज्ञा प्रतिष्ठान शब्द खोज्न बाहिर जान नपर्ने भन्दै कर्णाली आउन अनुरोध गर्नुभयो ।

उहाँले सहयोग भएमा चाँडै ३० हजारदेखि ३५ हजार बढीको खस शब्दकोष खसियाआखारको पुस्तक बजारमा आउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसअघि एक टोली सिञ्जाको ऐन मस्यौदा गर्न वा प्रतिष्ठानको मस्यौदाका लागि आएर अन्तरक्रिया गरेर गयो, सिञ्जाका बारेमा अध्ययन गरेको थियो, त्यो विषय थन्किएकाले सिञ्जाको ऐन वा विश्वविद्यालय बनाउन आवश्यक छ ।’

जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले यहाँको धार्मिक पर्यटन पनि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले साउने सक्रान्तिमा राँका बाल्ने, बडिमालिकामा सरकारी सलामीसहितको टोली सहभागी हुने, चन्दननाथ भैरवनाथको मन्दिरको लिंगा गाड्ने परम्परा पनि महत्वपूर्ण रहेको बताउनुभयो । राष्ट्रिय सरोकार समितिका सभापति रावलले मानव सभ्यतामा ग्रीक सभ्यताको जति नै सिञ्जा सभ्यताको महत्व भएकाले यसलाई राज्यले प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

भाषा, संस्कृति, सभ्यताको जिम्मेवारी राष्ट्रिय सरोकार समितिको भएकाले विशेष जोड दिँदै अवलोकन अध्ययनको प्रतिवेदन तयार गरी सदनमा पेश गर्ने उहाँले बताउनुभयो ।

यस्तो छ सिञ्जामा सुनका असर्फीको इतिहास

सिञ्जा ऐतिहासिक खस साम्राज्य अर्थात राज्य भएको स्थानमा विभिन्न पुरातात्विक सम्पत्तिहरु रहेका छन् । यसको चर्चा पनि भइरहन्छ । लेखक तथा पत्रकार स्वर्गीय रत्नाकर देवकोटाको ‘बृहत् जुम्ला राज्यको इतिहास’ नामक पुस्तकमा सिञ्जामा सुनका सिक्का पाइएको इतिहास उल्लेख छ ।

२०४३ सालमा पाण्डव गुफा गाउँको देयारपाटा वरपरको कुनै किसानको बारीमा स्थानीय जोखे भन्ने हलीले हल्लो जोत्दो एक ठाउँमा अड्किएको थियो । त्यही बारीमा सुनको असर्फी भरिएको गाग्री भेटिएको त्यस पुस्तकमा उल्लेख छ ।

यो विषय जग्गाधनी, सम्बन्धित हली र छिमेकीमा बाँड्ने विषयमा कुरा चलिरहेकै बेलामा कर्णालीका अञ्चलाधीश र जुम्लाका प्रमुख जिल्ला अधिकारीले थाहा पाए ।

त्यसपछि स्थानीय प्रशासन घटनास्थलमा पुगी अनुसन्धान गरेर भेटिएका असर्फी सुनका सिक्का तत्कालीन श्री ५को सरकार पुरातत्व विभागबाट परीक्षण भई एक वर्षपछि सरकारको राजस्वमा जम्मा गरिएको बताइएको थियो । अहिले सिञ्जावासीले ती सिक्का कहाँ छ भन्दै प्रश्न गरिरहेका छन् ।

उज्यालो अनलाईनका लागी जुम्लाबाट नेत्र शाहीको सामाग्री साभार





Leave a comment

Your email address will not be published.


*