कर्णालीमा सानैमा बिहे, पछि छोडपत्र

          |   प्रकाशित मितिः बिहिबार, अशोज ९, २०७६     ::: 89 पटक पढिएको   |  

सुर्खेत असाेज ९ : कर्णालीमा ५२ प्रतिशत विवाह उमेर नपुग्दै हुने गर्छ। आधा नागरिक गरिबीले थिचिएको कर्णाली प्रदेश बालविवाहका कारण थप आक्रान्त बन्दै गएको छ। कलिलैमा गरिने बिहेका कारण धेरै परिवार टुक्रिएका छन्। सम्बन्धविच्छेद र बहुविवाह गर्ने क्रम बढेको छ।

कुरीति, अशिक्षा र आर्थिक अभावकै कारण बालविवाह गर्ने दर बढेको सरकारी तथ्यांकले देखाएको छ। उमेर नपुग्दै गरिने बिहेका कारण आमा र शिशुको मृत्युदर बढेको छ। अधिकांश बालबालिकाले बीचमै विद्यालय छाड्ने गरेका छन्। बालविवाहविरुद्ध सरकारी तथा गैरसरकारी निकायबाट कर्णालीमा बर्सेनि करोडौं रकम खर्च भइरहेको छ। तैपनि, बालविवाह रोकिएको छैन।

बालविवाह न्यूनीकरणका लागि थालिएका अभियान प्रभावकारी नहुँदा यहाँका किशोरी बढी पीडित छन्। उमेर नपुग्दै गर्भवती हुने र बच्चा जन्माउन नसक्दा अकालमै ज्यान गुमाउन बाध्य छन्। पढ्ने उमेरमा बिहे गरेका धेरै जोडीले विद्यालय छाडेका छन्। आर्थिक अभाव देखाउँदै कतिपय अभिभावकले नै उमेर नपुग्दै सन्तानको बिहे गरिदिन्छन्।प्रेम सम्बन्धका कारण अधिकांश बालबालिकाले उमेर नपुग्दै हतारमा बिहे गर्ने गरेका छन्। अभिभावकको अनुमतिबिना कलिलैमा बिहे गरेका धेरै जोडी परिवारबाटै तिरस्कृत छन्।

सामाजिक विकास मन्त्रालयका अनुसार ग्रामीण क्षेत्रमा बढी बालविवाह हुने गर्छ। जसकारण किशोरी आमाको संख्या बढेको, मातृमृत्युदर बढेको, अधिकांश बालबालिकाले बीचमै पढाइ छाडेको, सम्बन्धविच्छेद र बहुविवाह बढेको तथा किशोरीको स्वास्थ्यमा गम्भीर समस्या देखिएको बाल अधिकारकर्मीको भनाइ छ। हतारमा बिहे गर्ने र आर्थिक व्ययभार थेग्न नसकेर धेरै किशोर रोजगारीका लागि बिदेसिन बाध्य छन्।

कतिपय जिल्लामा बालविवाहविरुद्ध अभियानको नेतृत्व गर्ने बालबालिकाले नै बालविवाह गरेका छन्। यसले बालविवाह न्यूनीकरणमा थप चुनौती देखा परेको छ।

किशोरी आमाको मृत्युदर बढ्यो

जुम्लाको तातोपानी गाउँपालिका–७ ताम्तीकी १८ वर्षीया संगीता रावतको सुत्केरी हुन नसकेर ज्यान गयो। यो घटनामा संगीताले बच्चालाई जन्म दिन सकिनन्। चन्दननाथ नगरपालिका–७ की किशोरी विष्णुमाया महतको पनि सुत्केरी हुन नसकेरै मृत्यु भयो। सानै उमेरमा बिहे गरेका कारण सुत्केरी हुने क्रममा मृत्यु हुने किशोरीको संख्या कर्णालीमा बढ्दो छ। सुत्केरी हुँदा उच्च रक्तस्रावका कारण जुम्लाकै तातोपानी गाउँपालिका–४ जयतपुरकी किशोरी लक्ष्मी कामीको घरमै ज्यान गयो।

कलिलै उमेरमा गर्भवती हुने र स्वास्थ्य संस्थामा नियमित गर्भ चेकजाँच नगर्दा अधिकांश किशोरीको अकालमै मृत्यु हुने गरेको स्वास्थ्य कार्यालय जुम्लाका निमित्त प्रमुख लक्ष्मण चौलागार्इंले बताए। अधिकांश किशोरी पाठेघरमा समस्या देखिएका कारण पीडित छन्।

बिहेसँगै छुट्छ पढाइ

जाजरकोटको त्रिभुवन मावि खलंगामा कक्षा ६ मा पढ्दै गर्दा सविता खत्रीले १२ वर्षको उमेरमै बिहे गरिन्। पुल निर्माण गर्न जाजरकोट आएका धादिङका १८ वर्षीय दुर्गा तामाङले सवितालाई भगाएका हुन्। बिहेसँगै उनको पढाइ छुटेको छ। सोही विद्यालयकी १३ वर्षीया लक्ष्मी घर्ती, १३ वर्षकै विमला कुँवर र १४ वर्षकी कल्पना विकले पनि विवाह गरिन्। बिहेपछि उनीहरूले बीचमै पढाइ छाडेको शिक्षक तेजबहादुर खत्रीले बताए।

विद्यालय तहमा पढ्दा पढ्दै बिहे गर्नेको संख्या जाजरकोटमा मात्र होइन, कर्णालीका सबै जिल्लामा उस्तै छ। मोबाइल र फेसबुकको बढ्दो प्रयोगले पनि विद्यालय उमेरमै विवाह हुने क्रम बढेको छ। उमेर नपुग्दै बिहे गर्दा पढ्न नपाए र बेरोजगार बन्दा घरेलु हिंसा हुने गरेको छ।जिल्ला बालकल्याण समितिका अनुसार जाजरकोटमा मात्रै ७४ प्रतिशत बालविवाह हुने गरेको छ। बालविवाह गर्नेमा बालिकाको संख्या धेरै रहेको अधिकारकर्मी शोभा सिंहले बताइन्।

बढायो बहुविवाह

सल्यानको छत्रेश्वरी गाउँपालिका–६ की सुशीला सुनारले १७ वर्षमा बिहे गरिन्। ०७२ मा सोही ठाउँका रविन सुनारसँग विवाह गरेकी उनी हाल एक्लै छिन्। उमेर नपुग्दै विवाह गरेका उनीहरू सँगै बस्न सकेनन्। पतिले अर्कैसँग विवाह गरी भारत पसेपछि सुशीला एक छोरीसहित माइतीमा बस्दै आएकी छन्।

यस्तै, १८ वर्षमा विवाह गरेकी दार्मा गाउँपालिका–६ की केशरी विकका पतिले पनि अर्को विवाह गरी उनलाई छाडे। दुई छोराछोरी हुँदाहुँदै पति ज्ञानबहादुर नेपालीले बहुविवाह गरेको भन्दै उनले प्रहरीमा मुद्दा दायर गरेकी छन्। ज्ञानबहादुरले सोही ठाउँकी मीना विकसँग दोस्रो बिहे गरेका हुन्।यी प्रतिनिधिमूलक घटना हुन्। पछिल्लो समय कर्णालीमा बालविवाहले गर्दा सम्बन्धविच्छेद र बहुविवाह बढेको छ।

अदालत र प्रहरीमा आएका मुद्दाको संख्याले पनि बालविवाहका कारण सम्बन्धविच्छेद र बहुविवाहका घटना बढेको देखाएको छ। सानैमा बिहे गर्ने र परिपक्व भएपछि एकले अर्कोलाई मन नपराउने समस्याका कारण बहुविवाह र सम्बन्धविच्छेदका घटना बढेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।हतारमा गरिएको बिहेका कारण अधिकांश बालविवाह सफल नभएको बालअधिकारकर्मीको दाबी छ।

धामीले भनेपछि कलिलैमा बिहे

अशिक्षा र कुसंस्कारका कारण कर्णालीमा कतिपय अभिभावकले बालविवाह गरिदिन्छन्। डोल्पामा देउता अर्थात् गाउँका धामीले भनेको मान्नुपर्ने मान्यता छ। धामीले भनेकै उमेरमा डोल्पालीले सन्तानको बिहे गरिदिन्छन्।अभिभावकको दबाबमा उमेर नपुग्दै बिहे गरेकी स्थानीय जुनकिरी रोकायाले भनिन्, ‘म कक्षा ९ मा पढ्दै थिएँ, धेरै पढ्ने रहर थियो। तर, गाउँका धामीले देउता चढेका बेला त्यहीबेलामै बिहे गरिदेऊ भने, धामीले भनेपछि मेरो घरकाले पनि हतारमा बिहे गरिदिए।’

धामीकै कारण जबर्जस्ती बिहे भएको उनको दुखेसो छ। स्थानीय सुमन बुढाले अभिभावकले सानैमा बिहे गरिदिने गरेको सुनाए। उनले भने, ‘मेरो प्रेम अर्कैसँग थियो, धामीले भनेपछि घरबाट हतारमा बिहे गरिदिए। देउता रिसाउलान् भन्ने त्रासले बिहे गर्न राजी भएँ।’

डोल्पामा अभिभावकलाई मन परेको खण्डमा धामी बसालेर बालिकालाई तानेर लैजाने प्रचलन छ। यही कारण पनि यहाँ बालविवाह बढ्दो छ। ‘केटाको मन केटीसँग मिलेको हुँदैन, देवताको डरले नै विवाह गर्नुपर्ने बाध्यता छ’, स्थानीय रमेश कार्कीले भने।

गाउँमै दबाइन्छन् बालविवाह

दैलेखको लाँकुरीमा दर्जनभन्दा बढी बालविवाह भए। एक वर्षको अवधिमा भएका ती विवाह रोक्ने प्रयास भने कसैले गरेनन्। घटना ढाकछोप गरियो। बालविवाहलाई दण्डनीय मानिन्छ। तर, बालविवाहका अधिकांश घटना गाउँमै लुकाउने गरिन्छ।

दैलेखको नारायण नगरपालिका–१ का १९ वर्षीय सन्दीप खड्की र डुंगेश्वर गाउँपालिका–२ की १७ वर्षीया चमेली गाहाले उमेर नपुग्दै विवाह गरे। नौमूले गाउँपालिका–१ तोलीका अमित राना र सल्लेरीका सुमित्रा रानाले पनि उमेर नपुगी विवाह गरे। तर, उनीहरूको विवाह रोक्नुको साटो अभिभावकले नै सहमति गरेर विवाहलाई मान्यता दिए।

गाउँलेले समेत प्रहरीमा उजुरी दिने आँट गरेनन्। कर्णालीमा हुने अधिकांश बालविवाहका घटना समुदायमै लुकाउने गरिएको छ। कानुनी कारबाही नहुँदा पनि बालविवाहलाई प्रोत्साहन गरेको अधिकारकर्मीको भनाइ छ।

‘आर्थिक रूपमा बलियो भएका परिवारभित्र बालविवाह भएमा गाउँमै दबाइन्छ तर आर्थिक हैसियत र जात नमिल्दा मात्र बालविवाह भन्दै घटना बाहिर आउँछन्’, बालअधिकारकर्मी प्रभा विकले भनिन्। बालविवाह रोक्न जनप्रतिनिधिले पनि चासो दिएका छैनन्। मतदाता भाँडिने डरले उनीहरू पनि मौन बस्ने गरेका हुन्।

दाताकै भरमा अभियान

कर्णालीमा विभिन्न गैरसरकारी तथा सरकारी निकायको समन्वयमा बालविवाहविरुद्धको अभियान गरियो। धेरै गाविस बालविवाहमुक्त घोषणा भए। उमेर नपुग्दै विवाह गर्ने कलिला जोडी धमाधम जग्गेबाटै खोसिए। जिल्लालाई बालविवाहमुक्त घोषणा गर्ने उद्देश्यसहित सुरु भएको उक्त अभियान हराएको छ।

सुर्खेतमा पनि पाँच वर्षसम्म अभियान सञ्चालन भयो। धेरै गाविस बालविवाहमुक्त घोषणा गरिए। तर, पछिल्ला केही वर्षदेखि यो अभियान अलपत्र छ। आर्थिक सहयोग गर्दै आएको दातृ निकाय सेभ द चिल्ड्रेनलगायत आईएनजीओले हात झिकेपछि यो अभियान हराएको छ।

सुर्खेतमा बालविवाहविरुद्ध अभियान सञ्चालन गरेका संस्थामध्येको स्याक नेपालका कार्यकारी निर्देशक टीकाराम आचार्य भन्छन्, ‘दाताको सहयोगमा त्यसबेला हामीले अभियान चलाएका थियौं, अहिले आर्थिक कारणले अभियान सुस्ताएको छ। दाताले सहयोग नगरे पनि अभियान जारी छ।’ दाताको सहयोगमा सञ्चालन भएको बालविवाहविरुद्धको अभियान दाताले हात झिकेपछि हाल सुस्ताएको छ। अन्नपूर्ण पोष्ट्बाट





Leave a comment

Your email address will not be published.


*