श्राद्धपछिको प्रेम

          |   प्रकाशित मितिः आइतवार, अशोज १२, २०७६     ::: 132 पटक पढिएको   |  

रचना सुनार

एउटा फोटो छ, फोटोमा छोटो माला छ। अगाडि सालका टपरीहरूमा फूल, पहेँलो अक्षता, दुबो, फलफूल अनि फुटकर पैसा छन्। बीचमा एउटा केराको कोसामाथि गाडिएको अगरबत्ती आधा सल्किसकेको छ, बाँकी आधा जल्दैछ, अनि खरानी भई बुरबुर भुइँमा खस्दैछ। फोटोको छेउमै कुशको ‘पुत्ला’ अड्याइएको छ। स-साना दुनाहरूमा उहाँलाई मनपर्ने खानाका परिकार छन्।

एउटा केराको लामो पातमा १६ वटा खीरका डल्लाहरू सजाइएका छन्। मैले पहिलो पल्ट यो घरमा भित्रिँदा बडो मेहनत गरी यसैगरी पकवानहरू उहाँका लागि श्रद्धाले पस्किएकी थिएँ।

उहाँका निम्ति जुटाइएका हरेक सर्जाम अगाडि फिँजिएका छन्। सबै चिजहरू आँखा वरिपरि देखिएका छन्। तर सबै धमिला धमिला। सबै विधि पूर्ण देखिन्छन्। एउटै अपूर्ण छ जुन स्वयम् फोटो बनी निर्जीव भइसकेको छ। हेर्दैछु म यी मेरा गिला नजरहरूले उहाँको अनुहार मधुरो फोटोमा जहाँ उहाँको अनुहार मात्र छ। शरीरबिनाको अधुरो फोटामा मेरो प्राणबिहीनको अधुरो माया अल्झिएको छ। सायद धेरै नै कस्सिएछ, सास फेर्न गाह्रो हुन्छ।

आडैमा छु म। आफ्नै ज्यान धान्न पनि सामर्थ्य नभई भुइँमा थचक्क बसेकी। भित्तामा आफ्नो गलिसकेको ढाड अड्याउँदै एकोहोरो सुन्दैछु केही आवाजहरू। कुनै महशुस भने छैन। केही दृष्यहरू देखिरहेकी छु तर मष्तिस्कमा कुनै हलचल छैन। बेलाबेलामा मन भक्कानिएर आउँदा पिल्सिएर रोएकी छु। ठीक त्यसैगरी जुन दिन उहाँसँग बिहेको मण्डपमा बस्दा रोएकी थिएँ।

सानै उमेरमा बिहे भयो। माया भन्ने केही थाहै थिएन, धेरै रुन मन लागेको थियो मलाई त्यो दिन। तर त्यो दिन र आजको रुवाइमा धेरै फरक पाउँछु। कलिलो उमेरमा सोह्र श्रृंगार, रातो पहिरन र गरगहना लगाएर चिटिक्क बेहुली थिएँ। आज अधवैंशे उमेरमा सेतै पहिरन, बहुलाई जस्ती देखिएको छु।

त्यो बेला उहाँलाई हेरेर डराउँदै थिएँ। आज उहाँको फोटो हेरेर निडर छु। मलाई त्यति बेला नयाँ ठाउँ, नयाँ घरमा के हुने हो, कस्तो हुने हो भनी डर थियो। आज म निडर छु, लाग्छ अब योभन्दा ठूलो के नै दुःख सहनुपर्ला र मलाई ?त्यस दिन पण्डितले सुल्टो मन्त्र पढ्दै थिए, आज उल्टो मन्त्र पढिरहेका छन्। त्यस दिन जग्गेमा उहाँसँग म एक्लै थिएँ। आज मसँग उहाँका नासोहरू टाउको मुडुलो पारेर वरिपरि टुक्रुक्क बसेका छन्। 

अस्ति जस्तै लाग्छ, मलाई उहाँले यो घरमा भित्र्याएको। तर आफ्नो घरमा मलाई भित्र्याएर बिदा भएर जानुभयो।आज एक वर्ष पुगिसकेछ त्यो कालो रात गुज्रिएको। सिंगो आकाश ममाथि बज्रिएको। सारा समाजले ‘मरिसक्यो’ भनेको सुन्दा पनि पत्यारै लाग्दैन।’अरूले उठाएर होला नउठेको, मैले उठाए त आफ्ना बुढा उठिहाल्नुहुन्छ नि!’ मन ढुक्क थियो । 

उहाँ खाटमा पल्टिनुभएको थियो। लाग्थ्यो एकै छिनपछि उठ्नुहुन्छ, बिहानको ७ त बजेको थियो। न कुनै चोट, न कुनै रोग, न कुनै घटना। सामान्य थियो। अघिल्लो रात पनि सधैं झैं सामान्य दिनचर्यापछि खाना खाएर सुतेका थियौं। न उहाँको व्यवहार फरक लागेको थियो, न शरीर कमजोर देखिएको थियो।

बिहान एक्कासि सास एकोहोरो बढ्न थालेछ। उहाँले छट्पटाउँदै मलाई हल्लाउनु भएको थियो। ब्युझिँएर हेर्दा उहाँलाई सास फेर्न निकै गाह्रो भइरहेको थियो। म आत्तिएँ अनि बेहोसी मै उहाँलाई हल्लाउँदै, उहाँको छातीमा हातले थिच्दै चिच्याउन थालेँ। त्यो कठीन परिस्थितिमा उहाँ आफ्नो जीवनसँग लड्दै हुनुहुन्थ्यो। अनि म आफ्नो भाग्य सँग।

मान्छेहरू एकैछिनमा जम्मा भएर एम्बुलेन्स बोलाउन फोन गर्न थाले। अपसोच, फोनको नेर्टवक नै थिएन। मैले चिच्च्याउँदै, ‘कसैले छिटो बाइक ल्याउनुहोस् न, एम्बुलेन्स नभए पनि बाइकमा छिटो अस्पताल लैजाम्’ भनेँ।उहाँको एकोहोरो बढेको सासले मेरो पनि सास घाँटीमा अड्किन थाल्यो। हातखुट्टा लगलगी कामे। मुटु बेस्सरी धड्किएको थियो। तर हरेस नखाई भनेकी थिएँ, ‘तपाईंलाई केही हुन दिन्नँ, नआत्तिनुस् सबै ठीक हुन्छ।’

एकाएक मान्छेको भिड थपियो। मभन्दा पनि बाहिर रुने र चिच्च्याउनेको संख्या बढ्यो। तर म उहाँको एक-एक सास सँग लडिरहेकी थिएँ। बाहिर रोएको आवाज सुनेर मलाई धेरै रिस उठ्यो र भनेँ, ‘को हो के बाहिर रुने? बरु छिट्टै बाइक ल्याएर सहयोग गर्नुस् न।’अनि कताकता मेरो पनि मनले हार खान थाल्यो। झस्किएर उहाँको हात समाउँदै छातीमाथि टाउको राखेर रुन पुगेछु।

दैवले त्यस दिन ममाथि धेरै नै अन्याय गरेको थियो। त्यसैले प्रकृति पनि रिसाएर चुरचुर परेकी थिइन्। आकाशमा बादल मडारिएर एकैछिनमा कालै सन्नाटा छायो, जताततैबाट घेरिएर बादल र हावाका झोंकाहरू मेरै घरमा आएर ठोक्किए र आपसमा बज्रिएर कराए।न कसैको फोन लाग्यो, न समयमै एम्बुलेन्स आयो, न त कसैको बाइक नै। आएको थियो कठोर कष्ट मात्र, अनि गाउँभरका मान्छे- रुन र चिच्याउन। कालो बादलसँगै सायद पापी काल पनि आयो, मबाट मेरो श्रीमानलाई छुट्टाउन।

केहीबेर पछि उहाँ शान्त भएर गहिरो निद्रामा पर्नुभयो। त्यसै दिनदेखि मेरा आँखाका निद्रा पनि बिदा भए।हिजो जस्तै लाग्छ, त्यो कहाली लाग्दो बिहान। चट्टानजस्तै कठोर दिन। ग्रहणजस्तै कालो रात।म रित्तिएकी थिएँ। आफ्नै भाग्यबाट ठगिएकी थिएँ। घाइते थिएँ। अधुरो थिएँ। एक्लो थिएँ। म शिकार जसरी भुइँमा लडिरहेको जिउँदो लास भएँ।

हामी दुई एक सामान्य दम्पत्ति थियौं, हामीबीच थुप्रै उल्झन थिए। उहाँले कमाउनुहुन्थ्यो, म घर चलाउँथे। घरको सफाइ, बच्चाबच्चीको लालनपालन, भान्साको काम मेरो दिनचर्या थियो। मलाई आफूले धेरै ठूलो काम गरेको महशुस हुन्थ्यो। म आफैंले आफ्नो सीमाना खुम्चाएर घरभान्सामा सीमित राखेँ। घरायसी कुराहरुमै उहाँसँग बाझ्न थालेँ। कहिलेकाँही ठूल झगडा पर्थ्यो। म आफ्नो रिस मेट्न जे पायो त्यही भन्थेँ। झुटा आरोप पनि लगाउँथे।

कहिलेकाहीँ उहाँले आफ्ना लुगा धुन दिँदा म झर्किन्थेँ। ‘आज भ्याउँदिनँ, भोलि धोइदिम्ला’ भन्थेँ। सानो सानो कुरामा पनि गुनासो गर्थेँ। एउटै ओछ्यानमा मनको दूरी थियो। उहाँ कहिलेकाहीँ कामबाट थाकेर आउँदा सुत्न गाह्रो भएर अनुहार बिगार्दै ‘ऐया ऐया’ भन्दै पल्टिँदा म ढाड फर्काएर सुतेको नाटक गर्थेँ। कहिल्यै ‘हजुरलाई कस्तो छ’सम्म सोध्ने फुर्सद निकालिनँ। म सम्झन्छु हाम्रा हरेक तिता-मिठा पलमा हामी दुवै बराबर सहभागी थियौं। हाम्रा सानातिना मनमुटाब र घरझगडामा दुवैको उत्तिकै भूमिका थियो।

तर त्यति बेला म उहाँकै मात्र गल्ती भेट्थेँ र आफूलाई सही भन्थेँ। आज म महशुस गर्छु, हामीबीचको छोटो समय पनि हामी कति गलत तरिकाले बिताएका रहेछौं। एकअर्काको साहारा बन्न खोजेका हामी, एकअर्काका कमजोरीको मजाक उडायौं, श्रीमानश्रीमतीको सम्बन्ध र मायालाई मात्र छोराछोरी हुर्काउने जिम्मेवारीमा अड्यायौं।

आज बोल्नका लागि कोही छैन। हामीबीच कुनै विवाद हुँदैन। रिसडाह छैन। तर आज म एक्लै छु। उहाँ र आफ्नो दुवैको जिम्मेवारी निर्वाह गर्दैछु। कसैसँग कुनै गुनासो छैन आज। हिजो सबै कुरा मेरो साथमा भएर पनि असन्तुष्ट थिएँ, आज धेरै चिज गुमाएर पनि आशावादी छु।आज एक वर्ष भइसकेछ। चोटहरू एउटै हुन्, पीडा उत्तिकै छन्। तर अप्ठ्यारा र जिम्मेवारी बढ्दैछन्।

बाचुन्जेल मैले उहाँले ममाथि गर्व गर्ने केही गरिनँ। तर म फेरिएकी छु, जिम्मेवार हुँदैछु, जीवनलाई बुझ्दै गएकी छु। वास्तवमा भन्ने हो भने म आज जस्तो छु त्यस्तै पहिले पनि भइदिएको भए मेरो श्रीमानलाई कत्ति साथ मिल्थ्यो होला। अनि उहाँ कत्ति खुसी हुनुहुन्थ्यो होला ?मेरो मनमा सजिएको उहाँको चोखो प्रेम मैभित्र सीमित छ। त्यति बेला पनि मैले उहाँलाई माया नगरेकी होइन, देखाउन नजानेकी मात्र हुँ।  

आफ्ना गल्तीहरूको पछुतोले ओछ्यानमा निदाउन दिँदैनन्। ती पलहरू याद बनेर एकएक मेरा आँखखा वरिपरि बुर्कुसी मार्छन्। र आँखाभित्रका आँशुका धाराहरू खोलिदिन्छन्।

म अहिले सोच्छु, ती दिन फर्केर आएको भए म उहाँसँग कत्ति नजिक भएर माया व्यक्त गर्थेँ होला। उहाँ थाकेर आएको बेला मायाले सुम्सुम्याउँदै टाउको मिच्दिन्थेँ होला। उहाँ रिसाए पनि ‘जीन्दगी दुई दिन त हो’ भनी मुस्कुराई दिन्थेँ होला। प्रत्येक पल आफ्नो माया र विश्वासको अनुभूति गराउने थिएँ होला।तर धेरै ढिलो भैसक्यो, श्रीमानश्रीमतीको सम्बन्ध बुझेर व्यवहारमा उर्तान नपाउँदै सम्बन्धै टुटेर गयो। माया व्यक्त गर्न नपाउँदै साथ छुटेर गयो।

मलाई फेरि उहाँकै प्रेमिका बन्ने रहर छ। उहाँकै श्रीमती हुने मन छ। प्रेमिकाको जस्तो माया र समझदार श्रीमतीले जस्तो काँध दिने मन छ।तर अब त यादहरू मात्र छन्।

जीवनले सिकाएको पाठ छ- सूर्यस्त हुनुपूर्व आफ्ना गल्तीलाई सुधार्ने र माया व्यक्त गर्नुपर्छ। नभए अर्को दिन नआउन सक्छ। हाम्रो हातमा जन्म र मृत्युको वस छैन तर यीबीच जीवन बिताउने तरिका हाम्रै हातमा हुँदोरहेछ। हाम्रा क्षणिक रिसडाह र घमन्ड नियन्त्रण गर्नु अत्यावश्यक हुँदोरहेछ। नभए तिनैले हाम्रा सम्बन्ध चिस्याउने र गलाउने रहेछन्।मैले बेलैमा यो बुझेकी भए आज मनमा यति खिन्नता लिएर बाँच्नु पर्ने थिएन।

उहाँको श्राद्ध पूर्ण निष्ठाका साथ सम्पन्न गरेँ। आएकाहरू सबै बिदा माग्दै आफ्ना घरतिर गए। निधारमा पहेलो टिका लगाई छोराछोरी पनि स्कुल हिँडे। बाँकी रहेँ म र मेरो अगाडि उहाँको फोटो। सँगै रुमलिरहे याद र भोगाइहरू। जुरुक्क उठेर उहाँको फोटो अगाडि राखिएको दियो बालेँ, श्रद्धा, माया, आशा र शान्तिको। सेतोपाटीबाट





Leave a comment

Your email address will not be published.


*