३६ जिल्लाका ५९ सहरमा टेलिकमको फोजी सुरु

          |   प्रकाशित मितिः बिहिबार, अशोज १६, २०७६     ::: 21 पटक पढिएको   |  

काठमाडौँ असाेज १६ । नेपाल टेलिकमले देशैभर फोजी सेवा विस्तार गर्ने आफ्नो महत्त्वाकांक्षी परियोजनाको पहिलो चरणमा बुधबार ३६ जिल्लाका ५९ सहरमा सेवा सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सातवटै प्रदेशका मुख्यमन्त्रीसँग फोजीको प्रयोगमार्फत भिडियो कुराकानी गर्दै सेवाको सुरु भएको घोषणा गरे । आगामी चार महिनाभित्र सबै जिल्लामा फोजी सेवा पुर्‍याउने लक्ष्य टेलिकमले तय गरेको छ ।

फोजी सेवा विस्तारका लागि टेलिकमले गत माघ २० गते एक चिनियाँ र हङकङस्थित कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । करिब १९ अर्ब लागत रहेको परियोजना एक वर्षमा पूरा गर्ने लक्ष्यका साथ काम भएको टेलिकमले जनाएको छ । टेलिकमले २०७३ पुसमा काठमाडौं उपत्यका र पोखरामा फोजी सेवा सुरु गरेको थियो । त्यसयता टेलिकमले अन्य सहरमा फोजी सेवा विस्तार गर्न सकेको थिएन ।टेलिकमले सार्वजनिक गरेको फोजी विस्तार भएका सहरको सूचीमा तराईका जिल्लाहरू बढी छन् । फोजी विस्तारको क्रममा बढी जनसंख्या भएका जिल्लाहरूलाई प्राथमिकता दिइएको टेलिकमले जनाएको छ ।

फोजी सेवा विस्तार नहुँदा डाटातर्फको बजार गुम्दै गएकाले बढी जनसंख्या भएको क्षेत्रलाई प्राथमिकता दिइएको हो । टेलिकमले विस्तार गरेको सेवामा उच्च गतिको इन्टरनेटका साथै उच्च गुणस्तरको भ्वाइस कल सेवा पनि उपयोग गर्न सकिने प्रविधि रहेको टेलिकमले जनाएको छ ।

इन्टरनेटको गति उच्च हुने हुँदा गुणस्तरीय श्रव्यदृश्य सामग्रीहरू र बढी ब्यान्डविथ आवश्यक हुने इन्टरनेट सामग्रीहरू प्रयोग गर्न सहज हुने विश्वास लिइएको छ । फोजी सेवाका लागि छुट्टै महसुल दर नतोकिएको टेलिकमले जनाएको छ । ‘थ्रीजी र टुजी सेवाकै दरमा फोजी सेवा प्रयोग गर्न सकिन्छ,’ टेलिकमले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ।

आफूले सेवा विस्तार गरेको फोजीको प्रचलित नाम एलटीई एड्भान्स भएको टेलिकमले जनाएको छ । विस्तारित फोजीको डाटा स्पिड २ सय ४७ एमबीपीएस छ भने औसत डाटा स्पिड १ सय ३० एमबीपीएस रहेको टेलिकमले जनाएको छ । हाल टेलिकमका फोजी ग्राहक संख्या ८ लाख छन् ।

फोजी विस्तार भएसँगै यसका ग्राहकमा बढोत्तरी हुने टेलिकमले जनाएको छ । टेलिकमले विस्तार गरेको फोजी सेवा लिनका लागि प्रयोगकर्तासँग यो प्रविधि सपोर्ट गर्ने स्मार्टफोन हुनुपर्छ । सामान्य रूपमा बुझ्दा अहिले बजारमा पाइने १५ हजार मूल्य माथिका करिब सबै स्मार्टफोनले यो प्रविधि सपोर्ट गर्छ । फोजी सेवा सुचारु गर्न कुनै शुल्क नलाग्ने टेलिकमले जनाएको छ ।

कसरी लिने सेवा ?
फोजी सेवा लिनका लागि प्रयोगकर्ताले मोबाइलमा स्ट्रिक ह्यास डायल गर्नुपर्ने हुन्छ । प्रयोगकर्ताले यो अंक डायल गर्दा आफ्नो फोन र सिमले फोजी सपोर्ट गर्ने वा नगर्ने विषयमा जानकारी पाउँछन् । फोजी सपोर्ट गर्ने स्मार्टफोन र सिम दुवै भएमा निःशुल्क रूपमा प्रयोगकर्ताले सेवा सुचारु गर्न सक्छन् ।

टेलिकमले काठमाडौं र पोखरामा फोजी सेवा सुरु गरेलगत्तै फोजी सपोर्ट गर्ने सिम बाँड्न सुरु गरिसकेको छ । कसैले पुरानो सिम भए फोजी सपोर्ट गर्ने सोही नम्बरको अर्को सिम टेलिकम कार्यालयले निःशुल्क दिने कम्पनीले जनाएको छ ।उपभोक्ता आकर्षित गर्न कम्पनीले फोजी सेवा लिनेहरूका लागि विभिन्न छुट र अफरको घोषणा पनि गरेको छ । जसअनुसार फोजी सेवाका नयाँ ग्राहकलाई सस्तोमा डेटा तथा सस्तो दरमा डेटा प्याकहरू उपलब्ध गराइएको छ ।

प्रधानमन्त्री र मुख्यमन्त्रीबीच अस्पष्ट भिडियो संवाद
प्रधानमन्त्रीले सातैवटा प्रदेशका मुख्य मन्त्रीसँग भिडियो संवाद गरी फोजी सेवा सुरुवात गरिएको भए पनि भिडियो संवाद प्रस्ट रहेन । प्राविधिक कमजोरीका कारण भिडियो संवादको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा बसेर बोलेको कुरा मुख्य मन्त्रीहरूले बुझेनन् ।

प्रधानमन्त्रीसँग भिडियो संवाद गर्दा उत्साहित देखिएका प्रदेशका मुख्यमन्त्रीहरूले उनको बोली भने बुझेनन् । मुख्यमन्त्रीहरूले प्रधानमन्त्रीलाई भिडियोमार्फत दसैंको शुभकामना दिए भ्याए पनि सबै मुख्यमन्त्रीलाई पालैपालो बोल्न दिने प्रधानमन्त्रीको योजना सफल भएन ।

भिडियो संवादका क्रममा प्रधानमन्त्री ओलीले प्रदेश १ का मुख्यमन्त्रीबाट बोल्न सुरु गरौं भनी प्रस्ताव गरेका थिए । तर, प्रधानमन्त्रीको आवाज मुख्यमन्त्रीहरूले सुनेनन् ।

प्रधानमन्त्री ओलीले पटकपटक ‘अब बुझियो’ मुख्यमन्त्रीहरूलाई सोधेका थिए । पछि माइकमार्फत प्रधानमन्त्री ओलीले ठूलो स्वरमा बोलेर आफ्नो स्वर सुनाउन गरेको प्रयास पनि सफल भएन ।आफ्नो बोली भिडियोमा मुख्यमन्त्रीहरूले नसुनेपछि प्रधानमन्त्रीको टिप्पणी थियो– भ्वाइसमा समस्या रैछ ।





Leave a comment

Your email address will not be published.


*