तिहारको दर्शन

          |   प्रकाशित मितिः आइतवार, कार्तिक १०, २०७६     ::: 54 पटक पढिएको   |  

कमल रिजाल

तिहार विशिष्ट साँस्कृतिक पर्व हो । दसैँपछिको सबैभन्दा ठूलो पर्व पनि हो यो । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । पहाड, पर्वत, वन–जङ्गल, वनस्पति, पशु, पक्षीदेखि मानिससम्मले पूजा र सम्मान पाउँछन् यतिबेला । यसको सुरुवात कहिलेदेखि भयो यसै भन्न सकिन्न तर वैदिक संहिताहरूमै फेलापर्छन्, यसको बीज कुनै न कुनै रूपमा । इतिहास र पुराणले त्यसैको व्याख्या र व्यावहारिक रूप दिएका हुन् । जन्मदै चराचर जगत्बाट केही न केही सापटी लिएर आएका हुन्छन् मानिसले । यी यस्ता सापटी हुन्, जसलाई कुनै पनि भौतिक सम्पत्तिले चुक्ता गर्न सक्दैनन् । यसलाई चुक्ता गर्न त्यस्तै कृत्य आवश्यक हुन्छन्, जुन तिहार पर्वमा सम्पन्न हुने गर्छन् ।
तिहारको पहिलो दिन कागको पूजा गरिन्छ । कागलाई समग्र पक्षी समुदायको प्रतिनिधिका रूपमा लिन चाहेको छ, यस पर्वले । यसमा सबै प्रजातिका पक्षी समुदाय पर्छन्, जसले आफूलाई सदैव मानव हितमा समर्पित गर्दैै आएका छन् । मौसम परिवर्तन, बालीनाली लगाउने, भिœयाउने समयको सूचना वाहक यिनै हुन् । शुभाशुभ सन्देशको संवाहक पनि यिनै मानिन्छन् । कुखुरालाई घडी चरा भन्नेहरू अहिले पनि भेटिन्छन् । कागलाई सन्देशवाहक मान्नेहरू प्रशस्तै छन् । केही समयअघि भदौमा कराउने चरा असोजमा कराए भन्ने समाचार आएको थियो । यसको अर्थ उनीहरू त्यतिबेला मात्र कराएका थिए भन्ने होइन । अहिले पनि कराएर ‘ग्लोबल वार्मिङ’ को सूचना दिइरहेका छन् ।
वेदमा चराहरू देवता तथा ऋषिहरूजस्तै ज्ञानी र गुणी हुन्छन् भन्ने प्रसङ्ग प्रशस्तै आएका छन् । ऋग्वेदका केही सूक्त यस्ता छन्, जसका देवता चराहरू छन् । यिनमा ऋग्वेद दोस्रो मण्डलको ४२औँ सूक्त र ४३औँ सूक्त रहेका छन् । गृत्समद भार्गव शौनकले गाएका यी सूक्तका देवता शकुन्त (चरा) हुन् । यी सूक्तले चराका गुण तथा विशेषता वर्णन गर्दै मानव जीवनमा उनीहरूको स्थानबारे सम्यक विवेचना गरेका छन् । सूक्त ४२ को पहिलो र तेस्रो मन्त्रले चराको उपयोगिता देखाएका छन्, दोस्रो मन्त्रले उनीहरूको संरक्षणमा चासो दिएका छन् । त्यस्तै ऋग्वेद दसौँ मण्डलको १६५ र १७८औँ सूक्त पनि चराहरू सम्बन्धित नै हुन् । सूक्त १६५ का ऋषि परेवा हुन्, १७८ का ऋषि गरुड । यिनीहरूका भनाइ पनि उस्तै छन् । काग तिहार पर्वले तिनै पक्षी समुदायको संरक्षण र सम्मानमा ध्यान दिनुपर्ने सन्देश दिएको छ ।
तिहार पर्वको दोस्रो दिन कुकुर तिहार पर्छ । यस दिन प्रातःकालमा अ्रभ्यङ्ग स्नान (विशेष किसिमको स्नान) गरी कुकुरको पूजा गरिन्छ । कुकुर बहुगुणी प्राणी हुन् । उनीहरूको चर्चा वेदमा छ, पुराणले पनि गरेका छन् । ऋग्वेद भन्छ– ‘कुकुरले देवराज इन्द्रको दूत बनेर दुष्कर कार्य सम्पन्न गरेको छ ।’ ऋग्वेद दसौंँ मण्डलको १०८औँ सूक्तको देवता पनि कुकुर नै हो । कुकुरले निरन्तर मानव हितका कार्य गर्दै आएका छन् तर मानव व्यवहार पनि त्यस्तै हुनुपर्छ । अन्यथा न कुकुरको हित हुन्छ न मानिसकै । जहाँ कुकुर र मानिसबीच परस्पर देवोभवको भाव सञ्चार भएको छ, त्यही समाजमा सुख, शान्ति र अमनचैन कामय हुन सक्छ । कुकुर तिहार पर्वले यही सन्देश दिएको छ ।
तिहारको तेस्रो दिन साँझ दीवापली गरी लक्ष्मी पूजा गर्ने चलन छ । तिहार भन्नेबित्तिकै यसैको दृश्य देखापर्छन् तर दीपावली गर्नु भनेको घर–आँगन उज्यालो पार्नुमात्र होइन तन, मन, धन, बुद्धि, विचार र व्यवहार उज्यालो बनाउनु पनि हो । त्यस्तै लक्ष्मीपूजा भनेको पनि विशुद्ध पूजामात्र होइन, लक्ष्मीलाई मन पर्ने काम गर्नु पनि हो । लक्ष्मीलाई त्यही स्थान मन पर्छ, जहाँ हर्ष, उमङ्ग छ, सफासुग्घर छ र तन, मन, धन, विचार र बुद्धि उज्याले भएको छ । वेदले यही सन्देश दिएको छ– ‘तमसोमा ज्योतिर्गमय ।’ इतिहास र पुराणले यही सन्देश दिएको छ, ‘उदार चरितानां तु वसुधैव कुटुम्बकम् ।’ माता लक्ष्मीलार्इं फोहोर तथा आलस्य र आपसी झै–झगडा मन पर्र्दैन । जहाँ यस्तो वातावरण हुन्छ, त्यहाँ लक्ष्मी आउँदिनन्, आए पनि टिक्दिनन् भन्ने विश्वास छ । कुनै बेला दरिद्रादेवीले आफ्नो स्थानबारे जिज्ञासा राख्दा जहाँ फोहोर र दुर्गन्ध छ, जुन घरका मानिस आपसमा झगडा गर्ने गरेका छन्, त्यस्तै स्थानमा बस्नु भनेका थिए रे मार्कण्डेय ऋषिले । निद्रा र आलस्य पनि यस्तै हो । पौराणिक ग्रन्थहरूमा उल्लेख भएअनुसार देवताहरू निकै अल्छी भएका थिए रे अघि कुनै बेला । उनीहरूका व्यवहार मन नपरेर माता लक्ष्मी समुद्रमा लुक्न गइन् । त्यसपछि उनलाई पाउन समुद्र नै मन्थन गर्नुपरेको थियो देवताहरूलाई । यतिबेला गरिने दीपावली र लक्ष्मीपूजाबाट पनि यस्तै सन्देश पाउन सकिन्छ ।
तिहार पर्वको चौथो दिन काग, कुकुर, गाई, गोरु र गोबद्र्धन पर्वतको पूजा गर्ने गरिन्छ । यो कृषि व्यवसाय र पशुधनसित सम्बन्धित छन् । शरद ऋतु कृषि फसल भिœयाउने मौसम हो । चार महिनाअघि रोपिएको धान, कोदो, मकैलगायतका खाद्यान्न बाली भिœयाइन्छ यस मौसममा । कृषिलाई मानिसले प्राग्ऐतिहासिककालदेखि नै जीविकाको माध्यम बनाउँदै आएका हुन् । यसका लागि गाई, गोरु, रूखबिरुवा वनस्पति, वन–जङ्गल सबै चाहिन्छ । वेदमा गाई, गोरु, कृषि तथा वनस्पतिसम्बन्धी दर्जनौँ सूक्त छन् । अथर्ववेदको तेस्रो काण्डको १४औँ सूक्तलाई गोष्ठ सूक्त भनिन्छ । १७औँ सूक्तलाई कृषि सूक्त र १८औँ सूक्तलाई वनस्पति सूक्त भनिन्छ । त्यस्तै चौथो काण्डको ११ सूक्तलाई वृषभ सूक्त, २१औँ सूक्तलाई गो सूक्त र सातौँ काण्डको ६०औँ सूक्तलाई अन्न सूक्त भनिन्छ, जसले उनीहरू सबैलाई देवता मानेर सम्मान गर्नुपर्छ भनेका छन् ।
पाँचौँ दिन यमराज, यमुना तथा दाजुभाइ र दिदीबहिनीको पूजा गर्ने गरिन्छ । वास्तवमा यो भनेको प्रेम र सद्भावको आदान–प्रदान हो । यतिबेला दिदीबहिनीले यमराज र यमुनाको पूजा गरी दाजुभाइको दीर्घजीवनको कामना गर्छन् । दाजुभाइले दिदीबहिनीलाई पूजा र सम्मानसाथमा यथोचित उपहार दिएर प्रेम र सद्भाव प्रकट गर्छन् । वेदमा यमराजले गाएका छुट्टै सूक्त छ । (ऋग्वेद १०।१४) यस सूक्तका देवता पनि यमराज नै हुन् । यस सूक्तका मन्त्रहरूले यमराजलाई काल (समय) का मालिक भन्दै सबैले एक दिन उनको ढोकामा जानैपर्छ भनेका छन् तर सूक्तको १४औँ मन्त्रअनुसार भने यमराजलाई खुसी पार्न सके उनको ढोकामा जानुपर्ने समय केही पर धकेल्न सकिन्छ । त्यस्तै १५४औँ सूक्तका ऋषि उनकै बहिनी यमुना हुन् । यस सूक्तमा यमुनाले यमपाशमा बाँधिएको जीवलाई कसरी मुक्त गराउन सकिन्छ भन्ने चिन्तन गरेकी छन् । एक दिन सबैले यमराजको ढोकामा जानैपर्छ । गीतामा कृष्णले नै यसको उद्घोष गरेका छन् । मृत्यु कसैले टार्न सक्दैन तर आहार विहार सुधारे पर धकेल्न भने सकिन्छ । यस पर्वमा गरिने यमराज र यमुनाको पूजा प्रसङ्गले पनि यही सन्देश दिएको छ ।
(लेखक गोरखापत्रका पूर्वप्रधानसम्पादक हुनुहुन्छ ।) 





Leave a comment

Your email address will not be published.


*