कर्णालीमा उपनिर्वाचन : उपाध्यक्षमा तीन, वडाध्यक्षमा पाँचजनाको उम्मेदवारी

          |   प्रकाशित मितिः बुधबार, कार्तिक २७, २०७६     ::: 30 पटक पढिएको   |  

दैलेख कात्तिक २७ । : कर्णाली प्रदेशको हुम्ला खार्पुनाथ गाउँपालिकामा उपाध्यक्ष र सल्यानको कुमाख गाउँपालिका ५ मा वडाध्यक्ष पदका लागि आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । उक्त उपनिर्वाचनका लागि हुम्ला खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदमा तीन दलले मनोनयन दर्ता गराएका छन् । 

सल्यान कुमाख गाउँपालिका ५ को वडाध्यक्ष पदमा पाँचजनाको उम्मेदवारी परेको छ । दुईजना स्वतन्त्र उम्मेद्दवारीसहित वडाध्यक्ष पदमा पाँचजनाको उम्मेदवारी परेको हो । मनोनयन दर्तासँगै उपनिर्वाचनको माहोल समेत तात्तिएको छ भने उम्मेदवारी दर्ता गरेका पार्टी तथा व्यक्ति चुनावी प्रचारमा जुटेका छन् । 

हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदमा तीन दलले मनोनयन दर्ता गराएका हुन् ।  नेपाल कम्युनिस्ट पार्टीबाट रुपा शाही, नेपाली कांग्रेसबाट तारा शाही र राप्रपा संयुक्तबाट दीपबहादुर शाहीले बुधबार उम्मेदवारी दर्ता गराएका छन् ।

उपनिर्वाचनका लागि नेकपाबाट उम्मेदवारी दर्ता गरेकी रुपा यसअघि पराजित उम्मेदवारसमेत हुन् । यसअघि कांग्रेसबाट निर्वाचित उपाध्यक्ष सिन्धु शाही (हमाल)को जीप दुर्घटनामा मृत्यु भएपछि खार्पुनाथमा उपनिर्वाचन हुन लागेको हो। 

सल्यानको कुमाख गाउँपालिका ५ मा वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी सल्यानका जिल्ला कमिटी सदस्य धर्मे बुढोथोकी ‘ज्वाला’, नेपाली कांग्रेसका खड्कबहादुर बोहरा र राष्ट्रीय प्रजातन्त्र पार्टीबाट गोपाल शाहले मनोनयन दर्ता गरेका छन् ।

 यस्तै, दलबीर बस्नेत र चित्रप्रकाश गिरीले स्वतन्त्र (बागी) उम्मेदवारी दर्ता गरेका छन्। कुमाख गाउँपालिकाका अध्यक्ष दिलमाया बुढाकानुसार जिल्लामा एक मात्र उपनिर्वाचन क्षेत्र रहेकोले निर्वाचन सम्पन्न गर्न चुनौती रहेको बताइन् ।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालत सल्यानका जिल्ला न्यायधिश कुलप्रसाद पाण्डेले दलले आचार संहिता पालनामा विशेष जोड दिनुपर्ने औल्याए । सल्यानका  प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले उपनिर्वाचनका लागि जिल्ला सुरक्षा समितिले सुरक्षा व्यवस्था कडा पारेको बताए। 





Leave a comment

Your email address will not be published.


*