बाह्र वर्षमा न्यायको आशा फर्कियो

          |   प्रकाशित मितिः शुक्रबार, कार्तिक २९, २०७६     ::: 33 पटक पढिएको   |  

इश्वरचन्द्र झा
काठमाडौं, कात्तिक २९ । रौतहटको यमुनामाई ४, सरुअठाका श्री नारायण सिंहको पाइला पछिल्लो १२ वर्षमा रत्ति पनि डगमगाएन । उमेरले करीब ८० वर्ष पुग्न लागेका सिंह २२ वर्षीय छोरा त्रिलोक प्रताप सिंहको हत्या भएको ठहरमा अडिग भई एकोहोर न्यायको खोजीमा भौतारिनुभयो ।
छोरा त्रिलोकसहित दर्जनौं व्यक्ति घाईते र मृत्यु भएको घटनाको १२ वर्षपछि पुनः अनुसन्धान प्रक्रिया सुरु हुँदा उहाँ न्याय पाउन आशान्वित हुनुभयो । हत्यामा पूर्वमन्त्रीको संलग्नतामा दृढ रहेर जाहेरी दिएदेखि नै श्रीनारायणले अनेकन दबाब, प्रलोभन र धम्की सहनुपरेकाे समाचार गाेरखापत्र अनलाइनमा छ ।
२०६४ चैत्त २७ गते रौतहटको राजपुर नगरपालिकाको फरदवा गाउँमा भएको विष्फोटले उहाँको बाँच्ने सहारा नै खोस्यो तर न्यायिक प्रक्रियामा आइपुग्ने अड्चनलाई चिर्दै अगाडि बढ्ने एउटा गतिलो उदाहरण समेत दिनुभएको छ ।
प्रहरीले सरकारी वकिलको कार्यालय मार्फत् कात्तिक १८ गते जिल्ला अदालत, रौतहटमा मुद्दा चलाएपछि उक्त प्रकरण फेरि ब्युँतियो । उक्त मुद्दामा आलमसहित ११ जना विरुद्ध मुद्दा दायर गरिएको छ । आलम बाहेकका दशजना फरार छन् । आलममाथि कत्र्तब्य ज्यान, ज्यान मार्ने उद्योग र विष्फोट गरी तीनवटा मुद्दा दायर गरिएको छ । यसअघि पनि प्रहरीले सरकारी वकिलको कार्यालयमा आलमसहित घटनामा अन्य चारजनाको संलग्नता दाबी गर्दै अनुसन्धान प्रतिवेदन बुझाएको थियो । तर अदालतमा नपुग्दै महान्यायधिवक्ताको कार्यालयले प्रमाण अपुग भन्दै मुद्दा नचल्ने निर्णय गरेपछि श्रीनारायणसँगैका पीडित पक्षलाई विष्फोटले दिएको घाउ थप बिस्तार हुन पुग्यो ।
यद्दपी नथाकेका श्रीनारायणले मुद्दालाई अदालत समक्ष पुर्याउने आफ्नो प्रयास गर्न छोड्नुभएन । उहाँले २०६९ सालमा सर्वोच्च अदालतमा महान्यायधिवक्ताको कार्यालय, जिल्ला प्रहरी कार्यालय, रौतहट र घटनामा संलग्नताको दाबी गरिएकाहरुलाई विपक्षी बनाएर घटनाको अनुसन्धानको माग गर्नुभयो । जुन मुद्दामा सर्वोच्चले महान्यायधिवक्ताको कार्यालयको मुद्दा नचल्ने निर्णय मात्रै बद्दर गरेनन बरु घटनाको पुनः अनुसन्धान गर्न आदेश गर्यो ।
सरकारी वकिलले विष्फोटमा पूर्व मन्त्री आफताब आलमसहितको संलग्नताको दाबी गर्दै सर्वश्वसहित जन्मकैदको माग गर्दा श्रीनारायणको न्यायालयप्रतिको विश्वास अझै अटल हुन पुग्यो । विष्फोटमा मृत्यु भएका ओसी अख्तर र त्रिलोक प्रताप सिंहका परिवारको किटानी जाहेरीमा बहस हुँदै गर्दा अदालत बाहिरको वातावरण प्रभावित पार्ने लामै कसरत भयो । परिणामस्वरुप जाहेरी दिने र घटना साक्षीले नै अदालती बहसको क्रममा बोली फेर्न थाले । अदालतमा उक्त प्रकरणको दुई साता यता बहस चलिरहँदा बाहिरी वातावरण समेत नराम्ररी धुमिलियो ।
विष्फोटमा मृत्यु भएका ओसी अख्तरकी श्रीमती आमना खातुनले कात्तिक २५ गते फरक बयानसहितको निवेदन दर्ता गराउनुभयो । घटनाका जिवित साक्षी भनिएको गौरी शंकर रामले पनि बयान बदल्नुभयो । उक्त प्रकरणका अर्का जाहेरीकत्र्ता श्रीनारायणमाथि थप दबाब आइलाग्यो । तर पनि उहाँ बिचलित हुनुभएन । न्याय पाउने आशमा दृढ थिए र आफ्नो सङ्कल्पलाई बाहिरी वातावरणले प्रभावित नपार्ने गरी अडिग रहनुभयो ।
र, घटनाका मुख्य अभियुक्तको रुपमा प्रस्तुत गरिएको रौतहट निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद एवम् पूर्वमन्त्री आफताब आलम विरुद्धको जाहेरीमा कारबाही गराउने आँट देखाउनुभयो । अदालतमा शुक्रबार थुनछेक बहस अन्त्य हुन लाग्दा श्रीनारायणले आफूलाई पाँच लाखदेखि दुई करोडसम्मको प्रलोभन आएको बताउनुभयो । उहाँको आँट र नेपालको न्याय प्रणालीप्रति उहाँको विश्वास अन्ततः लाखौं ब्यक्तिका लागि प्रेरणादायी भएको छ । २२ वर्षकै कलिलो उमेरमा छोडेर गएका छोरा त्रिलोक बूढयौंलीको सहारा बनेर फर्किने छैनन् । तर श्रीनारायणले चाल्नुभएको संघर्षपूर्ण पाइलाले एउटा बाटो बनाएको छ । जुन बाटो न्यायको खोजीमा हिंड्दा अत्तालिने, बिचलित हुनेका लागि पथप्रदर्शक हुनेछन् ।

घटनाक्रम
२०६४ चैत्त २७ गते बम विष्फोट–फरदवा
२०६५ वैशाख १४ गते – घटनास्थल मुचुल्का
२०६५ वैशाख १४ गते – अनुसन्धान सुरु
२०६५ वैशाख १८ गते – रुख्साना खातुनद्वारा किटानी जाहेरी दत्र्ता
२०६५ असार ९ गते – श्री नारायण सिंहद्वारा जाहेरी दत्र्ता
२०६५ असार ९ गते – जिप्रका रौतहटद्वारा सरकारी वकिलमा प्रतिवेदन प्रस्तुत
२०६५ असार ३० गते – महान्यायधिवक्ताको कार्यालयबाट मुद्दा नचल्ने निर्णय
२०६९ जेठ १६ गते – सर्वोच्च अदालतद्वारा महान्यायधिवक्ताको निर्णय बद्दर, सुरुबाटै अनुसन्धान गर्न आदेश
२०७६ असोज – सर्वोच्चमा मानहानीको मुद्दा
२०७६ असोज २६ गते – रौतहट २ बाट निर्वाचित सांसद आफताब आलम पक्राउ
२०७६ कात्तिक १८ गते – जिल्ला अदालत रौतहटमा मुद्दा दत्र्ता
२०७६ कात्तिक २९ गते पूर्पक्षका लागि थुनामा पठाउने आदेश





Leave a comment

Your email address will not be published.


*