महिलामाथि हुने हिंसा अन्त्य गर्न मेरो ऐक्यबद्धता

          |   प्रकाशित मितिः मङ्लबार, मंसिर ३, २०७६     ::: 29 पटक पढिएको   |  

सन्जोग ठकुरी

सन्जोग ठकुरी– सन् २०१५ मा संयुक्त राज्य अमेरिकाकी एक महिला एलेना लक्जेमले शुरू गर्नुभएको महिलामाथि हुने यौन दुव्र्यवहारबाट आवाज उठाउनका लागि शुरू गरिएको #MeToo ले संसारभरमै ठूलो हलचल ल्याइदिएको छ भने हाम्रो समाज महिलाको निम्ति कति धेरै असुरक्षित रहँदै आएको छ भन्ने कुरा उजागर गरिदिएको छ । यसले वर्षौदेखि दबिएका उत्पीडित महिला, किशोरी र बालिकाहरूलाई आवाज प्रदान गर्यो, आफुले भोगेका समस्याहरूबारे बोल्न बल प्रदान गरेको छ । नेपाल पनि यसको प्रभावबाट अछुतो हुने कुरै रहेन । सांसददेखि लिएर सञ्चारकर्मीका कुरा होस् या नाट्य क्षेत्रमा देखिएको दुव्र्यवहारका घटनाहरू हुन् या विभिन्न स्थानमा दिनानुदिन महिलाहरूले भोग्नु पर्ने यौन दुव्र्यवहारका कुरा नै किन नहुन् क्रमशः मुखरित भए र हुँदै पनि जादैछन् र जानु पनि पर्दछ । महिलामाथि भइरहेको यिनै दुव्र्यवहार पूर्ण व्यवहारको विरोध र विरोधमा एकजुट रहनका निम्ति पुरूषहरूको प्रतिबद्धतास्वरूप यस वर्षको अन्तर्राष्ट्रिय पुरूष दिवसको नारा रहेको छ ः महिलामाथि हुने हिंसा अन्त्य गर्न मेरो ऐक्यबद्धता ।

संसारभर महिलाको अधिकारको बारेमा कुरा उठिरहँदा सँगसँगै मेन मुभमेन्ट अर्थात् पुरूषको अभियान पनि आउन थाल्यो । पुरूषहरूले पनि एकजुट भएर आफ्ना अधिकार र समस्याका बारेमा कुराकानी शुरू गर्न थाले । पुरूष अभियानलाई खासगरी दुई भागमा बाँड्न सकिन्छ । एउटा पुरूष अधिकार अभियान (Men’s Rights Movement) र दोस्रो उदारवादी पुरूष अभियान (Men’s Liberation Movement) पुरूष अधिकार अभियान महिला अधिकारको विरोधमा उभिएको पुरूष अभियान हो । यो अभियानले दुई कुरालाई खास महत्व दिने गर्दछ । पहिलो महिलालाई पित्तृसत्ताले दिएको जिम्मेवारी महिलाले नै पुरा गर्नुपर्ने र उनीहरूले पुरूषको भाग (काम र शक्तिमा) खोज्न आउन नहुने तर्क अघि सार्दछन् । दोस्रो हो पित्तृसत्ताका कारण बिरासतमा पाएका जिम्मेवारी र अवसरहरू पुरूषले पूरा गरिरहेको भएर उनीहरूलाई नै बढी सम्मान र अवसर दिइनुपर्ने आवश्यकता औंल्याउदछ । उदाहरणका लागि सार्वजनिक यातायातमा महिलालाई मात्र सिट पुरूषलाई चैं खैं ? जागीर वा छात्रवृत्ति जहाँ पनि महिलालाई मात्र प्राथमिकता हुँदा हामी पुरूष पछाडि परेका छौं जस्ता विचारले यो अभियानको मर्म बोक्दछ । अब दोस्रो अभियानको विषयमा चर्चा गरौं त्यो हो उदारवादी पुरूष अभियान जसलाई फेमिनिज्मको सहयात्रीको रूपमा पनि हेरिन्छ अर्थात् कोही पनि व्यक्तिलाई उनको लैंगिक तथा यौनिक अभिमुखिकरणको आधारमा भेदभाव गर्न नहुने विचार यो अभियानले बोकेको छ जुन फेमिनिज्मको पनि मुख्य आधार हो । उदावादी पुरूष अभियानले महिलाले अधिकार माग्ने र पुरूषले दिने भन्ने सोचबाट नभई हरेक मानिस बराबर भएका कारण अवसर, शक्ति, सीपमा समान अधिकार हुन्छ भन्ने सोच राख्दछ । उदाहरणका लागि यो अभियानले शक्तिमा अवसरका कारण पछाडि रहेकोले महिलालाई कोटा प्रणालीबाटै भए पनि अवसर, सीप र शक्तिमा ल्याईनुपर्ने विचार राख्दछ ।

जसरी महिलाको अधिकारको आन्दोलन अघि बढ्यो सँगसँगै पुरूषहरूका पनि यी दुई अभियानहरू अघि बढ्दै गए । हामीले आजको दिनमा खासगरी पश्चिमा मुलुकहरूमा यी दुवै धारका प्रशस्त संस्था तथा अभियानहरू देख्न सक्छौं । भारतमै पनि पुरूष अधिकार अभियानका कार्यहरू भएगरेका देखिन्छन् । नेपालमा संस्थागत रूपमा नआए पनि विचार, लेख, कुराकानी, हाम्रा संस्थागत सोच र संकीर्णता आदिले दैनिक व्यवहारमा पुरूष अधिकार अभियानको भाव प्रशस्त भएको पाउन तपाई हामीलाई गाह्रो छैन । पुरूष अधिकारसम्बन्धी यी दुई अभियानहरूको संघर्षबाट आएको उपज नै अन्तर्राष्ट्रिय पुरूष दिवस हो ।

के हो ? अन्तर्राष्ट्रिय पुरूष दिवस
पुरूष दिवसको विषयमा ६० को दशकबाटै कुरा उठ्न शुरू गरेको र शुरूवाती ताका यसलाई फेब्रुअरी २३ तारिखको दिनमा मनाउन थालिएको देखिन्छ । तर केही समयपछि यसको निरन्तरता घटे पश्चात् पुनः सन् १९९९ मा ट्रिनिडाडएण्ड टोबागो स्थिति वेस्ट इन्डिज विश्वविद्यालयका इतिहासका प्राध्यापक डा. जेरोम तिलकसिं (Jerome Teelucksingh) ले १९ नोभेम्बरलाई अन्तर्राष्ट्रिय पुरूष दिवसको रूपमा मनाउन शुरू गरे र यसलाई विश्वव्यापी पनि बनाए । दक्षिण एसियाका भारत र पाकिस्तानमा समेत मनाइने यो दिवस नेपालमा भने गतवर्ष सन् २०१८ मा ‘हामी दाजुभाइ’ को सक्रियतामा मनाउन शुरू गरिएको हो । विश्वमा चिन, अमेरिका, अष्ट्रेलिया, वेलायत, सिंगापुरू, दक्षिण अफ्रिका, डेनमार्क, नर्वे, अष्ट्रिया, जिम्बाबे, घाना, वेस्ट इन्डिज, फ्रान्स, इटालीलगायतका मुलुकमा पनि यो दिवस मनाउँदै आइरहेको छ ।

पितृसत्तात्मक समाजमा महिलाले आफूमाथिको हिंसा जन्मपछि मात्र नभएर जन्मनु अघि गर्भबाटै भोग्न शुरू गर्दछ । गर्भमा छोरी भएकै कारण गर्भ नै तुहाउने होस् या छोरी भएकै कारण घरका काम गर्नुपर्ने बाध्यता, दिनानुदिन समाचारमा आइरहने बलात्कार र एसिड आक्रमणका घटना हुन् या विशिष्ट तथा सार्वजनिक पद ओगटेका मानिसहरूबाट महिलामाथि दुव्र्यवहार र हिंसा भए गरेका सूचनाहरू हुन् हाम्रो समाजमा महिला तथा बालिकाहरू लैंगिक असमानताका कारण सामाजिक र संरचनागत रूपमै कमजोर पार्नका निम्ति यथेष्ट प्रयासहरू नीति, मान्यता, संस्कार, धर्मका नाममा भएगरेका छन् । पित्तृसत्ताले पुरूषलाई शक्तिको केन्द्रविन्दुमा राख्दछ तसर्थ लैंगिक समानताका लागि पुरूषहरूको पनि ऐक्यवद्धता र संलग्नताले लैंगिक समानता हासिल गर्ने हाम्रो लक्ष्य चाँडो र सजिलोसँग प्राप्त हुनेछ । लैंगिक असमानताले पुरूषलाई पनि समस्यामा पारेको छ जसबाट उनीहरूले पनि छुटकारा पाउने छन् । यसबारेमा चर्चा र छलफल गर्ने अन्तर्राष्ट्रिय पुरूष दिवस एउटा महत्वपूर्ण अवसर हो । आज पनि तपाई आफ्ना नानीको लागि भने किण्डर ज्वय नामक चकलेट किन्न जानु भयो भने केटा र केटीका लागि छुट्टाछुट्टै पाईन्छ जसमा केटाका निम्ति आर्मी, प्लेन जस्ता खेलौना पाइन्छ भने केटीका लागि पुतली, उनका लुगा जस्ता कुराहरू त्यस चकलेटभित्र हुने गर्दछन् । विश्व चर्चित दाह्री काट्ने मेशिन जिलेटले कसरी हामीहरूले पुरूषको पौरखलाई गलत रूपमा बुझेका छौं भनी एउटा विज्ञापन बनाउँदा यसको विरोधमा कैयन पुरूषहरू उठे । यो लेख लेख्दासम्म उक्त भिडियोलाई लाईक गर्ने ८ लाख छन् भने मननपराउने १५ लाख ।

विश्वमा ५ महिलामध्ये एकले जीवनमा यौन दुव्र्यवहार भोग्ने गर्दछन् भने ३ मध्ये एकले हिंसा । यो एउटा डरलाग्दो तथ्यांक हो । त्यस्तैगरी संसारभर १ करोड २० लाख बालिकाहरूको विवाह १८ वर्ष नपुग्दै हुने गरेको छ । जसको अर्थ प्रतिमिनेट २३ जना र प्रति २ सेकेन्डमा १ जना बालिका दुलही हुने गर्दछिन् । नेपाल आफैं पनि दक्षिण एसियामा बाल विवाह उच्च भएको तेस्रो ठूलो देश हो । एक समाचारमा उल्लेख भए अनुसार नेपाल प्रहरीकै तथ्यांकले अन्दाजी प्रति महिना एक सय ८५ र प्रतिदिन ६ वटा बलात्कारको घटना प्रहरीकोमा दर्ता हन्छ । तर परिवार र समाजको दबाब तथा लाञ्छना, न्याय पाउने अविश्वासका कारण यस्ता घटना या त दर्ता हुँदैनन् या त बीचमै पीडितले छाडिदिन्छन् जसले पीडकको मनोबललाई थप शक्ति प्रदान गर्छ । महिलामाथि हुने यस्ता हिंसामा पुरूषहरूको संलग्नता अत्याधिक हुने गरेको छ । पछिल्लो समयमा नेपालमै पनि समाचारमा आइरहने बलात्कार, एसिड आक्रमण, सार्वजनिक यातायातमा महिलामाथि हुने दुव्र्यवहार र हिंसा जस्ता अपराधमा किशोरहरूको संलग्नता देखिनु आफैमा दुःखद् विषय हो ।

पित्तृसत्ता र पुरूसत्व जस्ता विषयले जसरी महिलालाई गाँजेको छ त्यसै गरी पुरूष र बालकहरू पनि यसका कारण समस्यामा छन् । तसर्थ लैंगिक हिंसा विरूद्ध पुरूषहरूको ऐक्यबद्धता, लैंगिक असमानताका कारण पुरूष र बालकमाथि परेको असर र समाजमा पुरूष र बालकहरूले गरेका सकारात्मक कामहरूको बारेमा चर्चा गर्ने उद्देश्यले तथा नेपाल सरकारले वि.सं. २०७६ लाई ‘लैंगिक हिंसा विरूद्ध अभियान वर्ष’ घोषणा गरेको सन्दर्भमा यस वर्ष ‘महिलामाथि हुने हिंसा अन्त्य गर्न मेरो ऐक्यबद्धता’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय पुरूष दिवस मनाउन लागिएको छ । गत वर्ष ‘यौन दुव्र्यवहारमा बालक पनि पर्दछन्’ भन्ने नाराका साथ पहिलोपटक नेपालमा अन्तर्राष्ट्रिय पुरूष दिवस मनाइएको थियो । जसरी महिला दिवस हाम्रा आमा, दिदी, बहिनीप्रतिको सम्मानको दिवस हो त्यसरी नै पुरूष दिवस हाम्रा जीवनमा देखिएका असल पुरूषहरूप्रतिको सम्मानको दिवस हो । महिला आन्दोलन र महिला अधिकारलाई बेवास्ता गर्ने दिवस पुरूष दिवस हुन सक्दैन न त वास्तविक अर्थमा पुरूष नै हुन सक्दछ । पूर्व प्रधानान्यायधिस कल्याण श्रेष्ठले गतवर्षको पुरूष दिवसको कार्यक्रममा भन्नुभएको थियो, ‘महिलामाथि हिंसा र अन्याय गर्ने मानिस पुरूष हुनै सक्दैन । ती त मात्र अपराधीहरू हुन् ।’
(लेखक अन्तर्राष्ट्रिय पुरूष दिवस २०१९ का राष्ट्रिय संयोजक तथा हामी दाजुभाइ नामक संस्थाका अध्यक्ष हुनुहुन्छ ।)

कर्णालीपत्रबाट साभार गरिएकाे ।





Leave a comment

Your email address will not be published.


*