अब आँसु नबेचौं न प्लिज !

          |   प्रकाशित मितिः आइतवार, मंसिर ८, २०७६     ::: 34 पटक पढिएको   |  

नरेश फुयाँल


गाउँमा एउटा मात्रै रेडियो थियो, नेसनल पानासोनिक ब्रान्डको । त्यो रेडियो थियो, उमेशको घरमा । गाउँभरिका मानिस रेडियो सुन्न उनको घर आउँथे । विहान धार्मिक कार्यक्रम सुरु हुनुअघिबाट बजाउन सुरु गरेको रेडियो राति ८ बजे बन्द हुन्थ्यो । कारण ८ बजे अङ्ग्रेजीमा समाचार आउँथ्यो । त्यो कसैले बुझ्दैनथ्यो । १५ मिनेट बन्द भएर पुनः रेडियो घन्किन्थ्यो । घरको थाममा ठोकेको काँटीमा खोल सिएर त्यसमा झुण्ड्याइएको रेडियो घन्किरहन्थ्यो । उमेश चाख दिएर सुन्थे । 

०४३ सालमा राष्ट्रिय पञ्चायत निर्वाचन भयो । काशीनाथ गौतम (अहिलेकी नेतृ पुष्पा भुसालका बाबु) ले चुनाव जितेका थिए । मरिचमान सिंह श्रेष्ठको मन्त्रिमण्डलमा यातायात मन्त्री भए । विडम्बना उनको निधन भयो । त्यहाँ उप–निर्वाचन हुने भयो । मिति तय भयो । उप–निर्वाचनको केन्द्र अर्घाखाँची भयो । दलहरुले प्रचार सुरु गरे ।

उमेशलाई याद छ, रेडियोले त्यहाँको समाचार खुब दिन्थ्यो । बीबीसीले पनि समाचार कभर गरेको थियो । एक दिन साँझ बीबीसीले विश्लेषण बजायो– काशीनाथ गौतमको ठाउँमा हुन लागेको उपनिर्वाचनमा डा. रामबहादुर बिसीले चुनाव जित्ने लगभग पक्काजस्तै छ । उहाँको पक्षमा जनमत बढी देखिएको छ । खगेन्द्र नेपाली, मणि राणा थिए त्यो विश्लेषण पढ्ने । बीबीसीको त्यो विश्लेषण सुनेपछि अर्को दिनबाट रामबहादुर बिसीबाहेकका उमेदवारले आफ्नो प्रचार गर्नै छाडे ।

सञ्चार माध्यमको एउटा समाचारको यत्रो प्रभाव ? छक्क परे उमेश । दसौं हजार रुपैयाँ खर्चिएर आमसभा गर्नै छोडे अन्य उम्मेदवारले । कति शक्तिशाली हुँदोरहेछ सञ्चारमाध्यम ! मोहित मात्रै बनाएन उमेशलाई अनौठो छाप छोड्यो । 

त्यरपछि रेडियो सुन्ने क्रम झन् बाक्लियो । आज राष्ट्रिय पञ्चायतमा कसले के बोल्यो रेडियोले बजाउँथ्यो । उमेश आफ्नो डायरीमा कसले भन्यो ? नोट गर्थे । राष्ट्रिय पञ्चायतका सदस्यमा पक्ष–विपक्षका बारेमा त उनलाई थाहा हुँदैनथ्यो, तर तिनले उठाएका मुद्दा र गरेका कुराका आधार बुझ्थे । रुपचन्द्र विष्ट, भीमबाहदुर श्रेष्ठ, सोमनाथ प्यासी, पद्मरत्न तुलाधर, नवराज सुवेदी के माग गर्दैछन्, उमेश पर्गेल्थे ।  

०४८ सालको निर्वाचन पनि उनले बिर्सिएका छैनन् । रेडियो नेपालले हरेक आधा घण्टामा मतगणनाको अपडेट दिन्थ्यो । उमेश विहान ४ बजेसम्म बसेर अपडेट सुन्थे । रेडियो खास साथी थियो उमेशको ।  

० ० ०

सन्धीखर्कमा पाणिनि क्याम्पस भर्खर खुलेको थियो । त्यही  क्याम्पसमा पढ्ने औधि रहर थियो उनलाई । एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्ण भए । छरछिमेकीका छोराछोरी कोही पनि प्रथम श्रेणीमा पास भएनन् । छिमेकीले उमेशका बाबुलाई मनोवैज्ञानिक दबाब दिए, ‘‘फस्ट डिभिजनमा पास भएको छोरालाई अर्घाखाँचीमा पढाउने ? हुँदैन, बुटवल पठाएर साइन्स पढाउनुपर्छ ।’’ 

सामाजिक परिवेशले उमेशलाई बुटवल पठायो । साइन्स पढ्न थाले । अचम्म ! 

कस्तो ?

पाँच वटा कक्षामा शिक्षक ४५/४५ मिनेट पढाएर गए । तर अङ्ग्रेजी शिक्षकले पढाएको बाहेक केही बुझेनन् उमेशले ।  पहिलो दिन नै उनले थाहा पाए, साइन्स आफ्ना लागि हैन । 

तर पनि उनी पछि हटेनन् । सङ्घर्ष सुरु भयो । दिनको १८ घण्टासम्म पढे । फाइनल परीक्षाको समय आयो । पहिलो दिन केमिस्ट्रीको जाँच थियो । प्रश्नपत्र हात पर्‍यो । लेख्न थाले । १५ मिनेटमै उनले सोचे– ‘यो मैले पार लगाउने विषय हैन ।’ बाँकी चारवटा परीक्षा दिनु–नदिनुको अर्थ छैन । त्यही परीक्षा हलमा बसेर उनले आफूले भविष्यमा के गर्न सक्छु भन्नेबारे योजना बनाउन थाले । 

एक वर्ष ढिलो भयो । मानविकीमा भर्ना भए । तर उनले घरमा साइन्स पढ्न छोडेँ भनेनन्, किनकि उनले साइन्स पढ्नु त्यो समुदायका लागि नै गौरवको विषय बनिसकेको थियो । 

दुई वर्ष वित्यो । आईएस्सी सकियो भनेर उनी काठमाडौं आए । तर उनी सेन्टर परिवर्तन गरेर आईए दोस्रो वर्षको परीक्षा दिन काठमाडौं आएका थिए । 

समाजले साइन्सतिर मोडिदिएको यात्रालाई उनले मानविकीतिर ढल्काए । अङ्ग्रेजी, राजनीतिशास्त्रको दर्शन र इतिहासमा तिथिमिति कण्ठ गर्न थाले ।

० ० ०

रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर)मा पढाइ थियो । क्षेत्रपाटीमा कोठा थियो । रत्नपार्क हुँदै कलेज–कोठा गर्थे उमेश । रत्नपार्कमा सडकमा फिँजाएर पत्रिका बेच्ने राख्थे । क्याम्पस आउँदा हरेक दिन उनी पत्रिकाको पहिलो पृष्ठ पढ्थे । पत्रपत्रिकाको भीडमा उनी देख्थे, ‘जनधारणा’ साप्ताहिक । उमेशलाई लाग्थ्यो समकालीन पत्रिकामध्ये ‘जनधारणा’ नयाँ छ ।

उमेशलाई लाग्यो– ‘यो पत्रिकामा काम गर्ने मान्छे धेरै छन् जस्तो छैन । लेखेर पठायो भने यसमा पक्कै छापिन्छ ।’ अलि स्वार्थी भएर सोचे उमेशले । त्यसलाई उनको चतुर्‍याइँ भन्न पनि मिल्ला । 

‘भिजिट नेपाल–१९९८’ चलिरहेको थियो । त्यही बेला मनाङमा ट्रेकिङमा गएका जर्मन महिलामाथि दुव्र्यवहार भएको थियो । नाम्चे गएका पर्यटकबाट बढी पैसा असुल गरेको भन्दै पर्यटक र होटल साहुबीच झगडाको समाचार आएको थियो । ती र त्यस्तै घटना समावेश गरेर उमेशले आर्टिकल लेखे । यस्तो अवस्थामा भिजिट नेपाल कसरी सफल हुन्छ ? निष्कर्ष थियो । लेख बोकेर ‘जनधारणा’मा गए ।

‘जनधारणा’का नीमकान्त पाण्डेले भने, “तपाईंले त बडो राम्रो फिचर लेख्नुभएछ ।” लेख भनेर लिएर गएका उमेशलाई सम्पादक त फिचर पो भयो भन्छन् ! “फिचर लेख्ने त पत्रकारले हो, तपाईं पत्रकारिता गर्नुस्,” सम्पादकले भने । 

सम्पादक: अरु पनि फिचर लेख्नूस् । 

उमेशले लेखे । 

सम्पादक: हार्ड न्युज लेख्नुस् । 

त्यो पनि लेखे । 

सम्पादक: यहीँ आएर काम गर्नुस् । 

ठीकै त हो । काम गर्न थाले उमेश । दुई साता ट्रायलमा काम गरेपछि सम्पादकले भने, “अफिसियल्ली यहीँ काम गर्नुस् ।”

०५३ सालबाट उमेश पत्रिकामा काम गर्न थाले । 

लेख भनेर लेखेको, तर फिचर भएको सामग्री बाइलाइनमै छापियो । त्यो दिनको उत्साह सुनाउँदा आज पनि उमेशको अनुहारमा खुसीको तरङ्ग उसैगरी झल्कन्छ । फिचर छापिएको त्यो अङ्कले कति खुसी दिएको थियो ? उमेशले त्यो अङ्क हुलाकबाट घर पठाए, दाइ र बुवाका नाममा । वडाध्यक्ष र सदस्यहरुका नाममा पनि पठाए । विद्यालयका शिक्षक र शिक्षिकाका नाममा पनि । र, गाउँका पढेलेखेका टाढाबाठाहरुका नाममा पनि । 

० ० ०

‘जनधारणा’मा काम गरेको एक महिना भएको थियो । सम्पादकले भने, “माधवकुमार नेपालको अन्तरवार्ता लिनुस् ।”

तत्कालीन नेकपा एमालेका शक्तिशाली महासचिव थिए, माधव । सम्पादकले केही प्रश्न दिए । उमेश स्वयम्लाई पनि धेरै जानकारी थियो ।

उमेश पार्टी मुख्यालय बल्खु पुगे । स्थायी कमिटी वैठक चलिरहेको रहेछ । माधवका सेक्रेटरी यादव शर्माले भने, “बैठक चलिरहेको छ, एक छिन बस्नोस् है ।”

आधा घण्टा, एक घण्टा, डेढ घण्टा हुँदै दुई घण्टा बित्यो । तर साढे दुई घण्टापछि बल्ल माधव निस्किए ।

“तपाईं अझै बसिरहनुभएको छ ? कतिबेला आउनुभएको भन्दै मेरा दुईहात समाएर भन्नुभयो– म त मिटिङमा भएँ । सरी है । आजचाहिँ अन्तरवार्ता भ्याइएन । अर्को पनि मिटिङ छ, अर्को दिन गरौं है, फोन गर्नुस्,” माधवले भने । 

अन्तरवार्ता त लिन पाएनन् उमेशले । तर एमाले महासचिव जस्तो शक्तिशाली व्यक्तिले उनलाई रेस्पोन्स गरे, हात मिलाए । सरी भने । र, फेरि भेटौंला है पनि भने । अढाइ घण्टा पर्खिंदाको पट्यारले उनलाई विचलित बनाएन । झन् उत्साह पो थप्यो । उनलाई लाग्यो पत्रकारिता पो रहेछ गर्ने काम त ! उनले पत्रकारिताको शक्ति र ग्ल्यामरको स्वाद चाखे । त्यसले अमिट छाप पार्‍यो उनमा ।

सम्पादकले उनको वर्गीकरण गरे, उमेशले दरिलो प्रश्न गर्न सक्छ, परिणाम अन्तरवार्ता राम्रो हुन्छ । दृष्टिकोण दिन सक्छ, फलतः विचार राम्रो हुन्छ । त्यसपछि उनले समाचरभन्दा पनि अन्तरवार्ता धेरै लिन थाले । समाचारमा भन्दा धेरै बाइलाइन अन्तरवार्तामा आउँथ्यो उनको ।

सुशील कोइरालाको अन्तरवार्ता पनि बिर्सिएका छैनन् उमेशले । महाराजगञ्ज निवासमा अन्तरवार्ता लिन गएका थिए । पार्टी महामन्त्री रहेका सुशील एउटा प्रश्नमा झोक्किएर भने– कस्तो कुरा गर्नुहुन्छ तपाईं ? काङ्ग्रेस भनेको ऊ हो र कम्युनिस्ट भनेको त ऊ हो त, काङ्ग्रेस त ऊ हो नि । 

कमनसेन्स लाएर उमेशले सुशीलले भनेको ‘ऊ’ को अर्थ लगाएर अन्तरवार्ता तयार पारे । 

अर्को दरिलो अन्तरवार्ता पनि सम्झिए उमेशले । अन्तरवार्ता थियो– अर्थ मन्त्रालयका तत्कालीन सहसचिव लोकमान सिंह कार्कीको । राजस्व अनुसन्धान विभाग हुँदै उनी भन्सारबाट भर्खरै अर्थ मन्त्रालय पुगेका थिए । लोकमान राजस्व र भन्सारमा हुँदा निकै धेरै विवाद आएका थिए । राजस्व र भन्सारको कुरा उठाए । सुन काण्डको कुरा गरे । उनका कमजोरी र ढिटपनमा  प्रश्न गरे । उमेशले लोकमानलाई र्‍याखर्‍याख्ती पारे । तर पनि लोकमान सुशील कोइरालाजस्तो झेक्किएनन् । “ओहो भाइ तपाईं यत्रो तयारी गरेर आउनुभएको रहेछ,” भन्दै अन्तर्वार्ता सकिएपछि उनले गला मिलाए । “तर उहाँ ठूलो ज्यानको मान्छे, उहाँले गला मिलाउँदा मेरो सास नै थुनिएलाजस्तो भयो,” उमेश हाँस्दै सुनाउँछन् ।

० ० ०

०५३ सालमा काम गर्दा उमेशको तलब १५ सय थियो । खान, लगाउन र काठमाडौंमा डेरा भाडा तिर्न मज्जाले पुग्थ्यो । हरेक पटक ५ सय रुपैयाँका दरले उनको तलब बढ्दै गयो । काम गर्दै, पढ्दै गरेको कलेजका साथीहरु थाहा पाउँथे । साथीहरु उनीसँग पैसा सापटी माग्थे । राष्ट्रिय वाणिज्य बैक भोटाहिटीमा खाता थियो । उनी त्यो बेला साथीहरुलाई दुई सय÷तीन सयको चेक काटेर दिन्थे । “त्यसयता मैले धेरै ठाउँमा काम गरेँ, तलब पनि हजार गुणा बढ्यो । तर कसैले माग्दा चेक काटेर पैसा दिने अवस्थामा म पुगिनँ,” उमेश सुनाउँछन् । 

१५ सयबाट सुरु भएको तलब ३५ सय पुगेको थियो । तर ०५६ सालमा उनलाई रेडियो ग्ल्यामरले तान्यो । रेडियो नेपालमा बोल्ने अवसर आयो । रेडियोमा बोल्दा सीधै आवाज गाउँ पुग्ने हुँदा हुलाकबाट पत्रिका पठाउने झञ्झट पनि हट्ने । 

युनिुसेफको कार्यक्रम थियो, सचेतना र स्वास्थ्यसम्बन्धी । पत्रिकामा काम गरेर स्क्रिप्ट लेख्न सक्ने भइसकेका थिए । युनिसेफका नेपाल निर्देशक नमस्तेलाल श्रेष्ठले अफर गरेका थिए । उमेश पत्रिका छोडेर रेडियोमा बोल्न थाले । सातामा जम्मा एक दिन आउँथ्यो कार्यक्रम, त्यो पनि १५ मिनेटको । त्यसमा पनि तीन जना बोल्थे । तर पनि गाउँमा उमेशलाई खुब नोटिस गरेका रहेछन् । ०५६ को दसैंमा घर जाँदा पो उनले चाल पाए । यो त रेडियोमा बोल्ने मान्छे भनेर वातावरण नै छुट्टै बन्यो । त्यो दुलर्भ क्षण आजसम्म पनि मेटिएको छैन उमेशको सम्झनाको तरेलीबाट । 

युनिसेफमा काम गर्दा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रिपोर्टिङका लागि गए उनी । गाउँगाउँ घुमे । सुर्खेतको घुमखहरेमा पुगेको घटना भने उनले बिर्सिएका छैनन् । ठूलो प्रोजेक्ट छ, त्यसको सक्सेस रिपोर्टिङ गर्नुप¥यो भनेर उनलाई पठाइएको थियो । घुमखहरे पुगेर उमेशले उपभोक्ता समितिको अध्यक्षलाई भेटे । शौचालय बनाउन युनिसेफ र सरकारले सहयोग गरेका रहेछन् । उनले सोधे– सरकार र युनिसेफले तपाईंहरुलाई सहयोग गरेका छन् ?
उत्तर आयो– ‘९ वटा वडामध्ये हरेक वडामा एकजना उत्कृष्ट नमूना उपभोक्ता छानेर उसलाई ५ सय रुपैयाँ दिइएको छ ।’

उमेशले हिसाब गरे । एउटा गाविसमा जनताले पाएको सहयोग रकम केवल ४५ सय रुपैयाँ ! 

उमेशले भने, “म यहाँ आउँदा १० हजारभन्दा धेरै खर्च भएको छ त !”

ती अध्यक्षले भने, “तपाईं त ११ औं टोली हो नि । तपाईं त अझ गाडीबाट आउनुभएछ, अरु त प्लेनबाट आउँछन् । सुरुमा कहाँ योजना पार्ने भनेर नेपालगञ्ज आउँछन् । त्यसपछि यो गाउँ छान्ने भनेर हेर्न आउँछन् । त्यसपछि उपभोक्ता समितिको गठन, परिचालन, सचेतना, काम सुरु, प्रगति विवरण, हस्तान्तरण, प्रयोग, अनुगमन गरेर ११ पटकमा तपाईं आउनुभयो ।” 

११ औं टोली जाँदा लाखौं रुपैयाँ खर्च हुन्छ, तर जनताले जम्मा पाउने ४५ सय रुपैयाँ ! त्यसरी बनाएका शौचालयमा स्थानीय जाडोमा त्यहीँ भित्र लुकेर तास खेल्थे, कति त छानोमा दुई जना बसेर घाम ताप्दै तास खेल्थे । कतिले शौचालयभित्र घाँसदाउरा राख्थे भने कतिले बाख्रा बाँध्थे । 

उमेशलाई लाग्यो, ‘यसरी हिँड्ने हैन रहेछ । यस्ता कुरालाई प्रोमोट गर्नु हुँदैन ।’

४५ सय रुपैयाँ जनताका हातमा पु¥याएर त्यसका लागि लाखौं रुपैयाँ आफूले खाने, तर गाउँगाउँका जनतामा व्यापक परिवर्तन आएको छ भनेर हाकिमको अन्तरवार्ता लिनुभन्दा जागिर नै छाड्ने निर्णय गरे उनले ।

० ० ०

एनजीओ र आईएनजीओका गाउँलक्षित कार्यक्रम र तिनको प्रभाव तथा अवस्थालाई लिएर उमेशले एउटा फिचर लेखे । छपाउन ‘स्पेसटाइम’ दैनिक लिएर गए । जीवेन्द्र सिंखडा सम्पादक थिए । उनको त्यो फिचर ‘स्पेसटाइम’को फ्रन्ट पेजमा छापियो । उमेश आज पनि आश्चर्यचकित हुन्छन् र कृतज्ञ सुनिन्छन् । “आज म नयाँ पत्रिकाको सम्पादक छु । यो जिम्मेवारी सम्हालेका यत्तिका वर्ष भयो, तर स्टाफबाहेक कुनै एक जना व्यक्तिको पनि फिचर पहिलो पृष्ठमा छाप्न सकेको छैन । र, सक्तिनँ पनि । तर जीवेन्द्र दाइले त्यो बेला नै त्यस्तो आँट गर्नुभयो ।” 

त्यहीबेला जीवेन्द्रले भनेको उमेशले सम्झिए, “भाइ म यो पत्रिका छोड्न लागेको छु । यो फिचरका कारण तिमीलाई सम्झिन्छु, म जहाँ जान्छु तिमीलाई पनि त्यहाँ बोलाउँछु ।” 

०५८ मा जीवेन्द्र ‘राजधानी’ दैनिक गए । उमेशलाई पनि बोलाए । उप–सम्पादकको जिम्मेवारी दिए । डेस्कमा काम गर्थे उमेश । खेलकुदबाहेक सबै पृष्ठमा काम गरे उनले त्यहाँ । 

अन्तरराष्ट्रिय पृष्ठमा पनि काम गरे । राससबाट अन्तरराष्ट्रिय समाचार समितिका सयौं समाचार आउँथे । त्यसबाट भोलिका सम्भावित समाचार छानेर अनुवाद गर्थे । र, आफूलाई महत्वपूर्ण लागेका समाचार सेटअपका लागि पठाउँथे । ‘राजधानी’ त्यो बेला चलेको एक दैनिक पत्रिकासँग टक्कर लिइरहेको थियो । जसलाई ‘राजधानी’ले आफ्नो प्रतिस्पर्धी पत्रिका ठान्थ्यो, त्योसँग अक्सर कहिलेकाहीँ उनले छानेका समाचार र त्यसको हेडलाइन मिल्थ्यो । उमेश भन्छन्, “त्यसरी समाचार र हेडलाइन मिलेको दिन अरु दिनभन्दा दुई गाँस बढी भात रुच्थ्यो । यो अवसर कहिलेकाहीँ प्रथम पृष्ठमा पनि आउँथ्यो ।”

सम्पादक बिदा बसेका बेला प्रथम पृष्ठ पनि हेर्ने अवसर पाउँथे । समाचारको हेडलाइन राख्ने मौका पाउँथे । कहिलेकाहीँ त प्रतिस्पर्धी पत्रिकाले राखेको समाचार, हेडलाइन मात्रै होइन प्लेसमेन्ट पनि मिल्थ्यो । त्यस दिन प्राप्त सन्तुष्टि सम्झिँदा लाग्छ, उमेश आज त्यही दिनमा फर्किएका छन् ।  

काम राम्रो लागेछ सम्पादकलाई, ६ महिनामा उमेशलाई नाइट डेस्कमा ताने । 

० ० ०

कृष्णज्वाला देवकोटा राजधानीमा जाँदा सुरुमै फिचर ब्युरोको प्रमुख भएर गए । वर्षौं पत्रकारिताको अनुभव सँगालेकाहरुको पनि हाकिम भएर गएका थिए, कृष्णज्वाला । 

कारण उनले यस्तो ‘डमी’ प्रस्तुत गरेका थिए, त्यसबाट सम्पादक प्रभावित भएका थिए । त्यो भिजन उमेशलाई  पनि मन परेको थियो । 

० ० ०

रामप्रसाद पुडासैनीले समाचार लेखेर ल्याए । समाचार एमाले नेता भरतमोहन अधिकारीले बेलायतकी महारानीले आम्दानीको ट्याक्स तिर्छिन्, नेपालको राजपरिवारले तिर्दा कसो होला, यसमा बहस हुनुपर्छ भन्ने थियो । 

सम्पादकको बिदा भएकाले नाइट डेस्कको प्रमुखका हैसियतले कुशुम भट्टराईको नेतृत्वमा छापियो । त्यसमा उमेशको पनि भूमिका थियो । बिहान १० बजे उमेशलाई फोन आयो । साथीहरुले भने, “तुरुन्त आइज । खाना नखाई आए पनि हुन्छ ।” 

किन ?

व्यवस्थापनले रामप्रसाद पुडासैनीलाई समाचार लेखेकै भरमा ‘फायर’ गर्‍यो । भेला भएर एउटा रणनीति बनाउनुपर्छ । रिपोर्टरको कारबाही फुकुवा हुनुपर्छ नभए राजीनामा दिने सल्लाह भयो । २८ जनाले सामूहिक राजीनामा दिए । २८ जनाले राजीनामा दिएपछि व्यवस्थापनले बोलाउँछ र वार्ताबाट समस्याको समाधान हुन्छ भन्ने आशा थियो । वार्ताको तयारी भैरहेका बेला व्यवस्थापनका एक व्यक्तिले बाहिर निस्किएर भने, “केको हल्ला गरिरहेको, राजीनामा दिने को–को हो बाहिर जाओ ।”

वार्तामा बोलाउलान् भनेको त जागिर पो गयो । ०६० सालको प्रसङ्ग सुनाउँछन् उनी । 

“दैनिक पत्रिकामा स्पेस पाउनु नै ठूलो कुरा थियो । हरेक ६ महिनामा नियुक्ति नवीकरण गर्ने चलन थियो । पुस मसान्त र असार मसान्तमा थरथर काम्दै अफिस जान्थे पत्रकारहरु । आज मलाई प्रशासनले बोलाउँछ कि बोलाउँदैन भन्ने हुन्थ्यो,” उमेशले राजधानीमा काम गर्दाको अनुभव सुनाए, “जसजसलाई बोलाएर नियुक्ति पत्र दिन्छ, त्यो काम गर्ने, जसलाई दिँदैन ऊ घर फर्किने भन्ने थियो । त्यस्तो दुर्लभ जागिर एकै पटक गयो ।” काम सुरु गरेको दुई वर्षमा उमेश घर गए ।  

० ० ०

दैनिक पत्रिकामा काम पाउनु नै ठूलो कुरा थियो । बल्लबल्ल सम्पर्क र सम्बन्ध विस्तार हुँदै गएको थियो । उमेशको एक्सपोजर नै टुट्यो । 

गर्ने के ? अन्योल भयो । 

साथीको कन्सल्टेन्सी थियो । उमेश ०६१ मा चाइना गए । मिडिया स्टडिज अध्ययन गरे । चीनमा उनले निकै धेरै सम्मान पाए । नेपालप्रति चिनियाँ नागरिकमा निकै कम जानकारी हुने गरेको उनले थाहा पाए । यतिसम्म कि नेपाल उनीहरुको छिमेकी राष्ट्र हो भन्ने पनि धेरैलाई थाहा छैन । “नेपाल इज इन अफ्रिकन कन्ट्री ? भनेर मलाई रेलमा कयौं पटक उनीहरुले सोधेका छन्,” उमेश भन्छन्, “न त्यहाँका नागरिकलाई थाहा छ, न सरकार र सत्तालाई नै नेपालबारे चासो छ । भारतले हामीलाई ब्लक गर्‍यो भने चाइना छ भन्नु आत्मरति मात्रै हो । १४ वटा देशसँग सीमा जोडिएको छ, उनीहरुलाई के मतलव ?’’ उनी भन्छन् । तर अब्रोड स्टडीका लागि आएको भनेपछि चिनियाँहरु उनलाई ‘रेस्पेक्ट’ गर्थे । आफ्नै दाइभाइलाई जस्तो सम्मान गर्थे । घर लैजान्थे । खाना खुवाउँथे । कुराकानी गर्न रुचाउँथे । बाँकी विश्वसँग धेरै घुलमिल हुन नपाएकाले नजिकिन रुचाउनु उनीहरुको विशेषताजस्तै लाग्यो उमेशलाई । 

“सम्मानका हिसाबले चाइना बसाइ मेरो जिन्दगीको गोल्डेन पिरियड हो,” उमेश भन्छन् । चाइनिजसँग उनको सम्बन्ध राम्रो भयो । त्यहाँका विभिन्न सङ्घसंस्थामा आबद्ध भए । नेपालमा छँदा पत्रकारिता गर्दा ग्लोबल पोलिटिक्सबारे राम्रो जानकारी राखेकाले युनिभर्सिटीको प्रोफेसरहरु पनि उनलाई रुचाउँथे । कलेजका कक्षाको संयोजक भए, होस्टलमा लिडर । त्यसले पनि उनलाई चिनियाँ साथीहरु उनलाई सम्मानको नजरले हेर्थे । 

ठीक त्यही बेला नेपालमा ०६२/६३को आन्दोलन सुरु भयो । टेलिभिजनमा आन्दोलनका फुटेजहरु प्रशारण हुन थाले । त्यसपछि बल्ल नेपाल र काठमाडौं भन्ने चिनियाँहरुले थाहा पाउन थाले । “यही हो नेपाल, यही हो च्यातम्यान्डू ? के देखाइरहेछ, तिम्रो घर त्यहीँ हो भन्थे,” उनीहरु उमेशलाई प्रश्न गर्थे ।  

“नेपाललाई चाइनिजहरुले चिनेको तीन पटक हो राम्रोसँग । एक, ०६२/६३को आन्दोलनमा । दुई, ०७२ वैशाख १२ को भूकम्पमा । तीन, सी चिनफिङ नेपाल आउँदा । बाँकी त हाम्रो आत्मरति मात्रै हो । वास्तविकता हामीले स्वीकार्नुपर्छ,” उमेश भन्छन् ।

देशमा ०६२/६३ को आन्दोलन भइरहेको थियो । परिवर्तन भइरहेको थियो । त्यसले उमेशलाई रोमाञ्चित बनाउँथ्यो । परिवर्तनका लागि त्यत्रो आन्दोलन हुँदा पनि मचाहिँ विदेशमा छु भन्ने लाग्थ्यो । 

‘देशमा ठूलो आन्दोलन भइरहेको छ, नयाँ नेपाल बनिरहेको छ, मचाहिँ कसरी विदेशमा बस्नु ?’ मन मानेन । छटपटी भयो । त्यहीँ उनी भविष्य पनि खोज्न सक्थे । तर अन्दोलन सकिनेबित्तिकै उनी काठमाडौंको प्लेन चढे । काठमाडौं उस्तै थियो, नेपाल पनि उस्तै थियो । व्यक्ति करिबकरिब उही थिए । मात्रै व्यवस्था परिवर्तन भएको थियो । राजा फालिएका थिए । बाँकी शासक उही थिए । आमजनताको दैनिकीमा परिवर्तनको असर परेको थिएन । 

उमेश चाइनामा छँदा कृष्णज्वाला देवकोटा बेलायत गएका थिए । युरोपको ‘नेपाली पत्र’ प्रकाशन गरिरहेका थिए । याहु च्याटमा कुरा हुन्थ्यो । काठमाडौंबाट सुधीर शर्मा र प्रतीक प्रधान, सरोजराज अधिकारीले सहयोग गरिरहेका थिए । चीनबाट उमेश ग्लोबल पोलिटिक्स लेखेर पठाउँथे । 

० ० ०

नेपाल फर्किंदा के गर्ने ? उमेशसँग कुनै ठोस खाका थिएन । तर कृष्णज्वाला युरोपबाट भिजनसहित फर्किएका रहेछन् । एक दिन कृष्णज्वालाले उमेशलाई बानेश्वर पानीघैंटो तल रहेको रेस्टुराँमा बोलाएर चिकेन रोल खाँदै भने, “दैनिक पत्रिका प्रकाशन गर्नुपर्छ । सँगै काम गर्नुपर्छ ।” 

त्यसअगाडि उमेशले पर्वेज मुसर्रफको बायोग्राफी ‘इन द लाइन अफ फायर’को अनुवाद गरे । सद्दाम हुसेनलाई फाँसी दिइयो । सद्दामबारे इन्टरनेटमा छरिएका सामग्री सङ्कलन गरेर उमेशले लेखे, ‘सत्तादेखि फाँसीसम्म’ । 

इस्लामाबादमा बम विस्फोट भयो । बेनजिर भुट्टोको हत्या भयो । साउथ एसियाको पोलिटिक्समा पावरफुल लिडर जुल्फिकर भुट्टोकी छोरी बेनजिर भुट्टोको पुस्तक लेखे । यी पुस्तकले उमेशलाई आर्थिक उपार्जन त भयो नै सँगै विश्व राजनीति बुझ्न सहयोग पनि गर्‍यो । 

तर पनि पत्रकारिताको ग्ल्यामरको स्वाद लिइसकेका उमेशलाई पत्रकारितामा कृष्णज्वालाले गरेको अफर सही समयमा आएको थियो । पत्रिकाको नाम थियो, ‘नयाँ पत्रिका’ ।

डे–वानबाटै प्रथम पृष्ठको जिम्मेवारी थियो डेस्कमा उमेशलाई । 

चीनमा मिडिया स्टडी पढेका उनले त्यहाँ इलेक्ट्रोनिक मिडिया पढेका थिए । त्यसमा काम गर्ने उनलाई रहर थियो । त्यही बेला ‘सगरमाथा’ टेलिभिजन प्रशारण हुने तयारीमा थियो । त्यसैले कृष्णज्वालालाई उमेशले भनेका थिए, “मलाई टीभीमा काम गर्ने रहर छ ।”

कृष्णज्वालाले भने, “टिभीमा पनि काम गर्नुस्, तर पत्रिकाको एउटा मेन न्युज हेर्दिनुस् ।” 

त्यसै गरे उमेशले । ‘सगरमाथा’मा न्युज डेस्क चिफ भएर काम गरे । दिनभरि ‘सगरमाथा’मा बसेर साँझ ‘नयाँ पत्रिका’ जान्थे । तर यो क्रम तीन महिनामात्रै चल्यो । त्यसपछि पूर्णकालीन रुपमा ‘नयाँ पत्रिका’मा काम गर्न थाले । 

तीन महिनामा पूर्णकालीन भएपछि उनको जिम्मेवारी थियो, समाचार सम्पादकको । चार वर्षपछि कार्यकारी सम्पादक भएका उमेश एक वर्षअघिदेखि सम्पादकको जिम्मेवारीमा छन् । 

० ० ०

‘नयाँ पत्रिका’ले फरक एङ्गलको समाचारका लागि ख्याति कमाएको छ । त्यसको समाचार कक्षको नेतृत्व उमेशले गरेको एक दशक भइसक्यो । 

फरक एङ्गल कसरी खोज्ने ? 

तत्कालीन समयमा पत्रिका समाजको संस्कृति नै भइसकेका थिए । त्यसैले अरुभन्दा फरक गर्नुको विकल्प थिएन । “हुबहु समाचार दिएर हामीलाई पढ्छन् भनेर हामीलाई डे–वानमा मात्रै होइन, आज पनि विश्वास छैन,” उनी भन्छन् फरक गर्नुपर्छ भन्ने दबाब भयो । त्यो दबाबले सिर्जनाशीलता बढायो । कुनै घटना भएपछि त्यसको फरक कोण फुर्न थाल्यो । “फरक एङ्गल के हुनसक्छ भनेर हामीले एक्सपरिमेन्ट गर्न थाल्यौं,” उनी भन्छन्, “आजभन्दा ५ वर्षअगाडि हामीले उत्साही भएर योचाहिँ गज्जब एङ्गल भनेर गरेका समाचार आज हेर्दा फिनिसिङ राम्रो भएन भन्ने लाग्छ ।” 

हामी अलग हुनुपर्छ भन्ने ओरेन्टेसन भयो । ‘कान्तिपुर’, ‘नागरिक’ त छँदैछ, त्यो त पढिहाल्छन् नि । हामीलाई किन पढ्ने पाठकले ? नयाँ पत्रिकामा केही फरक आउँछ र त्यसकै लागि नयाँ पत्रिका पढ्नुपर्छ भन्ने हाम्रो ओरेन्टेसन हो । यो ओरेन्टेसन यसरी आयो, उमेशकै शब्दमा– ‘हामीले त्यो बेला प्रतिस्पर्धी ठानेको पत्रिकासँग हाम्रो समाचारको शीर्षक कहिलेकाहीँ महिना–दुई महिनामा मिल्छ, त्यो दिन दुई गाँस भात कम रुच्छ । कारण, हामीले जस्तो त अरुले पनि सोच्दो रहेछन् । हामी के फरक भयौं त ?’   

प्रसङ्ग जोड्दै उमेश अलिकति अगाडि फर्किएर ‘राजधानी’ दैनिकको समाचार कक्षभित्र छिरे र कृष्णज्वालालाई सम्झिए ।

“कृष्ण दाइ फरक भिजन लिएर आउनुभएको थियो राजधानीमा, त्यसैले ८/१० वर्ष काम गरिसकेका पत्रकारको हाकिम भएर आउनुभएको थियो । जब कि उहाँभन्दा लामो अनुभव बटुलेका पत्रकार पनि उहाँको अन्डरमा बस्नुपरेको थियो,” उमेश भन्छन्, “उहाँको ओरेन्टेसनले हामीलाई केही सिकायो । हामी आफैं पनि विस्तारै सिक्दै आयौं ।”

० ० ०

‘नयाँ पत्रिका’ सुरु भएको भर्खरभर्खर थियो । कास्की जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारीको घर काठमाडौं थियो । उनको करेसाबारी रहेछ । उनले कास्कीबाट गोबर मल सरकारी गाडीमा हालेर काठमाडौं ल्याउँदा रहेछन् । नयाँ पत्रिकाले थाहा पायो । तस्बिरसहित समाचार प्रकाशन गर्‍यो । बहालवाला मन्त्रीदेखि पूर्वमन्त्रीसम्मले फोन गरेर भने, “यस्तो पनि समाचार हुन्छ ? कस्तो समाचार हो यो ?”

उमेश भन्छन्, “करोडौं भ्रष्टाचारको मात्रै समाचार होइन । सोचाइ र विचलन पनि समाचार हो भनेर नेताहरुले बुझेको खोइ ?”

“गाडी दुर्घटना हुन्छ । यात्रुको ज्यान जान्छ । हामी ज्यान गुमाएका यात्रुकी श्रीमती र आमालाई प्रश्न गर्छौं– कस्तो लागिरहेको छ ? हिँड्ने बेलामा के भन्नुभएको थियो ? आँसु र संवेदनालाई कहिलेसम्म बेच्ने ?” उमेश टिप्पणी गर्छन्, “त्यो गाडी क्षमता कति हो ? कति यात्रु चढेका थिए । गाडीले धुवाँ फालेको थियो कि नयाँ नै थियो ? ट्राफिक प्रहरीले बाटोमा जाँच गरेको थियो कि थिएन ? खै खोजेको ? हेलिकप्टर दुर्घटनामा दुई जनाको ज्यान जाँदा छिनमै उद्दारका लागि हेलिकप्टर पठाउने राज्य ५० औं जनाले एउटै गाडी दुर्घटनामा ज्यान गुमाउँदा घण्टौंसम्म एम्बुलेन्स पनि किन पठाउँदैन, यी विषय खोज्ने कि आँसु नै बेचिरहने ?” बाह्रखरी बाट साभार ।





Leave a comment

Your email address will not be published.


*