कालगौडा कुसापानी सडकको सार्वजनिक सुनुवाई

          |   प्रकाशित मितिः बुधबार, मंसिर ११, २०७६     ::: 48 पटक पढिएको   |  

भैरबी गाउँपालिकामा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागिहरु ।

दैलेख मंसिर ११ ।
जिल्लाको भैरबी गाउँपालिकाले कालगौडा कुसापानी हुँदै भाटीचौर गावुगौडा सडक स्तरोन्ती योजनाको सार्वजनिक सुनुवाई गरेको छ । कर्णाली प्रदेश सरकार र भैरबी गाउँपालिकाको साझेदारीमा सञ्चालित उक्त योजनाको सार्वजनिक सुनुवाई गरिएको हो । स्थानीय नागरिकहरुको उपस्थितीमा भाटिचौरमा गाउँपालिकाले सार्वजनिक सुनुवाई गरेको छ । सार्वजनिक सुनुवाईमा जवाफदेहिवक्ताको रुपमा गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी विष्ट, प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद देवकोटा, इन्जिनियर हीरासिंह थापा लगाएत थिए ।
धमाका दैनिकका सम्पादक विष्णु शर्माले सहजिकरण गरेको सार्वजनिक सुनुवाईमा गाउँपालिकाका इन्जिनियर हीरासिंह थापाले योजनाको लागत, ठेक्का सम्झौता र सम्पन्न मिति, तथा सम्पन्न काम सार्वजनिक गरेका थिए । भैरबी गाउँपालिका–५, ६ र ७ लाई जोड्ने उक्त सडक एक करोड पाँच लाख रुपैयाँको लागतमा स्तरोन्ती गरिएको हो ।

हाम्रो निर्माण सेवा सुर्खेतले २०७६ असार १३ गते सम्झौता गरि भ्याट सहित ८७ लाख, एक हजार चार सय ९७ रुपैयाँमा सडक स्तरोन्तीको जिम्मा लिएको इन्जिनियर थापाले बताए । यहाँका ११ वटा स्थानीय तहमा ठेक्का प्रक्रिया मार्फत हुने योजना मध्ये पहिलो पटक उक्त योजनाको सार्वजनिक सुनुवाई गरिएको हो । गाउँपालिका मार्फत सञ्चालन हुने सबै योजनाको सार्वजनिक सुनुवाई र सार्वजनिक परिक्षण अनिवार्य गरिने इन्जिनियर थापाको भनाई छ ।
सार्वजनिक सुनुवाईमा स्थानीयले सडक निर्माणको योजनामा डोजरमात्रै कुदाउने नभई गुणस्तरिय काम गर्न सुझाव दिएका छन् । ‘सडक निर्माणको नाममा करोडौ बजेट आउँछ, डाडाकाडा डोजर कुदाएर रकम सकिन्छ,’ भैरबी–६ का लक्ष्मीप्रसाद अधिकारीले भने ‘अब डोजरमात्रै कुदाउने काम बन्द गरौ ।’ उनले दिगो र भरपर्दो सडक निर्माण गर्न सुझाव दिए ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी विष्टले विकास निर्माण योजनामा अनुगमनलाई कडाई गर्ने बताइन् । ‘प्राविधिक मुल्यांकन र अनुगमन गरेर मात्रै रकम भुक्तानी गर्छौ,’ उपाध्यक्ष विष्टले भनिन् । उनले विकासमा आम उपभोक्ताहरुलाई चासो दिन आग्रह गरिन् ।





Leave a comment

Your email address will not be published.


*