ट्याक्टर दुर्घटना, ३७ विद्यार्थी घाइते

          |   प्रकाशित मितिः बुधबार, मंसिर ११, २०७६     ::: 121 पटक पढिएको   |  

सुर्खेत मंसिर ११ गते । जनज्योति माध्यमिक विद्यालय बड्डीचौरमा कृषि जेटिए विषयमा अध्ययनरत विद्यार्थीहरु सवार ट्याक्टर हल्दुमा दुर्घटनाहुँदा ३७ जना घाइते भएका छन् । कर्णाली राजमार्गमा पर्ने बड्डीचौर–तल्लोडुङ्गेश्वर सडक खण्डको बराहताल–५ हल्दुमा बुधबार दिउँसो ट्याक्टर दुर्घटनाहुँदा विद्यार्थी घाइते भएका हुन् । विद्यालयले अम्लाखालीमा गरेको मौरीपालन अवलोकन गर्न जाँदै गरेको ट्याक्टर दुर्घटनामा परेको प्रहरी चौकी बड्डीचौरका प्रहरी सहायक निरीक्षक कृष्ण कंडेलले जानकारी दिए ।

घाइतेहरु मध्य ३५ जनाको अवस्था सामान्य छ भने दुइ जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमख उदयसि‌ंह सिजापतिले जानकारी दिए । गम्भीर घाइते हुनेमा बराहताल गाउँपालिका-९ का दिपेन्द्र गुरुङ र नारायण नगरपालिका-७ दैलेखका सनम राना छन् । उनीहरुलाइ थप उपचारको लागि कोहलपुर लैजाने तयारी भइरहेको सिजापतिको भनाइ छ ।

घटना लगत्तै बड्डीचौरबाट खटिएको प्रहरीले घाइते विद्यार्थीहरुको उद्धार गरेर थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ पठाएको सिजापतिले बताए । घाइतेहरुको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ । स्पीड बढी र हाइड्रोलिक भएको ट्याक्टरको ट्रालीको स्वीच थिच्दा दुर्घटना भएको हुनसक्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतको अनुमान छ । प्रहरी ट्याक्टर चालक र सहचालकलाइ नियन्त्रणमा लिएर घटनाका अनुसन्धान गरिरहेको जनाएको छ ।





Leave a comment

Your email address will not be published.


*