दैलेखमा पेट्रोलियम

          |   प्रकाशित मितिः आइतवार, मंसिर १५, २०७६     ::: 43 पटक पढिएको   |  

डा.गणेशनाथ त्रिपाठी । नेपालमा पेट्रोलियम अन्वेषणको काम सन् १९८० को दशकदेखि सुरु भएको हो । १९८२ मा विश्व बैंकको सहयोगमा क्षेत्रीयस्तरमा तराई र चुरेक्षेत्रलाई समेटेर भौगर्भिक, भू–रासायनिक तथा भू–भौतिक सर्भे सञ्चालन भएका थिए । यस प्रकारका अध्ययन तथा अनुसन्धानबाट प्राप्त नतिजाहरूको विश्लेषण गरी पेट्रोलियमको भण्डार हुनसक्ने सम्भावित क्षेत्रको रूपमा पूर्वदेखि पश्चिमसम्म १० वटा अन्वेषण खण्डहरूमा विभाजित गरिएको थियो ।

पेट्रोलियम कार्यलाई सहज बनाउन छुट्टै नेपाल पेट्रोलियम ऐन, २०४० र पेट्रोलियम सम्झौताको ढाँचासहितको पेट्रोलियम नियमावली–२०४१ जारी गरिएको छ । पछिल्लो पटक २०७४ सालमा पेट्रोलियम नियमावलीलाई समय–सापेक्ष र प्रतिस्पर्धी बनाउनसंशोधन गरिएको छ ।
विभिन्न समयमा पेट्रोलियम अन्वेषण तथा उत्खननका लागि प्रयास नभएका होइनन् । सन् १९८५ मा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी पेट्रोलियम सम्झौताबाट अन्वेषण खण्ड १० (विराटनगर)मा विस्तृत अन्वेषण कार्य तथा उत्खननका लागि अमेरिका र नेदरल्यान्डको जोइन्ट भेन्चर कम्पनीलाई जिम्मेवारी सुम्पिइएको थियो । उक्त कम्पनीले सो क्षेत्रमा विस्तृत अन्वेषण कार्य सम्पन्न गरी१९९० मा मोरङको राधानगरमा ३.५ किलोमिटरको अन्वेषणात्मक ड्रिलिङ कार्य गरेको थियो ।
त्यसबखतको जनआन्दोलनले अन्वेषण कार्यलाई प्रभावित पार्‍यो भनिन्छ । ३.५ किमि गहिराइसम्म कुवा खन्दा पनि भण्डार फेलापर्ने संकेत नदेखेपछि उक्त कम्पनीले पेट्रोलियम फेला नपरेको निष्कर्ष निकाली विधिवत रूपमा सम्झौताबाट बाहिरिएको थियो । पेट्रोलियम कार्यको अन्तर्राष्ट्रिय अभ्यास र प्रचलन अनुसार तथा पेट्रोलियम सम्झौता अनुसार एउटामात्र कुवा खनेर पेट्रोलियमको भण्डार रहे/नरहेको निष्कर्ष निकाल्न सकिने वा नसकिनेबारे तर्क/वितर्क गर्न सकिने अवसर सुरक्षित नै छ ।
सन् १९९८ मा अन्वेषण खण्डहरू ३ (नेपालगन्ज) र ५ (चितवन) मा पेट्रोलियम अन्वेषण गर्नअमेरिकाको टेक्साना रिसोर्स कम्पनीसँग पेट्रोलियम सम्झौता भएको थियो । २००४ मा अन्तर्राष्ट्रिय बोलपत्रबाट छनोट भई स्कटल्यान्डको कैर्न इनर्जी, पीसीएलसँग ५ वटा अन्वेषण खण्डहरू १ (धनगढी), २ (कर्णाली), ४ (लुम्बिनी), ६ (वीरगन्ज) र ७ (मलङ्गवा) मा पेट्रोलियम कार्य गर्न पेट्रोलियम सम्झौता भयो । तत्पश्चात् २०१२ मा बाँकी रहेका ३ वटा अन्वेषण खण्डहरू अन्वेषणका लागिसरकारले युएईको इमिरेट्स एसोसियटेड बिजनेस ग्रुप, युएई/बीबीबी च्याम्पियन्ससँग अन्वेषण खण्डहरू क्रमश: ८ (जनकपुर) र ९ (राजविराज) तथा १० (विराटनगर) मा काम गर्नेगरी पेट्रोलियम सम्झौता गरेको थियो ।
सन् २०१२ सम्ममा सम्पूर्ण अन्वेषण खण्डहरू पेट्रोलियम सम्झौताबाट माथि उल्लिखित कम्पनीहरूलाई प्रदान गरिएको थियो । १९८५ मा सम्झौता गरेको सेल/ट्रिटन बाहेक पछिल्ला समयमा पेट्रोलियम सम्झौताद्वारा आबद्ध कुनै पनि कम्पनीले सम्झौता मुताबिक कार्यसम्पादन गरेनन् वा गर्न सकेनन् । खानी तथा भू–गर्भ विभागले पटक–पटक ताकेता गर्दा पनि कार्य सुचारु नभएपछि विभिन्न चरणमा छलफल भई सरकारले २०७१/०७२ मा उक्त कम्पनीहरूसँगको पेट्रोलियम सम्झौता रद्द गरी हाल सम्पूर्ण अन्वेषण खण्डहरू फुकुवा गरेको छ ।
दैलेखमा सञ्चालनमा आइरहेको विस्तृत पेट्रोलियम अन्वेषण कार्य प्रधानमन्त्री केपी शर्मा ओलीको सन् २०१६ को चीन भ्रमणको क्रममा नेपाल सरकार र चीन सरकारबीच भएको द्विपक्षीय सहमतिको मूर्तरूप हो ।
दैलेख क्षेत्रमा पेट्रोलियम अन्वेषण सम्बन्धी कार्य भएको यो पहिलो पटकचाहिँ होइन । पेट्रोलियम अन्वेषण परियोजनाका भू–गर्भविद्हरूले प्रारम्भिक चरणको भौगर्भिक अध्ययन पूरा गरी भौगर्भिक नक्सासमेत तयार पारेका छन् । हाल सोही नक्सालाई आधार मानी विस्तृत अन्वेषण कार्य सञ्चालन भइरहेका छन् । यस क्षेत्रमा चिनियाँ टोलीहरूले सङ्कलन गरेका स्रोत चट्टानको नमुना परीक्षणबाट उत्साहजनक नतिजा प्राप्त भएको जानकारी गराएका छन् । जमिनमुनिपेट्रोलियम पदार्थलाई थुनेर राख्नसक्ने भौगर्भिक संरचना हुनसक्ने यथेष्ट प्रमाण सतही अध्ययनबाट पनि देखिएका छन् । सतहमै देखिएका ग्यास तथा तेलको चुहावट, पेट्रोलियम बन्न आवश्यक पर्ने स्रोत चट्टान, त्यसलाई भण्डार गर्नसक्ने खालका चट्टान, पेट्रोलियम पदार्थ थुनेर राख्न सक्ने खालका चट्टान र उपयुक्त भौगर्भिक संरचनाहरू यस क्षेत्रमा पेट्रोलियमको भण्डार हुनसक्ने सम्भावनाका बलिया आधार हुन् ।
दैलेख जिल्लामा सञ्चालित पेट्रोलियम अन्वेषण कार्य अन्तर्गतका पेट्रोलियम जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे, जियोकेमिकल स्याम्पलिङ कार्य अबका केही हप्ताभित्रै सम्पन्न हुँदैछन् । यस अन्वेषण कार्य अन्तर्गतको महत्त्वपूर्ण मानिएको विस्तृत सिस्मिक सर्भेको कार्य सुचारु भइरहेको र आगामी २–३ महिनासम्ममा सो कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ३ वटा पूर्व–पश्चिम र ७ वटा उत्तर–दक्षिण दिशामा फैलिएका जम्मा १० वटा सिस्मिक लाइनहरूमा जम्मा २०० लाइन किमि सिस्मिक सर्भे गरिनेछ र यसले यस क्षेत्रको करिब ४०० वर्ग किमि भूभाग ओगटेको छ । दैलेख जिल्लाको मुख्यतया दुल्लु नगरपालिका, भैरवी गाउँपालिका, महाबु गाउँपालिका र नारायणनगरपालिका क्षेत्रमा यो कार्यलाई केन्द्रीकृत गरिएको छ भने चामुण्डा विन्द्रासैनी नगरपालिका, डुङ्गेश्वर गाउँपालिका, नौमुले गाउँपालिका र भगवतीमाई गाउँपालिकाको केही भू–भाग पनि यस अन्वेषण कार्यमा समेटिएका छन् ।
सिस्मिक सर्भे कार्य अन्तर्गत कृत्रिम भूकम्प सिर्जना गरी उत्पन्न गरिएको भूकम्पीय तरङ्गहरू जमिनको सतहमुनि धेरै गहिराइसम्म पठाइन्छ र सतहमुनिका विभिन्न तहमा ठोक्किएर फिर्ता भएका तरङ्गहरूलाई सतहमा गाडिएका सेन्सरहरूमा रेकर्ड गरिन्छ ।
सिस्मिक सर्भेको स्थलगत कार्य सम्पन्न भएपश्चात रेकर्ड गरिएका विभिन्न गहिराइबाट परावर्तन भई आएका तरङ्गहरूको प्रशोधन गर्ने कार्य हुन्छ । प्रशोधन गरेर तयार भएको तरङ्गहरूको सूक्ष्म विश्लेषण गरी पेट्रोलियमको भण्डार हुनसक्ने सम्भावित भौगर्भिक संरचना पहिचान गर्ने कार्य गरिन्छ । अन्वेषणको अर्को चरणमा विश्लेषणबाट यकिन गरिएको स्थानमा अन्वेषणात्मक ड्रिलिङ गरी तोकिएको स्थानमा पेट्रोलियम भण्डार रहे/नरहेको पुष्टि गर्ने कार्य हुन्छ ।अन्वेषणात्मक ड्रिलिङबाट पेट्रोलियम भण्डार भएको पुष्टि भएमा सो भण्डारको आर्थिक विश्लेषण अन्तर्गत भण्डारको आकार, प्रकार, आयतन, व्यापारिक रूपमा उत्पादन गर्न सकिने पेट्रोलियमको मात्रा आदिको विश्लेषण गरी प्रमाणित भण्डार व्यापारिक प्रयोजनको लागि उपयुक्त छ वा छैन, त्यसको निष्कर्ष निकालिन्छ ।
माथि उल्लेखित चरणहरूबाट व्यापारिक महत्त्वको भण्डार रहेको प्रमाणित भएमा सो भण्डारलाई उत्पादन प्रक्रियामा अगाडि बढाइन्छ ।
पेट्रोलियम कार्य आफैमा अनिश्चित, चुनौतीपूर्ण र आर्थिक जोखिमयुक्त कार्य हो । अध्ययन, अनुसन्धानबाट सम्भावना देखिएका कैयौं स्थानमा खोजी कार्य सफल नभएका उदाहरणहरू भेट्न सकिन्छ । पेट्रोलियमको खोजीमा यस्ता जोखिमलाई स्वीकार गर्नुको एकमात्र कारण खोजी कार्यबाट सफलता हासिल भएमा त्यसबाट प्राप्त हुने उपलब्धि नै हो । पेट्रोलियम खोजीमा अन्वेषणका विभिन्न चरण पार गर्नैपर्छ । यस्ता जोखिम स्वीकार गर्नैपर्ने हुन्छ । सन् १९८५–१९९० सम्म सेल/ट्रिटनले गरेको विस्तृत अन्वेषण कार्यपछि चीन सरकारको सहयोगमा चाइना जियोलोजिकल सर्भे र खानी तथा भू–गर्भ विभागको संयुक्त प्रयासमा दोस्रोपटक त्यही स्तरको अन्वेषण कार्य दैलेख जिल्लामा सञ्चालित छ । सम्भावना र आशावादी हुने ठाउँ प्रशस्तै छ । तर त्यसको पुष्टि अध्ययन, अनुसन्धानको अन्तिम निष्कर्षले नै बताउनेछ । हाल दैलेखमा सञ्चालन भइरहेको अन्वेषण कार्य प्रथम चरणको अन्वेषण कार्यपछिको महत्त्वपूर्ण दोस्रो चरणको अन्वेषण कार्य हो ।
यसबाट प्राप्त नतिजाहरूको विश्लेषणबाट सकारात्मक उपलब्धि हासिल भई व्यापारिक महत्त्वको पेट्रोलियम भण्डार फेला परेमा देश नयाँ युगमा प्रवेश गर्ने विश्वास गर्न सकिन्छ । कान्तिपुर
लेखक खानी तथा भू–गर्भ विभाग अन्तर्गत हाल दैलेखमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनामा संलग्न छन् ।





Leave a comment

Your email address will not be published.


*