यात्राबाट फर्केपछि…

        निर्मल अधिकारी   |   प्रकाशित मितिः शुक्रबार, मंसिर २०, २०७६     ::: 492 पटक पढिएको   |  

अभिभावक ज्यू, नमस्कार । कता हिड्नु भयो कुन्नि ? एक चोटी विद्यालयमा प्रवेश गरी छोराछोरीको पढाईबारे छलफल गरौ कि ?

बर्दियास्थित ठाकुरबाबा नगरपालिका वडा नम्बर १ को जनचाहाना आधारभूत विद्यालय डुम्रेनीको अवलोकन भ्रमण गर्दा विद्यालयको प्रवेशद्धारमै लेखिएको थियो अभिभावक ज्यू नमस्कार । कता हिड्नु भयो कुन्नि ? एक चोटी विद्यालयमा प्रवेश गरी छोराछोरीको पढाईबारे छलफल गरौ कि ? मैले आफुलाई १० वर्ष अगाडी फर्केर हेरे, जति खेर म एउटा प्राथमिक विद्यालयको चक मास्टर थिए । र त्यतिखेरपनि मलाई यही कुराले घोचिरहन्थ्यो कि प्रत्येक दिन मेरो कक्षा अभिभावकले अवलोकन गरुन् अनि मलाई सुझाव सल्लाह दिउन् । मेरो ८ वर्षे शिक्षण पेशाको अवधिमा मैले त्यस्तो कुनै अभिभावक भेटाईन् कि उनीहरुको सुझाव र आफ्ना बालबालिकाको नियमित पढाईकोबारेमा चासो दिने ।
अभिभावकको सक्रियता भएन भने शिक्षक र विद्यार्थी सक्रिय हुँदैनन् । विद्यालय एउटैले बनाउँछु भनेर सम्भव हुने कुरा होईन् । अनुशासित विद्यार्थी, सक्रिय अभिभावक र कुशल व्यवस्थापनले मात्रै राम्रा विद्यालय बनाउन सकिन्छ । जनचाहना विद्यालयका प्रधानध्यापक लक्ष्मी पौड्यालको कुशल व्यवस्थापन र सफल नेतृत्वले बर्दियाकै नमुना विद्यालय बनेको रहेछ ।
अहिले सामुदायीक विद्यालयमा विद्यार्थी टिकाउने समस्या छ । नीजि विद्यालयप्रति अभिभावक र विद्यार्थीको मोहले गर्दा सामुदायीक विद्यालयमा विद्यार्थी संख्या न्यून भएर विद्यालय बन्द भएका उदाहरण प्रसस्त छन् । तर, यो विद्यालयको सेवा क्षेत्रभित्र ४ वटा नीजि विद्यालय भए पनि ३ सय २० जना विद्यार्थी रहेछन् । कक्षा १ देखिनै अग्रेजी भाषामा अध्यापन गरिन्छ । प्रत्येक दिन विद्यालयमा अभिभावकले पालो लगाउने गर्छन् ।
आफ्ना बालबालिकाको अध्ययनप्रति अभिभावकको चासो बढेको छ । कक्षा कोठाहरु छापामय छन् । कक्षा कोठाका भित्ताहरु शैक्षिक सामाग्रीले रंङ्गाइएको छ । विद्यार्थी आफ्नो अनुकुल अध्ययन गर्न सक्छन् । प्रत्येक कक्षामा सिकाई कुनाहरु छन् जहाँ विद्यार्थीको उमेर सुहाउदो अतिरिक्त सामाग्रीको व्यवस्थापन गरिएको छ । विद्यालयमा दुईवटा स्मार्ट कोठा भनेर नामकरण गरिएको छ । जहाँ हप्ताको एक दिन बालबालिकालाई इन्टरनेटबाट सिकाईने गरिन्छ । घर जस्तो विद्यालय र अभिभावक जस्ता गुरु भए पछि यहाँका बालबालिकाहरुलाई नीजि विद्यालय भन्दा सामुदायक विद्यालयप्रति मोह बढेको हो ।
चालु शैक्षिक सत्रमा ३५ जना बालबालिका नीजि विद्यालयबाट आफ्नो विद्यालयमा आएको प्रधानध्यापक पौड्यालको भनाई थियो । उनले थपिन् सरकारी विद्यालयमा विद्यार्थी टिकाउन गाह््रो छ । अधिकाँस सरकारी विद्यालय बन्द हुने अवस्थामा छन् । विद्यालयप्रति अभिभावकको सक्रियताले विद्यालय राम्रो बनाउन सकिएको उनको भनाई थियो ।
कक्षा १ देखि ५ सम्मका बालबालिकाको लागि विद्यालयमै दिवा खाजाको व्यवस्था गरिएको छ । दिवा खाजाले बालबालिका विद्यालयमा नियमित आउने गर्छन् । हरेक दिन खाजाका परिकारहरु बेग्लै हुन्छन् । कहिले खिर, कहिले चना अण्डा त कहिले रोटीको व्यवस्था गरिन्छ । विद्यालयमै बनाइएको ताजा खानाले अभिभावक र विद्यार्थी खुसि छन् ।
बालबालिकाको सिकाईलाई धर्म र संस्कारसँग पनि जोडिएको छ । कक्षा कोठामा प्रवेश गर्न वित्तिकै सबै बालबालिकाले गायन्त्री मन्त्र एकै स्वरमा बाचन गर्ने गर्छन् । यसले बालबालिकालाई अनुशासित हुन सिकाएको पौड्यालले बताईन् ।
यो विद्यालयले अभिभावकहरुको लागि दौतरी कक्षा सञ्चालन गरेको छ । दौतरी कक्षामा विद्यालयको बारेमा एउटा साथीले अर्काे साथीलाई सिकाउने गर्दछ । दौतरी कक्षाले अभिभावकहरुमा आफ्ना बालबालिकालाई उचित शिक्षा र विद्यालय व्यवस्थापनको बारेमा जानकारी गराएको छ । जनचाहना गत वर्षको कक्षा ८ को सिकाई उपलब्धिमा नगरपालिकाकै प्रथम विद्यालय हो । यो विद्यालयले सधै आफुलाई नगरपालिकाकै अब्बल विद्यालय बनाउन अभ्यास गरिरहेको छ ।
विद्यालयले सञ्चालन गरेको पढाई मेलाबाट अभिभावकले परम्परागत सामाग्रीहरु निर्माण गरेका छन् । स्याकु, डोको, कोल, ओखल, मुसल, ढिक्की, जातो लगायतका परम्परागत सामाग्रीले विद्यालय सजाइएको छ । पाठ्यक्रम अनुसारका शैक्षिक सामाग्रीको व्यवस्थापनले विद्यार्थीको सिकाई उपलब्धिमा बृद्धि गर्ने शिक्षकहरुको अनुभव रहेछ । आधुनिक जीवनसैलिको विकास सँगै हराउदै गएका परम्परागत सामाग्रीको बारेमा बालबालिकालाई परिचित गराउने उद्धेश्यले सामाग्री निर्माणमा पहल गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरतबहादुर शाहीले बताए ।
त्यसपछि हाम्रो यात्रा नेपाल राष्ट्रिय माध्यामिक विद्यालय बासँगढी बर्दियाको लागि थियो । जनचाहना विद्यालयको न्यायो आतिथ्यता र विदाई पश्चात हामी बासँगढीतिर लाग्यौ । उषा किरण बालक्लवसँगको भेटघाटका लागि । विहानी घामको उषा किरणको जत्तिको महत्व हुन्छ त्यतिकै महत्व विद्यालयमा उषा किरणको रहेछ । हाम्रो समुदाय वा विद्यालयमा बालक्लवलाई त्यति महत्वका साथ हेरिदैन् । बालक्लवले बालबालिकाको पढाईलाई असर गर्छ भन्ने हाम्रा अभिभावक र विद्यालय प्रशासनको बुझाईलाई उषा किरणले राम्रो पाठ सिकाएको रहेछ । यहाँका बालबालिकाहरु अनुशासित छन् । विद्यालयमा हुने प्रार्थना आफै गर्छ्न । यहाँका आधा दर्जन भन्दा बढी बालबालिका तेक्वान्दो, भलिभलको राष्ट्रियस्तरका खेलाडी रहेछन् । बाल उद्यान, स्यानेटरी प्याड र विद्यालयको सरसफाईमा बालक्लवको सक्रियता रहेछ । अभिभावक भेला, विद्यालय व्यवस्थापन समितिको बैठक, लेखापरिक्षणमा बालक्लवको प्रतिनिधित्व हुने गर्छ । बालक्लवले राखेका सुझावहरु विद्यालय प्रशासनले अनुसरण गरेका धेरै उदाहरण रहेछन् । बालबालिकाको व्यक्तिगत फाईल, बाल उद्यान निर्माण र खेलकुद बालबालिकाले उठाएका सवाल भएको विद्यालय प्रधानध्यापक……………बताए । कक्षा कोठामा हाजिरी लगाउने, शिक्षक ढिला गए आफै गएर बोलाउने बालक्लवले गर्दछ । बालक्लव सक्रिय भए विद्यालय व्यवस्थापन गर्न सहज हुने………बुझाईरहेको छ । यो विद्यालयको सबै कक्षा मल्टिमिडियाबाट पढाई हुन्छ । शिक्षाको गुणस्तर बृद्धिका लागि सूचना प्रविधिसँग जोडिएको छ । अधिकाँस अवलोकन भ्रमणहरु सेल्फि खिच्दै रमाईलोमै वित्ने गर्छन् । कुनै बेला किसानको लागि भनिएका अवलोकन भ्रमणमा सरकारी कर्मचारी उनीहरुका श्रीमति र बालबालिकाले खचाखच भरिएका गाडी देखिन्थे । सिक्ने र सिकाउने भन्दापनि रमाईलोका लागि गरिएका त्यस्ता भ्रमणबाट बजेट खर्च बाहेक अरु केही उपलब्धि हासिल गर्न सकिदैन् ।
दुई दिने अवलोकन पछि हामी फर्कियौ । गाडीमा गित बजिरहेका थिए । गितको ध्वन सुन्दै साथीहरु पनी गुनगुनाईरहेको सुनिन्थ्यो । त्यो गाडीको आवाज र गितको ध्वन भन्दा पनि मेरो नजर त्यही थियो जहाँ उषा किरण बालक्लवको सक्रियता र जनचाहना विद्यालयको कुशल व्यवस्थापन । र मैले सोचे यती राम्रा विद्यालय र विद्यालय प्रशासनलाई सहयोग गर्ने बालक्लव कसरी बनाउन सकिएला । बालक्लवले बालबालिकाको अध्ययन र सिकाईस्तरलाई कमजोर बनाउछ भन्ने हाम्रा अभिभावक र शिक्षकको बुझाईलाई कसरी परिवर्तन सकिएला । एउटा छुट्टै भूभागमा रहेका दुई समुदाय उनीहरुको स्तर, विद्यालय प्रशासन, अनुशासित विद्याथी, सक्रिय अभिभावकलाई तुलन गर्ने प्रयास गरे । म जहाँ गएको थिए त्यहाँ सम्म मिलेको ठाउ ।
भवन, यातायात, सञ्चार, बत्ति पानी सबैको सुविधा । म जहा काम गर्छु, भौगोलिक विकट, प्रविधिको अभाव, पुराना धरमशाला जस्ता थोत्रा भवन । चुहिने पाता अनि अध्यापन गर्ने शिक्षक, विद्यार्थीलाई गिज्याउने भत्केका भित्ता । यी दुईवटा प्रश्नले घोचिरह्यो इच्छा शक्तिको अभाव वा आर्थिक समस्या । अनुत्तरित प्रश्न सहित निदाए छु । अनि केहीबेर पछि म गाडीबाट झर्ने स्थान आईसकेको थियो । झ्यालबाट बाहिर हेरे एउटा उपत्यका जहाँ बत्तिले धपक्क बलेको थियो । आखा खोले । गाडि रोकियो हात हल्लाउदै साथीहरुलाई विदाई गरेर, म फर्किए ।





Leave a comment

Your email address will not be published.


*