राजधानीमै भोगेको छाउपडी पीडा

          |   प्रकाशित मितिः शुक्रबार, मंसिर २७, २०७६     ::: 38 पटक पढिएको   |  

प्रमिला देवकोटा- विश्वमा पहिलोपटक नेपालमा मर्यादित महिनावारी दिवस मनाइरहँदा अनि लैंगिक हिंसाविरुद्धको सोह्रदिने अभियान चलिरहँदा महिनावारीबारेको अनुभव साट्न मन लाग्यो। भर्खरै अछाममा २१ वर्षीया पार्वती राउतको छाउपडी गोठमा भएको मृत्युले स्तब्ध बनायो। किन राष्ट्रले अपराध ठानेको यो प्रथालाई हटाउन अझै नसकिएको होला ?  महिलाभित्र हुने प्राकृतिक प्रक्रियालाई अछूतो बनाउने काम हाम्रो समाज र संस्कारले गरिरहेको छ। यही संस्कारभित्रकी एक शिक्षित अनि राजधानीवासी महिला म यो महिनावारी बार्ने संस्कारभित्रकी पीडित बनेर उभिएकी छु। धेरैजनालाई यो अस्वाभाविक लाग्न सक्छ र उनीहरू मलाई संस्कारविरोधी पनि भन्न सक्छन्।

एक वर्षअघिको कुरा हो, सासूको मृत्युपश्चात् शोक बार्ने (किरिया बस्ने) क्रममा थियौं हामी। हिन्दु संस्कारअनुसार १३ दिन बार्ने किरिया बस्ने अवधिभित्र महिनावारी हुने आफैंमा अत्यन्तै अशुद्ध, अशुभ र पाप मानिँदो रहेछ। मेरो महिनावारी हुने पालो आएकाले आफन्त पहिलो दिनदेखि नै महिनावारी नहुने औषधि खान सल्लाह दिनुहुन्थ्यो। तर औषधिको खराब प्रभाव बुझेकी मैले औषधि खान चाहिनँ। किरिया बार्दै गर्दा महिनावारी भयो। त्यतिबेला महिनावारी भएपछि किरिया बार्ने कसैलाई हेर्न र बोल्न नहुँदो रहेछ। किरिया गर्नेहरूले देखे भने अत्यन्तै अशुभ र अशुद्ध हुने हुनाले छुट्टै कोठामा लुकेर बस्नुपर्ने रहेछ। त्यहाँ कसैलाई पनि भेट्नका लागि अनुमति नहुँदो रहेछ। त्यो विकराल र एक्लो क्षण भोग्दै गर्दा मैले सुदूरपश्चिमका छाउपडी भोग्दै गरेका महिलालाई सम्झिएँ।

छाउपडी गोठभन्दा धेरै सुविधासम्पन्न कोठामा भए पनि मानसिक रूपमा म सुदूरपश्चिमका दिदीबहिनीजस्तै अशुभ, अशुद्धजस्ता शब्दहरूले विक्षिप्त थिएँ। त्यो क्षण, बसाइ र भोगाइ राजधानीभित्रको छाउपडीभन्दा कम लागेन। किरिया गर्ने दिनमा गरुडपुराण भन्ने र सुन्ने परम्परा छ। त्यसलाई मैले धार्मिक कुरा सुन्ने र सिक्ने अवसर प्राप्त हुने भयो भनेर सोचेकी थिएँ। तर कति कुरा सुन्नका लागि मात्र पनि मेरा यी दुई कान अपवित्र थिए। किनकि म आफैं अपवित्र थिएँ। बन्द कोठाभित्रबाट अन्यत्र सर्न कुनै अनुमति थिएन। मैले पतिलाई ‘म टाढै बसेर भए पनि गरुडपुराण सुन्छु। किन मलाई यसरी छुट्टै राखिएको ? ’ भनेर मोबाइलमा म्यासेज पठाएँ तर उहाँले मैले मात्र मानेर हुँदैन भनेर मोबाइलमा म्यासेज पठाउनुभयो। मलाई मानसिक रूपमा पीडा महसुस भयो। म छुनै नहुने गरी सबैजनासँग सँगै बस्छु, पुराण पनि सुन्छु भनेर कति भन्दा पनि मेरो कुरा कसैले सुनेन। सबैजना जेठाजु–जेठानी (१० जना) पढेलेखेका हुनुहुन्छ। उहाँहरू पितृकार्यमा नछुने भएकी महिलालाई बोल्न त के हेरे पनि अशुभ हुन्छ भन्नुहुन्थ्यो।

शोक बार्ने काम त्यत्तिकै पीडादायक क्षण हो। त्यसमाथि कसैले बोल्न र हेर्नै नहुने कस्तो परम्परा हो यो ?  राजधानीमा बस्नेहरूको सोच त यस्तो छ भने सुदूरपश्चिमको मानसिकता कस्तो होला ?  त्यतिबेला म एक्लैको संघर्ष व्यर्थ भयो। सातौं दिनसम्म त्यसरी नै तिरस्कार र अपहेलना गरिएको यो पीडापरक अनुभूति भनिरहँदा कतै म संस्कारविरोधी पो हुने हो कि भन्ने चिन्ताले पनि सताइरह्यो। सबैजना शिक्षित भएको मेरो परिवारमा जस्तै कैयन् परिवारभित्र यसरी नै महिनावारीका नाममा महिलाले मानसिक यातना भोगिरहेका छन् कि छैनन् कुन्नि ?

धर्म र संस्कारका नाममा हुने यस्ता तिरस्कार दिनदिनै जताततै भइरहँदा के महिलाहरुले चुप लागेर बस्नुपर्ने नै हो त ?

सासूप्रति सधैं सत्कर्म,  श्रद्धा र माया गर्नुपर्छ भन्ने मान्यता राख्ने म कान्छी बुहारी उहाँको मृत्यु हुँदा गर्ने संस्कारमा एक अछूतो हेर्नसम्म नहुने कस्तो मान्छे भएछु भनेर हीनताबोध र मानसिक रूपमा उदास बनायो। पितृकार्यमा नछुने हुने कस्तो अभाग भनेर पनि कति महिलाले व्यंग्य गर्नुहुन्थ्यो र यो हुनुमा म नै दोषी जस्तो ठान्नुहुन्थ्यो। प्राकृतिक रूपमा हुने एउटा प्रक्रियालाई किन अभाग र अपशकुनका रूपमा लिइएको होला ?  घरभित्रै आन्दोलित मैले मुख खोलेर समाजसामु ल्याएँ भने तपाईंहरूले मन नपराउन पनि सक्नुहोला। किनकि ६ जना बुहारी भएको मेरो परिवारमा कसैले पनि यो चलन नराम्रो भनेर बोल्नुभएन।

धर्म र संस्कारका नाममा हुने यस्ता तिरस्कार दिनदिनै जताततै भइरहँदा के महिलाहरुले चुप लागेर बस्नुपर्ने नै हो त ?  लेख्दै गर्दा संस्कार जोगाउने नाममा आफैंलाई हुने मानसिक पीडा र नमीठोपनलाई यसरी नै भोग्दै गर्ने हो त ?  अनि आफ्ना नमीठो भोगाइ भावी छोरीहरूलाई पनि यसरी नै हस्तान्तरण गर्दै जाने हो त ?  लेख्दै गर्दा डडेलधुराकी गाउँपालिका प्रमुखको घोषणा ‘छाउ मान्नेलाई सेवासुविधा दिइन्न’ भन्ने लेखले थप ऊर्जा दिइएको महसुस गरें।

—देवकोटा मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेसमा उपप्राध्यापक छिन्।





Leave a comment

Your email address will not be published.


*