निरक्षर कर्णालीवासीको कथा

          |   प्रकाशित मितिः सोमवार, पुस २१, २०७६     ::: 24 पटक पढिएको   |  

उषा थापा – साक्षर जिल्ला घोषणा गर्न हतार भयो, कर्णालीमा। तर, कर्णालीका कमैले ‘क’ चिनेका छन्। विभिन्न समूह/संगठनमा आबद्ध छिन्, ४७ वर्षकी देवु राना। उनी समूह/संगठनमा आबद्ध हुनाको एउटै कारण छ– ऋण पाइन्छ। उनी बैठकमा हुने उपस्थिति र निर्णयमा हस्ताक्षर गर्न जान्दिनन्।

साक्षर घोषणा भएको ठाउँमा औंठा छाप लगाउन हुन्न रे ! समूहकी अध्यक्ष यसै भन्दै थिइन्। र, ती आमाको हात समाउँदै उनी आफैंले ‘उपस्थिति’मा हस्ताक्षर गराइदिन्। तर ती आमालाई थाहा छैन– के लेखें ? उनी एउटा उदाहरण पात्र हुन्, कर्णालीको। यस्ता अवस्था झेल्ने कर्णालीवासी हजारौं छन्। त्यतिबेला ती आमाका ठाउँमा आफैंलाई उभ्याएँ। धेरै कुरा सोचें। मैले अक्षर नचिनेका भए, म पनि उनीजस्तै हुन्थें। मेरो जिन्दगी कस्तो हुन्थ्यो ? म कहाँ हुन्थे ? मैले ती आमाको कथा यसरी लेख्न सक्दिनँ थिएँ। बिहानै पत्रपत्रिका पढेर विश्व बुझ्ने  मेरो बानी कस्तो हुन्थ्यो ? मेरो सिर्जना गर्ने र एकान्तको साथी कम्पयुटर र मोबाइल मैले चलाउन जान्थें वा जान्थिनँ ! यस्ता अनगन्ती प्रश्नले मलाई टोकिरहन्छन्, लामखुट्टेले झंै। म कल्पना पनि गर्न सक्दिनँ, अक्षरबिनाको त्यो जीवन। मैले जे कल्पना गरे पनि कहालीलाग्दो जीवन जिउने मानिस कर्णालीमा धेरै छन्।

राष्ट्रिय जनगणना २०६८ अनुसार कर्णाली प्रदेशमा ६ वर्षमाथिका ५८ प्रतिशत मानिलाई ‘कालो अक्षर भैंसी बराबर’ छ। त्यसपछिका ८ वर्षमा साक्षरताका जे जति अभियान सञ्चालन भए, जति तीव्र गतिमा साक्षरता वृद्धि भए पनि सयमा ३० जना कर्णालीवासी अझै अक्षर चिन्दैनन्। उनीहरूले यो दुनियाँलाई चर्मचक्षु (बाहिरी आँखा अर्थात् छालाको आँखा)ले देखे पनि ज्ञानचक्षु (भित्री आँखा अर्थात् ज्ञानको आँखा)ले देख्न सकेका छैनन्– यो दुनिया के हो र यहाँ के हुँदै छ ?

तीन तहका सरकारले गरिरहेका समृद्धिका कुरा जसले बुझ्नुपर्ने हो, उनीहरूले बुझ्न सकेका÷पाएका छैनन्। मेरो आशय अक्षर नचिन्ने मानिसको सोच्ने मस्तिष्क नै हुँदैन भन्ने होइन, तर सोचाइलाई व्यवस्थित, समसामयिक, जीवनोपयोगी र वैज्ञानिक बनाउन अक्षरको महत्व छ। अक्षरले ऊर्जा दिन्छन्। उत्साह र आत्मविश्वाससाथ जीवन गतिशील बनाउन बाटो देखाउँछन्।

कर्णालीका ‘हाई प्रोफाइल’ व्यक्तिहरूको नियत नै कर्णालीको विकास गर्ने भन्दा पनि यसलाई माध्यम बनाएर आफ्नै (व्यक्तिगत) विकास गर्ने देखिन्छ।

मानिसको जीवन सार्थक र सफल बनाउन अक्षरले आँखा दिन्छन्। मानिसका चर्मचक्षुले हेर्न नभ्याएका विशाल विश्व नियाल्न ढोका खोलिदिन्छन्। सूचना र चेतनाको फराकिलो फाँटमा प्रवेश गर्न आफूसँग भएका अनुभव, सीप र दक्षता प्रमाणित गर्नसमेत अक्षर आवश्यक छन्। विश्वव्यापी रूपमा कतिपय अध्ययन÷अनुसन्धानले समेत साक्षरता र सम्पन्नताको सम्बन्धको आकलन गर्दै १० निरक्षरमध्ये ७ जना गरिब र ३ जना धनी भएको देखाएका छन्। त्यस्तै १० जना साक्षरमध्ये ७ जना धनी र ३ जना गरिब भएको पाइएको छ। त्यसैले व्यक्ति, समाज र देशको आर्थिक उन्नतिका लागि साक्षरता महत्वपूर्ण छ।

साक्षरता अभियानलाई पनि देशको विकास र समृद्धिसँग जोड्न जरुरी छ। निरपेक्ष रूपमा अक्षर चिनाएर साक्षर बनाउन खोज्नु एक त आफैंमा कष्टकर हुन्छ अर्को, ती अक्षर उपयोगी हुन सक्दैनन्। बरु कालिदासको ‘क’जस्तै कर्णालीवासीका ‘क’ पनि दुब्लाउँदै जान्छन्।

अक्षर जीवन बदल्नका लागि प्रयोगमा ल्याउने हो भने तिनलाई मानिसले गर्ने दैनिक कामकाजसँग गाँस्न सक्नुपर्छ। मेलापात, खेतबारी र चुलोचौकोका भोगाइलाई चर्चा–परिचर्चा गर्न अक्षर प्रयोग गरिनुपर्छ। कर्णावासीले किन दुःख पाए ? र, त्यसबाट मुक्ति पाउन के गर्न सकिन्छ भन्ने विषयमा पनि अक्षरहरू बोल्न सक्नुपर्छ। परिवारका साक्षरलाई निरक्षर वा असाक्षर सदस्यलाई साक्षर बनाउन प्रोत्साहन गरिनुपर्छ। शैक्षिक बेरोजगारहरूलाई साक्षरता अभियानमा परिचालन गर्नुपर्छ। साक्षरता अभियानलाई मानिसको जीवन बदल्ने गरी कार्यमूलक बनाउनुपर्छ।

जन्मभूमि कर्णालीमा कर्म गर्न पाउँदा कर्णालीवासीको जीवन नियाल्ने अवसर जुरेको छ। १४/१५ वर्षकी किशोरी काखमा दूधे नानी र पिँठ्यूमा घाँसको भारी बोकेर उकालो–ओरालो गरिरहेको देखेको छु। बहुपति प्रथा, महिनावारी भएपछि छाउगोठमा अमानवीय जीवन बिताइरहेका दिदीबहिनी पनि देखेकै छु। एउटा कुखुराको मूल्य कति हो भनेर घर मालिकलाई सोध्नुपर्छ भन्ने महिलासँग मेलापात गरेको छु।

खुला दिशामुक्त अभियानअन्तर्गत निर्माण गरिएका शौचालय दाउरा राख्ने खलिया र सुँगुर बाँध्ने खोरमा परिणत भएका छन्। दूषित खानेकुरा र पानीका कारण झाडापखाला लागेका मानिसलाई रोगले झन् च्याप्छ भनेर पानी र झोलिलो पदार्थ खान नदिएको र उपचारका लागि डाक्टरकहाँ होइन, धामीझाँक्रिकोमा लगेको पनि देखेकै छु। घरघरमा विकास र समुन्नतिका नाममा एनजिओ र आइएनजिओका साइनबोर्ड अनगन्ती झुण्डिएकै छन्। यति मात्र होइन, एउटा व्यक्ति निरक्षर भइरहँदा पनि पटकपटक साक्षर बनाइएका अभिलेख पाइन्छ।

कमाउन कर्णाली जाने, तर लगानी अन्यत्र गर्ने प्रवृत्ति पहिलेदेखि नै व्याप्त छ। कर्णालीको सुविधा लिएर अध्ययन गरेका डाक्टर र इन्जिनियरहरू कर्णालीमा काम गर्न चाहँदैनन्, अनि कसरी हुन्छ, कर्णालीको विकास ?

यसको निष्कर्ष हो– विकास र समुन्नतिका कार्यक्रम प्रभावकारी हुन सकिरहेका छैनन्। अक्षरलाई चेतना र अग्रगमनसँग जोड्न सकिएको भए नतिजा यो भन्दा फरक आउँथ्यो। शौचालय बनाउनुअघि अक्षरका माध्यमबाट त्यसको आवश्यकतालाई मानिसको जीवनसँग जोड्न सकिएको भए, शौचालय दुरुपयोग हुने थिएनन्। त्यस्तै स्वास्थ्यका कार्यक्रमलाई अक्षरसँग जोडिएको भए, झाडापखाला लाग्दा मानिस धामझिाँक्रीकोमा जाने थिएनन्। अक्षरका माध्यमबाट अधिकार र जिम्मेवारीका कुरा सिकाइएको भए, कुखुरा बेच्नुपर्दा घरका पुरुष मालिक गुहारिरहनुपर्ने थिएन। अक्षरलाई रूढिवादी परम्पराविरुद्ध प्रयोग गर्न सकिएको भए, प्राकृतिक प्रक्रिया महिनावारीलाई पाप र धर्मसँग जोडेर व्याख्या हुने थिएन। अक्षरहरूलाई जीवनसँग जोड्न सकिएको भए, कर्णाली प्रदेशको विकासका निम्ति स्थापित कतिपय एनजिओ÷आइएनजिओले कागजमा मात्र प्रगति देखाएर बजेट सिध्याउन पाउने थिएनन्। यस्तै–यस्तै थुप्रै सफलता मिल्थे, कर्णाली प्रदेशमा।

भौगोलिक विकटता, विकासको बाधक भन्दा पनि काम गर्न नचाहने अल्छिहरूका लागि उपयुक्त बहाना हो। यस्तै भौगोलिक विकटताले गाँजेका विश्वका अन्य मुलुक समुन्नतिको शिखर चुम्न सफल भएका छन्। कर्णालीसँग जनसंख्या कम छ। यो कर्णालीका लागि अवसर हो। तर  यसलाई बहानाले पछि पारिएको छ। पुरानो कर्णाली अञ्चलका ५ जिल्लाको जनसंख्या ४ लाख पनि छैन। त्यसमाथि डोल्पाको जनसंख्या ४० हजारभन्दा कम छ। यी जिल्ला साक्षर घोषणा हुन सकेका छैनन्। यसो हुनु बजेट अभावभन्दा इमान्दारिता र प्रतिबद्धता कमी हो।

कर्णालीका ‘हाई प्रोफाइल’ व्यक्तिहरूको नियत नै कर्णालीको विकास गर्ने भन्दा पनि यसलाई माध्यम बनाएर आफ्नै (व्यक्तिगत) विकास गर्ने देखिन्छ। कमाउन कर्णाली जाने, तर लगानी अन्यत्र गर्ने प्रवृत्ति पहिलेदेखि नै व्याप्त छ। कर्णालीको सुविधा लिएर अध्ययन गरेका डाक्टर र इन्जिनियरहरू कर्णालीमा काम गर्न चाहँदैनन्, अनि कसरी हुन्छ, कर्णालीको विकास ? कर्णालीले धेरैलाई धेरै चिज दिएको छ। अब कर्णालीलाई के दिने भनेर सोच्ने बेला आएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ठूला नोट ‘सिज’ गर्दै गर्दा उनैकी आमाचाहिँ नोट साट्न बैंकमा लाइन बसिरहेकी थिइन्। अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले आफ्नी छोरी पढाउन  होटलमा काम गरे। अब्दुल कलाम राष्ट्रपति हुँदा उनका दाइले जुत्ता पसल सञ्चालन गरिरहेका थिए। यस्ता कुरा आत्मसात् गर्दै आफू सत्तामा पुगेपछि आफन्तका निम्ति मात्रै सोच्ने नियत अन्त्य गर्नुपर्छ। विकास कुराले होइन, कामले हुन्छ। हाम्रो काममा इमान्दारिता, नैतिकता र प्रतिबद्धता भयो भने कर्णालीका करिब १५ लाख मानिसलाई मानव विकास सूचकांकको अग्रस्थानमा ल्याउन सकिन्छ भन्ने कुरामा शंका छैन। यसका लागि कर्णालीको ‘क’ चिनाउँदै गर्नुपर्छ। नागरिक





Leave a comment

Your email address will not be published.


*