कर्णालीको ‘अनिकाल’ र भात

          |   प्रकाशित मितिः शुक्रबार, पुस २५, २०७६     ::: 65 पटक पढिएको   |  

अचेल मधुमेह भएका मानिसहरूले भात कि त कम गरेका छन् वा त्यसको सट्टामा कोदो, फापर आदि खान थालेका छन् । रोग लागेपछि मात्र मानिसले विभिन्न स्थानीय खानाको महत्त्व बुझ्न थालेजस्तो छ ।

पहिले पहिले जिल्लामा खाद्यान्न नभएर मानिसहरू भोकै परेका समाचार आउँथ्यो । खाद्यान्नको मतलब नै हुन्थ्यो । केही वर्षअघि म महिला स्वास्थ्यसम्बन्धी केही कार्यक्रममका अछाम पुगेकी थिएँ । स्वास्थ्य शिविरमा एक दिन एउटी महिला आफ्नो स्वास्थ्य जाँच गराउन आइन् । भनिन्, ‘डाक्टर साहेब, एक महिना भयो मेरो मुखमा अन्न गएकै छैन । खानै सक्दिनँ । त्यसैले साह्रै कमजोरी लाग्छ ।’

तर, उनलाई हेर्दा त्यसरी एक महिनासम्म भोकै बसेको लाग्दैनथ्यो ।

‘केही न केही त खानुभएको होला’, मैले भनेँ, ‘त्यस्तो केही नखाएजस्तो त देखिँदैन नि १’

उनले भनिन्, ‘हो त नि, खालि आटाको रोटी, तरकारी, दूध मात्रै खाएकी हुँ । अन्न त घाँटीबाट छिर्दैन । केही रोग लागेर यस्तो भएको हो कि भनेर आएकी ।’

‘गहुँ पनि त अन्न हो नि !’, मैले भनेँ ।

‘भात पो अन्न हो, भात नखाए त रोग लाग्छ । शरीर चल्दैन’, उनले भनिन् ।

यो सुनेर मलाई हाँस उठ्यो । तैपनि उनको पिसाब, रगत सबै जचाएँ । उनलाई केही रोग लागेको छैन भनेर बुझाएर पठाएँ ।

त्यसबारेमा मैले त्यहाँका केही स्वास्थ्यकर्मीहरूसँग कुरा गर्दा उनीहरूले भने, ‘अछाममा रोटीलाई त खाजाको रूपमा मात्र हेर्छन् । भातलाई मात्र खाना भनिन्छ ।’

पहिले पहिले अछाममा गहुँ पर्याप्त खेती हुन्थ्यो । अछामबाट अन्य जिल्लामा गहुँँ निर्यात गरिन्थ्यो । तर, भात खाने प्रवृत्ति बढेपछि गहुँको सट्टा धान खेती गर्न थालियो । गहुँ खेती विस्थापित हुँदै गयो । नेपालमा प्रायः सबै ठाउँमा ‘अन्न खाना’ भनेर भातलाई मात्र बुझिन्छ ।

ब्रत बस्ने महिलाहरू पनि अन्न भात खाँदैनन् तर बिहान पूजा सकिएपछि रोटी र आलुको तरकारी, दिउँसो फलफूल, चिया र दूध, दही, साबदाना खान्छन् ।

उनीहरू अन्न नखाई रोटी मात्र खाएर ब्रत लिएको भन्छन् । फलफूल र रोटी पाए त जहिले पनि ब्रत लिए हुन्छ । त्यसैगरी संतोषी माताको ब्रत, शिवजीको सोमबारको ब्रत, मंगलबारको गणेशजीको ब्रत लिनेहरूले पनि एक छाक मात्र खाना अर्थात् भात खान्छन्, अर्को एक छाक रोटी मात्र खान्छन् ।

वास्तवमा भातलाई मात्र अन्न भन्ने बुझाइले ब्रत लिनेको पनि खाना र खाजाको मूल्यमा फरक भएकाले एकचोटि त मलाई निकै फाइदा भएको छ । डोटीमा मलगायत चार–पाँच जना साथीहरू थियौँ । हामीले खाना पकाउन भनेपछि गेष्ट हाउसमा कार्यरत व्यक्तिहरूले भात, दाल, तरकारी, साग, दही, रोटी सबै बनाइदिए ।

मैले खानाको मूल्य सोधेँ । ‘७५ रुपैयाँ’ भन्ने जवाफ आयो । मैले भनेँ, ‘म भात खान्नँ, खाजा मात्र खान्छु ।’

मैले तरकारी, रोटी, साग, थपीथपी खाएँ । खानाको बिल ल्याएपछि ‘सबै जनाले ७५ रुपैयाँ तिर्नुपर्ने र मलाई २० रुपैयाँ मात्र किन रु’ भन्दा बिल ल्याउने भाइले गम्भीर मुद्रामा भने, ‘तपाईंले खाना नै खानुभएन । रोटी–तरकारी मात्र खानुभयो । तपाईंसँग किन धेरै पैसा लिने रु’

‘खाना नखाएर पेटभरी रोटी खाँदा पो त पैसा बच्ने रहेछ’, हामीले कुरा गर्‍यौँ ।

यी उदाहरण हाँसो लाग्दा छन् तर यिनीहरूले भोजनप्रतिको हाम्रो मानसिकता, हाम्रो संस्कार र भात मात्रै खाना हो भन्ने धारणा देखाउँछन् ।

कर्णालीका जनताले खाद्यान्न पाएनन् र कोदो वा फापर खान थाले भन्ने समाचार आउँछ । केही खान नपाएर आलु÷कोदो मात्र खाएर बसेका छन् भन्ने समाचार पढ्दापढ्दा हामीलाई के अनुभव हुन्छ भने खाना भनेको भात मात्र हो । भात नहुनु भोकमरी हो ।

पञ्चायतकालदेखि यो धारणा चलिआएको हो । कर्णालीका कोदो, फापर, आलु खाएका जनतालाई भात खान सिकाउने ‘इच्छा’ भएको सरकारले हेलिकोप्टरबाट चामल लगेर बाँड्न थाल्यो अनि कोदो, फापर आलु अर्थात् असली खाद्यान्नलाई भातले विस्थापित गर्दै लग्यो ।

यसले गर्दा गहुँ, कोदोलाई खाजा मात्र बनाइदियो । फापरको पिठोको ढिँडो बनाएर खाने भरियाहरू भात खाँदा मात्र ‘खाना खाएको’ भन्ने भए । यसको प्रभावले गर्दा उनीहरूले खानाको चर्को मूल्य तिरेर कम पोषण पाउन थाले ।

तर, अहिले भातबाट मात्र पेट भर्न जरुरी छैन । भातलाई मात्र प्राथमिकता दिने मानसिकताले गर्दा नै हामीले आफ्नो स्वास्थ्यलाई कमजोर पारिरहेका छौँ । गाउँमा ‘फापरको रोटी खाने’ भनेर कसैले हामीलाई प्रश्न गरेमा हामी अपमानित महसुस गर्छौं र ‘फापर त गरिबले खाने भोजन हो’ भन्छौँ तर काठमाडौंमा भने यसमा केही परिवर्तन भएको छ ।

हाम्रो देशका विभिन्न ठाउँमा त्यहाँको हावापानीअनुसार फल्ने विभिन्न किसिमका खाद्य पदार्थलाई छाडेर हामीलाई भात नै चाहिन्न भन्ने कुरा बुझ्नुपर्छ । किनभने भाते मानसिकताले पहिले उब्जाउ हुने पोषणयुक्त खाद्य पदार्थ पनि विस्थापित भएका छन् ।

५ किलो चामल लिन ५ दिन हिँडेर पसल आउने कर्णलीका वासिन्दाले यो बुझ्नुपर्छ कि उनीहरूको पाखामा फल्ने फापर, कोदो बढी स्वस्थकर हुन्छ । भात मात्र अन्न होइन । स्वास्थ्यका लागि कोदो, गहुँ, अझ फापर, जसले पेट भरिन्छ, त्यो नै खाने र जुन ठाउँमा जे फल्छ, त्यसैलाई नै उपयोग गर्ने भन्ने बुझे बेस नत्र स्वास्थ्यका लागि त कुनै पनि अन्न महत्त्वपूर्ण हुन्छ । तिनलाई कसरी प्रयोग गर्ने भन्ने जान्नचाहिँ जरुरी छ ।

भात मात्र खाना हो भन्ने विचारले नै हामी भात बिहान, बेलुका खानुपर्छ अरू बेलामा त खाजा खानुपर्छ भन्ने सोच्छौँ । तर, विभिन्न ठाउँमा धर्म, संस्कृति र चालचलनले गर्दा भात खाने समय भिन्नै हुन सक्छ ।

बंगलादेशमा एकचोटि म मुसलमानको महान् चाड रमजानको बेलामा गएकी थिएँ । रमजानको बेलामा मुसलमानहरू बिहानदेखि बेलुकासम्म पानी पनि खाँदैनन् । त्यसैले उनीहरू बिहानै उठेर माछा र भात खान्छन् ।

धान, गहुँमा हुने पौष्टिकता त खाजाको रूपमा खाए पनि उही हो, खानाको रूपमा खाए पनि उही हो । रोटी खाएर खाना खाएको छैन भन्ने विचार त्याग्नुहोस्, भात नखाए बिरामी परिन्छ भन्ने विचार छाड्नुपर्छ ।

‘कोदो र फापर खाए हैसियत कम हुन्छ’ भन्ने विचार त्याग्नुपर्छ । वास्तवमा हेर्ने हो भने जौ, कोदोको पिठोलाई हेप्ने हामी जब टीभीमा कुनै खाना पोषणयुक्त भनेर आउँछ, त्यसलाई एक किलोको ७०० रुपैयाँभन्दा बढी मूल्य तिर्छौं ।

‘कब्जियतको समस्याबाट छुटकारा पाउन, फलानो बिस्कुट खानुहोस्’ भनेर कसैले सल्लाह दिँदा तपाईं जब महँगो बिस्कुट किन्नुहुन्छ, त्यो बिस्कुट जौले बनेको हो कि रु विचार गर्नुपर्छ ।

जुनजुन कुरा ‘स्वास्थकर’ भनेर बढी मूल्य तिरेर बजारबाट किनिन्छ । त्यसमा कोदो, फापर, जौ आदि हामीले ‘हेपेका’ खानेकुरा हुन्छन्, जसलाई राम्रो प्याकेटमा राखेपछि त्यसको मूल्य दशौँ गुणा बढी तिर्न तयार हुन्छौँ ।

अहिले केही घरमा गहुँको भातको सट्टामा कोदोको रोटी, दलिया खाने चलन आएको छ । तर, धेरैजसो चाहिँ रोग विशेषको कारणले यस्तो प्रयोग हुन्छ । भातबाहेक अरू पनि अन्न हुन्छन् र भात नखाँदैमा अस्वस्थ भइँदैन, चामल नभए अनिकाल हुँदैन । कोदो र फापर छ भने त्यही पूर्ण भोजन हो भनेर हामीले बुझे त कर्णालीको ‘अनिकाल’ कम हुन्थ्यो, हामीले स्वास्थ अन्न खाने थियौँ । शिलापत्र मार्फत साभार





Leave a comment

Your email address will not be published.


*