सम्बन्धमा भ्रष्टाचार !

          |   प्रकाशित मितिः बुधबार, माघ २२, २०७६     ::: 66 पटक पढिएको   |  

‘सुरेशले लगे सन्तोषकी श्रीमती’, ‘श्रीमानको लाखौँ लिएर हिँडिन् नकुलकी श्रीमती’, ‘आमा अर्कैैसँग गएपछि कलेज पढ्ने छोरीको मार्मिक सन्देश’, ‘विदेशबाट फर्कंदा दुई छोरीसहित श्रीमती अर्कैैसँग’, ‘अनुपा लाने कुमारकी श्रीमती आइन् मिडियामा……. !

■ बबिता बस्नेत

केही समययता ‘सम्बन्धमा भ्रष्टाचार’का यस्ता सामग्री युट्युब च्यानलहरूमा छ्यापछ्याप्ती देख्न पाइन्छ । श्रीमती र छोराछोरीलाई सुख दिन घर छोडेर विदेशमा अनेक दुःख गर्ने श्रीमानले कमाएको पैसा लिएर कतिपय महिलाहरू अर्कैसँग हिँड्न थालेपछि समाजमा यसले महिलालाई हेर्ने दृष्टिकोणमै परिवर्तन ल्याइरहेको छ । विगतमा पुरुषहरूले घरमा पत्नी हुँदाहुँदै दोस्रो विवाह गर्थे, तर समयक्रममा अहिले महिलाहरूले पति र बच्चाहरूलाई बिचल्ली पारेर अर्को विवाह गर्न थाले । समाजमा हुने घटनाहरू एकाएक अर्कै परिवेशमा प्रवेश गरेपछि यसले चर्चा–परिचर्चा पाउनु स्वाभाविकै हो ।

अहिले पूर्व–पश्चिम, उत्तर–दक्षिण जता गए पनि लौन…गाउँमा के हुन थाल्यो…महिलाहरूले यो के गर्न थाले…भन्ने कुराले स्थान पाउन थालेको छ । वैदेशिक रोजगारीमा जाने पुरुषहरूको ठूलो सङ्ख्याभित्रका थोरै पत्नीहरूले गरेका यस्ता क्रियाकलापका कारण पति विदेशमा भएका सबै महिलामाथि उस्तै दृष्टिकोण राख्न थालिएको छ । एक्लै दुःख–सुखले घरपरिवार धानेर बसेका ठूलो सङ्ख्याका महिलामाथि आफ्नै पतिले अविश्वास गर्न थालेका छन् । आफू कहाँ छु, के गर्दै छु भनेर पाइला–पाइलामा निगरानीमा पर्दा पतिपत्नीको सम्बन्धप्रति नै वितृष्णा पैदा हुँदै गएको देखिन्छ ।

एकातिर पति वैदेशिक रोजगारीमा गएका पत्नीहरूलाई हेर्ने दृष्टिकोण गोलमोटल रूपमा उस्तै बन्दै जाँदा केहीले गरेका गल्तीको सजाय ती तमाम महिलाले भोगिरहेका छन् भने अर्कोतिर केही महिलामा यसरी विचलन आइरहेको छ कि घरमा श्रीमती, बच्चा भएको मान्छेसँग रातारात घर छोडेर हिँडिरहेका छन् । अर्काको पतिले कमाएको सम्पत्ति लिएर आफैँसँग आऊ भन्ने मान्छेले कति समय आफूलाई साथ देला भनेर उनीहरूले सोचेको, बुझेको देखिँदैन ।

पति विदेश रहेका पत्नी मात्र होइन, विदेशमा रहेका पतिले फर्किएपछि घर नगई अरू नै महिला लिएर बसेका घटनाहरू पनि छन् । पत्नी विदेश गएका पतिले पत्नी विदेशबाट फर्कंदा अर्को विवाह गरेर बसेका उदाहरण पनि त्यत्तिकै छन् । आफ्नो परिवारको भविष्य सुखद बनाउनका लागि बाध्यतावश बिदेसिएकाहरू र आफ्नो जीवन साथी केका लागि विदेश गएको हो भन्ने जानकारी राख्नेहरूमा यसप्रकारको विचलन के कारणले आयो त ? भनेर खोजी गर्दा धेरैजसो सञ्चारको सहज पहुँच र सामाजिक सञ्जाल नै यसको प्रमुख कारण हुने गरेको छ ।

हाम्रो समाजले अहिले पतिको सम्पत्ति लिएर हिँड्ने महिलालाई मात्र दोष दिइरहेको छ, तर ती पुरुषहरू झनै खराब हुन् जसले अर्काको सम्पत्तिमाथि आँखा गाडेर नियतवश पत्नी र सम्पत्ति दुवै लिएर हिँडे, हिँडिरहेका छन् ।

बुहारी जतिबेला पनि फोनमै हुन्थी भनेर यस्ता घटना भएका सासूहरूले भन्ने गरेका छन् । आमा सधैँ फेसबुक र इमोमा कुरा गरिरहनुहुन्थ्यो भनेर छोरा छोरीले प्रतिक्रिया दिइरहेका छन् । श्रीमान् जतिबेला पनि फेसबुक फोनमा कुरा गर्नुहुन्थ्यो भन्ने पत्नीहरू पनि त्यत्तिकै छन् । सामाजिक सञ्जालले एक–अर्कामा परिचित हुन र नजिक हुन मद्दत गरिरहेको छ । वर्षौंसम्म सँगै रहेको मानिसलाई त चिन्न–बुझ्न सहज हुँदैन भने सामाजिक सञ्जालबाट भेटेको मान्छेको विश्वास कसरी गर्ने ? किन गर्ने ? भन्ने प्रश्न गर्दै नगरी महिलाले सम्बन्ध अगाडि बढाएको देखिन्छ ।

मनबाट एक–अर्कालाई गरिने प्रेम समयक्रममा यति सस्तो भयो कि आहा… तिमी कति राम्री… तिम्रो फोटो कति राम्रो, बोली कति मिठो भनिदिएपछि आफूलाई प्रेम नै गरेको ठान्ने र विश्वास गरिहाल्ने । पुरुषहरूले महिलाहरूलाई प्रायः ‘तिमी कति राम्री’ भनेरै नजिक बनाएको देखिन्छ । मलाई यसले किन यसो भनिरहेको छ ? भनेर महिलाहरू प्रश्न गर्दैनन् । प्रशंसा हरेक मान्छेलाई मन पर्छ, तर प्रशंसा पछाडिको नियत के होला ? भनेर सोच्दै नसोची अघि बढ्ने महिलाको सङ्ख्या ठूलो छ । सानातिना प्रशंसामै आफूलाई प्रेम गरेको ठान्ने र घरपरिवार, छोराछोरी छोडेर उसैैसँग हिँडिदिने !

आफ्नो त्यो यात्रा कति समयका लागि हो भनेर सोच्दै नसोची घर छोड्दा धेरै महिलाले अनेक दुःख र भुक्तमान भोगेका छन् । अर्काको पतिले कमाएको पैसामा आँखा लगाउने मान्छे कस्तो होला ? भनेर ती महिलाले सोचेको पाइँदैन । पैसा सकिएैसँगै सम्बन्ध सकिएका उदाहरणहरू पनि छन् । दुईवटा घाम लागेजस्तो खाडीको तातोमा दुःख गरेर कमाएको सम्पत्ति लिएर हिँड्ने अधिकार महिला हुन् या पुरुष कसैलाई पनि छैन । हाम्रो समाजले अहिले पतिको सम्पत्ति लिएर हिँड्ने महिलालाई मात्र दोष दिइरहेको छ, तर ती पुरुषहरू झनै खराब हुन् जसले अर्काको सम्पत्तिमाथि आँखा गाडेर नियतवश पत्नी र सम्पत्ति दुवै लिएर हिँडे, हिँडिरहेका छन् ।

अचम्म त के छ भने मुलुकमा बहुविवाहलाई निर्मूल गर्नका लागि केही अगाडि मात्रै बहुविवाह बदर हुने कानुन बनेको छ । सम्बन्धविच्छेद नगरी अर्को विवाह गर्न पाइँदैन । कानूनतः पत्नी हँुदाहुँदै गरिएको अर्को विवाह बहुविवाह हो जुन स्वतः खारेज हुन्छ । तर, विभिन्न ठाउँमा धमाधम बहुविवाह भइरहेका छन् । विदेशबाट आएको पति अर्कै महिला लिएर अन्तै बसेकाले घर गएको छैन । घरमा श्रीमती हुँदाहुँदै पति विदेशमा रहेकी महिलालाई लिएर ‘म दुवैलाई मिलाएर राख्छु’ भन्दै मिडियामा प्रतिक्रिया दिँदै हिँड्नेहरू पनि छन् । यस्तो अवस्थामा बहुविवाह निर्मूल कसरी हुन्छ ? यो चुनौतीलाई राज्यले कसरी समाधान गर्छ ? केही दिन सँगै बसेर सम्बन्ध बिग्रिएपछि पुरुषहरू प्रायः आफ्नै घर फर्किने गरेका र महिलाहरू बिचल्लीमा पर्ने गरेका छन् । यसप्रकारका विचलनहरूलाई हेर्दा धेरै जनासँग सम्बन्ध भएका पुरुषैसँग महिलाहरू फस्ने गरेको देखिन्छ । एकैपटक धेरैजनासँग सम्बन्ध बढाउदै जाँदा जोसँग बढी सम्पत्ति छ उसैलाई लिएर हिँड्ने या साथमा नराखे पनि सम्बन्ध बढाइराख्ने पुरुषहरूको सङ्ख्या पनि त्यत्तिकै छ । यसले समाजमा पुरुषहरूलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन ल्याइरहेको छ ।

आफ्नो परिवारको उत्तरदायित्व लिने व्यक्तिको रूपमा मानिएका पुरुषहरू ‘अर्काकी श्रीमती र सम्पत्तिमा आँखा लगाउने’ व्यक्तिमा परिणत हुनु आमपुरुषका लागि निश्चय नै राम्रो कुरा होइन । समाजमा देखिएका भ्रष्ट सम्बन्धहरूले झट्ट हेर्दा महिलालाई मात्रै असर गरेजस्तो देखिए पनि राम्रो नियत भएका उत्तरदायी पुरुषहरूलाई पनि यसले असहज बनाएको छ । कसैैसँग बस्नै नसक्ने परिस्थिति आयो भने जबर्जस्ती बस्नुपर्छ भन्ने छैन । तर, विवाहित व्यक्तिले सम्बन्धविच्छेद नगरीकन अर्को विवाह गर्नु गलत मात्र होइन, गैरकानूनी पनि हो । त्यही गलत र गैरकानूनी काम हामीकहाँ भइरहेको छ । महिलाहरूले अहिले धमाधम अर्को विवाह गरिरहेको सन्दर्भमा उनीहरूले पनि पहिलाको सम्बन्धलाई तोडेर मात्र अर्को सम्बन्धमा जाँदा भावनात्मक र कानूनी दुवै हिसाबले सही हुन्छ ।

आफ्नो परिवारको उत्तरदायित्व लिने व्यक्तिको रूपमा मानिएका पुरुषहरू ‘अर्काकी श्रीमती र सम्पत्तिमा आँखा लगाउने’ व्यक्तिमा परिणत हुनु आमपुरुषका लागि निश्चय नै राम्रो कुरा होइन । समाजमा देखिएका भ्रष्ट सम्बन्धहरूले झट्ट हेर्दा महिलालाई मात्रै असर गरेजस्तो देखिए पनि राम्रो नियत भएका उत्तरदायी पुरुषहरूलाई पनि यसले असहज बनाएको छ ।

अहिले वैदेशिक रोजगारीले पतिपत्नी सम्बन्धमा ठूलो उथलपुथल ल्याएको प्रत्यक्ष देखिए पनि यो वैदेशिक रोजगारीसँग मात्र सम्बन्धित समस्या भने होइन । पतिपत्नी दुवै एउटै छानामुनि रहेकाहरूमा पनि सम्बन्धमा समस्या छ, बढ्दै छ । प्रविधिको प्रयोग तथा अन्य कारणले प्रेमविवाह बढ्दो छ र धेरैजसो प्रेमविवाहहरू चाँडै टुट्ने गरेका छन् । कति चाहिँ समयक्रममा प्रेम हराएर विवाहमा मात्र सीमित भएका देखिन्छन् । एकपछि अर्को विवाह सम्बन्धमा गएका महिला पतिले छोड्दै जाँदा धेरैसँग जानुपर्ने बाध्यता पनि छ । आफू आत्मनिर्भर नभएका कारण महिलालाई बाँच्नका लागि अरूको भर पर्नुपर्ने अवस्था छ । उसले साथ देला कि, ऊ पो सहारा बन्ला कि भनेर एकपछि अर्को सम्बन्धमा जाँदा झन् पीडित बन्ने महिलाको सङ्ख्या बढ्दै छ ।

सन्तान हुने आमाले दोस्रो विवाह गर्दा पटकपटक नसोच्ने हो भने यसले नाजुक रूप लिने देखिन्छ । छोरी हुने आमाले दोस्रो विवाह गर्दा आफ्नो पतिबाटै छोरी बलात्कृत भएका घटनाहरू बाहिर आइरहेका छन् । आमा हुनु जीवनमा सबैभन्दा कठिन काम हो । सन्तान जन्माउने मात्र होइन, हुर्काउने कर्तव्यको जिम्मा पनि प्रकृतिले आमालाई दिएको छ । सन्तानलाई बिचल्ली पारेर अर्कैसँग जाँदा प्रकृतिले दिएको जिम्मेवारी पूरा हुँदैन । त्यसैले पुरुषले सन्तानलाई केही नगर्दा पनि भइरहेको छ, हामीले किन गर्ने ? भन्ने छुट महिलालाई छैन । घटना र विचार





Leave a comment

Your email address will not be published.


*