अख्तियारमा दैलेखका स्थानीय तहका उजुरी धेरै

          |   प्रकाशित मितिः बुधबार, माघ २९, २०७६     ::: 52 पटक पढिएको   |  

सुर्खेत : कर्णाली प्रदेश सरकारको प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र दैलेखका स्थानीय तहविरुद्ध अख्तियारम बढी उजुरी परेका छन् । कर्णाली प्रदेश सरकारका मन्त्रालय मध्ये प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय जिल्लागत रुपमा दैलेखका स्थानीय तहहरूविरुद्ध बढी उजुरी परेको अख्तियारले जनाएको छ । प्रदेश सरकारविरुद्ध ६ महिनाको अवधिमा १३६ वटा उजुरी दर्ता भएका छन् । दर्ता भएका उजुरी मध्ये सबै भन्दा धेरै प्रदेशको उद्योग पर्यटन वन तथा वातारण मन्त्रालयका परेका छन् ।
चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा परेका उजुरी मध्ये उद्योग पर्यटन, वन र वातावरण अन्तर्गतका मात्रै यस अवधीमा ६३ वटा मुद्दा दर्ता भएका छन् । पर्यटन, उद्योग, वाणिज्य र आपूर्ति क्षेत्रका मात्रै यस अवधिमा २९ वटा मुद्दा दर्ता भएको अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जनाएको छ । यस्तै ६ महिनाको अवधिमा प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य क्षेत्रमा २० वटा मुद्दा दर्ता भएको जनाइएको छ । प्रदेशको भौतिक पूर्वाधार विका मन्त्रालय अन्तर्गतको भौतिक पूर्वाधार र यातायातमा मात्र ५ वटा मुद्दा दर्ता भएका छन् ।
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको कृषि तथा पशुपंक्षी विकास बाहेकमा ५ तथा उक्त मन्त्रालयको कृषि तथा पशुपंक्षी विकास क्षेत्रमा मात्र ४ वटा उजुरी दर्ता भएका छन् । यस्तै ६ महिनाको अवधिमा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको खानेपानी र सहरी विकासमा मात्र ४ वटा उजुरी दर्ता भएका छन् । यसअवधिमा भौतिक पूर्वाधार विकास मन्त्रालयको सिंचाइमा मात्र ३ वटा उजुरी परेको कार्यालयको वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको शिक्षामा मात्रै २ वटा मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ ।
सबैभन्दा कम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा यस अवधिमा एउटा मात्र मुद्दा दर्ता भएको पाइएको छ । ६ महिनाको अवधिमा परेका १३६ वटा मुद्दा मध्ये हालसम्म ४० वटा फर्छ्यौट भएका छन् भने ९६ वटा मुद्दा फर्छ्यौट गर्न बाँकी रहेको कार्यालयले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९ औँ स्थापना दिवसको अवसरमा कार्यालयले ६ महिनाको अवधिमा कार्यालयमा परेका उजुरीका विषयमा जानकारी दिइएको हो ।
दैलेखका स्थानीय तहविरुद्ध बढी
चालु आर्थिक वर्षको पुस मसान्त सम्मको तथ्यांकमा उल्लेख गरिएअनुसार यस अवधिमा कर्णालीका ७९ वटा स्थानीय तहमा ३९२ वटा मुद्दा दर्ता भएका छन् । यस अवधिमा १३१ फर्छ्यौट भएका छन् भने २६१ वटा उजुरी फ्छ्यौट गर्न बाँकी नै रहेको कार्यालयले जनाएको छ । कर्णालीका ७९ वटा स्थानीय तह मध्ये सबैभन्दा धेरै दैलेखका स्थानीय तहका उजुरी दर्ता भएका छन् । चालु आर्थिक वर्षको पुस मसान्तसम्म दैलेखका स्थानीय तहका विरुद्ध ८६ वटा उजुरी दर्ता भएका छन् ।
यस्तै सुर्खेतका स्थानीय तहविरुद्ध ५७, कालिकोटका स्थानीय तह विरुद्ध ५०, सल्यानका स्थानीय तहविरुद्ध ३३, मुगुमा २१ डोल्पाका स्थानीय तहमा १४ जुम्लाका स्थानीय तहमा ३६ वटा उजुरी परेको कार्यालयले जनाएको छ । यस्तै रुकुमपश्चिममा ३२ वटा उजुरी दर्ता भएका छन् भने हुम्लामा १९ वटा उजुरी दर्ता भएका छन् भने जाजरकोटका स्थानीय तहमा ४४ वटा उजुरी दर्ता भएको जनाइएको छ ।
कार्यकर्तामुखी बजेटले भ्रष्टाचार बढ्यो
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कार्यकर्तामुखी बजेट छर्ने परम्पराको अन्त्य गर्नुपर्ने बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९ औं स्थापना दिवसका अवसरमा वीरेन्द्रनगरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘हामीले विगतमा गाउँबाट आएका नेता तथा कार्यकर्तालाई नासो स्वरुप उसको अनुहार हेरेर बजेट दिने काम ग¥यौं । त्यो हामी भन्नाले प्रदेश सरकार मात्र नभइ सबै तहका सरकारले गरेका थियौं’ उनले भने,‘नासोको रुपमा बजेट दिँदा भ्रष्टाचार बढेको छ ।’ यसलाई प्रदेश सरकारले नियन्त्रण गर्न खोजिरहेको उनको भनाई छ ।
मुख्यमन्त्री शाहीले कर्णालीमा भ्रष्टाचार बढेको नभई अख्तियारको सक्रियता बढेका कारण ठूला माछा पनि पक्राउ परेको बताए । कार्यक्रममा कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले भ्रष्टाचारमा देखा परेका नयाँ–नयाँ रुप र शैलीका कारण नियन्त्रणमा चुनौति थपिएको बताएका छन् । उनले भ्रष्टाचारमा संलग्न व्यक्तिले नयाँ–नयाँ उपाय एवं प्रविधिको प्रयोग गर्ने कारण नियन्त्रणमा चुनौती देखा परेको बताएका हुन् । प्रदेश प्रमुख कलौनीले पछिल्लो समय आयोगको सक्रियता प्रशंसनीय रहेको समेत बताए ।
सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री एवं प्रवक्ता विमला केसीले कर्णालीको विकास नहुनुमा मुख्य जिम्मेवार भ्रष्टाचार नै भएको बताइन् । नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले भ्रष्टाचार नियन्त्रणमा सबैको भूमिका महत्वपूर्ण भएको बताए । मिडियाको तर्फबाट भ्रष्टाचारविरुद्ध बारम्बार कलम चलाउँदै आएको पनि स्पष्ट पारे ।





Leave a comment

Your email address will not be published.


*