ठडियो पलाँता गाउँपालिका स्थित खाडाको बस्ती

          |   प्रकाशित मितिः बिहिबार, फाल्गुन १, २०७६     ::: 161 पटक पढिएको   |  

कालिकोट : गत पुस ८ गते राती भएको भीषण आगलागीबाट जलेको खाडाको बस्ती पुननिर्माणको काम सम्पन्न भएको छ । जिल्लाको पलाँता गाउँपालिका १ खाडाको गाउँमा मान्छे नबस्ने घरबाट सुरुवात भएको आगलागीले जलेको न्यौपानेको उद्गम स्थल (पुख्र्यौली थात) भनेर चिनिने खाडाको बस्ती प्रदेश सरकार र विभिन्न स्थानीय तहको सहयोगमा २६ घर पुननिर्माणको काम सम्पन्न भएको छ।

आगलागीले खरानी भएको खाडामा भूकम्प प्रतिरोधी टिनको छानो भएका नमुना घरहरु बनेपछि खाडाका स्थानीय दंग छन् । आगलागीले खण्डहर बनेको बस्ती प्रदेश सरकारको आर्थिक सहयोगमा पलाँता गाउँपालिकाले निर्माण गरेको युवा विकास कार्यदलको टालीले निर्धारित समयमा निर्माण कार्य सम्पन्न गरेको हो ।

बिष्णुऋषि न्यौपानेले आगलागीले खरानी भएको खाडा पुननिर्माण भएपछि गाउँको स्वरुप नै बदलिएको बताए । उनले आफूहरुले घर जलेपछि छिमेकीको घरमा आश्रय लिएर एक वर्ष बिताएपछि अब नमुना घरमा बस्न पाउने भएपछि निकै खुसी लागेको बताए । 

खाडा आगलागीमा टाउजर र टिसट बाहेक सबै खरानी भएका आगलागी पीडित कुसराज न्यौपानेले आफूहरुले कष्टकर दिनहरु पार गरेको बताए । उनले गाउँमा सबैको सहयोगले खान तथा बासस्थानको जोखो भएपनि बस्ती नै पुननिर्माण भएपछि आफ्ना दु:खका दिनहरु फेरिएको महसुस भएको बताए । 

उनले भने, ‘खाडामा भएको आगलागीले न गास न बासका भएका थियौँ। अब आफ्नै घरमा बस्ने भयौँ। प्रदेश सरकार र पलाँताको स्थानीय सरकारले ठूलो सहयोग गरे। जसको सहयोगमा पलाँताको बस्ती पहिलेको भन्द सुन्दर निर्माण भएको छ ।

यस्तै पीडामा खाडाका स्थानीय अर्का आगलागी पीडित दिप न्यौपाने पनि खुसी छन् । उनको गाउँको बीचमा रहेको दुई तले खरले छाएको घर पोलिएको थियो । गोठका गाईवस्तु जलेका थिए। घरमा रहेको अनाज, हुण्डा, ताउलालगायतका अन्य भाँडाकुडा सबै नष्ट भए । उनले छिमेकीको गोठमा बसरे एक वर्ष काटे । तर अब फागुन १ गतेबाट आफ्नै घरमा बस्ने भएका छन् । उनको पनि पहिलेको भन्दा राम्रो घर निर्माण भएको छ । उनले भने, ‘घरमा रहेको सबै सम्पती जलेको थियो। १० जनाको परिवारको बिचल्ली भएको थियो । एक वर्ष निकै कष्टकर बन्यो । शिरान हालेको कोट पनि पोलियो । छिमेकीले दिएको कपडा र राहतका कपडाहरु लगाए वर्ष काटें । अब परिवारलाई आफ्नै घरमा राख्छु । म परदेश गएर भएपनि परिवारको खुसी फर्काउँछु।’

पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले प्रदेश सरकारको सहयोगमा बनेका २६ वटा नमुना घरहरु निर्माण सम्पन्न भइसकेकाले फागुन १ गते जनयुद्ध दिवसका अवसरमा हस्तान्त्रण गरिने बताए । उनले खाडामा जलेका ३२ घरमध्ये ६ जनाको परिवार तराईतिर बसाई सरेर गएकाले २६ वटा परिवारको लागि मात्र घरहरु निर्माण गरिएको बताए । 

उनले खाडामा नमुना बस्ती निर्माणका लागि गाउँपालिकाको निर्माण कार्यदलमा आबद्ध १ सय जना युवा र अन्य क्षेत्रबाट ३० जना मिस्त्री लगाएर बस्ती निर्माण गरेको बताए ।  उनका अनुसार खाडाको बस्ती पुनिर्माणका लागि प्रदेश सरकारले प्रति परिवार ५ लाख, इन्द्रेणी टिमबाट २४ लाख, जिल्लाका अन्य स्थानीय तह तिलागुफा नगरपालिका २ लाख ५० हजार, सान्नीत्रिवेणी गाउँपालिका, महाँवै गाउँपालिका र नरहरीनाथ गाउँपालिकाबाट २ लाखका दरले सहयोग प्राप्त भएको थियो । 

परम्परागत शैलीका खरले छाएको छाना भएका १ सय ६९ घरधुरी रहेको उक्त गाउँको तल्लो छेउमा रहेको नविन न्यौपाने र मनीचन्द्र न्यौपानेको घरको माथिल्लो तलाबाट सुरु भएको आगोले त्यहाँका ३२ जलेर नष्ट भएका थिए ।जसबाट कुल ३ करोड ६ लाख बराबरको क्षति भएको थियो । उक्त आगलागीबाट ५ सय ४० जना स्थानीय नागरिक प्रभावित भएका थिए। 





Leave a comment

Your email address will not be published.


*