अविश्वासको पात्र !

          |   प्रकाशित मितिः बुधबार, फाल्गुन १४, २०७६     ::: 93 पटक पढिएको   |  

सजना सुनार
कर्मचारी होस्, गृहणी होस्, चाहे एक छात्रा
उसको जीवनकालको हरेक पल भइरहेको हुन्छ, जात्रै जात्रा
भित्र बस्दा चुलो चौकोमा सीमित मात्र,
बाहिर निस्कीयो, फेरी उ बन्छे अविश्वासको पात्र ।

मन भारी भईरहेको छ । अनेकन पश्नहरु उब्जिरहेका छन् । कता कता खिन्नता पनि । तिमी शव्द आफैमा नराम्रो त होइन तर बोल्ने व्यक्तिले कसरी बोल्यो भन्ने महत्वपूर्ण हुन्छ । कुरा कालिकोट जिल्लाको एक स्थानीय तहको हो । त्यहाँ पुगेर भेटघाटका क्रममा बरिष्ठ व्यक्तिहरुसँग कुराकानी हुने अबसर मिल्यो । पहिले मैले नै सबैलाई नमस्कार गरे । ब्याग राखेर बस्न नपाउँदै कहिँ कतैबाट आएको आवाज सिँधै कानमा ठोक्कीयो । ‘ओ हो तिमी ! एता कता आयौ ? त्यतिबेला मैले कस्तो अनुभव गरे, त्यो म यहाँ उल्लेख गर्न सकिरहेको छैन् । ब्याग राखेर, पछाडी फर्केर उ व्यक्तिलाई नियाले । हेर्दा थाहा भयो, आज भन्दा चार बषए अघि कामकै शिलशिलामा चिनजान भएको थियो । त्यस बेला तिमी सम्बोधन थिएन्, मैले आफ्नो सबै परिचय दिन नपाउँदै अर्को बरिष्ठ व्यक्तिबाट पश्न आयो । नानी तिम्रो घर कता हो ? मानो यि र यस्तै पश्नहरु गरेर सबैले गिज्याएको जस्तो । मैले सबै पश्नहरुको जवाफ दिन उचित ठानिन् । त्यसपछि म आफ्नो कामको कुरा गर्न तर्फ लाँगे । विशेषत त त्यहाँ जनप्रतिनीधिलाई तीन दिने तालिमका लागि प्रशिक्षकको रुपमा पुगेको थिएँ । त्यो पनि बाल विवाह र बाल अधिकारको सवालमा ।
मेरो लिंग महिला भएकै कारण मलाई त्यसरी सम्बोधन गरिँदै थियो । अर्को दिन, जब तालिम सुरु भयो, तब मात्र मैले आफ्नो सबै परिचय भनिदिएँ । तत्पश्चात उनिहरुमा एकप्रकारको लज्जापन देखिन्थ्यो । यो म आफैले भोगेको एक प्रतिनीधिमुलक घटना मात्रै हो । यहाँ हरेक क्षेत्रमा महिला भएकै कारण अविश्वासको पात्र बनाईन्छ । महिला भएकै कारण अविश्वासको पात्र बन्नुपर्ने, तिमी सम्बोधन, बहिनी नाता र सम्मानमा कन्जुस्याई जस्ता पीडा म जस्ता हजारौ युवती तथा महिलाहरुले भोगिरहेका छन् ।
फेरी महिलालाई गरिने अविश्वासको सवाल उठाईरहँदा पूरुषवाद समाजले फेरी उदाहरणहरु सहित पश्न तेस्राउन थाल्छन् । नेपालका धेरै महिला अगाडी आईसके, राष्ट्रपति देख्नुभएन, यस अघिको प्रधानन्यायधिश देख्नु भएन्, उहाँहरु पनि महिलाहरु नै होइनन् र ? हरेक ठाउँमा महिला सहभागिता गराएकै छौ त, अहिले त स्थानीय तहमा दलित महिला, प्रमुख उपप्रमुख मध्ये एक पदमा महिला ल्याउनुपर्ने बाध्यात्मक व्यवस्थाले पुरुषहरुलाई उदाहरण दिन खुब सजिलो भएको छ । अनी म कसरी प्रस्ट्याउँ की ‘सहभागिताको अबसर दिने तपाई होइन, यो त संविधानले दिएको अधिकार हो ।’ फेरी सहभागिताको मात्र कुरा होइन अबको आवश्यकता भनेको अर्थपूर्ण सहभागिताको हो ।
अविश्वासको कुरा गरिरहँदा मलाई मेरै घरबाट सुरुवात गर्न मन लाग्छ । मेरो घरमा मलाई भन्दा मेरो भाईलाई बढि विश्वास गरिन्छ, हरेक कुरामा उसलाई नै बढि प्राथमिकता दिइन्छ, कारण मेरो लिंग महिला । मेरो समाजले मलाई भन्दा धेरै पुरुष साथीहरुलाई बढि विश्वास गरि विशेष तरिताकाले व्यवहार गरिरहेको छ । कारण, उसको लिंग पुरुष हो । मेरो छिमेकीकी बहिनी कानुन विषय पढ्न चाहान्थिन् । तर, छोरीमा लगानी गरेर के गर्नु विहे गरेर अर्काको घर जाने त हो भनेर गरिबीको कारण देखाउँदै सामान्य शिक्षा विषय लिएर पढ्न लगाइयाृ । कारण, उनको लिंग महिला ।
म मोटरसाइकल चलाउन सारै रुचाउँछु, लाइसेन्सका लागि ट्रायल पास गर्नुपर्ने । अभ्यास गर्नुपर्ने बाध्यता थियो । सिक्ने तिब्र चाहाना थियो । घरमा अंकल, भाई मामा सबैलाई अनुरोध गरे । तर कसैले म माथी विश्वास नै गरेनन् । अनी सिक्ने तिब्र अभिलाशाले मलाई ड्राइभिङ्ग सेन्टर लियो तर, त्यहाँबाट पनि निराश भएर फर्कनु प¥यो । कारण मेरो लिंग महिला ।
घरमा छोरी भन्दा छोरा विश्वासिलो, विद्यालयमा छात्रा भन्दा छात्र विश्वासिलो, समाजमा महिला भन्दा पुरुष विश्वासिलो, स्थानीय तहमा महिला भन्दा पुरुष जनप्रतिनीधि बढि विश्वासिलो, सरकारी कार्यालय होस्, या गैरसरकारी कार्यालयमा होस्, महिला भन्दा पुरुष कर्मचारी विश्वासिलो, सञ्चार क्षेत्रमा महिला पत्रकार भन्दा पुरुष पत्रकार बढि विश्वासीलो, राजनीतिको हालत पनि उस्तै । अब भन्नुस् हरेक ठाउँमा महिला नै अविश्वासको पात्र किन ?
मलाई याद छ, करिब एक महिना अघिको कुरा हो । किशोरी माथी हुने दुव्र्यवहार तथा यौन हिंसाका सम्बन्धमा रेडियो अन्तरवार्तामा बोलाइएको थियो । म त्यहाँ पुगे र अन्तरवार्ता सुरु भयो । अन्तरवार्ता हुनु नौलो विषय थिएन् । तर, सोधिएका पश्नहरु अनौठा थिए । अन्तरवार्ताको कार्यक्रम सञ्चालकले पटक पटक किशोरी हिंसामा पर्नुको कारण उनिहरुको व्यवहार र कपडा होइन र ? भन्दै पश्न म माथी तेस्राइन्थ्यो । पश्नको जवाफ दिन नपाउँदै ‘पुरुषलाई फसाउनका लागि वा पूर्वाग्रका कारण पुरुषमाथी आरोप लगाइन्छ होइन र ? के साच्चिकै किशोरी वा महिला पीडित हुन्छन् र ? यस्तै यस्तै उहाँको पश्नहरु महिला र किशोरीलाई अविश्वास पात्र बनाईरहेको थियो । दुव्र्यवहार तथा यौन हिंसा हुनुको दोषि महिला तथा किशोरीलाई दिईरहेको थियो । अन्तरवार्ता मै एक पटक मज्जाले हाँसे । त्यो हाँसो एक पुरुषको पुरुषवाद सोच सुनेर थिएन । यो त यसरी राज्यको चौथो अंग भनेर मानिएर सञ्चारकर्मी, (जो विवेकशिल तथा सचेत नागरिक भित्रको एक हिस्सा हो) उसको सोच त यतिसम्मको साँधुरो छ भने ती आम पुरुषहरुको सोच कस्तो होला ? र ती पुरुषहरुको वरिपरी रहेको महिलाहरुको अवस्था कस्तो होला ? सोच्दै कहाँली लाग्दो लाग्छ ।
महिलाहरु धेरै अगाडी पुगिसके भनेर उदाहरण दिईरहँदा सोच्न जरुरी छ की, ती अगाडी पुगेका महिलाहरुले साँच्चिकै समग्रका नेपालका महिलाहरुको प्रतिनिधित्व गर्छन होला त ? महिला अधिकारका लागि पैरवी गरिरहेका सबै पुरुषहरु आफु परिवर्तन भएर समाज परिवर्तनका लागि होमिएका होलान् त ? पश्न सामान्य लागे पनि सोच्दा गम्भिर छ । भनिन्छ नी दुनियाँलाई परिवर्तन गर्न सहज छ जत्तिको आफुले आफैलाई परिवर्तन गर्न गाह्रो छ ।
सहभागिताको नाममा अगाडी उभ्याएर होइन, महिलाहरुलाई साच्चिकै विश्वास गर्न सक्नुपर्छ । साथै अबसर दिन पनि आवश्यक छ । महिलाहरुलाई सहभागिता मात्रै होइन अर्थपूर्ण सहभागिता अहिलेको आवश्यकता हो । अहिलेसम्म महिला प्रति गरिने भाषा त सुधारिएको छैन् भने व्यवहार सुधार्ने परिकल्पना गरिरहेका छौ । ‘महिला प्रति हेरिने दृष्टि फेरौ, एक पटक महिलालाई विश्वास गरि हेरौँ’
लेखक कर्णाली प्रदेशको युवा अभियान्ता हुन् ।





Leave a comment

Your email address will not be published.


*